
युके पिटरबरो निवासी गजलकार नृपेश उप्रेतीको चितवन रत्ननगरमा एकल गजल वाचन सम्पन्न भएको छ । ‘साहित्य प्रतिष्ठान चितवन’को आयोजना र ‘रत्ननगर वाङ्मय परिषद्’को सहकार्यमा आयोजित कार्यक्रममा गजलकार उप्रेतीले दुई दर्जन गजल प्रस्तुत गरे ।
रत्ननगर नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा उप्रेतीका गजल सुन्न चितवन र नवलपरासीका स्रस्टाहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रम उनले तरन्नुमबाट सुरु गरे :
यो प्रेमपथ हो यसमा काँडा हुनेछ हरदम
गन्तव्य पास लाग्छ, टाढा हुनेछ हरदम ।
साम्राज्य ढल्छ हरएक, एउटा समय सीमामा
राजा जो हुन्छ मनको, राजा हुनेछ हरदम ।
उप्रेतीले कार्यक्रममा शृङ्गार रस र समसामयिक गजलहरू सुनाएका थिए । रत्ननगर, चितवन घर भएका उनी पछिल्लोसमय बेलायत पिटरबरो बस्दै आएका छन् । २०७४ सालमा `मुसाफिर´ गजलसङ्ग्रह प्रकाशन गरेका उनका एक सय बढी गजल रेकर्ड पनि भएका छन् ।
करिव दुई घण्टाको कार्यक्रममा नृपेशले २० वटा गजल प्रस्तुत गरे । अधिकांश गजल तरन्नुममा प्रस्तुत गरेका उनले केही गजललाई लयमा वाचन गरे । उनका हरेक शेरलाई स्रोताले ध्यानपूर्वक सुनेका थिए भने बीचमा तालीको लहर पनि उत्तिकै आएको थियो ।




