
१. निद्रा
झ्याउँकिरीको गीत सुन्दै
आकाश बिस्तारा बनाएर
चन्द्रमा एकोहोरो निदाइरहेछ
चम्किला ताराहरूको सिरक ओढेर ।
न मगजमा दौडिरहने चिन्तनहरूले पिरोल्छ उसलाई
न अपुरा सपनाहरूको पीरले दु:खाउँछ उसको हृदय
न उसलाई भविस्यको चिन्ता
न विगतको पश्चाताप
ऊ फगत निदाइरहेछ
एउटा बालख निद्रा ।
तर मभित्र भने
चिच्याउछ एउटा मौनता
जम्दछन् सम्पूर्ण इन्द्रियहरू
जाग्दछ आगतको सन्ताप
चेतनामा उर्लिएर आउँछन्-
मिश्रित भाव तरङ्गहरू
गुमनाम हुन थाल्दछन्-
जीवनका इन्देणी रङ्गहरू
मस्तिष्क, कोलाहलको भुमरीमा निसासिन्छ
र हडतालमा उत्रन्छ निद्रा ।
यस्ता किस्साहरू हररात दोहोरिरहन्छन्
जब म निदाउन खोज्छु
प्रयासहरू विफल भइरहन्छन् ।
धेरै भयो यी आँखाहरूले
ननिदाएको एउटा बालख निद्रा ।
२. आऊ हामी अङ्कमाल गरौँ
चाहनाको निर्जन बाटो भएर आयौ होला
छिचोल्दै दु:ख र कठिनाइ
बोकेर प्रेमको अभावको बोझ
हिँडिरहदा, हिँडिरहदा अनवरत
थाके होलान् ती महत्वकाङ्क्षी पैतालाहरू
आऊ यो मेरो विशाल मनको चौतारीमा
केही बेर आराम गर ।
बाटोका काँडाहरूले
जताततै च्यातियो होला हृदय,
त्यो कोमलता जम्यो होला
कठोरताको चिसो हिमनदी भई
जल्यो होला मनको न्यानो
समयको खरानी भई
आऊ यो मेरो विशाल मनको चौतारिमा
बिसाऊ तिम्रो वेदनाको भारी ।

म ढुङ्गा झैँ कठोरता बाँचिरहेथेँ
म अभावले पनि नभोगेको
त्यस्तो अभाव भोगिरहेथेँ
चिसो हिउँ भई जमेको थियो
मेरो हृदयको न्यानो
वसन्त नफक्रेको युयौं भएको थियो
मनको बगैचामा ।
अब तिम्रा वेदनाको आँसुले
सायद पगाल्न सक्छ मेरो कठोरता,
तिम्रो अभावले सायद भर्न सक्छ
मेरो सारा अभाव
पुन: नाच्न सक्छन् तिम्रो एक स्पर्शले
मनको बगैचामा पुतलीहरू
म सुन्न तयार छु तिम्रा
यात्राका नदेखिएका, नसुनिएका दर्दका कहानी
म छाम्न तयार छु
तिम्रो हृदयको घाउ
र बन्न तयार छु घाउको मल्हम ।
हामी दुवै रोगी छौँ कतै न कतैबाट
हामी चोइटिएका छौँ भित्रभित्रै
आऊ हामी दुवै
एक अर्काको दु:खको/अभावको
विश्रामस्थल बनौँ
आऊ हामी अङ्कमाल गरौँ
र भरौँ हाम्रो हृदयको खालिपन
आऊ हामी स्थापित गरौँ
प्रेमको नयाँ हिम शिखर ।
आऊ हामी अङ्कमाल गरौँ ।
३. मौन थेम्स नदी
म प्रयास गरिरहेछु हेर्ने
तर किन देख्दिनँ ?
हाम्रा खहरे खोलाहरूको जस्तो उतारचढाव
किन सुसेल्दैन ?
यसले सजीव जीवनको भाका,
किन शान्त छ यो थेम्स नदी !
म हरेक दिन पुग्छु
थेम्स नदी किनारमा
र प्रत्येकपटक उस्तै देख्छु
यो नदीको परिवेश ।
लाग्छ यहाँ समय स्थिर छ
फगत हावा र भीडमात्र चलिरहेछ ।
लाग्छ थेम्स नदी बोकेर हिँडिरहेछ–
यी मान्छेहरूले जस्तै असफल सपनाहरूको बोझ
लाग्छ एकोहोरो सोचिरहेछ–
थेम्स नदी आफ्नो पुरानो विगत
या हुन सक्छ ऊ सोचिरहेको
आफ्नो अस्पष्ट आगत ।
सायद थेम्स नदी
थकित भइसकेको छ अनवरत बग्दाबग्दै,
या आजित भइसकेको छ
मान्छेहरूको भीडले ।
त्यसैले त
म सधैं उस्तै शान्त देख्छु थेम्स नदी
भविष्य कल्पिरहेको,
विगत सम्झिरहेको एक युवकजस्तै शान्त ।
चुपचाप, चुपचाप बगिरहेछ थेम्स नदी…
०००
कवि परिचय : बुटवलका जीवन तिवारी अहिले युके बस्छन् । उनका कविताहरू सरल देखिन्छ तर त्यसले गहिरो भाव बोकेको हुन्छ । अरूले सोचेकै कुरालाई फरक ढङ्गले सोच्नु अनि त्यस भावलाई कवितामा भरेर एउटा कलात्मक अभिव्यक्ति दिनु जीवनको कविताको शैली हो । ‘मौन रहनु एउट कला हो’ भने त्यस मौनतालाई आफ्नो जीवनमा उतार्दै कवितामा भने तीव्र स्वर प्रदान गर्दै आम मानिसको जीवनको सुख-दु:खसँग जोड्नु सक्नु उनको कविताको विशेषता हो ।
मनमा गहिरो प्रभाव पार्ने सुन्दर कविताहरू ।