अन्तर्वार्ता

पिटरबरो नेपाली समाजमा एकता छाएको छ : केशव खतिवडा

1.6kviews

‘पिटरबरो नेपाली समाज’ सन् २००७ मा स्थापना भएको थियो । त्यसयता समाजले पिटरबरोमा बस्ने नेपाली समुदायलक्षित सामाजिक कार्य गर्दै आएको छ । केशव खतिवडा यो संस्थासँग सन् २००८ देखि नै जोडिएका थिए । सन् २०२३ फेब्रुअरीदेखि उनी यो संस्थाको अध्यक्ष रहेका छन् । नेपाल घर विराटनगर भएका खतिवडा होटल व्यवसायमा संलग्न छन् । उनीसँग पिटरबरो नेपाली समाज (PNS) बारे गरिएको कुराकानी :

पिटरबरो नेपाली समाजले नयाँ के गर्ने सोचेको छ ?

धेरै कुरा पहिलेको समितिले गरेका कामलाई नै निरन्तरता दिइएको छ । अहिले सम्म एक वर्षभित्र २५ वटा जति कार्यक्रम जस्तै: स्वास्थ्य सचेतना, ब्याडमिन्टन, कराँते आदि काम गरी सक्यौं। मुख्य काम भनेको एकताको सन्देश दिनु हो । हामी पिटरबरो आसपास बस्ने सबैजना बिच आपसी भाइचारा बढेको छ । यसबाहेक सभा हल बन्ने क्रममा छ । हल बनाउने काम कानुनी प्रकियामा गएको छ । त्यही हलमा विस्तारै मन्दिर बनाउने योजनाबारे पनि सोच्दैछौँ ।

हल कहिले बनी सक्छ ?

सबै काम सम्पन्न भएर हल बन्न एक वर्ष लाग्न सक्छ । हल बनाउन अलि ठूलै रकम आवश्यक पर्ने देखिएको छ ।

संस्थाको कोष (फाइनान्स) को अवस्था कस्तो रहेको छ ?

हाम्रो संस्थाको पैसा उठाउने मुख्य स्रोत सदस्यता शुल्कबाट नै हो । भोलि हल बनेपछि हलको भाडाबाट पैसा आउने अर्को कुरा भयो । अहिले स्वेच्छिक सहयोग, सदस्यता शुल्क र कहिलेकाहीँ कार्यक्रम गर्दा बचेको पैसा नै मुख्य स्रोत हो ।
तर यहीबीचमा हलको भौतिक संरचना बनाउने मुख्य काम आउँदैछ । फन्डको लागि यहाँको सरकाी निकायमा निवेदन दिने छौ, त्यसबेला पुगेन भने घरलौरी पैसा उठाउनुपर्ने पनि हुन सक्छ ।

पिटरबरो नेपाली समाजका वर्तमान अध्यक्ष केशव खतिवडा।

नेपाली समुदाय बढ्दै जाँदा सबैजनालाई मिलाएर लान गाह्रो परेको हो ?

खासमा त सबैजना सधैं मिलेर जाँदा हुन्थ्यो । तर कतिपय साथीहरूले आफूले मात्र भाग पाउनुपर्छ भन्नेजस्तो कुरा गर्नुभयो । हामी जो जहाँबाट आए पनि नेपाली भएर अफ़नो कला, संस्कृति र संस्कार बचाउन सक्दा मात्र हामीले आफ़नो समुदायप्रति न्याय गरेको मानिंछ।

भर्खरै मात्र यहाँ पिटरबरोको इन्डियनको मन्दिर पुगेको थिएँ । त्यहाँ दशौं जना भोलुनटियर छन् । कोही सरसफाइ गर्न व्यस्त छन् । सबैजना मिलेर काम गरेका छन् । भनेपछि हामीले आज यही कुरा बच्चालाई सिकायौं भने त पछिसम्म हुने हो । मर्दा, पर्दा, दशैं, तिहार, नयाँ वर्षलाई सभ्य र भव्य ढंगले मनाउँदै लैजाने हो ताकि हामीमा एक्लोपन र नयाँ ठाउँको महसुस नहोस् । सबै जनालाई एउटै छाताभित्र बाँध्न सकियोस् । मेरो स्वभाव नै सबैसँग मिलर जाने हुनाले सबैको साथ र सहयोग छ, ख़ुसी छु।

नेपालबाट भर्खरै आएका विद्यार्थी तथा कामदार र यहीँ स्थायी बसोबास गर्ने नेपाली बीचको फरकलाई कसरी हेर्नुहुन्छ ?

मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने, म यो क्षेत्रमा नयाँ मान्छे को आयो भन्नेबारे खोजि गर्छु । फेसबुकमा पनि नयाँ मान्छेले कमेन्ट गरेको छ कि भनेर हेर्छु । विद्यार्थी होस् वा पुराना मानिस ‘ल है सदस्य बनौं’ भनेर सबैलाई भनिरहन्छु । नयाँ आउनेलाई जानेको कुरा भनिदिने, कतै काम छ कि भनेर साथीहरूकहाँ लगेर चिनाइदिने तथा हौसला दिने हो ।

पिटरबरो नेपाली समाजमा कुनकुन ठाउँमा बसोबास गर्ने नेपाली जोडिन सक्छन् ?

बोर्न, स्पल्डिङ र ह्विटल्सीमा पनि नेपालीहरू बढेका छन् । मुख्य गरेर पिटरबरो आसपासका नेपालीलाई जोड्नु हो । यहाँ बस्ने सबै नेपालीलाई म पिटरबरो नेपाली समाजमा जोडिन आह्वान गर्छु । समुदायमा मिलेर नेपाली सभ्यता र संस्कृतिको परिचय सबैसामु दिन अनुरोध गर्दछु ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response