
थाइल्यान्डमा व्यवसाय गर्दै आएका नेपाली युवा व्यवसायी लाेकेन्द्र ओलीले `द याेङ अचिभर´ अवार्ड प्राप्त गरेका छन् । ग्लाेबल युथ पार्लियामेन्टद्वारा बैंककमा आयाेजित सम्मेलनमा रूकुम घर भई हाल थाइल्यान्डमा सक्रिय नेपाली युवा ओलीले उक्त अवार्ड प्रदान गरेका हुन् ।
परदेशमा रहेर नेपालकाे सामाजिक सेवामा सक्रिय ओली गैरआवासीय नेपाली संघ (एनआरएनए)मा पनि आबद्ध छन् ।
बैंककस्थित सुकुम्बितमा आयाेजित समारोहमा थाइल्यान्डकाे प्रतिनिधिसभा सांसद सुपाकाेन तांगटिफाईबुँतना र डिफेन्स कमिसनका अध्यक्ष वीराेज लाखनाडिसाेरान र युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले ओलीलाई मेडल र प्रमाणपत्रसहित अवार्ड प्रदान गरेका हुन् । कार्यक्रममा विभन्न देशबाट प्रतिनिधित्व गरेका युवाहरूलाई पनि अवार्ड प्रदान गरिएकाे थियाे ।

ग्लाेबल युथ पार्लियामेन्ट अवार्ड सन् २०१७ देखि सुरूवात भएकाे हाे । याे हरेक वर्ष हुँदै आएकाे छ । युवा सम्मेलनमा ८२ भन्दा बढी देशका युवाले सहभागिता जनाइसकेका छन् ।
युथ पार्लियामेन्ट युवाहरूले आफ्नाे आवाज बुलन्द गर्ने प्लेटफर्म हाे । नेतृत्व विकास, युवा सशक्तीकरण, जलवायु परिवर्तनले युवामा पारेकाे असरलगायत वैश्विक समस्याबारे छलफल हुने गर्छ । यसपटक एआई प्लेटमफर्मकाे विकास, जलवायु परिवर्तनले युवाहरूमा पारेकाे प्रभावबारे छलफल भएकाे अध्यक्ष दिवाकर अर्यालले जानकारी दिए ।



