
१. एउटा कथा
बैकाल तालजस्तो
धौलागिरि र अन्नपूर्ण बिच्चको
कालीगण्डकीको खोँचजस्तो
अरुण उपत्यकाजस्तो
प्रशान्त महासागरको मारियाना ट्रेन्चजस्तो
मृतसागरको सडकजस्तो
चन्द्रमाको न्युटन क्रेटरजस्तो
तिम्रो नयनजस्तो
पहिरो गएको मनजस्तो
भूतकालको समयजस्तो
औषधि नभएको संक्रमणजस्तो
पहाड र चिसा बादलको सम्बन्धजस्तो
खै ! कस्तो-कस्तो
असाध्यै गहिरो
‘एउटा कथा’ थियो उसको ।
२. जिन्दगी : जिरो किलोमिटर
महानगर एक्सप्रेस
आउनुहोस् !
आउनुहोस् !
छिटो ! छिटो
बल्खु
सानेपा
धोविघाट
एकान्तकुना
सातदोबाटो
कोटेश्वर
पशुपति
आर्यघाट ।
३. आखिर कहिलेसम्म ?
कुनै हरियाली नभएको
यो उजाड—उजाड मन
मातेर पनि मादकता नभएको
यो उदास—उदास साँझ कहिलेसम्म ?
यो सडक किनारको-
बुढो रूखको जस्तो चोइटिएको एक्लोपन
यो आवाजै आवाजको कहालीलाग्दो सन्नाटा
यो ऐँठनै ऐँठनको धारावाहिक सपना
यो अ,विराम अल्प,विराम घातहरू
यो तिम्रा अविरल तरल यादहरू
यो नरित्तिने रक्सीको अतिरिक्त गिलास
यो दिशाविहीन मडारिएको चुरोटको धूवाँ
यो हृदय निचोरिएको क्षत-विक्षत कविता
यो अचानोको व्यथाजस्तो अज्ञात कथा
यो जोकजस्तो/बिजोकजस्तो मरुभूमि जिन्दगी
यो जँड्याहाको नामुद उपनाम
कहिलेसम्म !
आखिर कहिलेसम्म ?
कुनै हरियाली नभएको
यो उजाड उजाड मन
मातेर पनि मादकता नभएको
यो उदास—उदास साँझ कहिलेसम्म ?
०००
कवि परिचय : कवि आर्यश शर्माका कविता बिल्कुलै फरक हुन्छन् । शैली र भावले पनि । अरूले सोचेभन्दा फरक कोणको सोचाइ र सबैले प्रयोग गर्नेभन्दा केही फरक शब्दहरू राखेर सरल कविता लेख्नु उनको विशेषता हो । पछिल्लो समयका युवा कविहरूमध्ये लेखनमा अत्यन्त गम्भीर र सक्रिय कवि हुन् आर्यश । उनको ‘अशान्त महासागर’ नामक डिजिट कवितासंग्रह प्रकाशित छ ।