
मनोज पण्डित। हाम्रो सिनेमा निर्माण हुने प्रणाली आज पनि ‘सिनेमा भनेको वैचारिक उत्पादन हो’ भन्ने कुराबाट निर्देशित भएको छैन। हामीले सिनेमालाई अझै पनि घटना प्रधान, पर्दाको अवधारणाबाट मात्रै हेरिरहेका छौं। सिनेमा दृश्यको कथा हो र दृश्य निर्माण गरे पुग्छ भन्ने मनोविज्ञान छ। तर सिनेमा समाज व्यक्त गर्ने माध्यम हो भन्ने स्थापित हुन सकेको छैन।
जो नेपाली सिनेमा उद्योगमा क्रियाशील मानिसहरू छन्। उहाँहरूले समाज अध्ययन गर्ने प्रयास नै गर्नु भएको छैन्। तर विस्तारै बाध्यात्मक परिस्थिति बन्दै छ। किनभने सिनेमा बनाउनका लागि पुस्तक अध्ययन गर्नुपर्ने ‘न्यारेटिभ’ बन्दै छ। कालान्तारमा उनीहरूलाई अध्ययन गर्न प्रेरित गर्ला। मैले भन्दै आएको छु, सिनेमा विचार, सिद्धान्तको उत्पादन हो । घटनाहरूको अभिलेख राख्ने माध्यम सिनेमा होइन । हाम्रा सिनेमा निश्चित सोचको आधारमा बनेको हुन् । सिनेमा राम्रा भएनन् भनेर गाली मात्र गर्ने होइन, किन अर्थपूर्ण सिनेमा भएनन् भन्ने सोचमाथि काम गर्ने हो ।
एउटा चरणमा आएर स्थापित अवधारणालाई टक्कर दिनैपर्ने हुन्छ । यस्तो कुराले एकछिन त असहजता उत्पन्न हुन्छ । ऐतिहासिक क्रमवद्धताले मात्रै कुनै समाजको निर्माण हुँदैन । नायँ समाजको लागि पुरानो सोचलाई भत्काउने प्रयत्न हुनैपर्छ । यसर्थ, यो किताबले सहजता खोज्ने पाठकलाई अप्ठेरो पार्छ । तर, नयाँ सोच आत्मसात गर्नेहरूका लागि यो किताबले कुनै अलमल गर्दैन ।
प्रश्न हाम्रो सिनेमालाई मात्र होइन । हाम्रो समाजको ‘सोच प्रणाली’ नै कमजोर छ । सिनेमा निर्माणको सोचलाई विकास गर्न त्यसको पछाडिको हर्ताकर्ता मानिसको सोच नै हो । आफ्नो सोच्ने क्षमतामा विश्लेषण गर्नको लागि सबै प्रकारका विमर्श आवश्यक हुन्छ ।जस्तो दर्शकको निर्माण हुन्छ, त्यस्तै राजनीतिक प्रणाली भएको बन्छ । दर्शक त कार्यकर्ता हुन् । तत्कालीन समयमा उनीहरूले कस्तो सिनेमा हेर्छन् त्यसले समाज र राष्ट्रलाई प्रभावित गर्छ । यसैले सिनेमा केवले मनोरञ्जनको साधनमात्र बनाउने जुन पक्षले गरेको छ, यसलाई भत्काउने जनताको रुप दर्शक नै हुन् । यथास्थितिवादी सिनेमा हेरिरहने हो भने, ‘भिजन’ नभएको नेतृत्व नै जन्मन्छ । विचारिविहीन, क्रियाशीलहीन राजनीतिक नेतृत्वको निर्माण हुन्छ ।
नेपाली सिनेमा सधैं किन संकटमा छ भन्दै आएक छौं । तर संकटमा छ भनेर आरोेप लगाइराख्ने हो कि कारण पनि खोज्ने हो ? हामी संकटमा छौं भनेर एक युग नै खाली हात बसिदिन्छौं । तर हरेक संकटको कारण सोचमा हुन्छ । सिनेमा निर्माणको सोच (अवधारणा, सिद्धान्त, प्रणाली) माथि यही भएर लेख्नुपरेको हो । सिनेमा मन्थन गर्नुपरेको कारण नै नेपाली सिनेमा कमजोर भएर त हो ।
सिनेमाको समस्या टालटुल गरेर ठीक हुने होइन । टेप लगाएर सिनेमाको छिद्र मेटिँदैन । हाम्रो चिन्तन प्रणाली सुधार नगरीकन सिनेमा सधैं संकटमा पर्छ । म पनि यो संकटको केन्द्रमा छु । किन यो संकट आयो, खुल्ला विमर्श आवश्यक छ ।
विश्वका राम्रो सिनेमाले अधिकांश मान्छे नराम्रो र कुरुप हुन्छ भनेको छ । अब प्रश्न के हो भने, हामी कत्तिको कुरुप छौं त ? यसर्थ सबै मानिसले आफूलाई सुधार गर्न आवश्यक छ। समाजसँग मात्र होइन, जीवनका बहुआयामसँग सिनेमा जोडिएको छ । दर्शन, राजनीति, इतिहास, समाज, संस्कृति, धर्मसँग प्रत्यक्ष सम्बन्ध हुन्छ ।
अन्तरसम्बन्धको मियो भनेको मानिस हो । मानिसमाथि अध्ययन गर्नु आवश्यक छ । मानिसको मूल तत्त्व अर्थात् उसको सोचमाथि अध्ययन गर्नुपर्छ । मानिसले आवश्यकता परेर नै सिनेमा बनाएको हो । यसैले मानिसलाई आफूले के गर्दैछु, किन गर्दैछु भन्ने थाहा हुन जरुरी छ । सिनेमा बन्न थालेको सय वर्ष भइसक्यो । त्यसअघि कथा, नाटक बनाउँथ्या मान्छेले । मान्छेको सभ्यताले सिनेमा किन बनायो, यहीँदेखि सिनेमा मन्थन गर्नुपर्ने हुन्छ ।
(कुराकानीमा आधारित)



