
सरल जीवनले सरल कथा बोकेको हुन्छ । देख्दा सरल तर बुझ्दा गहन । ‘साम्बाला’ यस्तै चलचित्र हो, जसले उच्च हिमाली क्षेत्रको संस्कार र संस्कृति तथा मातृत्व र आध्यात्मिक चेतनाको विस्तृत भाव प्रस्तुत गरेको छ । यसको कथाले हृदय छुन्छ ।
मानव अस्तित्व आफैंमा गहन छ र त्यहाँभन्दा पनि गहन, आफैंलाई खोज्नु। अध्यात्म भन्छ- ‘म’लाई चिन्नु नै ज्ञान हो। र त्यो ज्ञान पाउनु सबभन्दा कठिन। कठिन कुरालाई सरल रूपमा व्यक्त गर्न पोख्त देखिन्छन्, मीनबहादुर भाम। आध्यात्मिक खोज र मलाई चिन्न यात्रामा निस्केकी प्रेमको कथा हो- साम्बाला । मीनको कथा, पेमाको कथा, जीवनको कथा।
उच्च हिमाली भेगमा चलनझैँ हो बहुविवाह गर्नु। धेरै पत्नी होइन, धेरै पति। यस्तै पेमा पनि बाँधिन्छिन् वैवाहिक सम्बन्धमा तीन दाजु-भाइसँगः टासी, कर्म र दावा। व्यापार गर्ने जेठा दाइ टासी केही समयपछि व्यापारका लागि ल्हासामा जान्छन्। गुम्बामा बस्ने कर्मले आफ्नो जीवन रिम्पोचेको सेवामा समर्पित गरेका हुन्छन् । कान्छा दावा हुन्छन् भर्खरका किशोर, विद्यालय जाने।
यता टासी ल्हासामा गएकै बखत पेमा गर्भवती हुन्छिन् र उनको नाउँ जोडिन्छ त्यहीँका विद्यालयका शिक्षक राम सरसँग। टासीले यो खबर सुनेपछि घर फर्कदैनन् नाङला पासबाट । श्रीमान् टासी नआउने खबर सुनेपछि पेमा निस्किन्छन् टासीको खोजमा।
यता गुरु रिम्पोचेको आज्ञानुसार मन नहुँदानहुँदै पनि पेमाको साथै जान्छन् कर्म। जीवनका व्यावहारिक पक्ष नबुझेका उनले बिस्तारै सिक्दै जान्छन्। टासीको खोजमा उनीहरूको अनन्त खोज जारी रहन्छ। एकदिन राम आइपुग्छन् रिम्पोचेको मृत्युको खबर दिन र बिदा माग्न। कर्मचाहिँ रिम्पोचेको अन्तिम संस्कार गर्नका लागि गुम्बा फर्कन्छन् र त्यहाँबाट पेमाको यात्रा एक्लै अघि बढ्छ।

यही क्रममा पेमा आफ्नो प्रिय घोडा नाम्खा गुमाउँछिन्। टासीले एउटा गुफामा खोलेका शब्दहरू भेट्छिन्। सत्य बुझाउन खोज्दाखोज्दै आफूलाई पाउँछिन् र फर्किन्छिन् घर। फर्किँदा घरमै आइपुगिसकेका टासीले माग्छन् आफू बाबु हुनुको प्रमाण र पेमाले दिन्छिन् प्रमाण: तीर हान्ने खेलबाट।
वास्तवमै कथाले हृदय छुन्छ। बच्चा जसको नै भएपनि जन्म दिनु सबैभन्दा महान् कार्य हो। आमा बन्ने साहस गर्नु नै महिलाको उच्चतम त्याग हो, मातृत्वको बलिदान हो। सर्वोकृष्ट समय हो महिलाको अस्तित्वको । जुन पेमाले आत्मसात गर्छिन्। आफूमात्र नभईकन गर्भको बच्चाको भावी पहिचान सुनिश्चित गर्न हिँड्छिन् यात्रामा। मातृत्वको त्यो भावनालाई कलाकार थिन्ले ल्हामोले शब्दबिना भाव नै भावमा व्यक्त गर्न सायदै कमैले सक्छन्।

चलचित्रमा उच्च हिमाली क्षेत्र, त्यहाँको जीवनशैली, दोषी र निर्दोष छुट्याउन गरिने खेल, मातृत्व र आध्यात्मिक चेतनाको विस्तृत भाव प्रस्तु गरिएको छ। कथाको अन्त्यमा भने पेमाको कोखबाट जन्मेको बच्चा रिम्पोचेको पुनर्जन्म भएको भाव व्यक्त गरिएको छ।
पेमा भने कमल बन्छिन्, शान्त कमल । जहाँ उनले आफ्नो अस्तित्वको सर्वोत्तम वास्तविकता पाउँछिन्। पूर्ण स्वतन्त्रता आभास गर्छिन् : यो समाजबाट धेरै टाढा; आफैंसँग धेरै नजिक।