नेपाल विशेष

खुपेन सुनुवारको कवितासङ्ग्रहमाथि काठमाडौंमा विमर्श

251views

कवि खुपेन सुनुवारको कवितासङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ माथि काठमाडौँमा बहस कार्यक्रम सम्पन्न भएको छ । कवि, गीतकार श्रवण मुकारुङ, भाषाविद तथा अनुसन्धानकर्ता डा. लाल रापचा श्याँकारेलु र समालोचक तथा कवि गीता त्रिपाठी वक्ता रहेको उक्त कार्यक्रम सागर सुनुवारले सहजीकरण गरेका थिए ।

‘सुनुवार विद्यार्थी समाज’, केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रमको अध्यक्षता अध्यक्ष मनिषा सुनुवार र कार्यक्र सञ्चालन महासचिव मुस्कान सुनुवारले गरेकी थिइन्। कार्यक्रमको सुरुवातमा कवि, गीतकार तथा नेपाल सरकारको उपसचिव अमरदीप सुनुवारले कवितासङ्ग्रहको बारेमा प्रकाश पार्दै कवि खुपेन सुनुवारलाई सृजनशील जीवनको शुभकामना दिए ।

कार्यक्रमा उपस्थित वक्ता श्रवण मुकारुङले कविको कृतिमाथि विचार विमर्श गर्दै प्रवासी मूलबाट अत्यन्तै प्रभावशाली वैश्विक जीवन चेतना र बिम्ब प्रयोग भएको सशक्त कविता सङ्ग्रह प्रकाशनमा आएको बताए। साथै मानवीय संवेदनाको उपल्लो तहबाट बौद्धिक विलास गर्न रुचाउनेहरूका लागि नौलो खुराक भएको समेत जानकारी गराए । अर्का वक्ता डा. लाल रापचा श्याँकारेलुले समग्रमा कविता सङ्ग्रह राम्रो भए तापनि लेखकले नेपाली समाजको मौलिक विषयवस्तु, बिम्ब र भाषालगायतको प्रयोगमा पनि ध्यान दिनुपर्ने बारे जोड दिए ।

त्यसैगरी कार्यक्रमका अर्का वक्ता डा. गीता त्रिपाठीले प्रतिकात्मक बिम्बहरूलाई विशिष्ट तवरले प्रयोग गर्नसक्ने युवा लेखकका रूपमा चित्रण गरिन्। साथै लेखकको कृतिमार्फत उहाँको महिला दृष्टिकोण कस्तो छ भन्नेबारे स्पष्ट हुन नसकेको समेत औँल्याएकी थिइन्।

कार्यक्रममा राजनीतिक विश्लेषक शंकर तिवारीले लेखकलाई शुभकामना व्यक्त गर्दै ल्यान्डस्केपमा झुन्डिएको मौनता कविता सङ्ग्रहबाट ‘एक गुमनाम प्रेमिकाको गन्तव्य’ कविता वाचन गरे। त्यसैगरी कलाकार जेनी सुनुवारले पनि लेखकको कविता सङ्ग्रहबाट ‘अन्तिम मृत्यु’ शिर्षकको कविता वाचन गरेर सुनाएकी थिइन्।

अनामनगरस्थित यूनियन हाउसमा आयोजित उक्त कार्यक्रममा साहित्यकार राजन मुकारुङ, गायक शिव मुखिया, कलाकार इँगिहोपो कोइँच सुनुवार, कवि मिथोच, कवि चन्द्रवीर तुम्बापो, कवि सोझो गाउँले, साहित्यकार तारादेवी सुनुवार, कवि तथा पत्रकार नवीन काजी राई, विशाल नाल्बो, रंगकर्मी विष्णु मोक्तान, गायक राजु तामाङ, संगीतकार ओमोस तामाङ, गायक दशराम सुनुवार, कवि प्रतापसिंह नाछिरिङ लगायतकाको उपस्थिति रहेको थियो।

कवितासङ्ग्रह ‘माया पब्लिकेशन’ काठमाडौंले प्रकाशन गरेको हो ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.