फिचरसमाचार

क्यानाडामा अन्तरराष्ट्रिय विद्यार्थी : काम र कोठा दुवै पाउन कठिन

602views

पिटला साइराम क्यानडा आएको छ महिना भयो । क्यानाडा आएको सुरुवाति समयदेखि नै उनी निकै अन्योलमा छन् । अन्य अन्तर्राष्ट्रिय विद्यार्थीजस्तै उनी पनि प्रत्येक दिन कामको खोजिमा भौंतारिरहेका छन् । तर विद्यार्थीले नियमअनुसार पाउने पार्टटाइम कामसमेत उनले पाएका छैनन् ।

कोनेस्टोगा कलेजमा बिजनेस म्यानेजमेन्ट पढिरहेका विद्यार्थी साइराम भन्छन्, ‘यहाँ टिक्न र काम पाउन धेरै गाह्रो छ ।’ यो एउटा प्रतिनिधि उदाहरणमात्रै हो । पछिल्लो छ महिनायता क्यानाडा आएका विद्यार्थीले काम पाउन सकेका छैनन् । कोनेस्टोगामै पढिरहेका नेपाली विद्यार्थी सबिन गौतमको पनि अवस्था उस्तै छ । उनी भन्छन्, ‘बिहानै म अनलाइनबाट जागिरको लागि आवेदन दिन्छु । र दिउँसो बजारमा कामको लागि जाँदा एउटै काम मिल्दैन । अब त काम पाउने विश्वास पनि मरिसक्यो ।’

उनी कामको विज्ञापन सामाजिक सञ्जाल, अनलाइन, जब-एजेन्सी जताजतै हेरिरहेका हुन्छन् तर जुनसुकै प्लेटफर्महरू प्रयोग गरे पनि सबैतिरबाट निराशाजनक जवाफमात्र पाउँछन् । उनीजस्तै यस वर्ष क्यानाडा जाने विद्यार्थीहरूले काम पाउन नसक्दा आधारभूत आवश्यकता पुरा गर्न समेत गाह्रो भएको पाइन्छ ।

यता बजारको अवस्था यति खराब देखिन्छ कि केही रोजगारदाताहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बढ्दो आगमनको कारणले ‘हामी काममा लिन सक्दैनौं’ (Not hiring) भनेरै सूचना दिन थालेका छन् । क्यानाडामा बेरोजगारी दर तीन महिनामा बढेको थियो भने अगस्टमा ५.५ प्रतिशतले स्थिर रहेको छ ।

क्यानाडाको श्रम सर्वेक्षणले विद्यार्थीहरू बीचको रोजगारी दर ६४.३ प्रतिशत रहेको जनाएको छ । यसको अर्थ सय जनामा ६४ जनाले मात्र काम पाइरहेका छन् ।

क्यानाडामा अन्तरराष्ट्रिय विद्यार्थीहरूको बेरोजगारी दरको ग्राफ ।

अहिले विद्यार्थीहरू हातमा बायोडाटा लिएर बजारका पसल-पसल तथा रेस्टुरेन्टहरूमा जागिरको लागि सोधिरहेका भेटिन्छन् । यसबाहेक उनीहरू अनेकौं अनलाइन जब पोर्टलमा फारम भरिरहेका हुन्छन् । कतिपय विद्यार्थीहरू पार्टटाइम कामकै लागि आफू बसेको सहरबाट अन्य सहर जान बाध्य छन् । तथ्याङ्क अनुसार, पाँचमध्ये चारजना काम गर्नकै लागि आफ्नो घर बाहिरको स्थानमा यात्रा गरिरहेका छन् ।

क्यानाडाको रोजगारी बजारमा गत जुन २०२२ देखि निरन्तर गिरावट आएको देखिन्छ । यसर्थ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बढ्दो चापले क्यानाडाको श्रम बजारमा दबाब बढिरहेको छ । जनवरी २०२० यता खाना तथा आवासको महंगी पनि बढिरहेको छ ।

यता क्यानाडाले सन् २०२३ मा नौ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू आगमन गर्ने लक्ष्य लिएको छ । अक्टोबरयता नै यो संख्याभन्दा बढी संख्यामा विद्यार्थीहरू क्यानाडा आइरहेको प्रारम्भिक सर्वेक्षणले बताएको छ । सन् २०२२ मा १ सय ८४ देशबाट ५ लाख ५१ हजार ५०४ जना अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विद्यार्थी क्यानाडा आएका थिए । क्यानाडा आउनेहरूमा क्रमश: भारत, चीन र फिलिपिन्सका विद्यार्थी शीर्ष स्थानमा छन् ।

नेपाली विद्यार्थिको संख्या पनि सन् २०१५ पछि तीव्र गतिमा बढेको बताउँछन् परामर्शदाता मुगा राजभण्डारी । उनका अनुसार गतवर्ष मात्रै करिब ६ हजार ४ सय विद्यार्थी क्यानडा भित्रिएका थिए । यो वर्ष करिब १० हजार विद्यार्थी क्यानडा भित्रिने वा जाने अनुमान गरिएको छ । अधिकांश नेपाली विद्यार्थीहरू टोरन्टो, भ्यानकुभर, ओटावाजस्ता ठूला शहरमा आउन चाहन्छन्। शैक्षिक संस्थाहरू पनि तीनै तीनै सहरमा धेरै हुने तथा काम पाउन सजिलो हुने सम्भावना देखेर विद्यार्थीको रोजाइमा यी सहर परेको पाइन्छ।

(यस रिपोर्टमा प्रकाशित प्रतिनिधि विद्यार्थीको नाम स्वीकृतिअनुसार प्रकाशित गरिएको छ । तथा केही विद्यार्थीको गोपनियता कायम गरेर उनीहरूले दिएको सूचनामात्र राखेका छौं ।)

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

1 Comment

Leave a Response

अनिष भट्टराई
अनिष भट्टराई नेपाली न्युज युकेका विशेष संवाददाता एवं क्यानाडा प्रतिनिधि हुन् । उनी यसअघि समाधान राष्ट्रिय दैनिक, इकाज तथा कान्तिपुर दैनिकमा आबद्ध थिए । anishbhattarai04@gmail.com