विचार/ब्लग

के विदेश पढ्न जाने सबै नेपालीले भाँडा माझ्छन्?

सन्तोष पौड्याल

615views

कुरा तीन दशक पहिलेको हो । २०५० साल तिरको एक बिहान मेरो बुबा घरबाहिर बसेर भाँडा मस्काउँदै हुनुहुन्थ्यो। उतिबेला घरमा ग्यास-चुलो हुने कुरा थिएन। खरानीको मोसो पोतिएका काला भाँडाहरू थिए। दिदी र म आँगनमा मस्त खेलिरहेका थियौँ । त्यहीबेला घाँसको भारी बोकेर घर फर्किँदै गरेका छिमेकी महिलाहरूले बुबाले भाँडा माझेको देख्दा एक बित्ताको जिब्रो काड्दै सङ्कोचका साथ बाटो काटे।

कतिले अभिवादन गर्न भ्याए। कति त्यसै बाटो लागे।

बुबा सरकारी जागिरे हुनुहुन्थ्यो। त्यहीमाथि एक राजनीतिक पार्टीको जिल्लाको नेता। त्यो कालसम्म पनि पुरुषले भाँडा माझ्दा अनौठो मानिन्थ्यो। हुन त आज पनि लोग्नेमान्छेले भाँडा माझ्नु हुन्न भन्ने जमात कहाँ कम छ र?

आमा पनि सामाजिक कार्यकर्ता भएकोले बुबाजत्तिकै बाहिर हिँड्नुहुन्थ्यो। हाम्रो घरमा महिला र पुरुषको कार्य-विभाजन थिएन। जो घरमा छ, उसैले काम गर्नुपर्‍थ्यो । यसमा चेतना र बाध्यता दुबैले काम गरेको होला। सधैं आमालाई कुर्ने हो भने महिनाको एकतिहाइ भोकै सुत्ने अवस्था आउँथ्यो होला ।

एसएलसीपछि म घरवालबाट डेरावाल भएँ। कम्तिमा दिनको दुई पटक भाँडा माझ्नु मेरो दैनिक कर्म हुन पुग्यो। मेरो रुममेट भाँडा माझ्न सङ्कोच मान्थे। मैले त्यसमा फाईदा देखेँ। खाना बनाउन डेढदेखि दुई घण्टा लाग्थ्यो। दुईओटा थाल, एक कराइ र एक कुकर माझ्न मलाई बढीमा बीस मिनेट लाग्थ्यो। उब्रेको समय पढाइमा लगाउन पाइने लाभले मैले भाँडा माझ्नुलाई अवसरको रूपमा लिएँ।

केही वर्ष नेपालमा जागिर गरेपछि उच्च शिक्षाको लागि म युरोप पुगेँ। युरोप बसाइको क्रममा भाँडा माझ्ने कामसँग जोडिएका केही किस्सा अहिले पनि हाम्रो दौंतरीमाझ चल्ने गर्छ। अर्घाखाँचीका एकजना दाइ त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा मास्टर्सपछि हामीसँगै नर्वेको युनिभर्सिटी पढ्थे। हामीभन्दा तीन वर्ष पहिले नै युरोप छिरेका। उमेरले अलि पाका उनले एकजना जियोलोजीमा मास्टर्स गरेकी केटीसँग बिहे गर्ने भएछन्। युरोप बस्ने केटो भएकाले केटी पक्षका सबै सहमत भए। केटीले भने अत्तो थापी-

‘केटाले के काम गर्छ? बरू म नेपाल नै बस्छु। तर व्यवसायिक काम नगर्ने केटासँग युरोप बस्छ भन्दैमा बिहे गर्दिनँ।’
चल्तिको भाषामा भन्नुपर्दा दाइ ‘भाँडा हान्थे’। दाइले नेपालमा फोन गरेर भनेछन्- म यहाँको एउटा स्कुलमा अङ्ग्रेजी टिचर हुँ।

अन्तत: बिहे भयो। भाउजू युरोप आइन् । दाइको पोल खुल्यो। घरबार त बच्यो। तर बिहे गरेको चार वर्षमा दाइ भन्थे- अरूसँग बिहे गरेको भए ऐले छोरो तीन वर्षको हुन्थ्यो। बल्ल भाउजु भारी जिउकि छ।

अङ्ग्रेजीइतर भाषाका कारण युरोपमा आफुले पढेको काम पाउनु कोइलामा हिरा खोजेजस्तो हो। अत्यन्त दुर्लभ र मूल्यवान। यद्यपि युरोपमा छोरो म्यानेजर छ, प्रोफेसर छ भन्दै नेपालमा छाती फुलाउने र केटी माग्ने अभिभावकको कमी छैन। युरोप बस्ने ९५ प्रतिशत बढी नेपालीको मुख्य पेसा नै भाँडा माझ्ने र सरसफाइ गर्ने हो। म पनि त्यसैको अंश बनेँ।

नेपाल फर्केपछि मेरो जागिर निरन्तर चल्यो। हामी जोइपोइ दुबै जागिरे। एक बिहान मेरी पत्नी टेबलमा बसेर एक्जामको कपिहरू जाँच्दै थिइन्। म भान्सामा भाँडा मस्काउदै। टुप्लुक्क अण्टी आउनुभयो। मैले भाँडा माझेको अफ्ठ्यारो मान्दै हेर्नुभयो। उहालाई मैले माझेको भन्दा नि मेरो श्रीमती टेबलमा बसेर काम गरेकोमा सङ्कोच थियो। उहाँलाई सजिलो पार्न मैले युरोपमा भाँडा माझेको प्रसङ्ग निकालेँ।

उहाँले भन्नुभयो- यस्तो लाजमर्दो कुरा मलाई त भनिस् अरूलाई नभनेस्।

भारतीय प्रम नरेन्द्र मोदीले चिया बेचेको फोटो भाइरल बनाउने पनि हामी । नेपाली पूर्वराष्ट्रपति किसान थिए भन्दा गर्व महसुस गर्ने पिताले छोराले भाँडा माझ्छ भन्दा झस्कने हाम्रो समाजको बिरोधाभास चरित्र हो। तर नेपालमा जस्तो त्यहाँ भाँडा मस्काउनुलाई हेयको रुपमा हेरिन्न। खाली समयमा म्यानेजरले पनि निसङ्कोच भाँडा सफा गर्छन्। त्यहा भाँडा सफा गर्न मेसिनको प्रयोग गरिन्छ। अथवा चौबिसै घन्टा भाँडा माझ्ने पनि होइन। कहिले सरसफाइ गर्ने कहिले डेलिभरि गर्ने कहिले कारखानमा काम गरेर साँझमा मात्र होटलमा भाँडा माझ्ने काम हुन सक्छ ।

पैसाको हिसाबले पनि भाँडा माझ्ने र स्कुलमा पढाउने टिचरको आय एक हिसाबले उस्तै हुन्छ।

विदेश र भाँडा मस्काउने काम

विभिन्न उद्देश्यले नेपालीको विदेशिने क्रम बढ्दै जाँदा भाँडा माझ्ने प्रसङ्गले चियागफमा समेत प्रसय पाउन थाल्यो । पहिलेजस्तो विदेश जानु प्रतिष्ठाको विषय रहेन । विदेशबाट फर्किँदै गरेको लाहुरेको जस्तो शान शौकत आजभोलि कहानी भइसकेको छ। अहिले समाजमा विदेश जानु फगत भाँडा माझ्नु हो भन्ने भाष्य बलियो भएको छ ।

केहि वर्षअघि नेपालको एक चर्चित टेलिभिजन कार्यक्रम अष्ट्रेलियामा छायाङ्कन गरियो। त्यस कार्यक्रमका चर्चित पत्रकार अहिले विवादिथ मन्त्रीको रुपमा नेपाल सरकारमा छन् । उनले यहाँका नेपालीहरूको समस्यामाथि संवाद गर्ने क्रममा धेरै विषय उठाए। जसमध्ये एउटा विषय नेपाली व्यवसायीहरूले भाँडा माझ्नेलगायत काम गर्नेलाई काम लगाएर पैसा नदिएको भन्नेबारे थियो ।

तिनै व्यवसायीको प्रायोजनमा नेपालबाट पीडितलाई बैतर्नी तार्न आएका पत्रकारले राम्रै मनोरञ्जन दिने खालको कार्यक्रम तयार पारे। भिडियो ट्रेन्डिङ भयो। कतिपय क्लिप त महिनौंसम्म सञ्जालमा भाइरल पनि भए। तर न त समस्याको सुनुवाइ भयो न समाधान। त्यो कार्यक्रम फगत चर्चाको लागि मात्र थियो।

लेखक सन्तोष पौड्याल ।

काम पाइनँ, थकाइ लाग्यो, मेरो अङ्ग्रेजी भुत्ते छ, श्रीमानले हेरेन, ट्रेनमा सुतेँ आदि इत्यादी भावनाका कुरा हुन्। कानुनले भावना होइन, न्याय हेर्छ। दोषी र पीडितको खबर बुझ्छ। तथ्य र सबुतका आधारमा छिनोफानो गर्छ। यदि कोही अन्यायमा नै परेको छ भने कानुनी राज्यको सहयोग लिन सकिन्छ। अहिले पढ्नका लागि नेपाली जाने चल्तीका मुलुकहरू अस्ट्रेलिया, अमेरिका, यूरोप र क्यानाडामा प्रहरी प्रशासनलाई एक कल गरेको भरमा एक घण्टाभित्र घरमै डाक्न सकिन्छ।

यस्तोमा अन्य कुराभन्दा पनि भाँडाकाण्ड मच्चाउदा टिपिआर बढ्ने बुझ्न ती चतुर पत्रकारलाई गाह्रो पर्ने कुरो भएन। अन्तत: त्यसबेला भाँडाकाण्डले धेरै सफल साताहरू मनायो ।

अब विषय प्रवेश गरौँ। अष्ट्रेलियाको हकमा विद्यार्थी भनेका यहाँ पढ्न आउने हुन। नेपालमा जस्तै यहाँ पढ्न पैसा लाग्छ। नेपालभन्दा धेरै गुणा महँगो। नेपालमा अङ्रेजी वा नेपाली भाषामा पढ्न पाइन्छ। यहाँको मुख्य भाषा अङ्रेजी भएकोले भाषा दख्खल हुनु जरुरी छ। प्रचलित कानुनअनुसार हप्ताको बीस घण्टा विद्यार्थीले काम गर्न पाउँछ। काम पाउनको लागि भाषाको पनि महत्वपूर्ण भूमिका हुन्छ।

डिपेण्डेण्टमा आउनेमा पनि यही कुरा लागु हुने हो। फरक यति छ, मास्टर्समा आएका डिपेन्डेटले फुलटाइम काम गर्न पाउँछन्। चाइना, जापान, कोरिया, थाइल्यान्डजस्ता मुलुकबाट आउने विद्यार्थीभन्दा नेपालीलाई काम पाउन अष्ट्रेलियामा सजिलो छ। किनकि हाम्रो देशले अङ्रेजी भाषालाई प्राथमिक तहदेखि नै समावेश गरेको हुनाले आधारभूत अङ्ग्रेजी नजान्ने नेपाली विद्यार्थी सायदै छन्। नजाने चार पाँच महिनाको तालिम पनि लिन सकियो।

यही भाषाको फाइदाको कारण अष्ट्रेलियामा युरोपेली मुलुकमा जस्तो नेपाली विद्यार्थीको ठुलो हिस्सा होटेल र सरसफाइको क्षेत्रमा मात्र नभई हरेक क्षेत्रमा फैलिएको छ।

यहाँका ठूला र देशव्यापी ब्यापारिक सन्जाल भएका उलवर्थ, कोल्स र एल्डीका सेवा क्षेत्र तथा प्रशासनिक एकाइमा नेपालीको बाक्लो उपस्थिति रहेको पाइन्छ। रकडेल, कोग्राह, अबर्न, हट्सभिलजस्ता नेपाली समुदायको बढी घनत्व भएका सहरमा पर्याप्त मात्रामा ग्रोसरी, प्रिन्टिङ, मेकानिक, रियल-इस्टेट, रेस्टुरेन्ट र अन्य व्यवसाय सन्चालन गरेका बसेका नेपालीहरू देख्न सकिन्छ। सिड्निमा सबैभन्दा बढी नेपालीले नै परामर्शदाताको व्यवसाय सन्चालन गरेका होलान्। जहाँ भारतीय, अफ्रिकन र युरोपेली नागरिकले समेत जागिर खाएका देखिन्छन्।

नर्सिङ क्षेत्रमा नेपालीको ठूलो उपस्थिति छ। न्याय र कानुनको क्षेत्रमा पनि उल्लेख्य नेपाली छन्। बैंकिङ र एकाउन्टेन्टका रुपमा पनि नेपाली नभएका होइनन्। यसरी अष्ट्रेलियामा ब्यवसाय र ह्वाइट-कलर जब गर्ने ठूलो संख्याका नेपाली एकैदिनमा त्यस्ता भएका होइनन् । लगन, धैर्य र अनवरत प्रयासले उनीहरूलाई त्यहाँ पुर्‍याएको हो।

सुत्न पाइनँ, काठमाडौंमा घर बनाउन सकिनँ, बाको ब्याज बढ्यो जस्ता कुरा गरेर चौरमा रोइकराइ गरेको भए सायद उनीहरू अहिले त्यही भीडको एउटा रोदन हुन्थे होला।

एउटा कुरा सहमत के हुन सकिन्छ भने अष्ट्रेलिया आएका अधिकांश विद्यार्थीले भाँडा माझेको अनुभव लिएका हुन्छन्। यसको मतलब अष्ट्रेलिया आउने नेपाली सबै भाँडा माझ्ने हुन भन्नु अतिरन्जनाबाहेक केही होइन।

अष्ट्रेलिया र पिआर

त्यस कार्यक्रममा अर्को चर्चाको विषय थियो- पिआर। हामीले बुझ्नुपर्ने पाटो के हो भने अष्ट्रेलियाबाट शैक्षिक डिग्री हासिल गर्ने ब्यक्तिलाई पिआर दिने सर्तमा यहाँको सरकारले हामीलाई भिसा दिएको होइन। पिआरमा सजिलो वा कडाइ गर्ने कुरा उनीहरूको आन्तरिक र मानव संसाधन व्यवस्थापन नीतिमा भर पर्ने कुरा हो।

पिआरलाई आवश्यक योग्यता र प्रक्रिया पुर्याएमा पाउन सकिने सुबिधाको रुपमा बुझ्न सकिन्छ। विद्यार्थीको रुपमा आएर पिआर बनाउनैपर्छ भन्ने बाध्यता कुनै व्यक्तिको होला। न त यो नेपाली समुदायको बाध्यता हो न त यहाँको सरकारको।
सार्वजनिक मन्चमा गएर यसबारे बोल्नुको कुनै तुक छैन। बरू डिग्री गरेर विदेशी हालचाल देखे-बुझेर निश्चल बस्नेतझैँ वा अनिल शाहको पदचाप पछ्याउँदै नेपाल फिर्नुमा बुद्दिमानी होला।

अन्त्यमा,
टाउकोमा लागेको चोट निको पार्न घुँडामा मलमपट्टी गरेर हुँदैन। विदेश जानुपूर्व आफ्नो आवश्यकता आफैंले किटान गरेर बाटो तय गर्दा भविष्यमा भवितव्य पर्दैन। पैसा तत्कालीन आवश्यकता हो भने सानो लगानीमा नेपालमा नै केही गर्न सकिन्छ। अथवा खाडी मुलुक, कोरिया र अन्य वर्किङ भिसा प्रावधान भएका देशमा जान सकिन्छ। सके अलिकति पैसा कमाउ, नभए राम्रो शिक्षा लिएर फर्किउ भन्नेको लागि उपयुक्त ठाउँ हो अष्ट्रेलिया।

कम्तिमा अष्ट्रेलिया आउनुअगाडि नेट-सर्फिङ गरेको खन्डमा सबै जानकारी हासिल गर्न सकिन्छ। अष्ट्रेलिया जान एउटा खुट्टा उचाल्नुअगाडि भाषा परीक्षामा सम्बन्धित बिषयको लागि निर्धारित अंक जोड्न सकेमा यहाँ आएर अङ्रेजी फाउन्डेसन कोर्स गर्नु पर्दैन। यसले समय र पैसा जोगाउँछ। आफुले छान्न लागेको कलेज सिटीबाट कती दुरिमा छ भनेर गुगल म्याप हेर्न सकिन्छ। यसले पढाइ, बसाइ र रोजगारीको योजना बुन्न सकिन्छ। डिप्लोमा कोर्सको गोल्चक्करमा पर्नुभन्दा भाषामा राम्रो ब्याण्ड ल्याएर आउँदा पैसा, समय र अन्य सम्भावित जोखिमबाट मुक्ति पाइन्छ।

यस किसिमका पूर्व तयारीले अस्तिको नेपाली कार्यक्रममा जस्तो घोक्रो सुक्ने गरी एकले अर्कोलाई दोष दिने, गाली गर्ने र रुन्चे पीडा पोख्नबाट जोगाउँछ। अभिभावकले आफ्ना छोराछोरीलाई प्लेनको टिकट कटाउनुअगाडि एकपटक आफ्नो नाडी छाम्नु जरूरी छ। नेपाल सरकारले देशमा रोजगारी उत्पादन र च्याउझैँ उम्रेका कन्सल्टेन्सीलाई ब्यवस्थापन र नियमन गर्न जरुरी छ।

यति कुरा भनिरहँदा म आफूचाहिँ सबैकुरा पुगेर ठूलो गफ गरिएको ठहरिएला। युरोप नेपाल र अष्ट्रेलियाको दुखसुख भोग्दै यति सत्य कुरा लेख्ने हिम्मत बढेको हो ।
इतिश्री !

हाल अष्ट्रेलियामा बसोबास गर्ने नवलपरासीका सन्तोष पौड्याल पेशाले स्वास्थ्यकर्मी हुन्। पढाइको सिलसिलामा युरोपका विभिन्न देश डुलेका उनी कथा, निबन्ध तथा समसामयिक विषयमा लेख लेख्छन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.