नेपाल विशेषविचार/ब्लग

हिजो, आज र भोलिको दर्पणमा धुलिखेल

2.1kviews

राजा आनन्ददेव झलझलाकार रथमा बसेर साँगा भन्ज्याङ हुँदै धुलिखेल आइरहेका छन् । धुलिखेलको चिसो मन्द पवनले रथको ध्वजा हल्लिरहेको छ । उत्तरतिर चाँदिझैँ टल्किएका हिमाल हेर्दै राजा मोहित छन् । भगवति मन्दिरछेउ राजाको स्वागत गर्न पन्चकन्याहरू फूल, अबिर बोकेर बसेका छन् ।

यो दृश्य पर्दामा देखाइयो भने चकित नपर्ने दुनियाँ आज छैन । कुनै विराट सभ्यताको कथा बोकेको चलचित्रमा यस्तै दृश्य हुन्छन् । तर यो कुनै काल्पनिक दृश्य होइन । राजा आनन्ददेव यसरी नै धुलिखेल आएका थिए । यहाँका जनतालाई गाभेर सात गाउँमध्ये एक धुलिखेल नगर खडा गरेका थिए । भलै त्यतिबेला यसको नाम धवलख्या थियो । वा धौख्यो, धलिख्यो, घरिखेल थियो । तर काठले बनेका साना घर, मन्दिर, पाटी, फलैँचा देखेर धेरै राजा—रजौटाको मन लोभिएको थियो । कहिले बाढी-पहिरो नजाने र गर्मी-जाडो सराबरी हुने यो ठाउँलाई सबैले आँखा लगाएका थिए ।

यहाँ त्यही धवलख्याको वैभवशाली विगत, विकासशील वर्तमान र आशाप्रद आगत वर्णन गरिँदैछ ।

इतिहासको सन्झ्यालमा धुलिखेल

प्राचीन कालदेखि विभिन्न अभिलेखमा धुलिखेललाई ‘धबलखेल, धवलख्यो, धवलख्या, धौख्यो, धलिख्यो, घरिखेल, धलिखेल, धौख्य’ आदि नाम प्रयोग गरी उल्लेख गरिएको पाइन्छ । यो सन्दर्भ बनेपाका स्वनामधन्य इतिहासकार ज्ञानकाजी मानन्धको पुस्तक ‘बनेपा सातगाउँ’मा पाइन्छ । कलिगत वर्ष ४१९७ मा राजा आनन्ददेवले काभ्रेमा छरिएका स–साना सात सहर (बनेपा, पनौती, नाला, धुलिखेल, खड्पु, चौकोट र साँगा) मिसाएर एउटै राज्य बनाएका थिए । ‘बनेपा सातगाउँ’मै यस विषयमा ज्ञानकाजीले विशद लेखेका छन् ।

उचाइमा रहेको सहर भएका कारणले गर्दा नै कुनै-कुनै अभिलेखमा यस सहरलाई ‘शिखरपुरी, शिखलापुर ‘भनेर पनि उल्लेख गरिएको छ (उदाहरणका लागिः ने. सं. ७९० को जयजितामित्र मल्लका पालाको एक अभिलेखमा धुलिखेललाई ‘शिखरपुरी’ भनिएको छ) । धुलिखेल उचाइमा रहेकाले हुरीबतासले खुबै धुलो उडाउने गर्थ्यो, त्यसै कारणले यस सहरलाई कोहीको धुलिखेल (धुलो उड्ने सहर) भनिएको हो भन्ने धारणा पनि रहेको छ।

यो सहर जङ्गलनजिकै भएकाले बाघहरू खेल्ने ठाउँ भएको हुँदा धुँ (बाघ) ले खेल खेल्ने ठाउँ भएका कारणबाट ‘धुलिखेल’ भएको पनि विश्वास रहेको हरिभक्त खोजूँको लेखमा पाइन्छ । यता राजा आनन्ददेवले कलिगत वर्ष ४१९७ मा बनेपालगायत सात गाउँको निर्माण गर्दा पूर्व, पश्चिम, उत्तर र दक्षिण गरी चार दिशामा चार गणेशको स्थापना गरी धुलिखेलको पनि निर्माण गरेको कुरा वंशावलीमा उल्लेख गरिएको छ । पहिले भोंत कुलकै विभिन्न राजाहरूबाट सञ्चालित धुलिखेल राज्य वि.सं. १८२० कार्तिक १० गते भने पृथ्वीनारायण शाहको फौजसँग पराजित भई बृहत् नेपालमा गाभिएको थियो ।

त्यसपछि कहिले ‘पूर्व १ नम्बर’ त कहिले बडाहाकिम बस्ने अड्डाको रूपमा धुलिखेल नगर रहँदै आयो । कतिसम्म भने गुरुप्रसाद मैनालीको ‘छिमेकी’ कथामा समेत एक पात्रले साहुको भारी चोर्दा धुलिखेल थानामा थुनिनुपरेको घटना उल्लेख छ । यस सन्दर्भले राणा शासनमा समेत धुलिखेल नगरको प्रभावशाली अवस्था जनाउँछ ।

आज पनि धुलिखेलको पूर्वी भागलाई वटोल भन्ने गर्दछन्‌ । नेवारी (नेपाल) भाषामा ‘व’ को अर्थ ‘पूर्व’ हो । त्यस्तै, माथिल्लो भाग च्वयूछेंटोल हो । नेवारी भाषामा ‘च्वय्‌’ को अर्थ ‘माथिल्लो’ हो । बीचको भागलाई ‘लाछी’ भन्ने गर्दछन्‌ । ‘लाछी’ शब्द पनि नेवारी भाषाकै हो । त्यसको अर्थ ‘बजार’ हो । यी नेवारी भाषाबाट उद्भव भएका शब्दहरू प्रचलित हुनाले धुलिखेल परापूर्वकालदेखि नै नेवारी बस्ती भएको मान्न सकिन्छ। 

सांस्कृतिक रूपमा पनि समृद्ध धुलिखेलकी आराध्य देवी त्यहाँको च्वयछेंटोलको उचाइमा प्रतिष्ठापित देवी भगवती हुन्‌ । धुलिखेल भगवतीको मन्दिरबारे रहेको एक किंवदन्तीअनुसार धुलिखेल र श्रीखण्डपुर (हाल खड्पु) बीचमा रहेको एक फाँटमा एक कन्या रोइरहेकी थिइन् । उनीबारे सोधपुछ गर्दा उनी देवी भएको र सुनका गहना ल्याइदिएमा आउने र बसोबास गर्ने कुरा बताएपछि श्रीखण्डपुरका मानिसहरू सुनका गहना खोज्न गए तर धुलिखेलबासीले भने सुनजस्तै फर्सी, तोरी आदि फूलहरूका माला र अन्य गहना बनाएर श्रद्धा र भक्तिपूर्वक ती देवीलाई दिए र धुलिखेलको च्वयछेंको माथिल्लो डाँडाजस्तो ठाउँमा प्रतिष्ठापित गरे । यो कुरा थाहा पाएपछि श्रीखण्डपुरबासीहरूले देवीलाई फकाउन जाँदा पनि उनले धुलिखेलमै बस्ने इच्छा व्यक्त गरेकाले क्रुद्ध भएका उनीहरूले देवीको नाक काटेर ल्याई श्रीखण्डपुरमा स्थापना गरेकाले नै धुलिखेलको देवीको नाक नभएको मानिन्छ।

प्यागोडा शैलीमा निर्मित धुलिखेल भगवतीको मन्दिरमा दसैँमा विशेष किसिमको जात्रा मनाइन्छ। हरेक परिवारका एक/एकजना सदस्य तरबारसहित सामेल भई मनाइने खड्गजात्रा अर्थपूर्ण जात्रा हो। महादेव र पार्वतीका रथ जुधाएर, भगवतीको प्रतिमा रथमा राखी नगर परिक्रमा गराएर धुमधामका साथ यो विशेष जात्रा मनाइन्छ।

धुलिखेलबारे कम चर्चामा रहे पनि अर्को अत्यन्तै महत्त्वपूर्ण त्रिशक्तिदेवी हरसिद्धि हुन्‌ । यी देवीको तीनतले मन्दिर धुलिखेलको केन्द्रभाग नारायणचोकको पूर्वपट्टि दटोलमा छ। श्री ३ उग्रतारादेवी प्रसन्न भएर राजा विक्रमादित्यलाई ‘ती देवीलाई गुप्त गरी नराख्नू र नाटक बनाई प्रख्यात गर्नू’ भनी अनुग्रहवाणी भएको हँदा पछि देवीकै निर्देशनमा हरसिद्धि पुराणअन्तर्गत त्रिशक्तिदेवीस्वरूपा भारतको उज्जयिनीपीठकी भवानीलाई आह्वान गरी देवीलाई प्रतिष्ठापन गरिएको हो भन्ने कथन रहेको छ । तीनवटा घटमा स्थापित हरसिद्धिदेवी माहेश्वरी, वैष्णवी र कौमारीको संयुक्त रूप हो ।

राजा विक्रमादित्यको पालादेखि चलाउँदै गरेको हरसिद्धिको नाच कुनै-कुनै राजाहरूका पालामा बन्द भए पनि सो नाच अहिले चलाइँदै आएको छ। नेसं ९६७ को अभिलेखमा यी त्रिशक्तिदेवी हरसिद्धिको मन्दिर शिखरापुरवासी जोगनारायणले बनाइदिएको कुरा उल्लेख भएकाले  हरसिद्धिको धेरै पहिलेदेखि नै धुलिखेलसँग सम्बन्ध रहेको देखिन्छ । पाटनबाट ल्याइने हरसिद्धिको नाच धुलिखेलमा पनि १२ वर्षमा नाच्ने गरिन्छ । त्यस बखत धुलिखेलमा भव्य मेला लाग्ने गर्दछ । मानिसहरूले त्यस बखत श्रद्धा र भक्तिका साथ यी देवीको पूजा गर्दछन्‌ ।

यो मल्लकाल र त्यसअघिको धुलिखेलको वैभव हो । मल्लकालपछि पनि यहाँका जनताले यी सबै जात्रा, पर्व, मेला चलाइरहेका छन् । आज कतिपय जात्रा हराउँदै गए पनि प्रतीकात्मक रूपमा सानो समूह बनाएर पूजाआजा गरिरहेको कुरा धुलिखेलका नगरका संस्थापक बेलप्रसाद श्रेष्ठ बताउँछन् ।

आजको ऐनामा धुलिखेल

भनिन्छ यो चराचर संसार, प्रकृति वा ईश्वर वा जेले रचेको भए पनि ठाउँ मान्छेले बनाउने हो । मान्छेको सीप, सृजना र पसिनाले मात्र कुनै पनि नगर समृद्ध बन्छ । यद्यपि कतिपय अवस्थामा नेपालजस्तो भूबनोट भएको देशमा प्राकृतिक अवस्थाको आधारमा पनि स्थानविशेषको चर्चा गर्नु सान्दर्भीक हुन्छ ।

समुद्री सतहबाट करिब ५ हजार ३ सय ३० फिट अर्थात् लगभग १६ सय २५ मिटर उचाइमा पूर्वतर्फ रमणीय नगर धुलिखेल आजको नक्सामा काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित छ । जिल्लाको सदरमुकाम तथा पूर्वी नेपालबाट काठमाडौँ प्रवेश गर्ने मुख्य नाकाको रूपमा रहेको यस नगरपालिका काठमाडौँ उपत्यकाबाट ३०  किलोमिटर  दूरीमा छ। पूर्वमा पाँचखाल र नमोबुद्ध न.पा, पश्चिममा बनेपा र पनौती न.पा., उत्तरतर्फ पनि पाँचखाल र बनेपा न.पा. र दक्षिणतर्फ नमोबुद्ध र पनौती न.पा.भित्र धुलिखेलको सिमाना कायम भएको छ।

धुलिखेल काभ्रे जिल्लाको सदरमुकाम भएकाले यहाँ थुप्रै सरकारी कार्यालय रहेका छन्। साबिकको धुलिखेल नगरपालिका २०४३ साल फाल्गुण ५ गते स्थापित भएको थियो। ५५ वर्ग कि.मि क्षेत्रफल ओगटेको धुलिखेल नगरपालिकामा पहिलेका पात्लेखेत, शंखुपाटीचौर, शारदा बतासे, रविओपी र देविटार अनि बुडोलका केही वडाहरू, सुब्बागाउँका केही वडाहरू, काभ्रेनित्य चण्डेश्वरीका केही वडाहरू, श्री खण्डपुरका केही वडाहरू र काभ्रेनित्यचण्डेश्री (२०७२ मा थपिएको ) मिलेर १२ वटा वडाहरू रहेका छन्। पूर्वमा पाँचखाल र नमोबुद्ध न.पा, पश्चिममा बनेपा र पनौती, उत्तरतर्फ पनि पाँचखाल र बनेपा र दक्षिणतर्फ नमोबुद्ध र पनौती न.पा.भित्र धुलिखेल न.पा.को सिमाना कायम भएको छ।

पहाडी क्षेत्रमा रहेको यस नगरमा मिश्रित जनजातिले बसोबास गरेको भएतापनि नेवार समूदायको  बाहुल्यता पाईन्छ। पहाडी भूभागले ओगटेता पनि यहाँ प्राय सबैजसो वडामा खानेपानी, बिजुली र सडकको सुविधा उपलब्ध छ । यस नगरपालिका क्षेत्र भित्र कहि वर्ष यतादेखि बसोबासको चाप बढ्दै गएको पाइन्छ ।  काभ्रे जिल्लाकै उत्कृष्ट नमुना नगर धुलिखेलमा स्थानीय बासिन्दाको पहलमा स्थापित देशकै पहिलो नमूना सामुदायिक सुविधासम्पन्न शैक्षिक धुलिखेल अस्पताल, आफ्नो शैक्षिक गुणस्तरका निम्ति प्रख्यात काठमाडौँ विश्वविद्यालय, सञ्जीवनी नमुना मा.वि., थुप्रै पर्यटकीय पार्कहरू, ऐतिहासिक महत्वका सम्पदा स्थानहरू, हजार सिँढी, देवीस्थानजस्ता पर्यटकीय स्थलहरू, प्रादेशिक शिक्षा तालिम केन्द्र रहेका छन्।

काभ्रे जिल्लाकै उत्कृष्ट नमुना नगर धुलिखेलमा स्थानीय बासिन्दाको पहलमा स्थापित देशकै पहिलो नमूना सामुदायिक सुविधासम्पन्न शैक्षिक धुलिखेल अस्पताल, आफ्नो शैक्षिक गुणस्तरका निम्ति प्रख्यात काठमाडौँ विश्वविद्यालय, सञ्जीवनी नमुना मा.वि., थुप्रै पर्यटकीय पार्कहरू, ऐतिहासिक महत्वका सम्पदा स्थानहरू, हजार सिँढी, देवीस्थानजस्ता पर्यटकीय स्थलहरू, प्रादेशिक शिक्षा तालिम केन्द्र रहेका छन्।

धुलिखेल नगरपालिकाको जम्मा जनसंख्या ३३७२६ रहेको छ जसमध्ये १७२६४ महिला र १६४६२ पुरूष रहेका छन् । ८५७० परिवार रहेको यस नगरको साक्षरता प्रतिशत ९८.०७% रहेको छ। धुलिखेल नगरले बिगत ५ बर्षमा ५३ वटा पार्क निर्माण गरि पर्यटन लाई थप टेवा पुर्याएको छ | यस नगरपालिकाको वार्ड नं. ६  को मैनेभीरको डाँडामा अत्याधुनिक साधन सम्पन्न धुलिखेल सामुदायिक अस्पताल संचालनमा रहेको छ जसले हजारौँ स्वदेशी तथा विदेशीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ  ।

यहाँका अन्य उपलब्धिको कुरा गर्नुपर्दा नेपालकै नमूनाको रूपमा सञ्चालित खानेपानी कार्यक्रम तथा ढल प्रशोधन केन्द्रबाट नमूनाको रूपमा बायोग्याँस उत्पादन समेत भएको छ । यस नगरपालिका भित्रमा खानेपानी , विद्युत तथा अन्य विविध सुविधाहरू सजिलै उपलब्ध छन्।  प्रशस्त मात्रामा पर्यटकीय सम्भावना भएको यस क्षेत्रमा विभिन्न होटलहरू समेत संचालनमा रहेका छन् । नगरको मध्यभाग भएर जाने दुई ठूला राजमार्ग (बिपी राजमार्ग र अरनिको राजमार्ग)  का कारण यस नगर व्यापारको केन्द्रविन्दु समेत बनेको छ ।

सांस्कृतिक रूपले निकै समृद्ध धुलिखेलमा आज पनि पाँचसय वर्षको इतिहास बोकेका विभिन्न गुठीहरू पनि सञ्चालित छन् जसमध्ये धुलिखेल भगवतीको जात्रा गुठी, धुलिखेल गणेश, सरस्वती, महाकाली, वाराही भैरव गुठी, धुलिखेल शेषनारायण गुठी, धुलिखेल गौखुरेश्वर महादेव गुठी, धुलिखेल भगवती गुठी, भगवतीको नगरा गुठी धुलिखेल आदि मुख्य गुठीहरू हुन्।

यहाँका मुख्य सांस्कृतिक सम्पदाहरूमा धुलिखेल भगवतीको मन्दिर, शेषनारायणको मन्दिर, गौखुरेश्वर महादेव, त्रिशक्तिदेवी हरसिद्धि पीठ, हरिसिद्धिको नाच (राजा विक्रमादित्यको पालादेखि प्रचलित), भगवती जात्रा, खड्गजात्रा, श्रीकृष्णको रथजात्रा तथा यहाँ रहेका ऐतिहासिक मूल्यवान् मूर्तिकला आदि पर्दछन्। प्राचीन काठमाडौँ उपत्यका र तिब्बतबीचको मुख्य व्यापारिक थलो नगर धुलिखेल आज पनि व्यापारको अग्रस्थानमै छ । यद्यपि यहाँका धेरै व्यवसायीले भक्तपुर, काठमाडौँ तथा विदेशमा समेत व्यवसाय सुरु गरेकाले व्यापारको क्षेत्रमा यहाँ पुनर्जागरण आवश्यक देखिन्छ ।

भोलिको दर्पणमा धुलिखेल

समयसापेक्ष रूपमा तीव्र विकास गरिरहेको धुलिखेल नगरपालिकाले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग’को कार्यसम्पादन मूल्याङ्कनमा यस वर्ष जिल्लामा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ। जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी अङ्क ६५ दशमलव प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो । संस्कृति, सम्पदा र कलाको जगेर्ना गर्दै अघि बढेको धुलिखेल नगरपालिकामा विभिन्न स्थल निर्माण गरी यो क्षेत्रलाई नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा चिनाउने लक्ष्यसहित कार्यहरू भइरहेका छन्।

शिक्षा र स्वास्थ्यको केन्द्रको रूपमा विकास धुलिखेललाई विकास गर्दै, हरियालीयुक्त, वातावरणमैत्री, स्मार्ट धुलिखेलको निर्माणमार्फत् यहाँका बासिन्दाहरूको जीवनस्तरमा गुणात्मक सुधार गर्नका निम्ति र योजनावद्ध विकास गरी एक नमुना नगरको रूपमा स्थापित हुन यहाँको स्थानीय सरकार निरन्तर रूपमा क्रियाशील छ र यस कार्यमा विभिन्न तहका सरकारी तथा गैरसरकारी संस्थाहरूले पनि उत्तिकै योगदान दिएको देखिन्छ। यहाँका स्रोत साधनहरूको उचित रूपमा पहिचान र परिचालन गरी धुलिखेललाई आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य, शिक्षामा अग्रणी नगरपालिका, सुन्दर ग्रामीण सहर र उत्कृष्ट नगरपालिकाका रूपमा विकास गर्नका लागि स्थानीय सरकारले चालेका कदमहरू वास्तवमै उपयोगी र सह्रानीय छन्।

धुलिखेलमा भइरहेका तर अझै पूर्ण रूपमा सञ्चालन हुन नसकेका सम्पदा तथा पर्टकीय स्थल छन् । ती पर्यटकीय ‍सम्भावनायुक्त क्षेत्रहरूमा हजार सिंढी, देवीस्थानमा रहेको भ्युटावर, टुँडिखेल पार्क, शान्तिवन बौद्धस्तुपा आदि पर्छन् । यिनलाई अधिकतम रूपमा पर्यटक जानेगरी विकास गर्दा यस क्षेत्रको अर्थ-व्यवस्थालाई निकै टेवा पुग्ने देखिन्छ ।

साथै यस स्थानमा विदेशी पर्यटकहरूलाई लक्षित गरि सञ्चालनमा ल्याईएका स्तरिय होटेल, रिसोर्ट, लजहरू प्रशस्त रहेका छन्। यस जिल्लामा केही पदमार्गहरू पनि स्थानीय पर्यटनकर्मीहरूको पहलमा सञ्चालनमा आएका छन् । यहाँबाट गगनचुम्बी हिमालहरूमध्ये मनास्लू, लमजुङ्ग, गणेश हिमाल, गौरीशंकर हिमाल, लामटाङ, रोल्वालिङ, महालंगूर र कुम्भकर्ण हिमालयहरू देखिन्छन् । यसका अतिरिक्त अग्ला चुचुरा चढ्ने पर्वतारोहीहरूले मात्र साधारणतया: देख्न पाउने हिमनदी धुलिखेलको देवीस्थान डाँडाबाट सजिलै देख्न पाउने भएकोले पनि यो ठाउँ आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ। हिमाली चुचुरा र हिमनदी, सुर्योदयको अवलोकन यस स्थानका विशेषताहरू रहेका छन् ।

आगामी दिनहरूमा धुलिखेल नगरपालिकाको थप उन्नयन र अभिवृद्धिका निम्ति योजनाबद्ध विकासको अवधारणा अनुशरण गर्दै, सीमित स्रोत र साधनलाई प्रभावकारी र मितव्ययी विनियोजन मार्फत् नतिजामुखी विकास कार्यमा केन्द्रित गर्नुपर्छ। पर्यटन लक्षित पूर्वाधार निर्माणमा नगरपालिकाले सहजीकरण, समन्वय र प्रोत्साहन गर्दै विशेष कार्यक्रमहरू सञ्चालन गर्नु जरूरी छ। पर्यटन केन्द्रित आर्थिक विकासको माध्यमबाट रोजगारीको सृजना गर्नुपर्छ र मानवीय विकासको क्षेत्रमा लगानी वढाइ मानवीय पूँजी निर्माण गर्नुपर्छ। शिक्षा तथा मानवीय विकासमार्फत् स्वरोजगारयुक्त, चेतनशील तथा स्वावलम्बी नागरिक निर्माण गर्न र शैक्षिक क्षेत्रमा पनि वृद्धि गर्नका लागि काठमाडौं विश्वविद्यालय र अन्य प्राज्ञिक संस्थाहरूसँग सहकार्य गर्नुपर्छ। स्वास्थ्य, सरसफाई, तालिम आदिका लागि धुलिखेल अस्पतालसँग सघन सहकार्य गर्दै हातमा हात मिलाई नागरिकको जीवनस्तर सुधार्न कम्मर कस्नुपर्छ।

धुलिखेल नगरपालिकालाई योजनावद्ध विकासको मार्गमा हिँडाएर, आर्थिक र सामाजिक विकास मार्फत् रोजगारीको सृजना र मानवीय क्षमता वृद्धि तथा सुशासनको माध्यमबाट नगरवासीहरूमा भरपर्दो र गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढ्नुपर्छ।

इतिहासका ती पानाहरूदेखि नै सुनौलो अक्षरमा कुँदिदै आएको गौरवशाली नगर धुलिखेलले गरेको विकासका कार्यहरू वास्तवमै प्रशंसनीय र अनुकरणीय छन्। समयसापेक्ष रूपले नै बहुपक्षीय विकासमा जोड दिँदै आइरहेको धुलिखेलको भविष्यमा थप उन्नति भई यो क्षेत्रलाई एक नमूना नगर बनाउनका निम्ति चालिएका विभिन्न कदमहरूलाई अझ विकासोन्मुख बनाई स्थानीय सरकार र नागरिक समाजले पनि सहकार्य गर्नु जरूरी छ।

हिजोको सुन्दर, आजको गतिशील र भोलिको विकसित अनि समृद्ध धुलिखेलको कल्पना साकार गर्नुपर्छ । धुलिखेलको भविष्य अझ सुन्दर बनाउनुपर्छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

गरिमा अधिकारी
बनेपा निवासी गरिमा अधिकारी कविता तथा निबन्ध लेखनमा सक्रिय छिन् । चित्रकला उनको अभिव्यक्तिको अर्को माध्यम हो । उनलाई garimaadhikarividhya@gmail.com प्रतिक्रिया दिन सकिनेछ ।