
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको १६औं ‘अभिव्यक्ति शृङ्खला’मा कवि देवेन्द्र खेरेसको एकल कविता वाचन सम्पन्न भएको छ । शनिबार आसफोर्डमा भएको कार्यक्रममा कवि खेरेसले आफ्ना १५ थान कविता सुनाएका छन् । खोटाङ मूल घर भएका खेरेस कामको सिलसिलामा हङकङ तथा युके दुवै देशमा बस्दै आइरहेका छन् ।
उक्त अवसरमा नेपाली प्रतिभा प्रतिष्ठानले प्रकाशित गरेको ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’समेत लोकार्पण गरियो । प्रमुख अतिथि बेलायतका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेसहित प्रतिष्ठानका अध्यक्ष टंक बनेमले ग्रन्थ लोकार्पण गरे ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले सन् २००७ देखि हरेक वर्ष एकजना स्रष्टालाई विशेष मञ्च दिएर कार्यक्रम गर्दै आएको छ। अघिल्लो वर्ष गायक एवं कवि नरेश नातिको एकल गायन कार्यक्रम भएको थियो ।