
पृथ्वी पीडाले पिल्लिएर कवि राजाले ‘तङसिङ’ किताप बजारमा ल्याए। उनी भन्छन्— ‘यो किताप ल्याउने योजना नै थिएन। म त प्रेम कविता र ‘औजार’ कविताहरूको सङ्कलनलाई सोचेर हिँड्दै थिएँ। आयो तङसिङ।’
राजा (राजा पुनियानी) ले भनेजसरी फुत्त तङसिङ बजारमा आए पनि तङसिङले बोकेको आपत-विपत पृथ्वीमा धेरै अघिदेखि नै आइसकेको र छाइसकेको हो। त्यो आपत-विपत हो, प्रकृति विनाशको। सत्यानाशको। मानिसले अहिले मात्र होइन, जहिल्यै पनि प्रकृतिको संसाधनको सोखसित उपभोग गरेको छ। गरिरहेको छ। गर्दै गइरहेको छ। यसैले आज प्रकृति संसाधनको होइन, सङ्कटको केन्द्र बन्यो।
तङसिङ लिम्बू जातिको मुन्धुमी अनुष्ठान हो। जसको जरा पूर्वीय चिन्तन परम्परासित जोडिन्छ। प्रकृतिसित जोडिन्छ। त्यही मुन्धुमी अनुष्ठानविधि राजाले ताजासित आफ्नो सङ्ग्रहमा सम्मिलित गरेका छन्। तङसिङमा शाब्दिक चातुर्यतासित केही कविताजस्तो, केही निबन्धजस्तो, केही कथाजस्तो कथनी छ। भन्नैपर्दा राजाले आफ्ना अक्षरहरूले नन-फिक्सनल कविताहरूको टनेल खनेका छन्।
शब्दमा सङ्गालिएका विचारका मसी र कसीले एउटा पृष्ठभूमि बोकेको हुन्छ। यहाँ त्यो भूमि पृथ्वीको भूमि हो। जसमा राजाको कवि घुमिरहेको छ। फनफनी। मुक बनेर होइन। लेख्दै, फलाक्दै-
बाँच्दैन
यो प्यारो पृथ्वी
निकम्मा कविताले (पृथ्वीलाई प्रेमपत्र, पृष्ठ-३९)
यसरी क्रोध फलाक्दै कवितालाई नै गाली गरिरहेका उनले, कवितालाई गाली गरेर आफैंलाई तर्साएका हुन् त ? प्रकृतिमा जन्मिएका पायक मानिसहरूमा कविता मात्र नालायक छ त? यो अनुभाव्य अभावको अवस्था-अङ्कन हो तङ्सिङ।
बर्थ भइसकेपछि ज्ञानको नाममा ‘डाउन टू अर्थ’ व्यवहार सिकाइको घोकाइले किन उल्टो गति लियो र ‘एबोभ द अर्थ’ मति टिप्यो। असहिष्णु र अकर्मण्यताले विश्व यतिबेला विकराल परिस्थितिमा पुगेको छ। यो परिस्थिति जीवन जगततिर नजिक छ कि? मृत्यु र फगततिर अग्रसर छ? यसको जोखाना राजाले होइन, राजाको कविले तङसिङको पृष्ठ-पृष्ठमा अविधा, लक्षणा र व्यञ्जनाले खुट्याएका छन्।
निश्चिन्तता ठानिरहेको मानिसको बचाइँ अब केवल चिन्ता-व्याधि बनेको छ।मानिसको अत्यावश्यक थोकहरूले मानिसलाई अत्याससिवाय केही दिएको छैन।विकास परियोजनाको एकदृष्टीय आग्रहरूले जगतमा खतराको दोलक तुन्द्रुङ्गिएको छ जो जतिबेला पनि बन्द हुनसक्छ।कवितामा अधिक मात्रामा स्पर्शिक र गतिक विम्बहरूको प्रयुक्तिले अववोधीय सम्प्रेषण सम्प्रेषित गर्दछ,जसले पाठकबाट ध्यानधैर्यताको अपेक्षा राख्दछ।
पुँजीवादी पहुँचले पुलपुलाएर राखेको मानिस प्रकृतिको सम्पर्कबाट टाढा छु भन्ने भ्रमित भमरो बनेको छ। रहिआएको कसैसित र केहीसितको सम्बन्धबाट छुट्नु सधैँ खतरा हुनेछ। त्यस्तै खतराको सङ्केतक र सङ्केतित हो तङसिङ। देखावटीपनमा प्रकृतिसित मित्रताको ढोङ ढोल पिट्ने मानसिक मनोवृत्ति र मनमनै पृथ्वीसित दुश्मन व्यवहार गरिरहेका प्रवृत्तिको अमानविक उदाङ्गो अक्षर रूप बनेको छ पुस्तक।

कविले देखेको प्रकृतिभन्दा नदेखेको प्रकृति पृथ्वीमा अथाह छ। यो सबैलाई थाहा छ। तर जति कविले देखेको प्रकृति छ, त्यही देखाइको लेखाइ रच्ने अनुष्ठान बनेको छ तङसिङ। कविको साहित्यिक थोक, लोकमा देखाउनको लागि लेखनमा जति शिल्प-शैली र भाषाको संरचनात्मक चडकधडक राजाले गरेका छन्, त्यसले उनलाई अरूबाट फरक गरेको छ। शब्द शक्तिको सामर्थ्य पनि बढेको छ। यद्यपि सामान्य पाठकमा एउटा बोझिलो किलो पनि ठोकेको छ। जुन किलो उखेल्न वा नसके हल्लाउन नै पनि वैचारिक कसरत त पाठकले गर्नैपर्ने देखिन्छ। पाठकले यत्न गरे भने यस कवितामा राजा टेसिला र तेजिला पनि भेटिन्छन्। नगरे अप्ठ्यारा र अतिरञ्जक पनि देखिन्छन्।
सर्वव्यापी समस्यामा रहेको पृथ्वी अनावृत्तिकरणको अनुहार अङ्कित भएको यस कितापका रचना पृष्ठको शब्दतान पृथ्वी पिरको लयगान बनेको छ। टेक्निक-टेक्नो समयको यस कलपुर्जे युगमा जैवनिक जैविकी लाटान्धोको भने नमुनापृष्ठ।
मेसिनले ठीक गर्नेछ
हामी कहिले जन्मनु
कहिले मर्नु
मेसिनले नै कोर्नेछ
जन्मनु र मर्नुमाझको स्पेसमा
हाम्रो ‘हुनु’-को ग्राफ। (बाइसौँ शताब्दीको मन्त्र-२)
प्रकृति हननको निम्ति प्राइबेट-प्रोजेक्ट र सरकारी प्रोजेक्टमाथि तङसिङ प्रतिरोधात्मक काव्यिक प्रोजेक्ट हो। एकप्रकारको विचारलेखन र निचोडतामा कृतिलेखनको प्रविष्टि पनि। कवि-कौशलको एकमेव (unique)हुने ध्याउन्नमा प्रयोगको प्रयासले कृतिको शाब्दिक परिदृश्यवाली निक्कै अक्करिलो बनेको देखिन्छ,भेटिन्छ। सार्विक साँचाहरूमा सम्मिलित विषय उठानले प्रकृति पर्यावरणको वर्तमान अवस्थितिको उदाङ्गो रूप भने उद्घाटन् गरेको छ।
जीवन र जगत नै जङ्गल हो। जङ्गल नभए मानिसको मङ्गल छैन। मानिसको यो मङ्गल बचाउनको लागि जङ्गल बचाउन पहिलो प्राथमिक प्रयत्न गर्नुपर्ने हुन्छ। मङ्गल चाहनाकै लागि मानिस संघर्षको घर्षणमा छ। तर दु:खको कुरो, पुर्पुरो ठोक्याउन पर्ने पृथ्वी-पीडा यसैमा छ कि मानिसको पहिलो कुदाइ नै जङ्गललाई दुहाइ दिनतिर दगुर्यो। तङसिङले उधिनेर देखाएको यही जमीन, हावापानी र सांस्कृतिक संवेदनाको जरा हो। जरा बुझ्नेहरूले पनि नडराई विद्रूप समयको यज्ञमा हालिरहेको चरूविधीको अनुष्ठानिक कार्य हो तङसिङ। जहाँ राजा फलाक्छन् –
यो
तिम्रो जराको कुरा हो
लु त
एकचोटि खुट्टा उचालेर हेर (चुच्चेढुङ्गा, पृष्ठ -१३)
आधुनिकीकरण, यान्त्रीकीकरण जस्ता करणै करणमा शरण परेको विश्व विचारको भयावह सङ्ग्रह हो तङसिङ। पर्यावरण चिन्तनमा आधारित कविताहरूले देखाएको पृथ्वीको चोटमा केवल सिन्थेटिक मानिसको खोट छ। मानिसले पाएको विवेकशीलताको तक्मा आज आफ्नै छातीमा गाडीएर खिल पल्टेको कुरो यस काव्यिक अनुष्ठानमा अनुष्ठित छ।
क्रुएल र आर्टिफिसियल युगमा संवेदनाको अभाव छ।जहाँ मिथ्याभिमानमा मानिस विमानरत छ। नृकेन्द्री धारणा लिएर एक्लीएको मानव स्वभावमा क्षयशील हुँदै गइरहेको बोधो बोध क्षमताको चित्रण यसमा चित्रित छ। आफुलाई फन्दामा हालेर पृथ्वीको धन्दा गरिरहेका उपभोक्तावादी समाजको जमातले पृथ्वीलाई लिएर गरिरहेको कारोबारी शिखर सम्मेलनको झलक बनेको छ तङसिङ। एक झलकको हरफ यस्तो छ –
नानी हो
अर्थ सम्मिट
अर्थात्
यो पृथ्वीको कारोबारको कुरा हो (पृथ्वीपीडा-६, पृष्ठ-१४१)
पर्यावरणीय महत्व र मूल्य सांस्कृतिक जीवितव्य आधार भएपनि यसबाट विछिन्न रहेको वर्तमान आजका विश्वव्यापी विमर्शको विषय हो जसको एक कवितात्मक सुत्रधार बनेको छ तङसिङ।अनिश्चित र अन्योल परिस्थितिको रीति लिएर पृथ्वीलाई खनीरहन, खोतलिरहन उद्यत मनोस्थिति बोकेको स्थिति छ। यस्तो विपथगामी विचार लिएको समयचेतसित आगामी दिनहरूमा पनि दोहनकारी तुजुकको वृत्तिमा घोत्लिरहने कि तङसिङले हानिरहेको ट्वाकसिङ अनुभूत गर्ने?
पुस्तक: तङसिङ
विधा: कवितासङ्ग्रह
प्रकाशक: बुक हिल पब्लिकेसन, भारत
मूल्य: २०० भारु।
लेखक परिचय: कवि एवं सञ्चारकर्मी वियोगी (अजित वियोगी) मिरिक दार्जिलिङ बस्छन् ।