
१. प्रश्न
हे ब्रम्हाजी !
तिमीलाई आज
तिम्रै सृष्टि, स्त्रीले प्रश्न गर्दैछे –
के तत्त्वले सिर्जना गर्यौ पुरुष भन्ने प्राणी ?
२. जननेन्द्रियहरू
ए ! विकृत पुरुष
नियन्त्रणमा राख्नू तैँले तेरा जननेन्द्रियहरू ।
आजसम्म स्त्री छातीले अमृत पिलायो
अब कालकुट पिलाउन सक्छ
आजसम्म स्त्री हात कपास थियो
अब तरबार बन्न सक्छ ।
खबरदार !
ए ! विकृत पुरुष
नियन्त्रणमा राख्नु तैँले तेरा जननेन्द्रियहरू ।
३. काँचो केरा
कसैको बगैंचामा फल्दै गरेकी
काँचो केराझैं थिइ ऊ
स्वाद पसेकै थिएन ।
निर्लज्ज बोको, निकै भोको रहेछ
चोर्यो, बलपूर्वक बोक्रा नङ्ग्यायो
र बाघले झैं झम्टियो
अघाएपछि मस्त डकार्दै
बेस्कन निमोठ्यो र मिल्क्यायो ।
ए मुखुण्डोधारी भद्रबहादुर !
-तेरो मुख पर्पर्याएन ?
-तेरो लिङ्ग चहर्याएन ?
कवि परिचय : कवि ‘प्रेम भावना’ महिलाको सत्त्वलाई केन्द्रमा राखेर कविता लेख्छिन् । प्राय: छोटा र चोटिला कविता लेख्ने उनको आध्यात्मिक विषयका लेख रचनाहरू पनि प्रकाशित छन् । उनी अहिले युकेमा बसोबास गर्दै आएकी छिन् ।



