
सेन्ट्रल लन्डनबाट करिब एक घन्टाको यात्रामा पुगिन्छ पिटरबरो । त्यही पिटरबरोको सिटी सेन्टर जाने बस स्टेसननिरै छ- ममज् एन्ड मोर (Momoz & More)। मुख्य बजार जाने जोकोही मानिसको आँखा यो रेस्टुरेन्टमा ठोकिन्छ ।
अझ मम भनेपछि नेपाली भारतीय तथा चिनियाँहरूका लागि विशेष हुने भइहाल्यो । यसबाहेक जुनसुकै देशका मानिस पनि अहिले ममसँग परिचित छन् । तर ममलाई नै हाइलाइट गरे खोलिएको रेस्टुरेन्ट भने युकेमा कमै पाइन्छ ।
ममज् एन्ड मोर पनि ‘नेपाली र इन्डियन कुजिन’ पाइने रेस्टुरेन्ट नै हो । फरक के हो भने, यहाँ ममलाई विशेष हाइलाइट गरिएको छ । अनि अरू नेपाली रेस्टुरेन्टको भन्दा फरक मेनु बनाइएको छ । स्टिम मम, झोल मम, कोथे मम, ग्रिल मम, साँधेको मम, चाउमिन, चटपटे, छोइला पाइनु । त्यही कुरा धेरैभन्दा धेरै ग्राहकले मन पराउनु नै यो रेस्टुरेन्टको फरकपन हो ।

अहिले ममज् एन्ड मोर सञ्चालन गरिरहेका छन् सन्तोष कायस्थले । सन्तोष युके आएको पच्चीस वर्ष भयो । यसमध्ये करिब बीस वर्ष त उनले म्याकडोनाल्ड्समा काम गरे । त्यहाँ फ्लोरमा काम गर्नेदेखि म्यानेजरसम्म भए । अहिले त्यही अनुभव लिएर युवाहरूको सानो टिम बनाएर उनले यो रेस्टुरेन्ट सन्चालन गरिरहेका छन् । किचेनदेखि वेटरसम्म सबै ठाउँमा उनले युवा विद्यार्थीलाई स्थान दिएका छन् ।
फरक बनाउने लक्ष्य
चलिरहेको भन्दा केही फरक । जसलाई अहिलेको भाषामा ‘क्याजुअल’ पनि भन्न सकिन्छ । सन्तोष क्याजुअल शैलीमा रेस्टुरेन्ट चलाउन खोजिरहेका छन् ।
‘बाटो हिँडिरहेको मान्छे भोक लागेर खाजा खान रेस्टुरेन्टमा छिर्न अप्ठेरो मान्छ । तर हाम्रो उद्देश्य मम, चाउमिन वा फास्ट फुड खान पनि सजिलै रेस्टुरेन्ट आओस् भन्ने हो’, आफ्नो योजनाबारे सन्तोष सुनाउँछन् ।
अर्थात् यो दिनचाहिँ रेस्टुरेन्ट जाने भनेर टेबल बुक गरेर मात्र खाना खान आउनेभन्दा पनि सामान्य रूपमा तातो-चिसो अनि खाजा खान पनि मानिसहरू आउन् । अनि आफूलाई मन लागेको टेबलमा सहज रूपमा बसुन् ।

यसो गर्दा रेस्टुरेन्टको गुणस्तर घट्दैन ? भन्ने प्रश्नमा सन्तोष भन्छन्- ‘हामी बिहान १२ बजेदेखि राति एघार बजेसम्म रेस्टुरेन्ट खोल्छौँ । यति लामो समयमा धेरैजना आएर खाएर जान सक्छन् । अनि विशेष बुकिङ छ भने हामी त्यहीअनुसारको तयारी गर्छौँ ।’
अहिले उनीहरूले आइतबार बफे अफरसमेत (Sunday Buffet) सुरु गरेका छन् । जसको शुल्क ममसहित १८.९५ पाउन्ड रहेको छ । यसमा पाँच पाउन्ड थपे अनलिमिटेड मम खान पाइने अफर रहेको छ । साथमा पिटरबरोदेखि क्याम्ब्रिजसम्म अर्डर आउँदा क्याटरिङको सुविधा पनि दिइरहेका छन् ।
यता रेस्टुरेन्टको भित्तामा हिमालदेखि बुद्धको तस्बिर र मूर्ति राखिएको छ। अनि भित्तामा नेपाली पुस्तकहरू सजाएर बेच्नसमेत राखिएको छ । यसरी सानाभन्दा साना कुरामा फरकपन देखाउन खोजिएको पाइन्छ ।
म्याकडोनाल्ड्सले सिकाएको काम
सन्तोष हुर्किएका हुन् बन्दिपुरमा । पहाडको रानी भनिने बन्दिपुरमा नेवारहरूको बाक्लो बस्ती छ । त्यहाँ उनको परिवार व्यापार गर्थे । बाल्यकालमा बन्दिपुरको व्यापार देखेका सन्तोषलाई त्यो शैली अझै मन पर्छ । ठूला-ठूला होटल वा सपिङ सेन्टरमा भन्दा हाइ स्ट्रिटका (High-Street) विशेष सामान पाइने साना पसलको उत्तिकै महत्व देख्छन् उनी ।

पछि केही समय पढ्नका लागि काठमाडौँ बसेर बीस वर्षकै उमेरमा उनी युके आए । युके आएपछि म्याकडोनाल्डमा काम सुरु गरे । फ्लोरदेखि वेटर हुँदै रेस्टुरेन्ट म्यानेजरसम्म भए। अर्थात् धेरै कडा काम गर्नुपर्ने भनेर चिनिएको म्याकडोनाल्डले उनलाई काममा खटिने बानी बसाएको उनी बताउँछन् । साथै टिमवर्क सिकायो । बजेटलाई सही व्यवस्थापन गर्ने तरिका सिकायो ।
दुई वर्षअघि सन्तोष काम गर्नका लागि भनेर नेपाली साथि चिरन न्यौपानेको यो रेस्टुरेन्टमा जोडिएका थिए । पछि संयोग कस्तो पर्यो भने करिब एक वर्षमा उनले नै यो रेस्टुरेन्ट लिनुपर्यो । आफूले किनेपछि उनले रेस्टुरेन्टको नाम फेरेनन् तर शैली फेरे । यसो त कुनै व्यवसाय गर्दा साहु बन्ने कुरा उनलाई मन पर्दैन । म्यानेजर भनेको लिडरजस्तै हो । लिडरले आदेश दिने होइन आफैँ अघि सरेर गर्ने हो । समस्या आउँदा समाधान गर्ने हो भन्ने विचार राख्छन् उनी ।
‘आफ्नो रेस्टुरेन्ट भनेर लोभ लागेर मात्र कडा मिहनेत गर्ने होइन’ आफ्नो धारणा खुलेर सुनाउँदै सन्तोषले भने, ‘आफू पनि अरूजस्तै काम गर्ने मानिस हो भन्ने ठानेर काम गर्दा स्टाफलाई पनि सजिलो हुन्छ । प्रोडक्टिभिटी र खुसी बढ्छ ।’
ममज् एन्ड मोरको यही शैलीलाई अहिले धेरैले प्रशंसा गरेका छन् । मम चिनाउने अभियानमा हिँडेका सेफ विनोद बरालदेखि युवा-सेफ सुवास पन्तलगायत धेरैले प्रसंशा गरेका छन् ।





