
अहिले पनि नेपाली समाज ‘रूपमा लैंगिक समानता भएको जस्तो देखिए पनि सारमा पितृसत्तात्मक’ प्रवृत्तिको नै रहेको छ । धार्मिक तथा आध्यात्मिक प्रवचनहरूमा मूलत: व्यासको आसनमा बसेर पुरुषले प्रवचन गर्ने र तल बसेर अन्य सहभागी महिलाहरूले सुन्ने, ताली बजाउने, नाच्ने र अन्य आवश्यक सेवा पुर्याउने सामान्य परिपाटी रहेको पाइन्छ ।
समयसँगै नेपाली महिलाहरूले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उच्च शिक्षा अनुभव प्राप्त गरेपछि पुरुषसरह व्यासमा बसेर धाराप्रवाह रूपमा प्रवचन गर्न सक्ने क्षमता राख्ने कुरा पशुपति परिसरमा भएको कोटीहोमको दृष्यले पुष्टि गरेको छ ।
पशुपति कोटीहोममा जात, धर्म र लिंगभन्दा माथि उठेर आयोजकले दर्जनौ विद्वान तथा विदुषीहरूलाई आमन्त्रण गरी वाचन गर्ने अवसर दिए । अथवा भनौँ अन्यत्र नभएका कुरा यहाँ जुर्दै गयो । यो अत्यन्तै सुखद पक्ष हो । समग्र कोटीहोमका असल पक्ष र कतिपय कमजोरीबारे छुट्टै समीक्षा हुन सक्छ तर यो छोटो लेखमा त्यहाँ वाचन गर्ने महिला ब्यासहरूको वाचन-कला र उनीहरूको नायिकापनबारे चर्चा गर्न खोजिएको छ ।
कोटीहोममा नौ बर्ष टेक्दै गरेकी अनुराधा पाण्डेदेखि अध्ययन, अनुभव र उमेरले परिपक्क डा. कान्ता भट्टराई लगायतका विदुषीहरूले जीवन, जगत र भगवानको लिला गाएर हजारौं मान्छेका हृदयभित्र पुग्न सफल भए । ती विदुषीहरूलाई व्यासमा फुल-माला र खादाले सम्मान र स्वागत गरियो उनीहरूको आरती उतारियो । त्यो दृष्य देख्दा पितृसत्तात्मक समाज भोग्दै र देख्दै र आएको म भने अत्यन्तै पुलकित भएँ ।
महिलाहरूलाई हरेक क्षेत्रमा सम्मान गर्ने त्यस्तो समय ल्याउन सकियोस र समतामुलक समाज बनाउन सकियोस भन्ने मेरो मनभित्रका सपना मध्येको एउटा सुन्दर सपना थियो । चाहेर पनि म भौतिक रूपमा कोटीहोम स्थलमा उपस्थित हुन त सकिन । बिभिन्न टेलिभिजन तथा अनलाइन मिडियाले गरेको प्रत्यक्ष प्रसारण र युट्युवमा राखिएका भिडियोहरू मार्फत कार्यक्रमको आनन्द लिएँ र उनीहरूलाई बुझ्ने मौका पाएँ/त्यहाँ प्रवचनको लागि आमन्त्रित नायिकाहरू डा. कान्ता भट्टराई, राधिका दासी, देवी प्रतिभा, चन्द्रकला सखि र अनुराधा पाण्डे व्यास हुनुहुन्थ्यो ।
वहाँहरूलाई प्रत्यक्ष सुन्न आउने हजारौंको भिडमा महिलाहरूको संख्या नै अधिक देखिन्थ्यो । महिला महात्मा बाइहरू, चर्चित महिला कलाकारहरू, दक्ष-विज्ञ महिलाहरू, विभिन्न महिला समुहहरूबाट महिलाहरूको उपस्थिति धेरै देखिखिन्थ्यो । महिला जागरणको यो एउटा सशक्त प्रमाणको रूपमा पेश गर्न सकिने अवस्था देखियो / महिला राष्ट्रपति, महिला सभामुख, महिला प्रधानन्यायाधीश भैसकेको हाम्रो देशमा यतिबेला महिला व्यासहरूले पनि कथा वाचन गरेर आ आफ्नो दक्षता, क्षमता र बौद्धिकता प्रस्तुत गर्ने सुन्दर मौका दियो कोटीहोमले ।
खासमा साउन महिनाभर पशुपतिक्षेत्र मात्र होइन पुरै देश, देश मात्र पनि हैन जहाँ-जहाँ नेपाली छन् त्यहाँ संसारभरको समय कोटीहोममय भएको थियो ।
भित्रि दुःख, दर्दहरू महिला हिंसा त अझै पनि मेटिएका छैनन तर जे देखिन्छ त्यो हेर्दा भने समयले अलिकति कोल्टे फेर्यो भन्न सकिन्छ ।पाश्चात्य मुलुकका संस्कार संकृतिले हामीहरूलाई छिट्टो प्रभाव पार्छ । बजारले फेसनको निहुँमा महिलाहरूलाई नंग्याउन चाहान्छ । बजारको इच्छा पूर्तिको लागि होइन आफ्नो कर्तव्य, क्षमता र दक्षताको उजागर गर्ने बाटो खोज्नुपर्छ/ मानव भएर जिउने कला खोज्नु पर्छ र आफुलाई चिन्नु पर्छ महिलाहरूले । यही संदेश पस्केको छ कोटीहोमका नायिकाहरूको शारीरिक र बौद्दिक सुन्दरताले ।
निलम निहारिकाले लेख्नुभएको ‘योगमाया’ पढेकी थिएँ । योगमाया आफैंमा भित्रबाट जागेकी मानव हुन् । सति प्रथा, राणा शासन र रूढीवाद विरूद्ध लड्ने एक योद्धा हुन् भन्नु अत्तियुक्ति नहोला । एक्काइसौं सताब्दीको यो समयमा धेरै योगमायाहरू जन्मिने छन् भन्ने आशाको आकाश उज्यालो भएको अनुभूति भैरहेको छ कोटीहोमका यी क्रियाकलापले । पशुपति कोटीहोममा ब्यास प्राप्त गरेका विदुषीहरूलाई कसरी चिन्ने त यस बारे छोटो चर्चा सान्दर्भिक हुने देखिन्छ :
चन्द्रकला सखि:
बेलायतमा उच्च शिक्षा अध्ययन गर्दै गरेकी एक साधिका चन्द्रकला सखि भक्तमाल कथा, राम कथा र रामचरितमानसकी प्रखर युवा वाचिका हुन् । नेपाली, हिन्दी र अंग्रेजी तिनै भाषामा कथा वाचन गर्न सक्ने कला र क्षमता भएकी चन्द्रकला अत्यन्त मृदुभाषी, मिलनसार र संस्कारी स्वभावकी शारिरीक र बौद्धिक सुन्दरी हुन् । विज्ञानको विद्यार्थी अध्यात्ममा समर्पित किशोरी सखी बाल्यावस्थादेखि अध्यात्ममा रूची राखिन । यो उमेर र समयमा उनी अन्तर्राष्ट्रीय वाचिकाको रूपमा स्थापित भैसकेकी छन् । हिन्दु धर्ममा आस्था राख्ने बेलायतबासी नेपालीतथा भारतीय समाजमा उनको चर्चा चुलिदै बढ्दै गएको छ ।

जहाँ नारीको सम्मान हुन्छ त्यहाँ भगवानको वास हुन्छ भन्ने विदुषीलाई केही वर्षदेखि बेलायतमा नजिकबाट अध्ययन गर्ने मौका पाएकी छु मैले । उनको वयान गर्नलाई मसंग शब्द नै छैनन् । कोटीहोमको प्रवचन सकिए लगत्तै उनले पढेको काठमाण्डौको एलाईआर स्कुलले भब्य सम्मान गर्यो । त्यसैगरी कागेश्वरीको प्रसिद्ध मन्दिर कोलमतेश्वरमा उनको भव्य सम्मान भयो ।
त्यसैगरी कृष्ण कंडेलले सन्चालन गरेको लोकप्रिय इन्द्रेणी कार्यक्रममा पनि सम्मान र भव्य कार्यक्रम भयो / ‘मान्छेको जिन्दगी पनि फूल जस्तै हो, फूल फूल्छ, सुगन्ध दिन्छ रओइलाएर झर्छ, त्यसैले समय हुँदै मानिसले भगवानमा सर्मपित हुनुपर्छ’ भन्ने चन्द्रकला सखि श्री राम नामलाई विश्वव्यापी बनाउने यात्रामा व्यस्त छिन् ।
अनुराधा पाण्डे
‘हजुरको कारण अरूलाई सुख हुन्छ भने त्यो नै धर्म हो । हजुरको कारण अरूलाई दु:ख हुन्छ भने त्यो नै पाप हो’ भनेर निर्धक्क बोल्न सक्ने नौ वर्षीय अनुराधा पाण्डे भविष्यमा अझै कस्ती बन्लिन् ? गोटा गुच्छा खेलेर खाने त्यो उमेरमा हजारौंको भिड अगाडि व्यास आसनमा बसेर भगवान भक्तिको कुरा गर्न सक्ने यी नानीको अद्भुत क्षमताले सबैलाई आश्चर्य चकित पारेको छ ।

डा. कान्ता भट्टराई
२०७४ सालमा तत्कालीन राप्रपा नेपालको तर्फबाट महिलाबालबालिका तथा समाज कल्याण राज्यमन्त्री भइसकेकी संस्कृतविद डा. कान्ता भट्टराईले श्रीमद् देवीभागवत महापुराणवाचन गरेकी थिइन । नेपाल, भारत र अमेरिकामा समेत श्रीमद भागवत वाचन गरेकी डा.भट्टराईले धर्मले महिला र पुरूष दुबैलाई बरावर अधिकार दिएको कुरा बताउने गरेकी छन ।

उमेरले पनि परिपक्क व्यास डा. भट्टराईले बोल्ने क्रममा धर्मको रक्षा गर्ने महिलाहरू नै हुन् भनेकी छन् । संस्कृत विश्वविद्यालयबाट पूर्वीय दर्शनमा विद्यावारिधी गरेकी डा. कान्ता भट्टराईले लामो समयसम्म शिक्षण पेशाबाट समाजलाई सेवा दिएकी छन । पति, पुत्र र परिवारको भाग्य र भविष्य नारीकै हातमा हुन्छ भन्ने मान्यता राख्ने डा. कान्ताले धर्मको बीउ जोगाउने नारीहरू नै हुन भनेकी छन् ।
राधिका दासी
समाज सेवाको भावनाले ओतप्रोत राधिका दासी ‘परोपकार सबैभन्दा ठूलो पुण्य र पर पीडा सबैभन्दा ठूलो पाप’ हो भन्ने अठार पुराणको सारलाई हृदयगम गरी अध्यात्मलाई नजिकबाट बुझ्न वृन्दावनको बसाइले उनलाई सहयोग गर्यो । असहज पारिवारिक सम्बन्धको कारण उनमा वैराग्य जाग्यो । त्यही वैराग्यले अध्यात्म जगायो र घरदेशदेखि परदेशसम्म लोकप्रिय भागवत वाचिकाको रूपमा स्थापित बनायो ।

हजारौं भक्तजनहरूको अगाडि व्यासमा वसी चंदन टीका र मालाले सजिसजाउ भएर मीठो वाचन शैलीमा राधिका दासीले शिव महापुराण कथा वाचन गरिन ।भक्तजनहरू पनि बहुत आनन्द मानेर सुनिरहे । अचेल भागवत महापुराण, शिव महापुराण वाचन गर्नको लागि व्यस्त छिन राधिका । उनको लोकप्रियता दिनानुदिन चुलिदै गएको छ । हामी सबै नेपालीकी गौरव र प्रेरणा बनेकी छन् ।
देवी प्रतिभा
‘प्यार से एकबार बोलोना’ भन्दै राधे-राधेको जयकार लगाउँदै मीठो कर्णप्रिय स्वरमा कथा वाचन गर्ने देवी प्रतिभालाई पहिलोपटक कोटीहोमको माध्यमबाट सुन्न पाइयो । जति सुने पनि सुनौं सुनौं लाग्ने भक्तजनलाई मोहमा पार्ने उनको वाचन शैली पनि अद्भुत थियो । हजुरबुवाको प्रेरणाबाट प्रभावित देवी प्रतिभा सानै उमेरदेखि पण्डित बन्ने रहर जाग्यो । काभ्रेमा जन्मिएकी प्रतिभा संस्कृत पढेर पण्डित बन्ने उनको अठोटले करिव १२ वर्षको उमेरमा भारतको वृन्दावन पुगिन । कोटीहोममा आमन्त्रित प्रतिभाले अत्यन्त मीठो स्वर र वाचन शैलीमा भागवत र श्री रामचरितमानस कथा वाचन गर्छिन् ।

भारतमा लाखौँ प्रसंशक रहेका चर्चित कथा वाचकका रूपमा स्थापित भैसकेकी देवीले नेपालमा पनि निकै लोकप्रियता कमाइन् । उनी राष्ट्रसेवा परिवार नामक संस्थामा आबद्ध छन्।उनी जहाँ जहाँ कथा वाचन गर्न जान्छिन् त्यहाँ भक्तजनहरूको अत्यन्त ठूलो भीड लाग्ने हुनाले उनको सुरक्षाको लागी सुरक्षागार्डको समेत व्यवस्था गरिने रहेछ । ‘नारीले पनि पुरूषको सम्मान गर्नुपर्छ र पुरूषले पनि नारीको सम्मानगर्नुपर्छ’ भन्ने सिद्धांत बोकेकी प्रतिभा पराजुली उनको यो कला र कर्मले साँच्चै नै देवी प्रतिभा भएकी छन्। उनको यो कला र गलाको कृतिले संसार ढाकोस् सगरमाथा चुमोस् । संसारले आध्यात्मिक शक्ति र संस्कार दिने नेपालकी छोरी भनेर चिनोस् । हामी र हाम्रो देशले सधै गौरव महसुस गर्न पाइयोस् ।
कोटीहोममा कथा वाचन गर्ने यी पांच प्रवचन नायिकाहरूलाई विभिन्न संघ संस्थाहरूले सम्मान गरे । उनीहरूको अन्तर्वार्ताहरू प्रसारण गरिए / धेरै नेपाली मनहरूको मनले मनमनै सम्मान गर्यो । कोटीहोममा कथा वाचन गर्ने पाँचै व्यास वाचिकाहरूको एउटै कुरा ‘धर्मशास्त्रले नारी र पुरूषमा भेद गरेको छैन’ धर्म संस्कार र समाजले विभेद गर्यो भनेर सदियौंदेखि गुनासो पोख्दै आयौं हामी महिलाहरू । धर्मभित्रका असल कर्महरूलाई पुरूष पन्डितहरूले खुलासा नगरेको कुरा पनि खुलासा गर्यो कोटीहोमले । यसर्थ यो एउटा महिला आन्दोलन पनि साबित भयो ।
खासमा साउन महिनाभर पशुपतिक्षेत्र मात्र होइन पुरै देश, देश मात्र पनि हैन जहाँ-जहाँ नेपाली छन् त्यहाँ संसारभरको समय कोटीहोममय भएको थियो । सामाजिक सन्जाल कोटीहोममय भएको थियो / देश तथा परदेशमा रहने महानुभावको ब्यापक सहभागिताको कारण अर्थतन्त्र समेत चलायमान बन्यो । यसले जातीयताको पर्खालको जगलाई समेत राम्ररी हल्लाइदियो / नारी जागरणलाई थप उचाई दियो ।
कतिपय व्यवस्थापकीय कमजोरी र विवादका मुद्दाहरूको बाबजुद कोटीहोमको आयोजना गरेर धर्म र संस्कारको उत्थान तथा नारी सशक्तिकरणमा योगदान पुर्याउने मानवसेवा फाउन्डेसन र त्यसका शङ्कल्पकर्ता बालयोगेश्वर श्री कृष्ण मूर्ति महाराजजी धन्यवादका पात्र हुन् ।
यस लेखमा प्रस्तुत विचार लेखककाे निजी हो । -सम्पादक