
आजभोलि हरेक मानिसको जीवनशैली व्यस्त छ । त्यसमाथि वैदेशिक रोजगारी वा उच्च शिक्षाको लागि विदेश बस्नेहरूको व्यस्त शारिरीक तथा मानसिक जीनशैलीले माइग्रेनको जोखिम बढेको देखिन्छ ।
सहरबजारको भीड र दैनिक कामको दौडधूप, अपर्याप्त निद्रा, स्क्रिनमा बिताइन समयले मानिसको मस्तिष्क शिथिल भइसकेको हुन्छ । यसले गर्दा लामो समयसम्म लगातार टाउको दुखिरहन्छ । यसपछि एमआरआई, सिटिस्क्यान गर्दा पनि टाउकोमा केही समस्या देखिँदैन भने माइग्रेन भएको हुन्छ ।
पछिल्ला वर्षहरूमा यस्तो समस्या लिएर आउने बिरामीको संख्या विश्वभरि बढेको सर्वेक्षणहरूले देखाएका छन् । विशेषतः २० देखि ५० वर्ष उमेर समूहमा यस्तो समस्या धेरै देखिने गर्छ । यस उमेरमा पढाइ, रोजगारी र भविष्यको चिन्ता हुनुका साथै शरीरमा हुने हर्मोनहरूको उचाढचढावले गर्दा यो समस्या धेरै देखिने गर्छ ।
के हो माइग्रेन ?
माइग्रेन भन्नाले लामो समयसम्म देखिने टाउको दुख्ने रोग हो । सामान्य खालको माइग्रेनमा टाउको दुखाइ मात्र हुन्छ भने जटिल खालको माइग्रेनमा हात खुट्टाहरू नचल्ने, आँखा दुख्ने हुन्छ । यो रोग भएका बिरामीको टाउको भित्रका मष्तिष्कका रक्तनलीहरू समयसमयमा फुक्ने गर्नाले ती रक्तनलीहरूका वरिपरिका नसाहरू तन्किन्छन् र विभिन्न प्रकारका रसायन निकाल्न थाल्छन् । यसले गर्दा टाउकोभित्र इन्फ्लामेसन (सुन्निने) गराउँछ र टाउको दुख्न थाल्दछ त्यसपछि माइग्रेनका लक्षणहरू देखिन थाल्दछ ।
तर, आजसम्म टाउको र मष्तिष्कका रक्तनलीहरू किन यसरी फुक्ने गर्छन् माइग्रेन हुन जान्छ भन्ने कारण पत्ता लागेको छैन । माइग्रेन भइसकेपछि एक साता वा एक महिनासम्म औषधी खाएर सन्चो हुँदैन जसका लागि बिरामीले औषधीका साथै आफूमा तनाव कम लिने, चक्लेट, आइसक्रिम खानेकुराहरू कम खाने ,रातमा निदाउनेजस्ता कार्य गर्नुपर्छ ।
माइग्रेनका लक्षणहरू
माइग्रेन एउटा क्रोनिक (लामो समयसम्म लागिरहने रोग हो) जसले गर्दा यसका लक्षणहरू बेलाबेलामा बल्झिरहने हुन्छ । माइग्रेन भएपछि यो रोग पूर्णरूपमा सन्चो हुन निकै समय लाग्छ । यो रोग लागिसकेपछि बिरामीलाई टाउकोको एक भाग मात्र दुख्ने वाकवाक हुने र कहिलेकाहीँ बान्तासमेत हुने, हात खुट्टा चिसो हुने, कहिलेकाहीँ एकैपटक बेजोडसँग २४ घण्टासम्म टाउको दुख्ने गर्दछ, साथै बिरामीले धेरै हल्ला, चर्को आवाज सुन्न, सहन नसक्ने र एकान्तमा बस्न रूचाउने हुन्छन् ।
माइग्रेन यही कारणले हुन्छ भनेर वैज्ञानिकले ठोस कारण पत्ता लगाइसकेका छैनन्न्, तर पनि माइग्रेन हुने केही कारणहरूमा, महिलाहरूमा महिनावारीले गर्दा हुने हर्मोनको उतारचढावले गर्दा पनि यो रोग धेरै लाग्ने गर्छ भने धेरै तनाव, चिन्ता लिने गर्नाले पनि यो रोग लाग्ने गर्छ । धेरै चक्लेट, आइसक्रिम खाने र घाममा धेरै हिँड्नेहरूलाई माइग्रेन हुने सम्भावना ज्यादा हुन्छ । यस्तै, घरमा आमा बाबुमध्ये कसैमा माइग्रेन छ भने छोरा छोरीमा हुने सम्भावना धेरै हुन्छ त्यसैले केही माइग्रेन वंशाणुगत कारणले पनि हुन्छ ।
मानिसको खानपिनले गर्दा पनि माइग्रेन हुने गर्छ ।
उपचार यदि कुनै मानिसलाई समयसम्म लगातार टाउको दुखिरहन्छ भने उसले एमआराई, टाउकोको सिटिस्क्यान गर्नुपर्छ । यदि एमआराई, सिटिस्क्यान गर्दा पनि टाउकोमा अरू केही समस्या देखिएन र लामो समयसम्म टाउको लगातार दुखिरहन्छ भने त्यस्तो बिरामीलाई माइग्रेन भएको मानिन्छ । यसरी माइग्रेन देखिइसकेपछि यसको उपचार दुई तरिकाले गरिन्छ एक औषधी सेवन र अर्को माइग्रेन एट्याकबाट बच्न बिरामीले आफ्नो जीवनशैलीलाई सुधार गर्ने ।
माइग्रेन देखिइसकेपछि बिरामीले चकलेटहरू कम खाने, धुलो धुवाँबाट बच्ने र आफूलाई तनावरहित राख्नुपर्छ । यदि माइग्रेन एट्याक भएमा टाउको सहनै नसक्ने गरी दुखेमा चिकित्सकको सल्लाहमा दुखाइ कम गर्ने औषधी सेवन गर्न सकिन्छ । तर, लामो समयसम्म माइग्रेनका कारणले टाउको दुखिरहेमा चिकित्सकको सल्लाहमा दुखाइ घटाउने औषधी खानुपर्छ । यसबाहेक बिरामीले दैनिक शारीरिक अभ्यास गर्ने जसमा दैनिक कसमेकम आधा घण्टा हिँड्ने गर्नुपर्छ । मदिरा र चुरोट सेवन माइग्रेनको लागि घातक मान्निछ ।
(प्रस्तुति : दृष्टान्त शर्मा । एजेन्सीको सहयोगमा)



