
लन्डन तथा पिटरबरोमा हुने दशैं-तिहार र नयाँ वर्षका कार्यक्रममा एउटा जोशिलो मान्छे ट्रय्याकमा धुन बजाएर गीत गाइरहेको देख्न सक्नुहुन्छ । वा दर्शकदिर्घामा बसेर मस्त हुटिङ गर्दै नेपाली गीतमा झुमिरहेको पाउनहुन्छ । उनी हुन् पूर्णमान बज्राचार्य ।
सन् २०१० आसपास लन्डनमा हुने ‘कोसेली समूह’को कार्यक्रममा पनि उनी यसरी नै गीत गाउँथे । तर पूर्णमान गायक बनिसकेर पनि परिस्थितले ओझेलमा पारेका पात्र हुन् । १६ वर्षको उमेरमा गायक बन्ने लक्ष्यले ‘मौन प्रेम’ नामक क्यासेट एल्बम तयार गरिसकेका पूर्ण युके आएपछि रहरको मात्र गायक भए । तर उनले गाउने काम भने छाडेका छैनन् ।
पूर्णमानको उनको घर धादिङ हो । विद्यालय शिक्षा धादिङकै तामाङखर्क माध्यमिक विद्यालयबाट पुरा गरेका पूर्णले स्कुलदेखि गाउँघरका कार्यक्रममा खुबै गीत गाए । लक्ष्मी संग्रौला र अनिल श्रेष्ठसँग मिलेर ‘धादिङ ब्वाइज’ नामको ब्यान्ड खोले । पछि काठमाडौँसम्म आएर गीत गाए ।

तर उनकै शब्दमा भन्दा ‘गायक बनिसकेर पनि नबनेको गायक’ भए । मनभरि रहर हुँदा पनि खुलेर गीत संगीतमा लाग्ने माहोल नजुरेको उनी बताउँछन् । त्यतिमात्र होइन खेलकुदमा पनि खुलेर लाग्न पाएनन् उनी ।
तर रोचक कुरा के भने, उनी ‘फुल म्याराथन’मा रुची राख्छन् । युकेमा भएका विभिन्न म्याराथनमा अहिले पनि भाग लिइरहेका हुन्छन् । दैनिक दुईदेखि तीन घन्टा दौडिन्छन् ।
उर्जाशील युवा
सोझो हिसाबमा भन्दा ४२ वर्षीय पूर्णमान पर्दा पछाडिका हराएका खेलाडि हुन् । सन् २००१ तिर १९ वर्षको उमेरमै उनी युके आइपुगे । ‘युके आएपछि ठूलो समुद्रमा हराएजस्तो भएँ । गीत गाउने कुरा दशैं-तिहार कार्यक्रममा नै सीमित रह्यो’, उनी सुनाउँछन् ।
तर युके आएपछि पनि उनको युवा जोश सोझो हिसाबले जागिर खाएर कमाउनेतिर मात्र लागेनन् । पारिवारिक पृष्ठभूमि व्यापार नै रहेकाले पूर्णले पनि व्यापार सुरु गरे । २०१७ देखि पिटरबरो बस्ने गरी आएका उनी रेस्टुरेन्ट व्यवसायमा संलग्न छन् । श्रीमति रुक्सालक्ष्मी शाक्य एक छोरा र छोरीसहित बस्दै आएका छन् ।

कामले व्यस्त रहँदा पनि उनी नयाँ गीतहरू सुनिसकेका हुन्छन् । काठमाडौंमा हुने नेपाल आइडल, भोइस अफ नेपालजस्ता रियालिटी-सो हेरिरहेका हुन्छन् । मनपर्नेलाई भोट गर्छन् । अनि आफ्नो वरिपरिका साथिभाइलाई हौस्याउँछन् । सकेसम्म गाउने-बजाउने माहोल खोजिरहेका हुन्छन् ।
‘तर विदेशको बाध्यता नै यस्तो हुन्छ कि महिनौँसम्म सबै आफ्नै काममा व्यस्त हुन्छन्’ उनी भन्छन्- ‘केही कार्यक्रम गरौँ न भन्दा सबैलाई जुटाउन गाह्रो पर्छ । पैसाले होइन समयले बाँधेको छ सबैलाई ।’
पूर्णलाई लोक-पप बढी मन पर्छ । ‘लामो समय प्रेम सम्बन्ध भएपछि बल्लबल्ल विवाह भएको हो । यसले पनि प्रेमिल भावको लोकपप गीत बढी मन परेको होला’ हाँस्दै उनी सुनाउँछन्, ‘अहिले भक्तराज, कर्णदास, कालिप्रसाद बास्कोटाका गीतहरू पनि उतिकै मन पर्छ ।’
गायन र दौडमा सक्रिय
पछिल्ला वर्षमा पूर्णमानको दैनिकी बनेको छ दौड अनि गायन । हरेक दिन बिहान ९ बजेदेखि १२ बजेसम्मको समय आफ्नै लागि छुट्याउने बताउँदै उनी भन्छन्-
‘मेरो दौडिने र गीत सुन्ने समय त्यही हो । यसबेला सकेसम्म कसैको फोन पनि उठाउँदिनँ ।’
उनलाई लामो दुरीको दौडमा रुची छ । युकेमा हुने म्याराथनहरूमा सहभागी भइसकेका छन् । खेलाडीका रूपमा नभई आगन्तुक खेलाडीको रूपमा उनी दौडिरहेका हुन्छन् । बेलायतजस्तो सधैं काममा व्यस्त हुने ठाउँमा आफूलाई रहर लागेको क्षेत्रमा समय दिन सबैले पाउँदैनन् । तर उनले सँगै लैजान खोजेको देखिन्छ ।
‘दौडिँदा जति खुसी अरू केही गर्दा लाग्दैन । शरीरमात्र होइन दिमाग पनि स्वस्थ हुन्छ दौँडिदा’ उनले भने, ‘यो कुरा म आफैंले भोगेर भनेको हुँ । साथिहरूलाई पनि यही भनेर दौडिनका लागि मोटिभेट गर्छु ।’
दौड र गायन । यी दुई कुरामा उनको रुची देख्दा प्रोफेसनल हो कि जस्तो देखिन्छ । तर दुवै क्षेत्रमा उनी देखिने गरी अगाडि आएका छैनन् ।

तर पूर्ण अब पुराना दिन धेरै फर्केर हेर्न चाहँदैनन् । छोरा-छोरीलाई नेपाली भाषामा जोड दिएका छन् । अनि आफू नेवारी भाषा सिक्दैछन् । त्योमात्र होइन अब बिस्तारै पर्दाअगाडि आउने तयारीमा छन् ।
भन्छन्- ‘केही गीत रेकर्ड गर्ने योजनमा छु । राम्रो गीतकारको खोजीमा छु ।’