
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही र प्रवास विभाग संयोजक आनन्द अधिकारी सेप्टेम्बर तेश्रो साता बेलायत आउने भएका छन् ।
उनीहरू ६ दिने भ्रमणका क्रममा सेप्टेम्बर २१ तारिख दिउँसो बेलायत आइपुग्ने प्रवासी नेपाली एकता समाज बेलायतका अध्यक्ष रोशन सापकोटाले जानकारी दिए । पार्टी अध्यक्ष भएपछि लिङ्देनको पहिलोपटक बेलायत भ्रमण हुन लागेको हो ।
नेताहरूसँग पार्टीको प्रवास संगठन प्रवासी नेपाली एकता समाजले आउंदो सेप्टेम्बर २२ तारिख आइतबार अल्डरसटस्थित एम्पायर हलमा अन्तरक्रिया गर्दैछ । स्कटल्याण्ड पनि अन्तरक्रिया गर्ने योजना भइरहेको छ ।
एम्पायर हलमा दुई चरणमा अन्तरक्रिया गरिने सापकोटाले जनाए । अन्तरक्रियामा बेलायतको नेपाली डायष्पोरासँग राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो धारणा राख्नेछ ।



