
‘सपना भुलाइ सारा आँसु पिएर जाऊ’ नेपालीको मन र मस्तिष्कमा बसेको एउटा कालजयी गीत हो । नेपाली गीत–संगीतको एउटा अमूल्य निधि हो यो । व्यक्तिगत रूपमा भन्नुपर्दा मलाई सबैभन्दा मनपर्ने गीत हो । यो गीत बन्नु पछाडिको कथा भने निकै रोचक छ ।
कुरा २०५५ सालको हो । यो पंक्तिकार त्यसबेलाको लोकप्रिय पत्रिका देशान्तर सप्ताहिकमा कार्यरत थियो । सम्पादक हुनुहन्थ्यो, श्रद्वेय स्व. शिव अधिकारी । लामो समयदेखि पत्रकारिता पेशामा संलग्न शिव दाइले पञ्चायतकालमा भूमिगत रहेर तत्कालीन व्यवस्थाविरुद्ध जनचेतना जगाउन पत्रकारिता गर्नुभएको थियो । २०४६ सालमा बहुदलसँगै ‘सुरूची’ साप्ताहिकलगायत गोरखापत्रको प्रधानसम्पादक रहेर काम गरिसक्नुभएको थियो । शिव दाइको अर्को राम्रो पक्ष के थियो भने, उहाँ युवा पत्रकारहरूलाई प्रोत्साहन र अवसर दिनुहुन्थ्यो ।
२०५६ सालको आम निर्वाचन निर्वाचननिकट थियो । हरेक आइतबार प्रकाशित हुने देशन्तर साप्ताहिकको एउटा शनिबर सबै काम सकेर राति बाह्र बजेपछि शिव दाइ र म कमलादीदेखि ट्याक्सीमा हाम्रो बासस्थान नयाँ बानेश्वर जाँदै थियौं । त्यतिबेला देशैभरि एफएम रेडियोको लहर थियो । हामी चढेको ट्याक्सीमा पनि एफएम बजिरहेको थियो । कमलादीबाट काठमाडौं प्लाजानेर पुगेपछि ट्याक्सीमा ‘सपना भुलाइ सारा’ बज्यो ।
मैले अरू केही कुरा नसोची आफ्नै तालमा आफूलाई सबैभन्दा मनपर्ने गीत बजेको सुनेर सँगै गुन्गुनाउन लागेँ । केहीबेरपछि शिवदाइलाई भनेँ, ‘दाइ हजुरलाई थाहा छ ? मलाई सबैभन्दा मनपर्ने एउटै मात्र गीतको नाम लिन पर्यो भने यो गीतको नाम लिन्छु ।’
उहाँले ‘साँच्चै हो’ भनेर उल्टै प्रश्न गर्नुभयो । मैले थपेँ, ‘हो नि दाइ । कति राम्रो शब्द । कति गहरिाइ । गायनमा कस्तो ओजस्वी गायन र संगीतमा कस्तो मीठास !’ शिव दाइले मुस्कुराउँदै सोध्नु भयो, ‘तिमीले यो गीत लेख्ने मान्छेलाई चिनेका छौ ?’
मैले हल्का रूपमा जवाफ दिएँ, ‘छैन नि दाइ ।’ यस गीतका गायक श्रद्वेय योगेश वैद्यसँग भने पत्रकारिताको दौरानमा मेरो सामान्य चिनजान थियो । धेरै कार्यक्रमहरूमा भेट पनि भएको हो । संगीतकार नातीकाजीसँग पनि उस्तै सामान्य चिनजान बनेको थियो । फेरि शिव दाइले सोध्नुभयो, ‘के साँच्चै यो गीत लेख्ने मान्छेलाई चिन्न चाहन्छौ त ?’ मैले चम्किलो स्वरमा भनेँ, ‘अवस्य दाइ ।’ फेरि उहाँले सोध्नु भयो, ‘के गर्छौ नि चिनेर ?’
मैले भनेँ, ‘यो गीतको र उहाँको बारेमा अन्तरंग कुराकानी गर्छु र देशान्तरमा प्रकाशित गर्छु !’
‘त्यसो भए चिन’ भन्दै शिव दाइ मजाले हाँस्दै भन्नुभयो, ‘अहिले चिन, यो गीत लेख्ने मान्छे तिमीसँगै छ यतिबेला यही ट्याक्सीमा ।’
म अवाक् भएँ । अचम्मित भएँ । अनि सम्झिएँ, गीतकारको नाम । एकछिन सम्झेपछि यो गीत लेख्ने गीतकारको नाम शिव अधिकारी हो भन्ने कुरा याद आयो । तर मैले कहिल्यै सोचिनँ कि यो गीत लेख्ने गीतकार मेरै सम्पादक आदरणीय शिव अधिकारी नै हुनुहुन्छ भनेर ।
मलाई थोरै लाज र धेरै खुशी बोध भयो । लाज यस अर्थमा कि, मैले यस्ता कालजयी गीतका लेखकलाई चिनेको रहेनछु । खुशी यस अर्थमा कि, म यस्ता कालजयी गीतका लेखकको मार्गदर्शन र सानिध्यतामा पत्रकारिता गर्दैछु । त्यसपछि मैले शिवदाइलाई भनेँ ‘दाइ मलाई यो गीतको लेखनको बारेमा धेरै कुरा जान्न मन छ । तपाईंलाई खुसी पार्न मात्र यसो भनेको होइन भन्ने त थाहा पाइाहल्नुभयो ।’
यत्तिकैमा हाम्रो ट्याक्सी बानेश्वर पुगिसकेको थियो। दाइले आज भ्याइँदैन, सोमबार भन्नेछु भन्नुभयो । म पनि ट्याक्सीबाट ओर्लिएर आफ्नो घर लागेँ। देशान्तर आइतबार प्रकशित हुने भएकोले आइतबार हाम्रो छुट्टी हुन्थ्यो। सोमबार अर्को साता केके गर्ने भनेर छलफल हुन्थ्यो। त्यही भएर शिवदाइले सबै कुरा तिमीलाई भनूँला भनेर छुट्टिने बेला भन्नभएको थियो।
मलाई सोमबार कहिले आउला र शिवदाइसँग यो गीतको सृजनाको बारेमा अझ जानूँला–बुझूँला भने प्रतिक्षा थियो। सोमबार आयो। अर्को हप्ताको तयारी बैठकपछि म दाइकै कार्यकक्षमा बसिरहेँ। शिवदाइले पान चपाउँदै मतिर हेर्दै, ‘अरू के छ ?’ भनेर सोध्नुभयो।
शिवदाइ पान बहुत खानुहुन्थ्यो। मैले बिरलै उहाँलाई बिनापानको मुखमा देखेको छु। मैले उहाँलाई सम्झाएँ, ‘दाइले सपना भुलाइ सारा गीतको बारेमा आज भन्छ भन्नुभएको थियो। अब भन्नु कुन पृष्ठभुमि । घटनाले गर्दा यति वियोगान्त गीत लेख्नुभयो ?’
दाइले साँच्चै भन्ने त भन्नुभयो। मैले भनेँ, ‘हो नि दाइ, म शनिबार रातिदेखि व्यग्रताका साथ सुन्ने पर्खाइमा छु ।’
‘यो गीत लेख्दा म तिमी जस्तै बीस–बाइसको अल्लारे केटा थिएँ। कलेज पढ्दै थिएँ। आफ्नै प्रेम वियोगको घटनामा यो गीत लेखेको थिएँ ।’ यो गीत लेखेपछि रेडियो नेपालमा गएर उहाँले नातीकाजीलाई यो गीत दिनुभयो। त्यो बेला एउटैमात्र रेडियो रेडियो नेपाल थियो। गीतहरू रेडियोमा बजेमात्र सुन्न पाइन्थ्यो। उहाँको गीतमा खासै चासो नदेखाई नातीकाजीले आफ्नो फाइलमा राख्नुभयो। ‘यस्तो अल्लारे केटाले कस्तो गीत लेख्यो होला भनेर चासो नदेखाएको हुनुपर्छ जस्तो लाग्यो’, शिव दाइले हाँस्दै भन्नुभयो ।
केही समयपछि योगेश वैद्यको रेडियो नेपालमा संगीतकार नातीकाजीसँग भेट हुँदा नातीकाजीसँग एउटा गीत गर्ने चाह व्यक्त गर्नुभएछ । नातीकाजीले आफूसँग भएको गीतहरूको फाइल दिएर ‘कुन गीत मन पर्छ छान म संगीत गरिदिन्छु भन्नुभएछ ।’ शिवदाइको अनुसार फाइलको गीतहरू हेर्दै जाँदा योगेश वैद्यलाई ‘सपना भुलाई सारा’ असाध्यै मन परेछ । अनि नातीकाजीलाई यही गीतमा संगीत गर्न अनुरोध गर्नुभएछ । आफ्नो अनुकूलमा नातीकाजीले संगीत गर्नु भयो। योगेश वैद्यले गाउनु भयो । गीत रेडियो नेपालबाट बज्न सुरु भयो । हर कोहीले योगीत मन पराए। नेपालीजनको मन मस्तिष्कमा बस्यो । सदाबहार बन्यो, हरेक पुस्ताले मन पराउने कालजयी बन्यो। योगेश वैद्यको त पर्यावाची नै बन्यो यो गीत ।

पछि यो पनि सुन्नमा आयो कि यो गीत रेडियोमा बज्न थालेपछि शिवदाइको प्रेमिकासँग पुनर्मिलन मात्र हैन बिहे र घरजम भयो । मैले धेरैपटक शिवदाइलाई यो कुरा सोध्दा हाँसेर मात्र टार्नुभयो । तर अस्विकार गर्नु भएन । जे होस्, एउटा कालजयी गीत सृजना हुँदा धेरै रोचक कुराहरू पनि सृजित हुन्छन् । पर्दा पछाडिका कुराहरू झन् अविस्मरणीय हुन्छन् ।
आज बिहानउठ्ने बित्तिकै गायक योगेश वैद्यको निधनको खबरले मन दुखी हुने नै भयो । यो दुखको बेलामा योगेश वैद्यको पर्यावाची यो गीतको याद झन् आउने नै भयो। संगै यो गीतका गीतकार र संगीतकारलाई पनि सम्झिएँ । यो गीतका तीनै सर्जक मध्य कोही पनि आज देखि हामी माझ रहनु भएन । शिवदाइ र नातीकाजी ५० को दशको अन्त्यतिर निधन भयो ।
आज भएको योगेश वैद्यको निधनपछि जीवित छ त उहाँहरूको यो कालजयी सृजना। यसबाहेक अन्य सयौं गीत दिएर योगेश वैद्य जानुभएको छ । उहाँले आफ्ना धेरै गीत नातिकाजीको संगीतमा गर्नुभएको छ । राष्ट्रिय गीतदेखि, प्रेम गीत, युगल गीत, नेपाल भाषाका गीतसमेत गाउनुभएका योगेश वैद्य
युगयुगसम्म पनि नेपाली गीत, संगीतप्रेमीको मनमा बाँचिरहने नाम बनेको छ । र सपना भुलाइ सारा गीतले शिव अधिकारी, योगेश वैद्य र नातीकाजीको नाम कहिल्यै नभुलाउने नाम बनाएको छ ।
यशस्वी गायक योगेश वैद्यप्रति हार्दिक श्रद्धासुमन !
(उप्रेती नेपालीन्युज युकेका प्रधान सम्पादक हुन्)
रोचक प्रस्तुती। दिवंगत आत्मालाई चीरशान्ति मिलोस्। नेपाली न्यूज युकेको सफलताको शुभकामना🌺🌺
आफ्नै उमेरमा यति मीठो गीत लेख्ने गीतकारसँग निकट रहन पाउने भाग्यमानी । गज्जवको अनुभूती । कस्तुरीले के थाहा नपाएर खोजीहिंडेजस्तो भएको रहेछ, उप्रेती जी !