
लन्डन: बेलायती बजारमा नेपाली परम्परागत पेय कोदोबाट बनेको रक्सीको ब्राण्डिङ गरिएको छ। बेलायतस्थित उद्यमीहरूको पहलमा उत्पादन सुरु गरिएको यो पेय अहिले सयभन्दा बढी ग्रोसरी र सुपरमार्केटमा उपलब्ध हुने गरेको छ।
गोर्खा डिष्टिलरी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जनक राईले बेलायतसँगै हङकङ र अष्ट्रेलियामा समेत कोदोको बिक्री सुरु भएको रअन्तर्राष्ट्रिय अनलाइन स्पिरिट्स प्लेटफर्ममार्फत अन्य मुलुकमा पनि ब्राण्डिङको तयारी भैरहेको छ। केन्टको आसफोर्ड क्षेत्रमा स्थापित आफ्नै डिस्टिलरीबाट उत्पादन हुने यो पेय अन्तर्राष्ट्रिय गुणस्तरअनुसार तयार गरिने दाबी गरिएको छ।
परिकल्पनादेखि बजार प्रवेशसम्मको यात्रा छोटो समयमै पूरा गर्दै आएको यस ब्रान्डले सन् २०२५ मा आयोजित आईडब्लूएससीमा कांस्य पदक जितेको बताइएको छ। साथै, सीएनएन ट्राभलले विश्वका स्वादिष्ट पेयमध्ये एकका रूपमा सूचीकृत गरेको उल्लेख गरिएको छ।
उलविचस्थित गुल्मी रेष्टुरेन्ट मा आयोजित कार्यक्रममा राईले कोदोको रक्सीलाई विश्व बजारमा नेपालको सांस्कृतिक प्रतिनिधिका रूपमा स्थापित गर्ने लक्ष्य व्यक्त गरे। दक्षिण कोरियाको सोजु, जापानको साके र मेक्सिकोको टकीलाजस्तै नेपाली पहिचान बोकेको पेयका रूपमा यसलाई अघि बढाउने योजना रहेको उनको भनाइ थियो। उनले बेलायतका नेपाली रेष्टुरेन्ट तथा व्यवसायीहरूलाई वितरण सञ्जालमा जोडिन आग्रह गर्दै यस्तो प्रयासले व्यापारसँगै राष्ट्रिय पहिचान प्रवर्द्धनमा योगदान पुग्ने बताए।
विदेशमा कोदोको रक्सी उत्पादन गर्ने गोर्खा डिष्टिलरी पहिलो भएको दाबी कम्पनीको छ।
यसअघि कम्पनीले टिमुरयुक्त ड्राइ जिन र नेपाली रमजस्ता उत्पादन बजारमा ल्याएको छ।



