फिचरसमाचार

जमाना इ-बुक र अडियो बुकको

535views

सूचना-प्रविधिको द्रुततर विकाससँगै अब पढ्नका लागि पुस्तक किन्नैपर्ने वा कोहीसँग माग्नुपर्ने झन्झट छैन । न त पुस्तकालय पुगेर पढ्नुपर्ने वा घरमा ल्याउनुपर्ने बाध्यता । अझै बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकको विकल्पमा इ-बुक तथा अडियो बुकको प्रयोग बढ्न थालेको छ ।

पछिल्लो समय नेपाली भाषाका पुस्तकसमेत इबुक र अडियो बुकमा सजिलै पाइन सकिने भएको छ । नेपालका विभिन्न निजि प्रकाशन गृह तथा इन्टरनेट प्लेटफर्मबाट सजिलै पुस्तक किनेर पढ्न वा सुन्न सकिने भइसकेकाे छ । यसले प्रवासमा बस्ने नेपालीलाई न्यून रकममा नेपाली भाषाका पुस्तकहरू पढ्न सक्ने अवसर दिएको छ । नेपालमै पनि आफूले चाहेक पुस्तक डिजिटल भर्सनमा पढ्न वा संग्रहणमा राख्न सजिलो भएको छ ।

नेपालको पुरानाे मानिने पुस्तक प्रकाशन गृह रत्न पुस्तक भण्डारले पनि ‘सप रत्न अनलाइन’मार्फत इबुक तथा पुस्तक संसारभरि बिक्री गर्दै आएको छ । यस्तै थुप्रै डटकम, किताबयात्रा लगायतले पनि इ-बुक बिक्री सुरु गरिसकेका छन् । यसबाहेक ‘इलाइब्रेरी डटकम’ तथा ‘इपुस्तकालय नेपाल’ले कतिपय इ-बुक नि:शुल्क उपलब्ध गराउँदै आएका छन् । नेपालय प्रकाशनले इ-कविताको सुरुवात गर्दै कवितालाई अत्यन्त न्यून दरमा किनेर सुन्न मिल्ने फिचर ल्याइसकेकाे छ । अन्य निजि संस्थाहरूले पनि इ-बुक र अडियोबुक तथा इ-लाइब्रेरी सुरु गरेका छन् ।

के हो इबुक

इ–बुकको लागि सफ्टवेरको माध्यमबाट कम्प्युटरमा पुस्तकलाई डिजिटलाइज गरेर राख्ने गरिन्छ । ती डिजिटाइज भर्सनका पुस्तकलाई कम्प्युटर, मोबाइल वा कुनै पनि डिजिटल स्क्रिनमा सजिलै पढ्न सकिन्छ । एउटै किताबलाई डिजिटल भिडियो र अडियोमा पढ्न सक्ने भएकाले पनि यसको प्रयोग बढ्दै गएको हो । समयको व्यवस्थापनमा सजिलो, पुस्तकालय चाहर्नुपर्ने झन्झट नहुने, चौबीसै घण्टा आफूले चाहेको पुस्तक विद्युतीय माध्यमबाट पढ्न सकिने भएकाले यसको प्रयोग बढेको छ ।

इबुकको इतिहास सन् १९८० को दशकबाट विद्युतीय पुस्तकालयको विकाससँगै सुरु भएको हो । इन्टरनेटको विस्तार भएसँगै संसरभरि पुस्तकको विकल्प खोज्न थालियो । अन्तत: पुस्तकको विकल्पमा पुस्तककै अर्को रुप इबुकले जन्म पायो ।

यता मोबाइल एप्लिकेसनको माध्यमबाट आफूलाई मनपर्ने किताब डाउनलोड गरी पढ्न सकिने हुँदा इ-लाइब्रेरीको सुविधा भएको पुस्तकालय नै जानुपर्छ भन्ने छैन । यद्यपि, पुस्तकालयमा भएका सम्पूर्ण पुस्तकहरू डिजिटल भर्सनमा राख्न नसकेपनि सफ्टवेयरको माध्यमबाट पुस्तक र लेखकको नाम सजिलै खोज्न मिल्ने प्रविधि देशका अधिकांश पुस्तकालयमा सुरु भइसकेको छ ।

अहिले दुर्गम जिल्लाका विद्यालयदेखि देशका विभिन्न सहरमा सञ्चालनमा आएका पूस्तकालयमा पनि इ-लाइब्रेरी प्रयोग हुँद आएको छ । नेपालका ठूला पुस्तकालयहरू त्रिभुवन विश्वविद्यालय, नेपाल राष्ट्रिय पुस्तकालय केशर पुस्तकालय, मदन पुस्तकालयलगायतले पनि विद्युतीय पुस्तकालय ई– लाइब्रेरीलाई प्रयोगमा ल्याइसकेका छन् । यही इपुस्तकालयको विस्तारित रुपमा इबुक र अडियोबुकको प्रयोग सुरु भएको मानिन्छ ।

रिड नेपाल, ई लाइब्रेरी डटकम, ओपन लर्निङ नेपाल लगायतका संस्थाले नेपालमा इ-लाइब्रेरीका क्षेत्रमा काम गर्दै आएका छन् । यस्तै, पछिल्लो समय लेखक तथा पाठकले अध्ययनका लागि प्रविधिको ज्यादा प्रयोग गर्न थालेका छन् । मुख्यतः किन्डलको विकाससँगै पुस्तक पढ्ने शैलीमा परिवर्तन आएको हो ।

के हो किन्डल  ?

किन्डल अमेजन कम्पनीले विकास गरेको इलेक्ट्रोनिक उपकरण हो, जुन अनलाइन किताब तथा पाठ्य सामग्री पढ्नका लागि प्रयोग गरिन्छ । यसका प्रयोगकर्ताले किताबका साथै अखबार, म्यागजिन, वेबसाइट, ब्लग र इलेक्ट्रोनिक संस्करण खरिद गरी डाउनलोड गर्न र पढ्न सक्छन् । त्यस्तै पीडीएफ डाउनलोड गरेर पनि अनलाइन पुस्तक अध्ययन गर्न सकिन्छ ।

अमेजन वेबसाइटबाट ‘ई–बुक’को किन्डल संस्करण खरिद गर्न सकिन्छ । अधिकांश प्रयोगकर्ता पुस्तक डाउनलोड गर्न वाइफाई जडान गर्छन् । किन्डलमा १४ सयभन्दा बढी पुस्तक संग्रह गर्न सकिन्छ । किन्डलमा अक्षर पढ्दा हार्डकपीमा पढेजस्तै आनन्द आउने प्रयोगकर्ता अध्येताको दाबी छ ।

प्रिन्टेड पुस्तकमा भन्दा बुक मार्क गर्न पाठकलाई किन्डलमा सजिलो हुन्छ । किनकि किन्डलमा स्वचालित बुक मार्क गर्ने सुविधा हुन्छ । पढ्दै जाँदा नबुझेका शब्दको अर्थ खोज्न पनि किन्डलमा सजिलो हुन्छ । पुस्तकको सुरक्षाका लागि पासवर्डको सुविधा भएकाले पनि यो पाठकमाझ प्रिय बन्दैछ ।

सन् २००७ नोभेम्बर १९ मा किण्डलको सुरुवात भएको हो । १२ वर्षको अवधिमा यसमा विभिन्न विकसित भर्सन आइसकेका छन् । किन्डलले ५ मिनेटमै पुस्तक प्रकाशन गर्नसक्छ । जुन २४ देखि ४८ घण्टामा पुस्तक किन्डलको स्टोरमा देखिन्छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.