युके विशेषसमाचार

उपन्यास लेख्दा चुनौतीको महसुस गरिनँ, बरू इन्जोय गरेँ

34views

लोकप्रिय कवि तथा गीतकार श्रवण मुकारुङले चार दशकको लेखन यात्रामा पहिलोपटक उपन्यास लेखेका छन् । उनको उपन्यास ‘सलह’ यतिबेला नेपाली साहित्यिक वृत्तमा विशेष चासो र बहसको केन्द्र बनेको छ । कल्पना र स्मृतिको अन्तरसम्बन्धलाई विमिथिकरण गर्दै समकालीन समाज, इतिहास र चेतनालाई नयाँ दृष्टिबाट हेर्ने प्रयास यस कृतिमा देखिन्छ । पाठकले असाध्यै मन पराएको लेखकको उपन्यास यात्राबारे धेरैले चासो देखाएका छन् । यो उपन्यासको प्रतीकात्मकता, संरचना, सिर्जनात्मक प्रक्रिया र वैचारिक आयामहरूबारे युके निवासी कवि खुपेन सुनुवारले मुकारुङसँग केही प्रश्नहरू यसरी राखेका छन्:

सलह शीर्षक आफैंमा निकै प्रतीकात्मक देखिन्छ । ‘सलह’ ले वास्तवमा के प्रतिनिधित्व गर्छ?

नेपाली समाजमा सामान्यत: सलहलाई डिजास्टरको सिम्बोलको रुपमा बुझ्ने चलन छ । तर मैले यसलाई कथ्यको कायकल्प मेटामोर्फिसस भन्छ नि अथवा deconstruction जे भने पनि भयो, त्यही गरेको छु। र अहिले यो सामूहिकताको, अग्रचेतनाको, क्रान्तिको वा यो हाम्रो आदिशक्तिको सौन्दर्यको प्रतीकको रूपमा मैले उपन्यासमा उपस्थित गराउने प्रयत्न गरेको छु ।

तपाईंको कवितात्मक भाषा र कथात्मक शैलीबीच सलहमा कस्तो सन्तुलन कायम गर्नुभएको छ?

त्यति धेरै फरक त पाउनुहुन्न तर कविता बढी सूत्रात्मक हुन्छ आख्यानमा त्यो विस्तृत भएर आउँछ। सायद त्यति फरक हो। कवि भएकोले कविताको भाषा त आउने नै भयो। तर केही सन्तुलन अवश्य गर्नुपर्छ, त्यो गरेको छु।

यस उपन्यासले समकालीन नेपाली समाजको कुन गहिरो यथार्थ वा संकटलाई उजागर गर्न खोजेको छ?

यो मूलत: गणतन्त्र आउनुअघि र गणतन्त्र आइसकेपछि अहिलेतकको समयलाई लिपिबद्ध गरिएको कृति हो। यद्यपि, यसले हाम्रा मिथकको विमिथिकरण गरी त्यसका माध्यमद्वारा हाम्रो समाज अझ किराँत सौन्दर्यलाई परख गर्ने प्रयत्न पनि गरिएको छ। हुन त पोस्ट मोर्डनिस्टहरूले ग्रान्ड न्यारेटिभको समय सकियो भन्छन्, मलाई पनि त्यस्तै लाग्छ तर मैले यो उपन्यास लेखिसकेपछि त्यो धारणा आंशिक सत्य मात्रै हो भन्ने निष्कर्षमा पुगेको छु। हर लेखकका लागि कल्पना र स्मृति नै मुख्य कुरा हो। समाज त आफैं आइहाल्छ । कृतिको पठनपछि तपाईँहरूजस्तो सुधि पाठकले कृतिमा के छ भन्ने पत्तो पाइहाल्नुहुनेछ । मैले केही नयाँ गर्ने प्रयत्न गरेको छु।

सलह लेख्ने क्रममा तपाईंले व्यक्तिगत रूपमा सबैभन्दा चुनौतीपूर्ण पक्ष के अनुभव गर्नुभयो?

झन्डै चारपाँच वर्ष अघिदेखि मस्तिष्कमा कथा खिप्दै एउटा पूर्ण आख्यानको परिकल्पनापछि लेख्न बसेको हुनाले मलाई त्यस्तो ठूलो चुनौतीको अनुभव त भएन । तर ल्यान्डस्केप (आकार) ठूलो भएको हुनाले अलिकति मेहनत बढी हुने भइहाल्यो। मैले खासै त्यस्तो चुनौतीको महसुस गरिनँ बरु इन्जोय गरेँ । आफैंसँग रमाएर लेखिरहेँ ।

‘सलह’ जस्तो कृतिले नेपाली उपन्यासको वर्तमान दिशालाई कसरी समृद्ध बनाउँछ जस्तो लाग्छ, र तपाईंको लेखनले शैली, शिल्प र विषयवस्तुको हिसाबले नेपाली साहित्यमा के नयाँ आयाम थप्न खोजेको छ?

यसको उत्तर त मैले भन्दा पनि विज्ञजनले, समालोचकहरुले निर्क्योल गर्ने कुरा हो। यद्यपि, यसमा मैले भन्ने तरिकामा विशेष ध्यान दिएकै छु। विषयवस्तु पनि अत्यन्तै होसियारीका साथ छनोट गरेको छु। म सँधै सिमान्तको आवाज लेख्ने मान्छे, तपाईहरूले पढेपछि सबै कुरा थाहा पाउनुहुनेछ। मैले यसो गरेको छु भने भनेँ त्यो त कुमालेको कथाजस्तो हुन्छ । त्यो राम्रो कुरा होइन।

भाषासित कसरी खेल्ने, सौन्दर्यको पहिचान, विचारिकी, विषय वा जीवन–जगत चेतनालाई कसरी हेर्ने भन्ने कुरा मेरा अघिल्ला रचनाहरुले सिकाएको अवश्य हो।

कवि, गीतकार र उपन्यासकारका रूपमा तपाईंको बहुआयामिक यात्राले “सलह” जस्तो कृतिमा तपाईंको दृष्टिकोणलाई कसरी आकार दिएको छ?

मलाई मेरो गीत लेखन, कविता लेखन, नाटक लेखन वा निबन्ध लेखनको योगले या ती अनुभवले नै यो उपन्यास लेखनलाई विशिष्ट बनाउन सहयोग पुर्‍याएको छ। भाषासित कसरी खेल्ने, सौन्दर्यको पहिचान, विचारिकी, विषय वा जीवनजगत चेतनालाई कसरी हेर्ने भन्ने कुरा मेरा अघिल्ला रचनाहरुले सिकाएको अवश्य हो। त्यसको रिफ्लेक्सन वा परिपक्व अभिव्यक्ति यस कृतिमा पाउनुहुनेछ।

अन्त्यमा, यो मेसोमा बेलायतमा रहनुभएका तपाईंका पाठक, श्रोता तथा शुभेच्छुकहरूलाई केही भन्न चाहनुहुन्छ ?

बेलायतमा रहनुभएका सम्पूर्ण मेरा आफन्तजन, आदरणीय लेखक साहित्यकारज्यूहरू, यहाँहरूलाई मेरो हार्दिक नमस्कार छ । तपाईंहरूले त्यहाँ बसेर नेपाली साहित्यलाई फलाउन, फुलाउन गरेको कामप्रति मेरो सम्मान छ । टाढैबाट मेरो सम्झना छ । पहिल्यैदेखि यहाँहरूले मेरो लेखनलाई अनुभव गरिरहनुभएकै हो । यसपाला अझ मेहनत गरेर यो उपन्यास ल्याएको छु। अवश्य मनन गरिदिनुहुनेछ भन्ने अपेक्षा राखेको छु। वार्ताकार कवि खुपेनजीको माध्यमबाट सबैलाई धन्यवाद!

सलह उपन्यास युकेमा http://www.nepalcraftandbook बाट अर्डर गरी युकेभरि जहाँसुकै पाउन सक्नुहुनेछ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.