नेपाल विशेषसाहित्य

आज पनि यो भन्न सक्दिनँ

826views

उडिरहेको चिलले
जमिनमा घस्रिरहेको सिकारलाई टप्प पञ्जाले टिपेझैं
जब टिप्यो जिन्दगीले मलाई
र हुत्याइदियो मरुभूमिको महासागरमा ।

म तिम्रै नाम जप्दै हजारौं वर्षसम्म हिँडिरहेँ
सुख्खा बालुवामा नाङ्गो पैतालाले टेक्दै
प्रत्येक डोबमा सम्झनाको अंश छोड्दै ।

अन्तमा व्याकुल भई तिम्रो प्रेमलाई साक्षी राख्दै
पासो लगाएँ त्यस अन्कन्टारमा
जहाँ गिद्धहरूले पनि भेट्न सक्दैनथे ।

यता तिमी मोदिआइनजस्तै अग्लो ढिस्कोमाथि उभियौ
आफ्नो प्रीत हिँडिरहेको समर-यात्रा हेर्न
तिमीलाई लाग्यो— प्रेम पर्खनु हो, तिमी पर्खिरह्यौ
प्रेम बहनु हो, तिमी आखाँबाट झरिरह्यौ
प्रेम मलाम जानु हो, तिमी बारबार सती गइरह्यौ ।

सायद, हाम्रो प्रेमको बुझाइमै खोट थियो
केवल, मेरो कोरा सर्मपण प्रेम हुन सकेन
केवल, तिम्रो इन्तजार प्रेम हुन सकेन
प्रेम साँचो हुन सायद अरू धेरै
धेरै केही हुनुपर्‍थ्यो !

त्यसैले त, युगौंसम्म तिमीलाई नै कल्पेर
तिमीलाई नै हृदयभरि सजाएर
आफ्नो चिहानसम्मै तिम्रै प्रेमको लाठी टेकेर हिँडेको म
चिहानभित्रको निराश्रित हृदयबाट
आज पनि यो भन्न सक्दिनँ
कि म तिमीलाई प्रेम गर्छु !
०००

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

रूपक घिमिरे
काभ्रे बनेपाका रूपक घिमिरे कविता कथा सिनेमा र कलाका पारखी हुन् । पदयात्रा उनको रुची हो । उनका कथा तथा कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उनलाई ghimirerupak76@gmail.com सम्पर्क गर्न सकिने छ ।