
बेलायतमा हुने सयौँ नेपाली कार्यक्रम तथा महोत्सवभन्दा भिन्न एक कार्यक्रम हुने गर्छ । ‘प्रतिभा नक्षत्र’ नामको उक्त कार्यक्रममा बालबालिकाले आफ्नो प्रतिभा देखाउन पाउने अवसरको रुपमा लिने गर्छन् ।
नृत्य, गायन, अभिनय, व्यंग्यजस्ता कलाको भिडियो खिचेर पठाएपछि निर्णायकले उत्कृष्ट प्रतिभालाई फाइनलमा बोलाउने गर्छन् । यही कार्यक्रम लन्डनको प्लमस्टिडमा रहेको ‘एसियन कम्युनिटी हल’मा अगस्ट २६ अर्थात् भदौ १० गते हुँदैछ ।
प्रतिभा नक्षत्रको यो पाँचौँ संस्करण हो । यसअघि गत वर्ष ‘किताब जात्रा’ उत्सवसहित प्रतिभा नक्षत्रको चौथो संस्करण गरिएको थियो । सदाजस्तै यस वर्षको कार्यक्रममा सहभागि हुन इच्छुक प्रतियोगीले अनलाइनमार्फत आवेदन दिन सक्ने आयोजक संस्था प्रतिभा नक्षत्रले जनाएको छ ।

प्रतिभा नक्षत्रका सदस्य राजेन्द्र खसका अनुसार बेलायतमा रहेका नेपाली बालबालिकाको लागि मात्र नभएर विश्वभरि रहेका नेपाली भाषा, कला र संस्कृतिलाई माया गर्ने बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने उद्येश्यले यो कार्यक्रमको रहेको छ ।
कार्यक्रममा बालबालिका तथा युवागरी दुई समूहमा प्रतिस्पर्धा हुनेछ । युथ नक्षत्र (Youth Nakshatra, Age 12—19) समूहबाट पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ७ सय पाउण्ड, ६ सय पाउण्ड र ५ सय पाउण्ड तथा बाल नक्षत्र (Baal Nakshatra, Age 6—11) मा पहिलो, दोस्रो र तेस्रो हुनेले पनि क्रमशः ५ सय, ४ सय र ३ सय पाउण्ड नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
प्रतिभा नक्षत्रको वेभसाइट https://www.pratibhanakshatra.org/ रहेको छ भने फेसबुक पेज https://www.facebook.com/prativanakshatra रहेको छ ।



