
साहित्यकार एवं सञ्चारकर्मी डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’लाई युनिभर्सल पिस फेडरेशनद्वारा ‘एम्बेसडर फर पिस’ अवार्डबाट लण्डनमा सम्मानित गरिएको छ । विश्वव्यापी विकासका अभियन्ताका रुपमा डेढ दशक समय काम गरेकी संगीताले शान्ति स्थापना र अन्तर्राष्ट्रिय विकासमा पुर्याएको योगदानको कदर गर्दै यो सम्मान गरिएको हो ।
विकास सञ्चारमा अनुभव संगालेकी संगीताको महिला अधिकार, विश्वव्यापी शिक्षा, अनुसन्धान संचार र वातावरणीय संरक्षणमा योगदान रहेको छ । अहिले उनी ‘फिड द माइन्ड्स’ नामक लन्डनस्थित अन्तर्राष्ट्रिय विकास संस्थामा अफ्रिकी तथा एशियाका विभिन्न देशमा गरिबीमा परेका महिलाहरूलाई शिक्षाको माध्यमबाट सशक्त बनाउने अभियानमा संलग्न छिन् ।
प्रतिष्ठित पुरस्कार प्राप्त गरेपछि उनले कृतज्ञता व्यक्त गर्दै भनिन्, ‘शान्तिका लागि राजदूतको रूपमा मान्यता प्राप्त गर्न पाउँदा म अत्यन्तै सम्मानित महसुस गर्दैछु । यो पुरस्कारले मलाई थप योगदान गर्न उत्प्रेरित गर्दछ ।’
‘युनिभर्सल पिस फेडेरेसन एम्बेसेडर फर पिस अवार्ड’ले समुदाय र सीमानामा शान्ति र सद्भावलाई बढावा दिनको लागि राम्रो नेतृत्व, वकालत र प्रतिबद्धता प्रदर्शन गरेका व्यक्तिहरूलाई सम्मान गर्दछ’, युनिभर्सल पिस फेडरेशन युकेका निर्देशक मार्गरेट अलीले भने ।
‘यो पुरस्कार प्राप्त गर्नेहरूले अहिलेसम्म हासिल गरेका कामहरूको लागि मात्र होइन, शान्ति पुरस्कारबाट सम्मानित अन्य विद्यमान राजदूतहरूसँगै समाजको लागि थप काम गर्न प्रोत्साहित गर्दछ । UPF मा हाम्रो टोलीले योग्य व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेर राम्रो गर्ने कोसिस गर्छ’, उनले थपे।
युनिभर्सल पिस फेडेरेसन संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक परिषद्सँग परामर्शको काम गर्ने विश्वव्यापी संस्था हो ।

एउटा नेपालीको रूपमा म अत्यन्त गौरवान्वित छु कि आदरणीया डा. संगीता स्वेच्छा ज्यूले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम उजागर गर्नुभएको छ। ‘एम्बेसडर फर पिस’ जस्तो प्रतिष्ठित अवार्ड उहाँको अथक परिश्रम, सेवा भावना, शिक्षा र शान्तिप्रति समर्पणको उच्च मूल्याङ्कन हो। यस उल्लेखनीय उपलब्धिका लागि मनदेखि हार्दिक बधाई तथा सच्चा सम्मान प्रकट गर्न चाहन्छु। आगामी दिनहरूमा अझ महान योगदानको कामना गर्दछु।