
सोमबार वुलविचमा ‘प्रतिभा नक्षत्र’को पाँचौं संस्करण भव्यताका साथ सम्पन्न भएको छ । नाच-गान, नौमति बाजा तथा जीवित देवी कुमारीको सांस्कृतिक झाँकीसहितको प्रस्तुतिले पुरै दिन विशेष बनेको थियो भने कार्यक्रम काठमाडौं उपत्यकामै भइरहेको जस्तो देखिन्थ्यो ।
कार्यक्रममा बाल नक्षत्रतर्फ (उमेर ६ – ११) क्रमश: हिमानी हिराचन, आभा अधिकारी र अभिनव साउथ पहिलो, दोस्रो र तेस्रो भए । उनीहरूलाई ५ सय, ४ सय र ३ सय पाउण्ड नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरियो।
यस्तै युवा नक्षत्रतर्फ (उमेर १२ – १९) निहारिका राई, लोगेश भट्टराई र एन्जेलिका राउत पहिलो, दोस्रो र तेस्रो भए । उनीहरूलाई ७ सय पाउण्ड, ६ सय पाउण्ड र ५ सय पाउण्डसहित ट्रफी र प्रमाणपत्र प्रदान गरियो।
कार्यक्रमको प्रमुख अतिथि गायक दीप श्रेष्ठ रहेका थिए भने विशेष अतिथिमा ग्रिनविच काउन्सिलका मेयर जित रानाभाट, एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगर रहेका थिए । यस्तै कलाकार पल्पसा डंगोल, सुरेन्द्र केसी, जोगिन्दर, संगीतकार वसन्त सापकोटा, साहित्यकार वियोगी बुढाथोकी, केदार संकेतलगायत कार्यक्रममा उपस्थित थिए ।
प्रतिभा नक्षत्रका सदस्य राजेन्द्र खसका अनुसार बेलायतमा रहेका नेपाली बालबालिकाले नेपाली भाषा, कला र संस्कृतिलाई जगेर्ना गर्दै प्रतिभा प्रदर्शन गर्ने उद्येश्यले २०१७ मा पहिलोपटक प्रतिभा नक्षत्र आयोजना गरिएको थियो ।







प्रवासी भुगोलमा रहेर पनि नेपाली बालबालिकामा लुकेर रह्र्को बालकला सस्कृतिलाइ प्रस्फुटन गराइ विश्वको कुना कुना मा पुर्याउने जुन अभियानको सुरुवात गर्ने ब्यक्तित्व भाइ राजेन्द्र खश लाई धेरै धेरै बधाइ तथा सलाम छ ।