
पछिल्लो समय पृथ्वी जयन्ती नेपालमा भन्दा भव्य ढंगले प्रवासमा मनाइन थालेको देखिन्छ । विशेषगरी युके, अष्ट्रेलिया, जापान, संयुक्त राज्य अमेरिका आदि देशमा पृथ्वी जयन्ती निरन्तर मनाइँदै आएको पाइन्छ । यसपछाडको कारण भने बृहत् देखिन्छ ।
बेलायतमा पुरानो परम्परा एवं राजावादी फोर्स
बेलायतमा दुई दशकदेखि ‘संयुक्त राष्ट्रवादी नेपाली संगठन’ले पृथ्वी जयन्ती मनाउँदै आएको छ । राजावादी पार्टीको छवि बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि युकेमा आफ्नो प्रभाव बढाउँदै लगेको देखिएको छ । केही दिनअघि पार्टीकी नेतृ रहेकी खुस्बु ओलीले लण्डनमा पृथ्वी जयन्ती मनाइनेबारे पोस्ट गरेकी थिइन् । ओलीसहित भरत रोका क्षेत्री आदिको अगुवाइमा लण्डनमा पृथ्वी जयन्ती मनाइएको छ ।

रोचक कुरा के भने, बेलायतको यो संगठनले पृथ्वीनारायण शाहबारे दखल राख्ने एकजनालाई एक लाख रुपैयाँको पृथ्वी पुरस्कार दिने व्यवस्था गरेको छ । संस्थाले भनेको छ-
‘पृथ्वी पुरस्कार एकजना व्यक्ति जो कुनै पनि पार्टीको नभएको स्वतन्त्र बुद्धिजीवीसाथै पृथ्वीनारायण शाहको बारेमा गहिरो दक्खल राक्ने व्यक्तिलाई पछि नेपालमा कार्यक्रम गरि एक लाख रुपैया दिने व्यवस्था गरेको छ।’
यसो त युकेमा राजपरिवारका नजिकका नातेदारदेखि पुराना राजावादी नेताहरूको परिवार बसोबास गर्दै आएको पाइन्छ । विगतमा राजपरिवारका सदस्यको जन्मदिनमा राजदुतावासकै लगानीमा राजपरिवारका सदस्य नै उपस्थित भएर पृथ्वी जयन्ती तथा राजारानीको जन्मजयन्ती मनाइन्थ्यो । दरबार हत्याकाण्डपछि राजपरिवारका सदस्य तथा नजिकका केही मानिसहरू बेलायत प्रवेश गरेको पाइन्छ । युवराज दीपेन्द्रकी प्रेमिका बताइने गरिमा राणादेखि युवराज्ञी श्रुतीकी श्रीमान गोरखसमशेर राणा आदिका परिवार पनि बेलायतसँग नजिक रहेका छन् ।
अष्ट्रेलियामा प्रभाव बढाइँदै
अष्ट्रेलियाका नेपालीहरूले ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ नाम दिएर पृथ्वी जयन्ती मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड लगायत राज्यका प्रमुख शहरमा नेपाली समुदायले पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा विभिन्न कार्यक्रम गरे।

सिड्नीमा खुला सार्वजनिक माल्यार्पण कार्यक्रम गरियो। यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भातृसंगठन प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाले एडिलेडमा पृथ्वी जयन्तीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापानको कार्यक्रम आयोजना गर्यो ।
अमेरिकामा छरिएका राजावादी
यता संयुक्त राज्य अमेरिकामा पनि पृथ्वी जयन्ती मनाउने पुरानो शैली र परम्परा कायम छ । कार्यक्रमको आयोजना प्राय: प्रवासी नेपाली एकता समाज, मदरल्यान्ड नेपाल, नेपाल विश्व सहयोग सङ्घ आदि संस्थाहरूले गर्दै आएको पाइन्छ ।
तर ठूलो राज्य भएका कारण अमेरिकामा रहेका राजावादी संघ संगठनले एकैठाउँमा भेला भएर ठूलो कार्यक्रम गरेको पाइँदैन । न्युयोर्कमा एकाधपटक तथा अन्य नेपाली महोत्सव हुँदा राजावादी संस्था सक्रिय भएको पाइन्छ । २०७६ मा कमल थापा अमेरिका जाँदा संगठन विस्तारमा निकै जोड दिइए पनि अमेरिकामा बलियो संगठन बन्न सकेको देखिँदैन । राप्रपाको संगठन प्रवासी नेपाली एकता समाज अमेरिका नामक संगठनले यस वर्ष न्युयोर्क
जापानमा खुलेका राजावादी
जापानमा पनि लामो समयदेखि पृथ्वी जयन्ती मनाउँदै आएको पाइन्छ । प्रवासी नेपाली संगठन, जापान (ओनो) र दर्शन समाज जापान योमध्ये अग्रणी संस्था देखिन्छ । राप्रपाका नेता तथा ओनो जापानका संस्थापक तथा समाजसेवी कलेन्द्रविक्रम शाही, तिलक मल्ल, पदम मल्ल, सुरज मल्ल, मनोजबम मल्ल, प्रदिप सेन ठकुरीलगायत यस्ता कार्यक्रममा सक्रिय देखिन्छन् ।
कुनै दललाई फाइदा पुगेको देखिए पनि नेपाललाई फाइदा पुगेको हो : होम परिवाग, लेखक/विश्लेषक
संसारभरि रहेका नेपालीले पृथ्वी जयन्ती मनाउनुपछाडि कुनै राजावादी दलको मात्र फाइदाको कुरा होइन । पृथ्वी जयन्ती निकै पुरानो परम्परा भएकाले पृथ्वीनारायण शाहलाई राजामात्र भएको आँखाले हेर्न मिल्दैन । पृथ्वी जयन्ती अथवा आजको नेपाल राज्य बनेको दिनको स्मरण गर्दा संसारले नेपाललाई चिन्छ । नेपालीको नै गौरव बढ्छ । तर आज जुन पार्टीले राजा चाहिन्छ भनेको छ उसको लागि यो एउटा पक्षबाट भने फाइदाको कुरा देखिन गएको साँचो हो । आफ्नो कार्यक्रम गर्न, संगठन बनाउन उनीहरूलाई सहज भएको देखिन्छ ।



