साहित्य

पिटर जे कार्थकको अन्तिम उपन्यास सार्वजनिक

264views

काठमाडौं । लेखक, सङ्गीतकार तथा सम्पादक (स्व.) पिटर जे कार्थकको अन्तिम उपन्यास ‘अ योङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौं’को लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शिक्षाविद् एवम् त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमा, लेखक तथा समीक्षक प्रा. अभि सुवेदी र कार्थककी पत्नी रञ्जना कार्थकले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा केदारभक्त माथेमा पिटरलाई आफूले धेरैपछि मात्र भेटे पनि किन यति ढिला भेटेछु भनेर थकथकी लागेको बताए । ‘उहाँसँग कुरा गर्दा यस्तो लाग्यो, किन मैले धेरै अघि भेट्न सकेनछु,’ उनले भने ।

कार्यक्रममा कार्थकपत्नी रञ्जना कार्थकले पिटरको सम्झना गरिन् । पिटरले आफ्नो सिर्जनात्मक लेखनभन्दा पनि अरुका लागि आफ्नो जीवन समर्पण गरेको उनको भनाइ छ । ‘जुन सायद उनले गर्नु थियो,’ उनले भनिन् । यसअघिका पुस्तक लेखनका विषयमा आफूहरूलाई थाहा भए पनि यो अप्रत्याशित कृति भएको उनले जनाइन् । ‘यो पुस्तक तयार पारिसकेको कुरा पिटर दिवंगत हुनु केही अघि मात्र हामीलाई भनेका थिए,’ उनले भनिन्, ‘त्यसैले पनि योउ पुस्तक हाम्रा लागि विशेष छ ।’

दार्जीलिङबाट नेपाल आई लामो समयसम्म नेपाली साहित्य, सङ्गीत र सम्पादनमा महत्वपूर्ण योगदान दिएका कार्थकप्रतिको श्रद्धाञ्जलिका रूपमा आफूहरूले यो पुस्तक प्रकाशन गरेको फाइन प्रिन्टका संस्थापक अजित बरालले जनाए । ‘काठमाडौं सेरोफेरोमा बस्नेहरूले यस उपन्यासमा आफूलाई पनि पाउनुहुनेछ,’ उनले भने ।

यो पुस्तक संस्करणात्मक आख्यान हो । यसमा विशेषगरी सन् १९६८ देखि १९७२ को काठमाडौंको चित्रण गरिएको छ । त्यति बेला पश्चिमा युवा–युवती स्वतन्त्रता र निर्वाणको खोजीमा हिप्पी ट्रायल पछ्याउँदै नेपाल आउँथे । यस पुस्तकले त्यसैको कथा भन्छ ।

‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ उपन्यासबाट नेपाली साहित्यमा विशिष्ट स्थान बनाएका साहित्यकार पीटर जे. कार्थकको २०७७ वैशाख १० गते निधन भएको थियो ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response