
‘यस्तो पनि कथा हुन्छ?’
तपाईंले यो कथा पढिसकेपछि यसो भन्नुभयो भने केही हदसम्म सही कुरा भन्दै हुनुहुन्छ। किनकि तपाईंका लागि यो कथा, कथा नहुन पनि सक्छ।
मलाई यो पनि थाहा छ, यसलाई कथा नभन्ने तपाईं एक्लो व्यक्ति पक्कै हुनुहुने छैन। तपाईंबाहेक अरू पनि हुनेछन् यो लाइनमा । तर जति भए पनि तपाईंहरू भने अल्पमतमा नै पर्नुहुनेछ । तपाईंहरू अल्पमतमा परें भनेर आत्तिहाल्नुपर्ने पनि म देख्दिनँ। बहुदलीय ब्यवस्थामा मात्र बहुमतको कदर हुन्छ। लेखकीय ब्यवस्थामा चाहिँ अल्पमतको कदर हुँदोरहेछ। कसरी भन्नुहोला- पढ्दै जानुस् थाहा पाइहाल्नुहुन्छ।
यदि तपाईं एउटा साधारण पाठकमात्र हो भने, तपाईं यो कथा हो/होइन भन्ने छुट्याउन लाग्नुहुने छैन। माथि कथा लेखेको देखेपछि तपाईंले यसलाई सरासर कथाकै रूपमा पढनु हुनेछ र त्यसैअनुसार मनन गर्नु हुनेछ। तपाईंले यस कथाबाट भरपुर मनोरन्जन पनि लिनुहुनेछ। अनलाइन भर्सनमा पढ्नुभएको भए, तपाईंले सेयर, लाइक र कमेन्ट गर्नसमेत कसैलाई कुर्नुहुने छैन।
तपाईं थोरै स्तरीय पाठक हो भने पनि यसलाई भिन्न शैलीको कथा भनेर सजिलै पचाउनुहुनेछ। पढिसकेपछि तपाईंले एकछिन सोच्नुहुनेछ— पहिले पढेका अरूका मानक कथाहरूसँग तुलना गर्नुहुनेछ। सोसल मिडियामा सेयर नै नगरे पनि कमेन्ट र लाइकचाहिँ तपाईंबाट आशा गर्न सकिन्छ। तपाईंले कथा पढेर समयको सदुपयोग गरेको महसुस गर्नुहुनेछ।
यदि तपाईं यदि मेरो निकटको मित्र, पारिवारिक नाता या आफन्तभित्रको हुनुहुन्छ भने तपाईंले कथाको सबैकुरा मन परे पनि नपरे पनि मलाई बेखुस बनाउन चाहनुहुने छैन। र कमेन्ट नै नगरे पनि लाइक पक्कै हान्नुहुनेछ। यस्तो-उस्तो केही भन्नुहुने छैन।
तर तपाईं स्वयं पनि राम्रै लेखक वा समीक्षक जोसँग मेरो पारिवारिक त के, गाडी बेचेको समेत नाता छैन भने बल्ल आएर यो कथा समस्यामा पर्नेछ। कथाको समस्याले मलाई पनि सँगसँगै तान्ने छ। अनि यो कथाका पनि दु:खका दिन सुरू हुनेछन् जब तपाईंले भन्नुहुनेछ- यस्तो पनि कथा हुन्छ?
सम्पादकको मेसेज पढेर अन्जना मसँग थोरै रिसाई। भनी- तिमीले मलाई बेकारमा झन्झटमा पार्यौ। म त सक्दिनँ अब तिम्रो कथा छाप्न। यसरी ढाँटेर पनि कोही साहित्यकार बन्छ ?
जब म यस्तो प्रतिकृया पाउनेछु अनि म सोचाइमा पर्नेछु। मेरा सामु केही प्रश्नहरूले जवाफ खोज्दै बाटो छेक्ने छन्- ‘हैन मैले यो कथा कस्का लागि लेखेको हुँ त? हजारौं पाठककका लागि कि एक दुईजना वरिष्ठ लेखक या समिक्षकका लागि? हैन कथाकारले कस्का लागि लेख्छन् त कथा?’
त्यसपछि केही दिनअघि एकजना नाम चलेका बरिष्ठ लेखकले भनेको कुरा मेरो मनमा ठोकिने छन्- ‘स्तरीय लेख्नु पर्छ। स्तरियताको मापन पाठकले भन्दा पनि समीक्षकले गर्ने गर्छन्।’
अनि म सोच्नेछु- ‘स्तरियताको कुरामा त बरिष्ठ लेखकको कुरा ठिकै होला। तर स्तरिय भन्दैमा २/४ जना स्थापित लेखक वा समिक्षकले मात्र बुझ्ने र आम पाठकले नबुझ्ने लेख्नु पनि त भएन नि। भन्ने बेला पाठक मेरा देवता भन्ने अनि समीक्षकलाई खुसी पार्नका खातिर तिनै पाठकको मन निमोठने गरी लेख्ने पनि त भएन नि?’
समीक्षकले पत्याउने मात्र लेख्नुपर्छ, पाठक भाडमे जाए म भन्न सक्दिनँ । हेर्नुस् न, गन्ने नै हो भने सयजना पाठक बराबर एकजना त के, हजारजना पाठक बराबर एकजना लेखक वा समीक्षक हुन्छ होला। यदि मैले एउटा समीक्षकको अनुहार हेरेर लेखें भने त बहुमत पाठकको अवमुल्यन भएन र ? मैले त हजारलाई माया गर्नुपर्यो नि हैन र? समीक्षकलाई खुसी राख्ने बहानामा आफ्नै कथाको बलि आफैंले कसरी दिन सकिन्छ र? तपाईं सक्नुहुन्छ र?
माफ गर्नुहोला, मैले थोरै भडास पोखें। यस्तो भइहाल्छ, नेताले पनि त मञ्च पाउने बित्तिकै सर्वप्रथम बिपक्षीको कुरा पहिला काट्छ नि त। मैले पनि थोरै मौकाको फाइदा लिएँ। कथाको सुरुमै घुसाइदिएकोले तपाईंले पनि पढ्न पाउनुभयो। तर यसलाई कथा लम्ब्याउने प्रयास गरेको नठान्नुहोला है। म कथामा प्रवेश गरिसकेको छु।
नाम नकमाए पनि म पनि सानोतिनो लेखक नै हो। किताब नै नछापे पनि अनलाइनतिर र कतैकतै स्मारिका या विशेषांकहरूमा मेरा कथाहरू छापिएका छन्। तर पनि देशका प्रमुख पत्रिकाका शनिवारिय परिषिष्ठाङ्कहरू कथा छाप्ने हैसियत पुगेको थिएन। यी परिशिष्ठाङ्कहरू हामी लेखकहरूका लागी आकर्षण हुन्छन्। मलाई पनि त्यसमा आफ्नो नाम र थुतुनो सहितको कथा छाप्ने रहर थियो।
मैले पनि एउटा कथा देशकै नामुद पत्रिकामा छाप्न पठाएको थिएँ। तर एक बर्ष कुर्दा पनि छापिएन । खासमा राम्रा पत्रिकाको गुण के हुन्छ भने पठाएको कुरा नछापे पछि यो यति कारणले छापिएन भनेर फिर्ता गर्ने चलन हुन्छ। तर मैले त्यो प्रतिष्ठित छापाबाट त्यस्तो कुनै खबर पाइनँ। मलाई झोंक चल्यो। मैले कथा जसरी पनि त्यही पत्रिकामा छाप्ने निर्णय गरें। साहित्य विभागको सम्पादकसँग व्यक्तिगत चिनजान बनाउने निर्णय गरें। तर कुनै हालतमा पनि सम्पर्क हुन सकेन। फेसबुकमा उसको नाम खोजेर फ्रेण्ड-रिक्वेस्ट पनि पठाएँ तर एसेप्ट गरेनन्।
कथा छाप्न मलाई यतिधेरै हुटहुटी भयो कि मैले एउटा सानो प्रपञ्च गरेँ। सबैभन्दा पहिले मैले अन्जना अर्थात मेरी प्रेमिकासँग सल्लाह गरें। सल्लाहअनुसार मेरो कथामा उनको नाम र फोटो राखें र उनको इमेलबाट उही कथा त्यही नामुद पत्रिकामै पठाएँ। अन्जनालाई साहित्यको ‘स’समेत थाहा छैन। लेख्न त धेरै परको कुरा साहित्य पढ्ने बानीसमेत छैन। नेपाली साहित्यकारको नाम भन भन्दा मुस्किलले लक्ष्मीप्रसाद देवकोटाको नाम भन्न सक्छे। तर पनि उसले कथा छाप्ने कुरामा नाईनास्ति गरिन। मलाई सहयोग नै गरी।
यस्तो लेखक मान्छेको प्रेमिका कसरी त्यस्तो बेस्वादको भन्ने तपाईंहरूलाई लाग्यो होला। लब कसरी पर्यो होला त? यस्तो पनि पक्कै सोच्नुभयो कि? यसको पनि सानोतिनो कथा नै छ, तर म त्यो अहिले नै यहाँ लेख्दिनँ। फेरि कुनै दिन लेखौंला। अहिलेलाई यति मात्रले प्रष्ट पारौँ, जसरी चुम्बकका दुई बिपरित ध्रुवको मिलन हुन्छ, हाम्रा दुई भिन्न रूचिहरूको पनि मिलन भयो। अर्को कुरा पनि भनिहालौं- सबै लेखकका प्रेमिकाहरू लेखिका र साहित्यप्रेमी नै हुनुपर्छ भन्ने नै के छ र हैन? खैर यो कुरा यतिकै राखौँ। कथा लेख्न छोडेर गफ दिन लाग्यो भन्नुहोला। हुन पनि यसले बाँकी कथालाई थप टेवा दिँदैन।
त्यो कथा दुई हप्ता नबित्दै छापियो। पेपर र अनलाइन दुबैमा आयो। अन्जना पनि पत्रिकामा उसको नाम र फोटो छापिएको देखेर मख्ख परी। कथा छापिएकोमा त के खुशी हुनु र? उसको कथा भए पो। अनलाइनमा कथाबारे राम्रा-नराम्रा दुबै खालका कमेन्टहरू आए। तीमध्ये एकजना पाठकको कमेन्टचाहिँ सम्झिनलायक थियो ‘रचना छापिनलाई त कि सेलिब्रेटी कि चेलीबेटी नै हुनुपर्ने रहेछ।’
पहिले त मलाई उनको कुरा क्या चित्त बुझ्यो। हुन पनि त्यस्तै भएको थियो। पछि यसो सोचेर ल्याउँदा रिस पनि उठ्यो। उसको भनाइको मतलव क्लियर थियो कि कथा राम्रो छैन। आखिर कथाकार त म नै थिएँ नि।
अन्जनाको नाममा मेरो कथा छापिएको केही दिनमा उसलाई त्यही पत्रिकाका साहित्य फाँट हेर्ने सम्पादकको फेसबुकमा फ्रेन्ड-रिक्वेस्ट आएछ । नचिनेका मान्छेको रिक्वेस्ट अन्जना तुरुन्त एस्सेप्ट पनि गर्दिन। उसले मलाई देखाउँदै सोधी ‘यस्लाई चिन्छौ ? जम्मा तीनजना म्युचुअल रै’छन्।’
मैले नचिन्ने त कुरै थिएन। मैले उसलाई धेरैअघि पठाएको रिक्वेस्ट पेन्डिङमा राखेर अन्जनालाई रिक्वेस्ट पठाएछ मोरोले। मैले भनें- ‘एसेप्ट गर न, त्यही अस्ति कथा छाप्ने पत्रिकाको सम्पादक त हो।’
रिक्वेस्ट असेप्ट गरेको भोलिपल्ट सम्पादकले अन्जनालाई मेसेज पठाए। मेसेज यस्तो थियो- ‘हजुरको कथाको निकै राम्रो प्रतिकृया आइरहेको छ। एउटा अर्को कथा पनि पठाउनुस्। म छापिहाल्छु।’ उसले त्यहाँ आफ्नो पर्सनल इमेल दिँदै लेखेको थियो ‘यसमा पठाउनु है सिधै मेरोमा आउँछ।’
सम्पादकको मेसेज पढेर अन्जना मसँग थोरै रिसाई। भनी- तिमीले मलाई बेकारमा झन्झटमा पार्यौ। म त सक्दिनँ अब तिम्रो कथा छाप्न। यसरी ढाँटेर पनि कोही साहित्यकार बन्छ ? एक दिन उसले थाहा पायो भने ? अब त म मेरो नामबाट पठाउदिनँ । तिमी आफ्नै नामबाट पठाऊ। बरू नछापे नछापोस्।’
अन्जनाको कुरा पनि ठिक हो, उसलाई त बिचरा एउटा कथा छापे पुग्छ भनेकी थिई होला। तर यहाँ त कथाको श्रृङ्खला नै चल्ने पो देखियो। मेरा कारणले उसलाई झण्झट लाग्नु स्वभाविक नै थियो । तर मैले फकाउँदै भने- ‘यसमा रिसाउनु पर्ने कारण के छ ? उसले केही यस्तो उस्तो लेखेको त छैन। कथा पठाइदेउ पो भनेको छ। उसलाई कथा नै चाहिएको हो भने जसको भए पनि त छाप्नुपऱ्यो नि त। हैन ? बरू तिम्रो फोन मलाई देऊ । तिमी चुप लागेर बस। उसका म्यासेजको म नै जवाफ दिन्छु।’
सम्पादकले बेलाबेला अन्जनालाई म्यासेज गर्थ्यो। अन्जनाको तर्फबाट मैले नै जवाफ लेख्ने गर्थें। सम्पादकले ‘खोई कथा पठाउनु भएन त’ लेख्थ्यो। म ‘लेख्दैछु, पुरा भएपछि पठाउँला’ लेख्थें। खासमा म अब अन्जनाको नामबाट हैन, मेरै नाममा छपाउन चाहन्थें।
एकदिन सम्पादकले क्याफेमा भेट्ने कुरा गर्यो। मैले चाहेको पनि त्यही थिएँ। अन्जनालाई भनें। ‘सम्पादकले भेटन खोजेको छ, क्याफेमा।’ ऊ फेरि मसँग रिसाई। ‘तिमी नै भेट म भेट्दिनँ’ उसले भनी। मैले भनें- ‘चिन्ता नगर न म छँदै छु नि। तिमी एक्लै भेटन जाने त होइन हामी दुबै जाउँला। त्यहाँ गएपछि तिमी बोल्नु पर्दैन म बोलिहाल्छु नि। उसले भनी- ‘कथाका बारेमा त मलाई सोध्ला, मलाई केही थाहा छैन।’ मैले भने ‘त्यो जिम्मा मेरो भयो चिन्ता नलेऊ। तिमी एकशब्द बोल्नु पर्दैन। उसँग मेरो एकपटक फेस टु फेस परिचय भएपछि, म सबै कुरा क्लियर गर्छु । त्यसपछि तिमी यो कथाको जञ्जालबाट मुक्त हुन्छ्यौ।’
०००
हामी क्याफेमा पुग्दा सम्पादक पहिल्यै पुगेर एउटा कुनाको टेवलमा बसिरहेको थियो। झट्ट हेर्दा करिब पचास वर्षको जस्तो देखिन्थ्यो तर ऊ आफ्नो उमेरलाई कम्तिमा दश वर्ष दबाउन हरसम्भव प्रयास गरेको कुरा उसका गेटअपबाट झल्किन्थ्यो। कालो रंगको जिन्स, कालै रंगको टिसर्ट र कपालमा पनि कालै रंग लगाएको प्रष्टै चिनिन्थ्यो। यस्तो लाग्थ्यो कालो रंगसँग उसको बेहद प्रेम छ।
अन्जना अघिअघि र म उस्को पछिपछि उसको टेबल छेवैमा पुग्यौं। अन्जनालाई देखेर उसको अनुहार उज्यालो देखियो। तर म पनि अन्जनासँगै देख्नासाथ भने स्विच अफ गरेजस्तै अँधारो भयो। । उसको टेवलको अगाडिको दुईटा कुर्सीमा हामी बस्यौं। मैले आफ्नो परिचय दिएँ। उसले मलाई खासै वास्ता गरेन। मैले उसको बेवास्तालाई स्वभाविक रूपमा लिएँ।
अन्जना चुपचाप थिई। सुरुमा नमस्ते भन्नु बाहेक ऊ अरू केही बोलेकै थिइन। म मात्र सम्पादकसँग कुरा गरिरहेको थिएँ। अञ्जनाले कुरा नगरेपछि बाध्य भएर सम्पादकले मसँग कुरा गर्न थालेको थियो । कुराकानीको क्रममा मैले भनें- ‘सम्पादक ज्यु, म पनि सानोतिनो लेखक नै हो। अञ्जनाको संगतले मैले पनि लेख्न थालेको छु। अरू पत्रिकाहरूमा त बेलाबेला छापिइरहन्छन। तर हजुरकोमा पत्रिकामा मेरो एउटा कथा छपाउने रहर छ। मसँग पनि केही कथाहरू छन्।’
‘हुन्छ मलाई पठाउनुस् न म हेरौँला।’ औपचारिकता बोल्यो सम्पादक। कतिबेला अन्जनातर्फ, कतिबेला मतर्फ, कतिबेला मोबाइल र कतिबेला क्याफेको काउन्टरमा उसले आँखा छरिरहेको थियो। उसको छटपटी मैले बुझिसकेको थिएँ।
पन्ध्र मिनेट नबित्दै सम्पादक ‘म एकठाउँमा पुग्नुपर्ने काम छ, तपाईंहरू बस्दै गर्नुस। फेरी भेटौंला है त’ भन्दै आधा कफि टेबलमै छोडेर क्याफेबाट निस्कियो। ऊ गएपछि अन्जनाले बल्ल राहतजस्तो महसुस गरी। कफिको पैसा तिरेर हामी क्याफेबाट बाहिरियौं।
०००
त्यसपछि के भो होला त ? तपाईंहरूलाई जान्न मन लाग्यो होला पक्कै। लगभग गेस पनि गरिसक्नु भयो होला। नगरेको भए पनि ठिकै छ। ल पढ्नुस् क्रमश:
क. सम्पादक महोदयसँग मेसेन्जरमा च्याट बन्द भयो।
ख. उसको पत्रिकामा कथा पठाउन बन्द भयो।
ग. उसैको कारणले गर्दा आज यो कथा तयार भयो।



