
ख्यातिप्राप्त नेपाली फेसन डिजाइनर संयुक्ता श्रेष्ठले लण्डन क्लाइमेट एक्सन विक (London Climate Action Week) मा नेपाली वातावरण मैत्री परम्परागत शिल्पकारितालाई प्रस्तुत गर्दै विश्वव्यापी नेताहरू, जलवायु अभियन्ताहरू र सांसदहरूको ध्यान आकर्षित गरेकी छन्।
Road to Antalya COP3 को हिल हाउसमा आयोजित Zero Waste Hub को उच्च-स्तरीय आधिकारिक उद्घाटनमा बोल्दै श्रेष्ठले आफ्नो पच्चीस वर्षको यात्राको अनुभव बाँड्दै परम्परागत नेपाली सम्पदालाई आधुनिक सामग्रीको नवप्रवर्तनसँग जोड्ने एक शक्तिशाली मार्गचित्र प्रस्तुत गरिन्।
यो प्रतिष्ठित उद्घाटन समारोह विश्वव्यापी जलवायु अभियानको ‘रोड टु एन्टाल्या कोप३१’ को लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा साबित भएको छ। यस कार्यक्रममा पूर्ण रूपमा फोहोर तथा पुराना सामग्रीहरूबाट निर्मित बेलायती राजा चार्ल्स तृतीयको (HM King Charles III) ‘द किङ अफ सस्टेनेबिलिटी’ (The King of Sustainability) नामक तस्बिरको विशेष अनावरण गरिएको थियो। यसले लण्डन क्लाइमेट एक्सन विक (LCAW) को गरिमालाई थप उचाइ दियो, जुन आधिकारिक रूपमा विश्वकै सबैभन्दा ठूला स्वतन्त्र जलवायु कार्य कार्यक्रमहरूमध्ये एक बनेको छ।

मञ्चमा बोल्दै श्रेष्ठले विश्वव्यापी फेसन फोहोर संकटको भयानक अवस्थाबारे स्पष्ट र दृढ आवाज उठाइन्। उनले उद्योगलाई अत्यधिक उत्पादनको मूल कारणसँग जुध्न आग्रह गर्दै एक सान्दर्भिक रूपक (Analogy) को प्रयोग गरिन्: “फेसन उद्योगले हरेक वर्ष १ खर्ब (१०० बिलियन) भन्दा बढी कपडाहरू उत्पादन गरिरहेको छ, तर त्यसको १ प्रतिशतभन्दा कम मात्र रिसाइकल (पुनः प्रयोग) हुने गर्दछ। हामीसँग हाल यस पृथ्वीमा आगामी छ पुस्तालाई पुग्ने कपडाहरू उपलब्ध छन्। मुख्य आपूर्ति पाइपमा समस्या हुँदाहुँदै हामीले भान्साको धारा मात्र मर्मत गरेर यो संकटको समाधान गर्न सक्दैनौँ,” प्यानल छलफलका क्रममा श्रेष्ठले भनिन्।
आफ्नो यही दर्शनलाई मूर्त रूप दिँदै श्रेष्ठले सो समारोहमा आफूले डिजाइन गरेको ‘SS25 बज्रयान’ पहरेकी थिइन्—जुन शून्य-फोहोर (Zero-waste) पुर्ख्यौली ज्ञान र दक्षिण एसियाली सम्पदा शिल्पको उत्कृष्ट नमुना हो। सो कालो र आइभोरी (Ivory) रङको पहिरन ग्रामीण नेपालका महिलाहरूद्वारा परम्परागत ह्यान्ड-ब्लक (Hand-block) प्रविधि र मोनोग्राम प्रिन्ट प्रयोग गरी जैविक बाँस (Organic Bamboo) र जैविक कपास (Organic Cotton) बाट हातले कातिएको र बुनिएको हो। सम्पदा र विज्ञानलाई संयोजन गर्दै सो डिजाइनमा काँचो जैविक कपास र स्याउको फोहोरबाट बनेको लेदर (Apple-leather) को कर्सिट (Corset) समावेश थियो।
यस पहिरनलाई आँपको कृषि फोहोरबाट बनेको लेदर (Mango-leather) को हाते झोलाले पूर्णता दिएको थियो, जसमा काठमाडौँका धातुकारहरूले हातले कुँदेको पित्तलको ‘बज्र’ को ह्यान्डल जडान गरिएको थियो। यसले नवप्रवर्तन, जैविक विविधता, महिला सशक्तीकरण र आध्यात्मिक सम्पदालाई समेट्ने हजार वर्ष पुरानो नेवारी शिल्पकारिताको संरक्षण गर्दछ।
See less



