विचार/ब्लग

इरान युद्ध : अमेरिकाको लागि फाइदै फाइदा

247views

खास इजरायल र अमेरिकाको अन्तिम चाहना के हो ? धेरेको मनमा यो प्रश्न मडारिएको छ । खास इरानले फेरि कहिल्यै हतियार उत्पादन गर्न नसक्ने गरी युरेनियम निसशस्त्र गर्ने अमेरिकी पक्षको चाहना हो। छ हप्ता लामो युद्धमा अमेरिकी पक्षले इरानलाई एक तहमा धूलिसात् बनाइसकेको छ । युद्धको सुरुमा दैनिक दुई सयभन्दा बढी मिसाइल प्रहार गर्ने इरान अहिले मात्र पाँच छवटा मात्रै मिसायल प्रहार गरेर युद्धमा आफ्नो उपस्थिति जनाइरहेको छ।

गए राती इरानको सभ्यता नै नष्ट गर्ने धम्कीका बाबजुद अमेरिकले पन्ध्र दिनलाई युद्धविराम गरेको छ। यस पछाडिको मुख्य कारण के हो ? यद्यपि अमेरिकाले स्ट्रेट अफ हरमुज यथासक्य खोल्न र पन्ध्र दिने युद्धविरामलाई खलल नपार्न इरानलाई कडा चेतावनी दिएको छ।

के अमेरिका यति छिटै स्ट्रेट अफ हर्मुज खोल्न चाहन्छ ? पक्कै चाहन्न । अमेरिकाले चाह्यो भने स्ट्रेट अफ अफ हर्मुज चौबिस घन्टाभित्र खोल्न सक्छ। तर उसको यो चाह हैन। यसअघि पनि डोनल्ड ट्रम्पले स्ट्रेट अफ हरमुज मेरो समस्या हैन भनेर पटक–पटक दोहोर्याएका थिए। उनले जसलाई आवस्यक छ खोल्नु भन्दै युरोपियन तथा अन्य राष्ट्रलाई अप्ठ्यारोमा पार्दै आएका छन् ।

यसलाई तीनमा भागमा बुझ्न सकिन्छ :
।एक।
विश्वमा खपत हुने बिस प्रतिशत तेल स्ट्रेट अफ हरमुज मार्ग हुँदै विश्व बजारमा पुग्छ। इराक इरान, ओमान, कुवेत बह्राइन कतारका सम्पूर्ण तेल ग्यास उत्पादन तथा युएइ र साउदी अरबका केही हदसम्म इन्धनका निकासको मार्ग स्ट्रेट अफ हर्मुज हो। छिटपुट केही ट्यान्कर बाहेक इरानले स्ट्रेट अफ हर्मुजबाट तेल इन्धन निस्कन दिएको छैन। अमेरिकाले पनि निकाल्न बल लगाएको छैन।

कुनै पनि देशले अत्याधिक डेढ दुई महिनासम्म मात्र तेल अन्य इन्धनको संचय गरेर राख्छन्। युद्ध सुरु भएको र स्ट्रेट अफ हर्मुज बन्द भएको छ हप्ता पुग्न लाग्यो। यसको परिणाम अब विश्वका धेरै देशहरूमा तेल र इन्धन उर्जाको संकट हुनेछ र ती देशहरू वैकल्पिक बजार र बिक्रेता खोज्न बाध्य हुनेछन्। बैकल्पिक बिक्रेता अमेरिका, क्यानडा र रसिया नै हुन्। यतिबेला भेनेजुएलाको तेल पनि अमेरिकाको हातमा छ। यतिबेला अमेरिका एक्लैले रसिया र साउदी अरबको एकमुष्ट भन्दा बढी तेल दैनिक पम्प गरिरहेको छ।

यता रसिया युक्रेन युद्धका कारण प्रतिबन्धले घेरिएको छ। तेलको हाहाकार र संकटका कारण स्ट्रेट अफ हरमुज मार्गमार्फत तेल खरिद र निकासी गर्ने देशहरू अमेरिकासँग तेल किन्न मजबुर हुनेछन् । यसपछि स्ट्रेट अफ हरमुज खुले पनि अमेरिकासंग तेल इन्धन खरिदमा हुने सम्झौताहरका कारण पुनः र छिटै तेल खरिद गर्न सहज हुनेछैन। त्यो बेलासम्म स्ट्रेट अफ हरमुज र इरानको तेल अमेरिकाको कब्जामा हुने यथार्थलाई पनि नकार्न सकिन्न।
यथास्थितिमा पनि अमेरिकाले तेल र इन्धनको बजारलाई कब्जा गरेर पैसा बनाउने छ। आफूलाई अझै समृद्ध र शक्तिशाली बनाउने छ।

चीन भने ठूलो मारमा पर्ने भएको छ। चीनमा खपत हुने ७० प्रतिशत तेल र इन्धन स्ट्रेट अफ हरमुज हुँदै इरानबाट आयात हुन्छ। उसले खरिद पनि आफ्नो मुद्रा युवानमा नै गर्छ। यो अवस्थामा ठूलो देश धेरै जनसंख्या भएको चीन पनि अमेरिकाको ढोका ढकढक्याउन बाध्य हुनेछ। आफ्नो मुद्रालाई बलियो गर्न लागेको चीनले डलरमा नै तेल खरिद गर्नु पर्नेछ र आफ्नो प्रतिस्पर्धी देश अमेरिकासंग डलरमा तेल खरिद गर्नुपर्दा उसको अर्थतन्त्रमा पनि असर पर्ने नै छ।

।दुई।
आजसम्मको युद्धमा विश्लेषकहरू भन्छन् इरान चालिस वर्ष र अन्य अरब देशहरू पच्चीस वर्ष पछाडि धकलिएका छन्। यस युद्धसंगै सिया र शुन्नी मुस्लिम बिचको वैमनस्यता पनि छताछुल्ल भएको छ। पैगम्बर मोहम्मदको मृत्यु पछि उनका सन्तान दर सन्तानलाई मुस्लिम उम्मतको खलिफा(नेता) मान्ने समुह सिया हुन् भने क्षमताको आधारमा अबु बकरलाई खलिफा मान्ने समुह सुन्नी हुन्। नेतृत्वमा प्रारम्भिक विवादका कारण नै यिनीहरू एकअर्कालाई जहन्नुमी(नरकमा जाने) मान्छन्।

यद्यपि विश्वमा सिया मुस्लिमको जनसंख्या समग्र मुस्लिल जनसंख्याको मात्र २० प्रतिशत छ। इरान सिया मुस्लिम नेतृत्व भएको राष्ट्र हो। इराक सिरिया र यमनलाई छोडेर अरबका बहुसंख्यक राष्ट्रहरू सुन्नी बहुल देश हुन्।

यी राष्ट्रहरू तेल बेचेर समृद्ध हुन थालेपछि सामरिक रूपमा सबैभन्दा शक्तिशाली मुस्लिम राष्ट्र इरानबाट खतरा महसुस गरे र अमेरिकाको शरणमा पुगेका हुन् । यी देशहरूले आफ्नो भूमी र सामुन्द्रिक क्षेत्रमा अमेरिकालाई सैनिक आधार भूमि बनाउन मात्र दिएन, विकास निर्माणमा पनि अमेरिकी सहयोग लिए। बहुराष्ट्रिय कम्पनीहरू त्यहाँ आए । आफ्नो केन्द्रीय कार्यलयहरू खडा गरे।

।तीन।
ठूलोलाई सकिन्न सानोबाट मार हान्नुपर्छ भन्ने भनाइजस्तै इरानले इजरायल र अमेरिकालाई ठूलो क्षति पुर्याउन नसेके पनि अरब राष्ट्रहरूलाई आक्रमण गरेर ठूलो क्षति पुर्याएको छ । युद्धअघि सुरक्षित मानिएको दुबइ, कतार तथा अन्य सहरहरू अहिले सर्वाधिक असुरक्षित देखिएको र मानिएको छ। चीरकालसम्म चर्कन सक्ने सिया—सुन्नी विवादले अरब देशहरू असुरक्षित बनेका छन्।

सिमित कर र अन्य कारणले अरब देशहरूमा स्थानान्तरित बहुराष्ट्रिय कम्पनीहरू पुनः अमेरिका र युरोपियन देशहरू सर्ने तयारी सुरु भैसकेको छ। यसले अरबको अर्थतन्त्रलाई प्रभाव पार्ने नै छ। फेरि यिनीहरूलाई विकास निर्माण र सुरक्षाको लागि अमेरिकाकै सहयोग नै चाहिने अवस्था छ। यो अवस्था अमेरिकाको लागि नै फाइदाजनक छ।

जे होस् यतिबेला युद्धविराम छ। दुनियाँ यो युद्धविराम स्थायी होस् भन्ने चाहन्छ। शान्तिका पूजारीहरू मन्त्र पढिरहेका छन् । तर के इरानलाई सम्पूर्ण रूपले सैन्य बल, हतियार उत्पादन र युरोनियम नि:शस्त्र नगरेसम्म यो युद्धविराम स्थायी होला ? अहिले यही यक्ष प्रश्न छ।

(उप्रेती नेपालीन्युज युकेका संस्थापक सम्पादक हुन् । यस लेखको विचार लेखकको निजी हो)

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

नृपेश उप्रेती
नृपेश उप्रेती नेपालीन्युज युकेका प्रधान-सम्पादक हुन् । गीत, गजलसँगै अखबारी लेखनमा सक्रिय उप्रेती हाल बेलायतमा बस्दै आएका छन् । उनले यसअघि 'देशान्तर' साप्ताहिक, हिमालखबर तथा नेपाल टेलिभिजन लगायतमा काम गरेका छन् ।