
सुप्रसिद्ध कवि श्रवण मुकारुङ तीन दशकदेखि कविता र गीत लेखनमा निरन्तर सक्रिय छन्। ‘बिसे नगर्चीको बयान’ उनको सर्वाधिक चर्चित कविता हो, जसलाई नेपालको गणतान्त्रिक आन्दोलनको ‘फ्ल्याग बेयरर’ सिर्जना मानिन्छ। कवि मुकारुङसँग नेपाली कविता र उनको निजी जीवनका आरोह–अवरोहमाथि केन्द्रित रहेर गरिएको कुराकानी :
तीन दशकभन्दा बढी समय कविता र गीत लेखनमा हुनुहुन्छ। यो यात्रालाई कसरी सम्झनुहुन्छ ?
मलाई के बोध छ भने यो मेरो यात्रा जड छैन। गतिशील छ। ‘अहो ! मैले केही पनि लेख्न सकिनँ’ भन्ने हीनताबोध ममा छैन। संसारका उत्कृष्ट कविले आज के सोचिरहेका छन्, त्यो म पनि सोचिरहेको छु। एउटा लेखक सन्तुष्ट हुने कुरा भने उसको युगको मर्मसँग खेलिरहेको छ वा छैन भन्ने कुराले निर्धारण गर्छ। समयको गतिसँग म छु भन्ने लाग्छ। हुन सक्छ, म दश वर्ष पछि बोधो हुन सक्छु। मेरो क्षितिज नाघ्ने गरी नयाँ कवि आउँछन्। त्यतिबेला म बोधो भएँ भन्ने लाग्यो भने म लेख्नै छोडिदिन्छु। होइन भने आजको भन्दा उत्कृष्ट र तीखो लेख्ने प्रयत्न गर्छु। यो आत्मविश्वास प्रत्येक पल मसँग छ।
केही राजनीतिक गतिविधि र सामाजिक कार्यमा पनि सक्रियतापूर्वक जोडिनुभयो। यी सबै कुरालाई आधार बनाउँदा जीवनको प्राप्ति के रहेछ जस्तो लाग्छ ?
जीवन अनुभवहरूको संगृहीत निष्कर्ष नै हो। यात्रामा अनेकौँ अनुभव हुन्छन्। त्यही अनुभव बटुल्दा जीवन बुझ्न सकिन्छ कि ! म जुन क्षेत्रमा लागेँ, त्यो क्षेत्रको सामान्य मानिसले पनि मलाई चिन्छ। नेपालको जुनसुकै ठाउँमा जाँदा पनि गीत, कविता र नाटकका कारण मानिसले चिनेका हुन्छन्। सबैसँग सद्भावले बाँच्न पाएको छु। आखिर खोज्ने एउटा लेखकले यही नै हो। यसरी परिचयसहित बाँच्न पाएको छु। सिर्जनाकर्म र समाजको प्रत्येक परिवर्तनमा सक्रिय हुन पाएको छु। यसैमा सन्तुष्ट छु।
आजको श्रवण मुकारुङ बन्ने बलियो जग निर्माण हुन प्रभाव पारेका कवि र लेखकलाई कसरी सम्झनुहुन्छ ?
मैले पहिला हाम्रै नेपाली कविहरूको कविता कण्ठस्थै पारेर पढेँ। त्यतिबेला विश्वसाहित्य पढ्ने सहज अवसर थिएन। त्यसैले हाम्रै साहित्य पढियो। एक जना मात्रैको नाम लिन गाह्रो छ, तर बैरागी काइँला, भूपी शेरचन, मोहन कोइराला, गोपालप्रसाद रिमाल, माधवप्रसाद घिमिरेका कविता पटक–पटक पढेको छु। ‘मालती मङ्गले’ नाटकको अधिकांश गीत घिमिरेलाई नै सुनाएको छु। आज केही रचना बिर्सें हुँला तर फेरि पढ्दा मन रमाउँछ। गीततर्फ हरिभक्त कटुवाल, ईश्वर वल्लभका गीतले पनि मलाई प्रभाव पारेका छन्।
तपाईंले कवित्वशक्ति सबल भएका कविको नाम बढी लिनुभयो तर समाजमा त वाचाल र सस्तो लोकप्रियता कमाउने कविको प्रभाव बढी देखिन्छ नि !
कविताको स्तर हुन्छ नि त। कुन कविताले समाज र समयलाई घनत्वका साथ ल्यायो, त्यसले बढी प्रभाव पार्छ। कविता दुई दिनको हाहा र होहल्ला होइन। सिद्धिचरण श्रेष्ठ र केदारमान व्यथित समकालीन कवि हुन्। तर, आज केदारमान व्यथित हराएका छन्। यसले के देखाउँछ भने बाँच्दा मात्र ठूलो कवि हुने तर आफ्नो अवसानपछि समाजले बिर्सियो भने त्यो निरर्थक हुन्छ। क्षणिक चर्चा र आलोचनाले मात्र केही हुँदैन।
कविता र साहित्यलाई ‘अर्ध–राजनीतिक गतिविधि’ भन्न नमिल्ला ?
मिल्छ। किनभने, प्रगतिशील लेखकहरूले लेखनबाटै आफ्नो राजनीति गरिरहेका हुन्छन्। व्यक्तिगत तवरमा पनि एउटा लेखकले लेखन र राजनीति सँगै गरिहेको उदाहरण विश्वभरि नै छ। यसको ताजा उदाहरण, आजको सरकारले पनि प्रजातान्त्रिक धारका कविलाई कुनै नियुक्ति दिएको छैन। राजनीतिले नै गुट–उपगुट र राजनीतिक संस्कारको चरित्र सिकाउँछ। लेखनमा पनि यो केही जोडिएकै हुन्छ।

यहाँको अनुभवमा कविता र कविता सृजना गर्नु के हो ?
कविता अपरिभाषित हुन्छ। पूर्व पश्चिमका विद्वानहरुले पनि कवितालाई अपरिभाषित छ भन्दै आएका छन्। हरेक नयाँ कविले नयाँ परिभाषा ल्याएर आउँछ हिजोको परिभाषामा बाधिएको कवितालाई उसले भत्काउँछ। र नै ऊ स्थापित हुन्छ। यदि मैले देवकोटाजस्तै लेखेको भए…।
मैले जानेर होस वा नजानेर मैले मेरै पारामा लेखेँ अनि मैले आफूलाई स्थापित गर्न सकेँ। अर्को कुरा कविताले कोही डिप्रेसनमा गएकालाई मुक्त गराउन सक्छ। विरामीलाई निको बनाउन सक्छ। दुःखमा परेकालाई सुखको अनुभूति दिलाउन पनि सक्छ।त्यसैले पनि कवितालाई एउटै परिभाषामा बाध्न सकिन्छ भन्न मिल्दैन। अपरिभाषित हुन्छ भन्नुको अर्थ पनि यो हो। कविताका विभिन्न परिभाषाहरु हुन्छ। उच्च मानवीय मूल्य निर्माण गर्नको लागि कविता साह्रै ठूलो औजार हो।
कवि बन्न चाहने नयाँ पुस्तालाई के सुझाव दिनहुन्छ?
यो क्षेत्रमा लाग्नु भनेको ठूलो दुःख पाउनु पनि हो। जीवनमा धेरैकुरा त्याग गर्नु पर्छ भन्ने कुरा पहिले नै स्वीकार गरेर आउनु पर्छ। कविता लेख्न बसेर डिप्रेसनमा जाने हैन।संगैको साथीले गरेको प्रगति देख्दा मन जलाउने हैन। पहिले नै त्यो कुरा ख्याल गरेर मात्र कविता क्षेत्रमा आउनु पर्छ भन्ने मेरो अनुभव हो। मैले दुःखपाउँछु भन्ने कुरा बुझेर नै यो क्षेत्रमा आउनु पर्छ भन्छु म त। भौतिक स्रोत सुविधा नभए पनि मान्ने मान्छे त हुन्छन नै त्यसैले नयाँ पुस्ताले समर्पणभाव बोकेरै आउनुस्।
विश्वकै कविता पढ्नु पर्यो। किन यस्ता कविता लेखिए। किन कवितामा ठूलाठूला भिन्नताहरु किन भए। परम्परा के हो ? भन्ने जस्ता कुरा बुझ्नु पर्यो। भाषासँग खेल्ने कुरा भएका कारण भाषाको ज्ञान हुनपनि जरुरी छ।
प्रस्तुति : दृष्टान्त शर्मा



