युके विशेषसमाचार

कम उमेरमै सेफ सुवास पन्थको संघर्ष–कथा

प्रवास-पसिना

5.1kviews

अठार वर्षको उमेरमा बर्थ–डे केक बनाउन जान्दा सुवास पन्थलाई संसारको केही न केही नयाँ कुरा सिकेँ भन्ने लागेको थियो । अझ चिया, कफी, टोस्टसमेत बनाउन जानेपछि त के चाहियो ? नयाँ सीप सिक्न पाएकोमा उनी दङ्ग थिए ।

पोखराको सानो क्याफेमा सामान्य केक बनाएको यो घटना पन्ध्र वर्ष अघिको मात्र हो । पोखरादेखि सुरु भएको सुवासको यात्रा काठमाडौं, दुबई, सेसल्स हुँदै अहिले बेलायतसम्म आइपुगेको छ । यो यात्रामा उनले आफूलाई निरन्तर अघि लगिरहेका छन् । त्योभन्दा बढी जस्तोसुकै कामलाई सम्मान गर्ने बानी आफ्नो काममा मिहिनेत गर्न सिकेका छन् ।

अहिले बेलायतस्थित पिटरबरोको मिडो ब्राउन रेस्टुरेन्टमा काम गर्ने युवा सेफ सुवास पन्थको संघर्षपूर्ण यात्राले मिहनेत गर्न चाहनेहरूलाई प्रेरणा दिन्छ । यो यात्रा एकाएक नभई धेरै दश वर्षको र मिहिनेतले मात्रै सम्भव भएको सुवास बताउँछन् ।

दुबईले सिकाएको सीप

सुवासको जन्मस्थान दमौली नजिकै कर्लुङमा पर्छ । जुन अहिले व्यास नगरपालिकामा पर्छ । दमौलीबाट एसएलसी सकेर पढ्नका लागि उनी पोखरा पुगे । पोखरामा लाहुरे परिवारका छोराहरू साथी बनेसँगै उनलाई आफ्नो धरातल थाहा भयो । आफ्नो आर्थिक अवस्था कमजोर भएको महसुस त्यतिबेलै भयो । अनि पढाइमात्र सबथोक होइन रहेछ, बरु जसले काम गर्यो, नयाँ सीप सिक्यो ऊ नै माथि पुग्ने रहेछ भन्ने कुरा उनले बुझे ।

पोखरामा पढेर केही काम गरेसँगै सुवास काठमाडौं गए । त्यहाँ दिदी भिनाजुसँग बसे । भिनाजुको सल्लाहमा काठमाडौंको गोंगबुमा रहेको ‘आगमन होटल तालिम सेन्टर’मा कुकिङ सिक्न गए । तर त्यहाँ तालिम लिएको ६ हजार रुपैयाँ पर्ने थियो ।

‘त्यो बेला ६ हजार रुपैयाँ जुटाउन पनि निकै गाह्रो भएको थियो । तर जसोतसो पैसा खोजेर तीन महिनाजति कुकिङ सकियो’, उनी सुरुवाति दिन सम्झिन्छन् ।

त्यहाँ थिए सेफ श्रीकृष्ण थापा । सेफ थापाले राम्रोगरी काम सिक्नेलाई वैशाली होटलमा काम सिक्न लैजाने अफर गरे । यता सुवासले चाँडो काम सिकेको देखेर सेफ श्रीले उनलाई वैशाली होटल लगे । वैशालीको किचेनमा पुगेको दिन उनले खाना पकाउन पाइन्छ भन्ने सोचेका थिए । तर त्यहाँ त दिनभरि किचन सफा गर्नुपर्ने रहेछ । खाना पकाउने नै आठ–दश जना । अरु तरकारी काट्ने पाँच–सात जना । वेटर, किचन हेल्पर र काम सिक्ने विद्यार्थी त कति हुन् कति ।

ठूलो होटलको किचनमा हजारथरि काम हुँदो रहेछ भन्ने उनले थाहा पाए । त्यामध्ये कुन काम रोज्ने आफ्नै मर्जी । वेटर बन्ने कि बारटेन्डर, म्यानेजर बन्ने कि सेफ ?

वैशाली होटलमा काम गरेको केही समयपछि एकजना चिनजानको दाइले नेपालमै पहिलोपटक खोलेको भियतनामी रेस्टुराँमा काम खाली रहेको बताए । त्यहाँ आवेदन दिएर उनी छानिए । पहिलोपटक फरक देशको परिकार बनाउने ठाउँमा उनले अवसर पाए ।
भियतनामी रेस्टुराँमा काम गरेको केही समयमा ठमेलस्थित ‘न्यु ओरलेन्स’ होटल पुगे । त्यहाँ बल्ल पर्यटकलक्षित खाना पकाउन सिकेको उनी बताउँछन् ।

‘त्यहाँ इङ्लिस ब्रेकफास्टदेखि अरु खाना पकाउन सिकियो’, सुवास सुनाउँछन्, ‘खानाको क्वालिटी मेन्टेनदेखि पाहुनलाई सर्भिसलगायतका कुरा सिकियो । त्यही सीपले आजसम्म पनि सहयोग पुर्याएको छ ।’

बीचमा सुवास र केही साथीहरू मिलेर रेस्टुरेन्ट खोले । तर सबैजना अल्लारे उमेरको भएकाले रेस्टुरेन्टले गति लिन सकने । जति नै मिठो खाना बनाए पनि व्यवस्थापनको काम बिग्रिएपछि उनीहरूको व्यवसाय बन्द भयो । यो सन् २०१४ को कुरा हो । उनको उमेर थियो जम्मा बीस वर्ष ।

त्यतिबेला नै पत्रिकामा दुबईको पाँचतारे होटलमा कुकदेखि म्यानेजरसम्मको भ्याकेन्सी देखे उनले । उनी पनि पुगे दुबई सेफ बन्ने सपना लिएर । तर दुबई पुगेपछि थाहा भयो फाइभ स्टार होटल होइन त्यो त सामान्य क्याटरिङ रहेछ । दिनमा हजारौं जनाको लागि खाना, खाजा बनाउने क्याटरिङमा काम गर्नुपर्दा उनलाई नरमाइलो लाग्यो । नेपालमा सेफ बन्नै लागेको मान्छे क्याटरिङमा सयौं किलो चामलको भात पकाउनु पर्ने भयो ।

सुवास भन्छन्, ‘रुनमात्र मन लाग्थ्यो । कुकिङ सिकेर साँच्चिकै सेफ बन्छु भनेको मान्छे यसरी क्याटरिङमा थन्किनुपर्दा म केही निराश पनि भएँ ।’

तर ‘दैवले तँ चिता म पुर्याउछु’ भन्ने नेपाली उखानझैँ क्याटरिङको पनि अमलेट बनाउने सेक्सनमा परे उनी । दुबईका अन्य होटलमा काम गर्ने सेफ तथा कर्मचारीको लागि खाना बनाउनुपर्दा त्यो कम्पनीले अरू ठाउँमा लग्थ्यो । त्यहीबेला उनको केही नेपाली र भारतीयसँग भेट भयो । गफको क्रममा एकजना भारतीय सेफले दुबईको होटलमा काम गर्न प्रस्ताव राखे । सुरुमा सुवासले पत्याएनन् । तर सिभी बनाएर पठाएपछि नभन्दै उनले पाँचतारे होटलमा काम पाए ।

तर यताको क्याटरिङ कम्पनीले यतिकै काम छाड्न दिएन । सम्झौता रद्द गरेर अर्को ठाउँमा काम गर्न जान दिएन । त्यो कुराले उनलाई असाध्यै मन दुख्यो । एचआरदेखि म्यानेजर सबैसँग कुरा गरेपछि बल्ल अर्को कम्पनीमा काम गर्न पाउने भए । उनी भन्छन्, ‘त्यो दिन ड्रिम्स कम ट्रियु’ भनेको जस्तोमहसुस भयो । बल्ल पाँचतारे होटलको किचनमा काम पाइयो ।’

काम त पाए तर त्यहाँ पनि खाना पकाउन पाउने कुरा भएन । रातभरि सलाद काट्ने । प्लेट मिलाउने । किचेनमा काम गर्ने अरू मान्छेको भीड उत्तिकै । तर उनले त्यहाँ बुझे काम ठूलो सानो हुँदैन । ‘साउथ एसियन मेन्टाटिीमात्र भाँडा माझ्ने सानो र सेफ ठूलो हो । आज भाँडा माझ्ने मान्छे नै भोलि सेफ हुन्छ भन्ने कुरा दुबईले सिकायो’, सुवास सुनाउँछन् ।

तन, मन दिएर उनले दुबईको होटलमा काम सिके । एकदिन सानो वा ठूलो जत्रो भए पनि किचन सम्हाल्ने परिपक्व सेफ बन्छु भन्ने अठोट लिए । नभन्दै क्रमशः उनको पोजिसन बढ्दै गयो । उनले सिक्दै गए । घरि युट्युब हेरे, घरि अरुभन्दा अगाडि नै काममा गएर नयाँ कुरा सिक्न थाले ।

कोरोनाको बेला दुबईबाट सेसेल्स टापुको पाँचतारे होटलमा काम गर्ने अवसर पाए । सेसेल्समा अझ स्तरिय खाना बनाउनुपर्ने र सेवा दिनुपर्ने भयो । त्यसले उनलाई अझै धेरै कुरा सिकायो । यही यात्राको क्रममा सन् २०२३ देखि उनी परिवारसहित बेलायत आएका छन् । बेलायत आउनुलाई उनी यात्राकै एउटा पाटोको रुपमा लिन्छन् । तर बेलायतसम्मको यात्रा गर्नुअघि उनले गरेको संघर्षपूर्ण यात्रा प्रशसनीय छ । आफ्नो पेशामा सुवास कतिसम्म समर्पित छन् भने हातमा सेफ लेखेको चिन्ह भएको ट्याटु नै खोपेका छन् ।

रमाइलो के भने, काममा मात्र होइन सुवास घरमा खानेकुरा पकाउन पनि उतिकै मन पराउँछन् । अझै बिदाको बेला भयो भने घरै आफ्नो रेसिपी तयार पारेर श्रीमति र साथीहरुलाई पेश गर्छन् । युट्युबमा हेर्दै नयाँ नयाँ परिकार बनाउन सिक्छन् ।

‘घरमा पनि म खाना बनाइरहेको हुन्छु । सबैभन्दा मन पर्नेचाहिँ खसीको मासु हो’ उनी हाँस्दै सुनाउँछन्, ‘म त नेपाल जाँदा पनि धेरैजसो खसीको मासु नै खान्छु ।’

अहिले काममा इङ्लिस वा युरोपियन खाना बनाउनुपरे पनि सुवासलाई मन पर्ने खाना नेपाली र फ्रेन्च खाना हो । फ्रेन्च खानामा हुने सी–फुड उनलाई मन पर्छ । त्यसबाहेक सेलरोटी, ढिँडो, गुन्द्रुक, मुला र गोलभेँडाको अचार बिर्सिने कुरै भएन ।

(तस्वीरहरू : सुवास पन्थबाट)

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

1 Comment

Leave a Response