
बेलायतको नेपाली समुदायका सफल व्यवसायी एवम् समाजसेवी फत्त थापाको ५२ वर्षको उमेरमा सोमबार बेलुका निधन भएको छ ।
साउथ इष्ट लन्डनको एल्थाममा बस्दै आएका थापालाई राती करिब ११ बजेको समयमा ह्दयघात भएको र केही समयको अन्तरालमा एम्बुलेन्स आइपुग्दा मृत्यु भइसकेको उनको परिवारनिकट स्रोतले बतायो ।
प्यारामेडिक टोलीले मृत घोषणा गरेपछि उनको शवलाई पोष्टमार्टमको लागि लगिएको छ । स्वर्गीय थापाका श्रीमती, एक छोरा र दुई छोरी छन् ।
कलेज व्यवसायबाट बाहिरिएर केयर क्षेत्रमा हात हालेका उनले पछिल्लो समय लोभलाग्दो व्यवसायिक सफलता हासिल गरेका थिए । स्वर्गीय थापाको स्वामित्वमा साउथ इष्ट लन्डनमा ‘होम इन्स्टेड’ नाम केयर कम्पनीका तीन वटा शाखा सञ्चालनमा छन् ।
सामाजिक क्षेत्रमा समेत विशेष रुची राख्ने स्वर्गीय थापाको खास लगाव र सक्रियता गुल्मी जिल्ला समाज यूकेमा थियो । समाजका संस्थापक सचिव रहेका उनी त्यसयता लगातार एक सक्रिय सल्लाहकारको भूमिकामा थिए।
समाचारस्रोत : www.nepalilink.com