
पिटबरोमा नेपाली समुदायको जनसंख्या बढ्दो छ । यसबाहेक युरोपका विभिन्न ठाउँबाट आफन्त भेट्न आउने तथा नेपालबाट आएका आमा–बुबासमेतले गर्दा समुदाय निकै ठुलो देखिन्छ । तर करिब चार सय नेपाली परिवार रहेको पिटरबरोमा नेपाली पसल भने अहिलेसम्म थिएन ।
यो समस्या चिर्न युवराज ढकाल र देविका कार्की ढकाल दम्पति अघि सरे । गत मे महिनामा पिटबरोको सिटी सेन्टर नजिकै रहेको फेनगेट (89A Fengate,PE1 5BA) मा उनीहरूले पहिलो नेपाली किराना पसल ‘एभरेस्ट नेपाली फुड्स’ खोले । दाल, चामल, चाउचाउ, बिस्कुट, मःम, नेपाली चिया, खसीको मासु तथा पूजा सामग्री पाइनु यो पसलको विशेषता हो ।

देख्दा सानो भए पनि पसल खोल्नको लागि सोचेजस्तो सजिलो थिएन । सञ्चालक देविका कार्कीका अनुसार पसल खोल्ने सोच एक वर्षदेखिको भए पनि सबै कागजी प्रक्रिया सकेर सामान मगाउँदा धेरै समय लाग्यो । ‘पसल दर्ता गर्न, ठाउँ खोज्न र सामान मगाउन नै चार महिना जति लाग्यो’ काउन्टरमा बसेर खुसी साट्दै देविकाले भनिन्, ‘अझै मगाएका सबै सामान आउन बाँकी छ । अनि बिस्तारै ग्राहकको मागअनुसारका सामान थप्दै जाने योजना बनाएका छौँ ।’
४५ वर्षीय युवराज र देविकाको नेपाल घर बिर्तामोड हो । नेपाल छँदा पनि ट्राभल एन्ड टुर्स तथा अन्य साना व्यवसाय गरेको अनुभव थियो । युके आएपछि विभिन्न ठाउँमा काम गरेको अनुभवले समेत अहिले आफ्नै व्यवसाय गर्न सजिलो भएको उनीहरू बताउँछन् ।

केके पाइन्छ एभरेस्ट नेपाली फुड्समा ?
मुख्य त नेपाली पसल भन्नेबित्तिकै दैनिक उपयोगमा आउने खाद्यान्न, तरकारी, मासु आदि पर्छन् । तर कहिलेकाहीँ मात्र चाहिने तर नभई नुहने समानले धेरै आपत पार्ने बताउँछन् युवराज । ‘मेरै छोराको व्रतबन्ध गर्दा टपरीदेखि जौ–तिल, सुपारी पाउन गाह्रो भयो । नपाउने नै त होइन तर अनलाइनमा पनि भनेजस्तो नपाइने अनि किन्नलाई एल्डरसटसम्म पुग्नुपर्ने बाध्यता रहेको थियो ।’
युवराजले भनेजस्तै कहिलेकाहीँ मात्र चाहिने तर नभई नहुने पूजाका सामान, अगरबत्ति आदि समान एभरेस्ट फुड्स पिटरबरोमा राखिएको छ । यसो त युकेको सबै ठाउँमा नेपाली सामान र खाना पाइँदैन । धेरै नेपाली बस्ने एल्डरसट, ह्यारो, ग्रिनविच, पल्मस्टेट, नटिङ्घम, लेस्टरजस्ता ठाउँमा मात्र धेरै नेपाली रेस्टुरेन्ट र पसलहरू छन् । कतिपय सामान किन्न यिनै ठाउँमा पुग्नुपर्ने वा अनलाइनबाट मगाउनुपर्ने हुन्छ । पिटरबरोमा एभरेस्ट फुड्स खुलेसँगै यस वरपरका ठाउँमा बस्ने सबै नेपालीलाई सजिलो हुने बताउँछन् युवराज ।
यस्तै पसलमा गिरिराज कुखुराको मासु, खसीको मासु, बँदेलको मासु, गुन्द्रुक, इलामको चिया, टिमुर र डल्ले खुर्सानीको अचार, चाउचाउ, दालमोठ, खजुरीको कुकिज आदि राखिएको छ ।
समुदायलाई एक ठाउँमा ल्याउँदै
एभरेस्ट नेपाली सञ्चालनमा आएसँगै पिटबरोका नेपालीबीच भेटघाट हुन सजिलो भएको बताउँछन् ‘पिटबरो नेपाली समाज’का अध्यक्ष केशव खतिवडा । उनी भन्छन्, ‘कसै न कसैले नेपाली पसल सुरु गर्नैपर्ने अवस्था आइसकेको थियो । उहाँहरूले आँट गरेर सुरु गर्दा हामी सबैलाई धेरै खुसी लागेको छ ।’
यसबाहेक पसल खुलेसँगै नेपालीहरू भेटघाट हुन पनि सजिलो भएको छ । शनिबार तथा आइतबार बिदाको दिन पारेर परिवारसहित किनमेल गर्न जाँदा भेटघाट तथा आत्मीयता बढेको ग्राहकहरू बताउँछन् । साथै यसले पिटरबरो वरपर आफ्नै व्यवसाय सुरु गर्न चाहने नेपालीलाई हौसला मिलेको पनि उनीहरू बताउँछन् ।





