विचार/ब्लग

कसैलाई नसुनाएको एउटा सपना

लेखक : प्रयास दुमी राई

1.2kviews

पूरा गर्न सकिन्छ कि सकिँदैन तर मसँग यस्तै सपनाचाहिँ छ सर…।

यति भनिनसक्दै मेरो बोलीमा पूर्णविराम लाग्यो । घाँटीसम्म आइपुगेको कुरा फेरि घाँटीदेखि छातिसम्म खसेर मनको उही कुनामा बस्यो । त्यो कुना, जहाँ मेरा यस्तै ससाना सपनाहरूले डेरा गरेर बसेका छन् । थाहा छैन यी सपनाले मनको डेराबाट जीवनको सानो घरमा सर्न कहिले पाउने छन् ।

त्यो दिन सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका हाइबुङमा पर्ने ‘प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म’मा केही दिन बस्न भनेर पुगेको थिएँ ।

संयोगले प्रकृती रिसोर्टका चेयरम्यान अरू‌ण श्रेष्ठ ज्यूसँग भेट्ने मौका मिलेको थियो । मैले त्यतिबेला स्पष्ट भनेको थिएँ, ‘प्रकृतिसँग नजिक भएर यस्तै ‘फार्म हाउस’ बनाउने सपना मेरो पनि छ । थाहा छैन सकिन्छ कि सकिदैन तर मसँग यस्तै सपनाचाहिँ छ सर…।’

देशमा सपना

जब म देशमा थिएँ । मेरो सपना पनि देशमै थियो । छन त अहिले पनि म र मेरो काँचो सपना छ, तर यतिबेला मसँग कहिल्यै सपना नफुल्ने- परदेश छ । एउटा सपना छ, जुन सपना म ननिदाएको बेला देख्छु र एकछिन भएपनि आफूलाई कल्पनाको शिखरमा चढाएर आनन्दको जीवन बाँचिदिन्छु । भलै क्षणिकलाई नै किन नहोस् ?

आफूले देखेको, आँटेको सपना कसैलाई नसुनाउनु भनिन्छ, तर मलाई मेरो एउटा (अनिश्चित) सपना सुनाउन मन लाग्यो । कहिलेकाहीँ साथीहरूसँग ख्यालठट्टामा भनियो– ‘सपना देखेपछि ठुलै देख्नुपर्छ, सानोतिनो सपना त निदाएको बेला देखिहालिन्छ नि !’

‘प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म’ भौगोलिक हिसाबले मलाई मन परेको हो । काठमाण्डौं उपत्यकादेखि जम्मा २५-३० किमी मात्र टाढा छ । उपत्यकाको धुवाँधुलो र व्यस्त सहरलाई एकैछिन भुलेर हामी जोकोही यहाँ सहजै जान सक्छौं । पैदल हिँडेरै पनि धेरैपटक म यहाँ पुगेको छु । यहाँबाट अचम्मको प्राकृतिक सौन्दर्य र शान्त वातावरणका साथ हिमश्रृङ्खला, हरियाली पहाड र घना जंगलहरू देख्न सकिन्छ। सबैभन्दा लोभलाग्दो कुरा माछापुच्छ्रे,अन्नपूर्ण,धौलागिरी, र लाङटाङ हिमालहरूको दृश्य अवलोकन गर्न सकिन्छ । फार्म हाउसको उत्तर-पूर्वतर्फ हेर्ने हो भने हामीले टाढा इन्द्रावती नदी देखिन्छ ।

विशेषगरी रातको समयमा आकासमा ताराहरू चम्किरहे जस्तै काठमाडौँ उपत्यकामा बत्तिहरू चम्किरहेको दृश्यले साँच्चै हृदय हलुका बनाइदिन्छ । सायद सहर भनेको टाढादेखि हेर्दा मात्रै सुन्दर लाग्दो हो ।

मलाई नेपालको सबै फार्म–हाउस, रिसोर्टहरूमा पुग्ने धोको सधैँ हुन्छ र बुझ्न मन हुन्छ, आफ्नै देशको माटोमा, आफ्नै देशको हराभरामा हराउन कुन मुटु चाहिन्छ ? प्रकृतिको नजिक रहेर चाहे त्यो हिमाल हेर्दै, चाहे त्यो हरियाली जंगल, पहाड, खोलानाला र पशुपंक्षीको भाका सुन्दै जीवन बाँचिरहेको भइयोस्, ठिक यस्तै जीवन बाँचिरहदा कस्तो हुँदो हो ? मान्छेले चाहेजस्तो भूगोल र चाहेजस्तो परिस्थितिमा बाँच्न पाउने भए यो मुलुक यति तीब्र गतीमा विकास हुन्थेन, जस्तो कि अमेरिका बनाउन हामी नेपालीहरू पानामा र कोलम्बियाबीचको ‘ड्यारियन ग्याप’ नामको घना जंगल पनि दिनरात पैदल हिँडेर भोकभोकै छिचोल्न तयार भइदिन्छौँ ।

भैगो यो कुरा । म अघिको कुरामा फर्कन्छु ।
त्यस बिहान प्रकृती रिसोर्ट/फार्म हाउसका चेयरम्यान अरू‌ण श्रेष्ठ सानो पोखरीको रङ्गीन माछाहरूलाई चारो दिइरहनुभएको अवस्थामा भेटिनुभएको थियो । हामी माछाहरूको चन्चलपनलाई हेर्दै गफिन थालेका थियौं । त्यहिबेला मैले आफूलाई रोक्दारोक्दै पनि आफ्नो सपनाको बारेमा बताएको थिएँ । मैले त्यसरी सहजै किन पनि बताउन सकेँ भने, यो अर्गानिक फार्म हाउसको पुरै संरचनाले मलाई हुरूक्कै बनाएको थियो । यसो भनौं, मैले कल्पना गर्ने संरचनासँग यो धेरै नै नजिक थियो ।

कालो रङका छाना भएका एकनासे कटेज वरपर रहरलाग्दो किवी, अङगुर, स्ट्रबेरी, स्याउ, आरू, नासपाती, ओखरजस्ता फलफूलको बगैँचाले मलाई साह्रै लोभ्यायो । यहाँ यसरी फलाएका धेरै फलफूलहरू हामीले बिहानको ब्रेकफास्टमा खाएका पनि थियौं । माछा पालनदेखि, भैसी पालन पनि गरिएको रहेछ । बारीमा थरीथरिका सागसब्जी तरकारी खेती गरिएको थियो । दिनभरि गोडमेल गर्दै समय बिताउनुजस्तो । आफूले रोपेर उमारेका बिरूवाहरूको हेरचाह गर्नुमा मलाई ज्यादै आनन्द मिल्छ ।

तस्बिर :असीम निरौला

त्यहाँ कोही तरकारी गोडिरहेका थिए । कोही फूल रोपिरहेका त कोही बगैँचा गोडिरहेका थिए । यहाँ काम गर्नेहरू प्राय: यतै नजिकैको गाउँमा बस्ने स्थानीयहरू रहेको थाहा पाएँ । अरूण श्रेष्ठले छोटो समयमा धेरै कुराहरू बुझाउनुभयो जस्तो लाग्छ । जस्तो कि, नेपालको अग्रणी दिगो पर्यटन गन्तव्य बनाउने, परम्परागत नेपाली संस्कृति र आधुनिक लक्जरीलाई संयोजन गर्ने, अर्गानिक खेती र वातावरणमैत्री आतिथ्य सेवाको उदाहरण प्रस्तुत गर्नुका साथसाथै पर्यटनलाई पर्यावरण संरक्षण र सांस्कृतिक सम्मानसँग जोड्ने लक्ष्य रहेछ ।

साथसाथै अर्को महत्वपूर्ण कुरा: स्थानीय समुदायको जीवनस्तर सुधार गर्दै सांस्कृतिक सम्पदालाई पनि प्रवर्ध्दन गर्ने । भविष्यका नयाँ पुस्ताहरूले पनि प्रकृतिको सुन्दरता अनुभव गर्न पाउनेगरि उत्तरदायी पर्यटनको जग बसाल्ने जस्ता फार्मको महत्वपूर्ण दृष्टिकोण (Vision) रहेछ । जुन कुरा थाहा पाएर म यति प्रफुल्लित भएँ कि मैले पनि मेरो जीवनको लक्ष्य भनेको नै अब यत्ति हो जसरी सोच्न भ्याएँ ।

बाँसको ढुंग्रोमा गुन्द्रुक खाँदेजसरी सबैखाले सपनाहरूलाई मनैमा खाँदेर एकसरो कपडा र हरियो पासपोर्ट बोकेर एकदिन म पनि त्यसरी देश छाडेर परदेश आएँ जसरी यो युगमा मेरो देशबाट सबै युवाहरू भटाभट परदेशीइरहेका छन् । म भन्न सक्दिनँ ती सबै युवाहरूमध्ये कतिको मनमा ‘म त जे गर्छु देशमै गर्छु’ भन्ने मेरो जस्तै कमजोर ‘आदर्श’ थियो ?

मलाई खोक्रो राष्ट्रवादी सोच्नु भए पनि म भन्छु, ‘जुन दिन परदेशको भूमिमा पाइला टेकेको थिएँ मैले त्यहि दिनदेखि सोचिरहेको छु, म कसरी नेपाल फर्कन सक्छु होला ? कहिले फर्कन्छु होला देश ?’ परदेश आएर भोगिसकेपछि बल्ल ‘देश फर्कन्छु’ भन्ने भाव मलाई आएको होइन । मैले देशलाई गाह्रो र परदेशलाई सहज कहिले पनि मानिनँ, त्यसैले पनि होला मलाई देश फर्कने हतारो परदेश हिँड्नु अगाडि नै भयो ।

देशमा हुँदा धेरै सपना देखियो भलै मसँग सीप थिएन, लगानी गर्ने पुँजी थिएन तर देशमै केहि गर्नुपर्छ भन्ने जोश त थियो जुन जोश कुनै आन्दोलनमा गएर राज्य गिजोलिरहेकाहरूको नाममा ढुंगा हान्नु मात्र काम लाग्थ्यो, जुन मैले चाहिनँ । म सबै दोष राज्यलाई मात्रै पनि दिन्नँ, देशमा केहि गर्नको खातिर मसँग पनि थुप्रै योग्यताहरू हुनुपर्थ्यो होला, भएन । तर म ‘श्रम’ गर्न सक्थेँ यदि देशमा नै श्रमको उचित मुल्य पाउने वातावरण बनेको भए ।

तर खै ! श्रमको मुल्य ? कुन स्थानमा छ हाम्राे सामाजिक सुरक्षाका सुविधाहरू ? कहाँ छ श्रमिकहरूको हक अधिकारको सम्मान ? तपाइँको आत्मसम्मानमा ठेस लाग्दैन भने भन्न सकिन्छ, ‘मेरो देशमा सम्मानको फूलमाला त्यस्ताहरूको घाँटिमा लगाइन्छ; जसले श्रमिकहरूको छातीमा धेरैभन्दा धेरै लात बजार्छ ।’ साग उमार्ने किसानले मल पाउदैन सागको मुल्य परको कुरा । साग उमार्ने किसान भन्दा किसानको मुद्दामा राजनिती गर्नेहरू धेरै फाइदामा छन् । यो कसरी सम्भव भइरहेको छ ? सबैले बुझ्ने भाषामा भन्नुपर्यो भने, ‘देशमा लुटतन्त्र चलिरहेको छ नि त !’

साँच्ची मैले त ‍देशमा बसेर यति ठुलो सपना देखेछु कि जुन सपना पुरा गर्न, ‘मैले कति चिजहरू जुटाउनु पर्छ ? ऐन/कानुनलाई कुन कोटको खल्तीमा राखेर हिँड्न सक्नुपर्छ ? मैले कति सिद्दान्तहरू बदल्नुपर्छ ? या मैले मेरो इमान र आदर्शलाई कहाँ फ्याँक्नुपर्छ ?’ भन्ने कुराको झिनाे ख्याल समेत मलाई रहेनछ । बारम्बार आफैभित्र ज्वारभाटा भएर उठिरहने एउटा प्रश्न छ, ‘के सिधा सिद्दान्त र आदर्शले मेरो देशमा बाँच्न सम्भव छ ?’ तपाईको मस्तिष्कमा यो प्रश्नको जुन ‘जवाफ’ छ, यतिबेला मसँग पनि ठिक त्यस्तै ‘जवाफ’ छ ।

सपनामा देश

म यतिबेला युरोपको पश्चिमी भागमा अवस्थित बेलायत (युके) मा कर्म गरिरहेको छु । यहाँ प्राकृतिक सुन्दरता, विविध पर्यटकीय गन्तव्यहरू र शहरी-ग्रामीण सन्तुलन हेर्दा विश्वभरका प्रकृतिप्रेमीहरूका लागि आकर्षक स्थान नै हो । यहाँ हरियाली पार्कहरू, ऐतिहासिक भ्रमणस्थलहरू, सामुन्द्रिक तट र शान्त वातावरण मनग्गे छन् ।

तर म यी सबै कुरामा नअल्झिएर किन हरेक रातको सपनामा आफ्नै देश नेपाल र आफ्नै गाउँ ठाउँमा घुमिरहेको हुन्छु, किन ? मलाई लाग्छ हरेक मान्छेले भित्रि हृदयबाट बाँच्न चाहेको जिन्दगी उसको सपनामा हरेक रात देखापर्छ । आफूले बाँच्न चाहेको जिन्दगी फ्याँकेर हामी कुन जिन्दगी बाँच्न लागिरहेका छौं ? के हाम्रो हृदयले खुशी हुनको लागी रोजेको ठाउँ अरू कसैको देश हो ? होइन भने हाम्रो नेपाली समाजमा, युरोपको कुनै एउटा देशको भिजा पाउनु नै जीवन सफल हुनुको भाष्य कसरी निर्माण हुँदै गएको छ ? यस सन्दर्भमा मेरा एकजना मित्रले भनेको एउटा संवाद सम्झन्छु, उनले भनेका थिए, ‘मित्र ! अब त यस्तो समय आयो कि ! ऋण गरेर भएपनि विदेश पठाउन सकिएन भने आफ्नै छोराछोरीले थुक्छन्…!’

कुनै पनि भावनामा नबहकिकन कुनैपनि आदर्शमा नटेकेर भन्ने हो भने नेपालमा हुने प्राय: सबै युवाको सपना परदेश नै हो तर फेरि जो परदेशमा छन् उनिहरूको सपना चाँडाेभन्दा चाँडाे आफ्नै देश फर्कनु हो । यो कस्तो दोधारे सपना ? देशमा हुँदा देखिएको ‘सपनाको देश’ पुगिसकेपछि ‘आफ्नै देश’ फर्किने अर्को ठुलो सपना बनिरहेको छ । परदेशमा हुने केहि अपवाद बाहेक सबैसबै मान्छेहरू आफ्नै देश फर्किने बिशाल चाहाना मुटुमा बोकेर बाँचिरहेका छन् । सबैथोक छाेडेर किन सरक्कै आफ्नै देश फर्कन सकिरहेका छैनन् ? परदेशमा पैसा नै पैसा, मोज नै मोज भएर देश फर्कन नसकेका हुन् त ? होइन । परदेशमा सबै पक्षबाट व्यवस्थित भएर बसेको मान्छेलाई पनि आफ्नो देशको न्यास्रो कतै न कतै लागिराखेकै हुन्छ । फेरिपनि देश फर्किनबाट केले रोकिरहेको छ ? सोचनीय कुरा यो हो ।

जिन्दगीभरि अरूकै देशमा रातदिन दुख गर्छ धेरथोर पैसा कमाउँछ, घर जोड्छ, जमिन,गाडि अन्य थुप्रै चिज कमाउँछ तर उसले यतिन्जेल कहाँ रमाउँछ ? परदेश यस्ताे दलदल हो जहाँ फसेपछि मान्छे कहिल्यै बाहिर निस्कन सक्दैन । ऊ देखिनको लागि सधैँ खुशी देखिन्छ तर उस्लाई जीवनको अन्तिमतिर ‘आफ्नै देशमा मर्ने’ चाहाना किन हुन्छ ? आफ्नै देशमा मर्न चाहानेहरू आफ्नो देशमा कति मरे होलान् ? जो चाहना हुँदाहुँदै पनि अरूकै देशमा अन्तिम सास फेर्छन् के उनीहरू परदेशमा जीवनभरि कमाएको धनदौलतसँग खुशी थिएनन् ? यदि खुशी थिए भने किन परदेशमा मरेको मान्छेले मर्नुअगाडि भन्छ— ‘म मरेपछि, देशमै लगेर मेरो अस्तु विसर्जन गरिदिनू है !’

परदेशमा मरेपछि आफ्नो लाशको खरानी आफ्नै देशमा सेलाएकाहरू बाँचिन्जेल परदेशमा खुशी थिएनन् ? कि खुशी अलग कुरा देश फर्कने उत्कर्ष चाहाना अर्कै कुरा हो ? कि आत्माभित्रको देश फर्कने चाहाना एउटा स्वाङ मात्रै हो ? बाँचिन्जेल देश फर्कने सपना देख्छ, रातभरी ड्युँटि गरेर एकैछिन बिहान झुपुक्क निदाउँदा पनि देशको आफ्नै माटोमा घुमफिर गरिहिँडेको देख्छ । आफ्नै पुरानो ढलिसकेको घर जस्ताको उस्तै देख्छ, आगन पधेँरो, वनजंगल, खोलानाला, छरछिमेक सबै-सबै सपनामा दुरूस्तै देख्छ, यति देख्दा मात्रै पनि उसले कत्रो आनन्द पाउँछ । तर ऊ त्यहि आनन्दको ठाउँ फरक्क फर्किएर किन जान सक्दैन ?

मलाई त लाग्छ यो युग यति छिटो विकास नहुनु पर्थ्यो । हिजो मेरो ‘भूत बाजे’लाई पृथ्वी गोलो छ या चन्द्रमामा मान्छे पुग्न सक्छ भन्ने कुराको मेसो नहुँदा पनि कस्तो सुन्दर जिन्दगी बाँचेर गए । आफूले चाहेको संसार आफ्नो बलबुद्दिले बनाए । आफैले घर बनाए,आफैले समाज बनाए र जिन्दगीभरी उहि घर उहि परिवार र उहि समाजसँग बाँचेर त्यहि आफूले खडा गरेको परिवेशमा सन्तृष्टकासाथ अन्तिम स्वास फेरे । न उनलाई मरेपछि लाश अरूकै देशमा सडिनेछ भन्ने झिनो पछुतो थियो न उनलाई बाँचिन्जेल अरूको गुलाम गरिरहनुपरेको ग्लानी थियो । लाग्छ- कस्तो प्राकृतिक जिन्दगी ? वाह ! कस्तो प्राकृतिक मरण !

यो मुलुकको विकास सँगसँगै मान्छेहरूले आफ्नै जिन्दगी बाँच्न बिर्सिएको सत्य हो । जतिबेला यो मुलुक यति विकसित थिएन त्यसताका मान्छेको समाज नभएपनि कम्तिमा परिवार हुन्थ्यो, उनीहरू मिलेर ‌ओढारमा भएपनि सँगै बस्थे । अहिले सर्वसम्पन्न मलहमा एक्लै श्रीमती बाँचिरहन्छ, अर्कै महलमा श्रीमान् बाँचिरहन्छ र छाेराछाेरी अर्कै सहरमा संघर्ष गरिरहन्छन् । ‘विवाह’ भन्ने अर्थ बिस्तारै विश्वबाट हराउँदै जाने पक्का छ । रोबोट बनाउन सक्ने बुद्दिजिवी एउटा मान्छे आफै रोबाेट बनिरहेको किन चाल नपाएको ? संवेदना मानवता हो भने रोबाेट क्षमता हो भन्ने थाहा हुँदाहुँदै पनि हामी मान्छेहरू संवेदनालाई बिर्सिएर क्षमतावान् बन्ने होडबाजीमा छौं किनकि रोबोट बन्न सक्नु नै मान्छे ‘इन्टिलिजेन्ट’ हुनु भन्ने भाष्य निर्माण गरिरहेकाछौं।

‘इन्टिलिजेन्ट’ शिक्षाले होइन पैसाले बनाउँछ भन्ने जस्तो बुझाइ हामीमाझ देखिन्छ त्यसैले त होला सामान्य अक्षर पढ्न सक्ने विद्यार्थीले पनि भन्न थाले, ‘म त ठुलाे भएपछि अमेरिका जाने’ । स्टुडेण्ट भिजामा जानेहरूलाई ‘स्टडि’को बढि पिर हुन्छ या ‘पैसा’ कमाउनुको ? यसको जवाफ नै हाम्रो अहिलेको मुख्य बिषय हो ।

आमाले घरमा फलाएको हरियो खोर्सानी हामीलाई परदेशमा चाहिन्छ । सित्तैमा पाइने कति थाेक हामी हजारौं पैसा खर्च गरेर परदेशमा मगाउँछौं। यसरी हामी किस्ता-किस्तामा देशको सुगन्ध भेटिरहन खोज्छौं। सपनामा देश राखेर बाँचिरहन्छौं । के सधैँलाई अब ?

परदेशबाट देश हेर्दा

सपनामा देश त निदाएको बेला देखिने कुरा हुन् जो दिनको उज्यालोसँगै भुल्दै जान सकिन्छ । तर बिपनामा हेर्दा देखिने देशको सबै गतिविधिहरूलाई भुल्न सकिन्छ ? या सहजै बेवास्ता गर्न सकिन्छ ? देशमा भइरहने सामाजिक, आर्थिक, राजनैतिक घटनाक्रमहरूलाई कामको व्यस्तता वा थकानको बाहानामा नदेखे झैँ गर्न सकिएलार ? अँह नसकिने रहेछ । परदेशबाट देश हेर्दा सबैभन्दा धेरै चिन्ता र चाँसो उसलाई लागिरहेको हुन्छ जसले अर्कै देशको ‘ग्रिन कार्ड वा रेड कार्ड’ लिएर बसिरहेका हुन्छन् ।

आफ्नो देशको नागरिकता त्याँगेर अर्कै देशको नागरिक भइसकेका नेपालीहरूलाई पनि नेपाल देशको किन चाँसो र चिन्ता हुन्छ थाहा छ ? किनकि उनीहरूभित्र कतै न कतै यस्तो आशा बाँकि हुन्छ कि ! देशको स्थितीमा केहि सुधार आउँला र फेरि आफ्नै देश फर्केर आफ्नै देशको नागरिक भएर निर्धक्कले मर्ने चाहाना कतैन कतै मनमा हुन्छ र हुन्छ । यतिबेला नागरिकहरू निर्धक्कले बाँच्न होइन निर्धक्कले आफ्नै देशमा मर्न चाहिरहेका छन् । हरेक मान्छेलाई आफ्नै देशमा मर्न मन हुन्छ । आफ्नै देशको पनि आफ्नै घरमा मर्न चाहन्छन् तर ८० प्रतिशत मान्छेहरू हस्पिटल वा अर्कै मुलुकमा प्राण त्यागिरहेका छन् । एक्लै । प्राकृतिक जन्म खोई ? प्राकृतिक मृत्यु खोई ? के हामी प्राकृतिक प्राणी हौं भन्ने कुरा एआई युगले बिर्साउँदै जाने हो ?

युग जतासुकै पुगेपनि परदेशीहरू देश फर्कन चाहान्छन् । यतिबेला केहि बर्स परदेशमा दुख गरेर पैसा कमाउने अनि त्यहि पैसासँग देश फर्किएर आजीवन व्यापार,व्यवसाय गरेर देशमै केहि गर्ने सोँच बोकेका लाखौं युवाहरू परदेशमा छन् ।

राज्यका कुरा बिर्सेर म कहिँलेकाहीँ घर फर्केर बाउबाजेले जोगाइदिएको बाँझौ बारीमा साग रोपेर साधारण जीवन बाँच्ने कल्पना गर्छु तर यदि म फर्कें भनेँ मेरो छर-छिमेकहरूले त्यसरी बाँचिखान देलान् ? हाम्रै समाज पनि अब त अर्कै बनिसक्यो । मलाई त भन्लान्, ‘गरिखान नसकेर घर फर्कियो !’ तर म त ‘घर गरिखान’ फर्किएको हुन्छु । र मैले देखेको छु ‘घर गरिखाने’ मान्छेहरूलाई समाजले मान्छे गन्दैन, माफ गर्नुहोस्; समाजले होइन अबको युगले मान्छे गन्दैन भन्दा अतिशयोक्ति नहोला ।

मानौं तपाईंसँग धेरैथोरै आफूले सकेको सेभिङ गर्नुभएको छ । तर खुरूक्क झोला कसेर देश फर्किहाल्न किन सक्नुभएको छैन ? कहिल्यै गम्भिर भएर सोच्नुभएको छ ? सोच्नुभएको छ भने हाम्रा साझा समस्या यहि हुनसक्छ कि ‘देशमा केही ठिक छैन’ ।

हामीले देखेका छौं, भ्रष्टचारी र बलत्कारीहरूलाई कसरी पश्रय दिइन्छ ? कसरी खुलेआम हिँड्छ एउटा सत्ताको मुखुण्डो ओढेको अपराधी । के सबैसँग मुखुण्डो लगाउने क्षमता हुन्छर ? हुँदैन । कसैको झण्डा नबोकी कसैको चाकडी नगरी आफ्नो कर्म गर्नेहरूलाई देशमा कुनै स्थान छ भने मलाई देखाइदिनुहोस् म त्यस्तै ठाउँको खोजिमा छु । यहाँ ‘म’ अर्थात् ‘युवा’ युवा अर्थात् परदेशिएको मान्छे ! या पार्टीको झोला बोकिरहेको जमात । मेरो देशसँग यी दुई खेमाका युवाहरू मात्र छ । देशको व्यवस्था फेर्ने बाहानाको आन्दोलन गरिरहेका युवाहरू पनि केवल ढुंगा हानिरहेकाछन्, कहिले उताबाट यता हान्छन् कहिले यताबाट उता हान्छन् आन्दोलन पनि एउटा व्यवसाय बनिसकेको छ ।

परदेश लागेकाहरूसँग त ‘रेमिट्यान्स भित्र्याएँ’ भन्ने एउटा झिनो वचन रहँला ! देशमा सत्ताको झोला बोकिरहेका युवाहरू कठै ! कालान्तरमा के भन्दाहुन् ? कि ! भन्लान् ? ‘हामीले झोला बोकिदिएर देश यति बर्बाद पार्न सफल भथियौं, हामी पनि बर्बाद भथियौं ।’

हिजो छाती वारपार गोली खाएकाहरू आज खाँडिमा छन् । गोली थाप्न उक्साउनेहरू सत्ता र शक्तिको खातिर ‘छेपारो रङ’ फेर्नमा व्यस्त छन् । योभन्दा टिठलाग्दो सत्य अर्को के खोज्न सकिन्छ ? केहि चाहिन्छ अरू ? देशको कायापलटै गरिदिन्छु भन्नेहरूलाई हामीले यतिन्जेल कुरेनौं र ? कम्तिमा ‘समृद्द देश सुखी नेपाली’ हुनुको छाँटकाँट यतिका दशकसम्म एक झिल्को पनि फेला पार्न सकिएको छैन भने हामी कुन समृद्द कुर्ने ? मेरो पनातीले पाउने समृद्दको लागी आज मैले मेरो सर्वस्व गुमाउनु पर्ने हो भने त्यस्ताे त्याग र त्यतिसाह्रो बलिदान कमसेकम मबाट हुन सक्दैन । माफ गर्नुहोस्; गफमा होइन, हामीलाई व्यवहारमा समृद्ध देश चाहिएको हो ।

एउटा युवा व्यापारीले संसद भवनको गेटैमा जलेर आत्मादाह गरिरहेको दृश्य देख्दा देख्दै परदेशबाट सपना बुनेर देश कसरी फर्किन्छ युवा ? दिन दाहाडै सपिङ मल लुटिन्छ, होटलमा आगो लगाइन्छ भने देशमा कुन युवा बस्छ ? आगाे लगाउने ‘आन्दोलनकारी’ नामको ‘बेरोजगार’ युवा पनि भिजा पाउने बित्तिकै विदेशतिर हिँड्छ । गाउँको विकासमा जीवन समर्पण गर्छु भनेर वडा अध्यक्षमा चुनाव लडेको एउटा युवा चुनाव जित्ने बित्तिकै कोरियाको भिजा आएपछि राजीनामा दिएर कोरिया उड्छ । सबै पार्टिको चेपुवामा परेर हार खाएका कुनै वडा अध्यक्ष कुर्ची र पद देशमै फ्याँकेर रूसी सेनामा भर्ती भएको खबर पढेपछि कुन युवा देश बनाउने सपना देखेर देशमा अडिन्छ ? या अधिकृतको जागिर राजिनामा दिएर पल्लाे गाउँको दाई अमेरीका या अष्ट्रेलियातिर गइरहेको देख्दा देख्दै जागिरको टुङ्गाे नै नभएको वल्लो गाउँको युवा भाईले देशमा बस्ने आँट कसरी गर्छ ?

‘युवा देशमा फर्काउने र रोजगार दिने’ भाषण छाँटिरकेका नेताको साखासन्तान नै ठुल ठुलो देशमा भएको जानकारी हुँदाहुँदै तिनको भाषण सुनेर युवा कसरी फर्किएला देश ? एउटा सक्षम युवाले देशमा कसरी भरोसा राख्ला ? जहाँ, चुनावमा भोट दिनेलाई चुनाव पछि ‘फ्रि भिजा फ्रि टिकेट दिलाइनेछ’ भनेर उद्दघोष गर्दैगर्दा पनि केहि मुर्खहरूले ‘पटटट ताली’ पट्काइदिन्छन् ।

चुनाव अघि केहि नेताले घरघरमा रेल आउँछ भनेर भाषण दिए- ताली बजाइयो ! चुनाव पछि त्यहि नेताले भाषण दिए- ‘घरघरमा रेल आए घर कता उछिट्याउने ?’ फेरि ताली बजाइयो ! के यस्तै मिध्या भाषणहरूमा ताली पट्काइरहन देशमा युवा बसिरहलान् ?

यो सत्य हो, नेताको हावादारी भाषणमा ताली पट्काइरहनु परेको छैन, त्यसैले परदेशीनुमा धेरैलाई गुनासो छैन । सत्ताको कुर्ची जोगाइदिन सडकमा ढुंगा हानिरहनुपरेको छैन त्यसैले परदेशमा परिश्रम गर्नुमा गुनासो छैन । र लामो घोषणापत्रमा सपना देखिरहनु परेको छैन त्यसैले नाइट ड्युटि गर्नुमा कसैलाई ग्लानी छैन ।

कोहि गोराले मेरो देशको राजनीतिक अवस्थाबारे सोधिहाले के मैले यस्तो भन्नु र ?-
‘मेरो देशमा सरकारले भटाभट भ्यू टावर बनाइरहेको छ, र फेरी दुरदराज गाउँमा साना-साना नानीबाबुहरू डोरीमा झुण्डिएर स्कूल गइरहेका छन् । बिडम्बना त यो छ कि ! चुनावमा घोषणा पत्र देशैभरि पुग्छ, समयमै पुग्छ तर स्कूलमा पाठ्यपुस्तक अन्तिम परिक्षासम्म पनि पुग्दैन । कोहि सिप भएको युवा घरेलु उद्योग सन्चालन गर्न सहुलियतमा सरकारसँग ऋणको अपेक्षा राख्छ सरकारभने बैँक र सहकारी ठगिमा संलग्न मन्त्रिहरूलाई कहिले पक्रिदै कहिले छोड्दै गर्ने कार्यमा व्यस्त हुन्छ । यस्तै चलिरहन्छ मेरो देशमा ।’

देश बनाउँछु भन्दै हिँड्ने नेता सरकारी जग्गा हडब्नमा सबैखाले बल बुद्दि लगाइरहन्छ तर महावीर पुनजस्तो एकजना देशको नागरिक जो आफ्नो आत्मकथाको किताब सडकमा बेचेर राष्ट्रिय आविष्कार केन्द्र देखि वर्षौंदेखि बन्द रहेको कृषि औजार कारखाना सञ्चालन गर्न हरप्रयास गरिरहेका छन् । उनी चाहान्छन्, युवाहरूलाई वैज्ञानिक र प्राविधिक क्षेत्रमा आविष्कार गर्न प्रोत्साहित गर्न सकियोस्, जसले देशको आर्थिक विकासमा योगदान पुर्‍याओस् । एकजना व्यक्तिले यति संवेदनशिल भएर यति महत्वपूर्ण योजनाको अगुवाइ गर्न सक्छन् भने देशको पुरै प्रशासन, नीति निर्माण, र कानूनी व्यवस्था हातमा भएकाहरू के गरिरहेका छन् ? तर यहाँनिर पुगेर म यस्तो पनि सोच्छु, देश नेताले मात्र होइन जनताले गर्दा पनि बिग्रिरहेको छ ।

होइन भने, के प्राविधिक दक्षता हासिल गरिसकेको कुनै युवा देश फर्किएर महावीर पुन बन्ने आँट राख्छर ? राख्दैन । त्यसैले पनि देश नबन्नुमा तपाइ हाम्रो पनि उत्तिकै भूमिका छ । देशको चिन्ता तब गर्छौं जब हामीलाई फुर्सद मिल्छ । होइनभने त हामी हाम्राे पारीवारिक स्थिती सुधार गर्नको खातिर, हिँडेर अमेरीका जान तयार छौं, युद्द चर्किरहेको देशको सेनामा भर्ती भएर ज्यान फ्याँक्न पनि हाजिरै छौं । हामी बिलासिमा रमाउन थाल्यौं। विदेश के हो बुझ्नुभन्दा अगाडि महङ्गो आधुनिक सामानहरूको मोहमा लीन हुन थाल्यौं, यथार्थमा होइन देखावटीपनमा रमाइलो मान्न थाल्यौं।

जतिसुकै तानावाना बुनेपनि आफ्नो देश फर्कने सपना सबैसँग हुन्छ । साइबेरीयादेखि जाडो छल्न आएका चराहरू त गर्मिमा आफ्नै देश फर्कन्छन् भने हामी त मानव प्राणी हौं । जरूर फर्कनु छ । तर दुई ढुंगा बिचमा फलेको तरूल जस्तो यो परदेशीलाई उस्तो सहज छैन । अनेक कारणहरू भन्दाभन्दै एउटा मैले कतै पढेको छोटो कथा साभार गर्न मन लाग्यो-

ओछ्यानमा थला परेका बाउको सिरानीबाट औषधी निकाल्दै गरेको कान्छो छोरालाई कसैले सोध्यो, ‘बाबु के गर्दै छौ आजकल ?’ छोरो बोल्न नपाउँदै बाउले भने, ‘दाजु बेलायतमा छ, दिदी उता अमेरिका ,कान्छी बैनी जापानमा छ । तर यो लन्ठुले केही गर्न सकेन ।’

अनेक समस्याहरू भएपनि कमसेकम देशमा बसेको यो कान्छो छोराको पीडा सहन सक्ने भएर देश फर्कनुछ । केहि नसोचेरै परदेश हिँड्न सकिँदो हो तर देश फर्कन लाखौं कुरा सोँच्नु पर्दोरहेछ । यी लाखौँ कुराको जवाफ मिल्ने बित्तिकै देश फर्कन्छु । मैले मेरो एउटा कवितामा लेखेको थिएँ, –

‘पापा ! म समुन्द्रमाथि टेकेर, हिँड्न सिकेपछि आउँछु ।’ थाहा छैन कति केके सिकेर आउँछु ? तर जरुर देशको सबैखाले समस्यालाई झेल्न सक्ने भएर घर फर्कन्छु ।

अन्त्यमा, परदेशबाट देश फर्किन नसकिरहेको यो परदेशी भन्छ– ‘सरकार ! मैले‌ ‌औँठाछाप लगाउन मात्रै देश फर्किनु ? अनि कवि भूपिले भनेझैं हामी केवल एक भोट मात्र हौं त !

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.