विचार/ब्लगसाहित्य

‘असली’ कविता मर्दै गरेको युग

415views

यतिबेला सुन्ने होइन सुनाउनेहरूकै मात्र समय छ। सुनाउनेहरूले सुन्न चाहेको समय छैन। सुन किन्ने त सामान्य कुरा नै थियो, तर कविता सुन्ने (श्रोता)हरूलाई किन्ने पनि अब बिस्तारै सामान्य र मान्य विषय बन्दैछ।

बजारमा सुन र सुन्नेहरूको भाउ, दिनुहुँ चड्दो–बढ्दो छ!

केही दिनअघि दिल्लीस्थित रजा फाउन्डेसनले कविहरूलाई सुन्नको लागि बीस हजार दिएर कविता कार्यक्रममा दर्शक-श्रोता बोलाएको खबर आयो। हुन त हिजोआज खबरहरू के के आउँदैनन् र!अचेल आयोजित भन्ने शब्द प्रायोजितमा पुगेर सीमित भइसकेको छ। साहित्यिक भन्दा असाहित्यिकहरूको समूह संगठन खोलेर साहित्य सिर्जना गर्ने भन्दा,महिनावारीको सदस्यता शूल्क उठाउने धन्धा धेर फलेफूलेको छ।

हिन्दीका साहित्यकार विश्वनाथ प्रसाद तिवारी भन्छन् -‘जबदेखि लेखक संगठनहरू बनिएका छन्,तबदेखि दुनियाँ नबद्लिए पनि साहित्यकारहरूका सम्बन्धहरू बद्लिएका छन्।’ साहित्यका कार्यक्रमहरूमा साहित्य भन्दा पनि सङ्गठन हाबी हुने गरेको छ। साहित्यिक संगठनहरू संस्था कम,कुनै कट्टरवादी जत्था धेर देखिन्छन्। गुटभन्दा पनि गिरोहजस्ता बनिरहेका छन् स्वघोषित साहित्यिक ब्याजधारी समूहहरू, जसले साहित्यको लागि नभएर मपाइँत्यको लागि मात्रै सपना र योजना सझाइरहेका हुन्छन्। उनीहरूलाई देख्दा जोन कोलेटले प्रयोग गरेको blatterature (असाहित्य)शब्दको स्मरण हुन्छ।

सबैभन्दा कमेडी कुरा त के भने, हिजोआज कविहरूलाई नै कविता सुनाउदै गरेका भेटिन्छन् कविहरू। कविहरू मात्रै भएका कोठा परिधिलाई नै पाठक संसार सम्झने कविहरू कुवाको ब्याङ बनिरहेका हुन् त? कविहरूले कविता सुनाइरहेको ठाउँमा पाठक हुनु त एउटा कालदोष (quaint anachronishm) जस्तो भएको छ।

पाठक बन्दी भएको समयमा जहिलेसुकै, जहाँसुकै कवि नै कवि!

कविहरू महङ्गो होटेल रेस्टुरेन्टमा चियाबाट कफितिर सरेका छन्। ग्लासबाट क्यानतिर ज्यान फालेका छन्। ग्रुपबाट ग्याङतिर बढुवा हुँदैछन् तर सिर्जनात्मक ओजन भने सुसुपाल छ। हाम्रो रैथाने शब्दमा भन्दा हुइपाल। कवि जुनै भवन बिल्डिङमा पसेबसे पनि अन्ततः कवि पाठकको मनमा पस्नुबस्नु नै अर्थ र सामर्थ्यको कुरा हो। तर कविहरू अचेल पाठकलाई पाखा लाउनमै बढी उद्धत छन्। फलस्वरूप कवि जमात बडिरहेका छन् तर पाठक समाज घट्दै गइरहेको छ।कारण अघि माथि नै भने नि ‘हिजोआज कविहरू,कविहरूलाई नै कविता सुनाउने पालिदार दौड(रिले रेस)मा मस्त छन्।’ विशेषत: नेपाली साहित्यमा पाठक र पाठ चर्चा भन्दा लेखक महिमामा नै धेरै समय खर्च हुनेगरेको छ। यता पाठक प्रतिक्रिया सिद्धान्तको कोर कुराले भन्छ -‘पाठको महत्व तबसम्म हुँदैन जबसम्म त्यसलाई पढिँदैन।’

के अब ‘लेखक प्रतिक्रिया सिद्धान्त’ साहित्यमा स्थापित भइसकेको हो?

फास्टफुड समयमा जसरी वाइवाइहरूको हाइहाइ छ, त्यसरी नै अहिलेको साहित्य संसारमा वाहवाह मात्रै छ। आत्म-प्रसंशाको फेसबुके प्रक्रममा सेकेन्डभरको कविता क्लिपले प्रसिद्धि कमाउने ध्याउन्न छ। जुन प्रसिद्धि डाटा प्याकेज जस्तो क्षणभरमै सिधिएको पत्तै हुँदैन।प्याकेज सिस्टममा पाउने प्रसिद्धि साइबर—साहित्यमा प्रचलित छ। जहाँ भाइरल र ट्रोल चाहने कविहरूको टोल,अब शहर बनिसकेको छ।

निखुर कविता डेट(मृत)भएको छैन,मात्र डिस्प्लेस्ड(विस्थापित)भएको छ।

एकजना कविले एउटा भेटमा मलाई छ्यास्स भने-‘जे जसो भएपनि किताब चाहिँ निकालिरहनु पर्नेरहेछ!’ उनले छ्यास्स भनेको कुराले मलाई च्यास्स लाग्यो। उनको यो भनाईको आशय किताब निकाल्नुमा भन्दा पनि पुरस्कार हत्याउनुमा बढी लक्षित थियो। मैले यो कुरा यतिबेला होइन,त्यतिबेलै बुझेको थिएँ।तर भनिनँ। अहिले पनि भनेको छुइनँ।लेखेको मात्रै छु। यहाँ कविता होइन किताब निकाल्दैमा पुरस्कार पाइहाल्ने लश्कररेखा परपरसम्म खिचिएको छ।

हिजोआज कविहरू प्रायःअफसोस मानिरहेका हुन्छन्,रचना कम रचेकोमा होइन, किताब कम प्रकाशित गरेकामा। कल-कारखानाबाट कागजकै भारी त पैसा भए यसै निस्किहाल्छ तर रचना त कारखानाबाट नभएर साधनाबाट निस्किने कुरा हो।हुनत नारा र आराधानाको जमानामा साधना त यत्रैसिति।

अहिले प्रविधिको यतिविधि दिगभ्रमित युगमा पनि कविता कसरी बाँचेको छ? यसको जोखीतौली हुनसकेको छैन। निखुर कविता डेट(मृत)भएको छैन,मात्र डिस्प्लेस्ड(विस्थापित)भएको छ। कारण सबैकुरा बुझाइबोधक होइन हेराइबोधक बनेको बेला छ। यस्तोमा काव्यिक कलाकर्ममा अन्तर्लिन भएर नितान्त कविता कर्म गर्ने कविहरू भने गुमनाम छन्। वास्तवमा कविता मोबाइलको अल्गोरिदममा होइन मानिसको आत्ममा बस्छ,बाँच्छ। आत्म देखिँदैन। अल्गोरिदम देख्खिरहन्छ।यद्यपि आत्म नदेखिए पनि बाँचिरहन्छ। आत्म भ्रम हो भन्नेहरूले अल्गोरिदमलाई सत्य फर्माइरहेका छन्। अहिले यही सत्यलाई मानिरहेको इन्टरनेटईश्वरका फलोवर्सहरू छन्।

आखिरमा साहित्य पनि औँली लाइकमा ठिँगुरिँइदै जो गइरहेको छ। मार्क्सवादी चिन्तक वाल्टर बेन्जामिनले पहिले नै भनेका थिए कि ‘मसिनी उत्पादनको युगले कलाकृतिको दुर्लभ अद्वितीयतालाई समाप्त गरिदिने छ।’ भइरहेको त्यस्तै छ।

लोकप्रिय संस्कृति(पपुलर कल्चर) मा रचनालाई हिजोआज सितन-चखनातिर नै सिमित गर्दै लगिरहनेहरूको लाम, लामै छ। जस्तो कि दार्जिलिङ हिँडेका गाडीहरूले सिलगढीबाटै जाम भेट्छन्। यसप्रकारको ‘कवि कग्निसन’ लिएर हिँड्नेहरूलाई कविता कन्टेन भएको छ,जसले केवल सञ्जाले अरनखटन टेर्नुपरेको छ। लाइक भ्युज र कमेन्टको सेयर बजारमा कविहरूको लोभानी पापानी चलिरहेकै छ। समालोचक रामकृष्ण शर्मा भन्थे “हामीले जानेका कतिपय विषयको उत्पत्ति भयो एउटा कार्यको निम्ति,त्यसैको वृद्धि भयो अर्कै कर्मको निम्ति।”

यसै कारण पनि होला साहित्यमा सेनापति हुने प्रवृत्ति बढ्दो छ।कारण साहित्यलाई सिर्जना होइन सङ्ख्या मात्र बनाएर लगिरहेको समय छ।सङ्ख्या हाबी भएको साहित्यसमाजमा संवेदना बेदखल भएको बेला छ। सङ्ख्याको मानमनितो भएपछि गोटागन्तीको कुरा आउँछ, जहाँ केवल बल-तागत जोडिन्छ त्यसमा रचनात्मक सामर्थ्य त मारागोली।

विभिन्न अध्ययनहरूका तथ्य-पृष्ठांश अनुसार वर्तमान समयमा मानिसको मस्तिष्कको प्रि-फ्रन्टल एरिया धेरै सक्रिय हुँदै गइरहेको छ। जसमा हेरेरै संसारलाई सम्झिइने(बुझ्ने) काम भइरहेको छ। सोही अनुरूप सोच्ने समय पर फुत्किएको भाग्य-भविष्य लिएर यतिबेला साहित्य अनुभूतिहरूमा होइन, सहानुभूतिहरूमा बाँचिरहेको छ,जसको कुनै प्रत्याभूति छैन।

(दार्जिलिङ मिरिकका लेखक वियोगी कविता गीत निबन्ध तथा समसामयिक विषयमा कलम चलाउँछन्)

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.