साहित्य

खुसी खोज्न भौंतारिनेहरूको कथा ‘बाहेक’

420views

‘केटीहरू त यस्तो काम सहजै गर्छन्, केटा भएर किन डराएको धैत् ! मोज पनि हुन्छ, पैसा पनि हुन्छ !’ बिरेन्द्रको उक्त भनाइले कथा कुन धारमा बग्ने हो अनुमान गर्न पाठकलाई गाह्रो हुँदैन । समयको दर्पणमा; दर्पणको चरित्र र समग्र व्यक्तित्व कस्तो देखिएला त ?

लेखक धर्म सापकोटा ‘राजु’को ३ सय ४८ पेजको उपन्यास ‘बाहेक’ हालसालै बजारमा आएको छ । डायस्पोरामा रहेर डायस्पोरिक साहित्यलाई निरन्तरता दिने क्रममा प्रकाशित बाहेक उहाँको चौथो कृति हो । कथावस्तु अत्यन्तै नौलो नभए पनि कथानक शैलीमा नवीनता छ । कथामा बग्दै जाँदा पाठकको अनुमान निकै ठाउँमा दुर्घटनामा पर्छ जसले पाठकलाई एकपछि अर्को पाना पल्टाउन प्रेरित गरिरहन्छ ।

स्कुले जीवनमा नै प्रेममा परेको युवक दिनानाथ एकतर्फी प्रेममा धोका पाएपछि उच्च शिक्षाका लागि काठमाडौँ जान पाउने बहानामा प्रथम डिभिजन छुन भ्याउँछ । गाउँ छोडेपछि काठमाडौंमा चल्ने हावाको स्पर्शसँगै दीनानाथ ‘दर्पण’ मा परिवर्तन हुन्छ ।

उच्च शिक्षाका निम्ति काठमाडौं पसेका विद्यार्थीले कोठा पाउन गर्नुपर्ने संघर्ष, कोठा नपाएको अवस्थामा विद्यार्थीले के-केसम्म गर्न सक्छन् र समयले पनि नचाहेका कार्य गर्न बाध्य गराउँदछ भन्ने यथार्थ रसिक शैलीमा व्यक्त गरेको देखिन्छ । शहरको भिडमा हराएको दर्पण कसैले कोरिदिएको नक्सा बोकेर भविष्यको अन्योल्तामा हराउँदै गन्तव्यको बाटो नाप्दै, इन्द्रियहरूले दिने भावको साक्षी बन्दै अनिश्चित गन्तव्यसम्म पुग्दछ- यहाँसम्म आइपुग्दा पाठकले सामान्यज्ञानको स्वाद पनि चाख्न पाउँछन् ।

क्रमिक रुपले दैनिक आवश्यकता, अलिकति पुरुष दम्भ, र साथीसङ्गतका कारण नजानिँदो पाराले दर्पण; कल्पनामा पनि नसोचेको जागिर गर्न पुग्दछ ।कोटेश्वर शिर्षकबाट सुरु भएको कथा ३५ पेजसम्म आइपुग्दा त्रास, खुल्दुली, लाज, अहमता, अन्योलताका स्थितीहरू हुँदै अर्पणा र दर्पण बिचको शारीरिक सम्बन्ध सम्म आइपुग्दछ ।

आत्मसम्मान, स्वतन्त्रता, आत्मिक प्रेम र हौसला र परिपक्वताले भरिएकी भौतिक सम्पन्नताले सम्पन्न पात्र हुन् अर्पणा । प्रेमविवाह पछि वैवाहिक जीवनमा देखापरेका अनेकौं अस्वस्थ अवस्थाबाट निकास पाउन सम्बन्ध विच्छेद गरेर आफ्नै सोचानुसार जीवन बिताउदै गरेकी आमा र स्त्री हुन् अर्पणा । अत्याधुनिक भौतिक सुखसयलमा मानिसले जीवन बिताए पनि कताकता केही अपुरो, अधुरो जस्तो महसुस गर्दछ मानिस र अन्ततः आफ्नो खुसी खोज्न भौतारिन्छ ।

अक्सर: आम मानिस मुलाधार चक्रमै सिमित रहेका हुन्छन् सोहि क्रममा वासना, कामभाव र भोगबाट अलग नभई सकेकि अर्पणा परपुरुषको खोजीमा रहेका बेला सेवाप्रदायक बनेर अर्पणाको घर सम्म आइपुग्दछ दर्पण । फ्रायडका अनुसार जननाङ्ग चरणमा अक्सर मानिसको परिपक्व यौन सम्बन्ध र विपरित लिङ्गप्रति आकर्षण हुन्छ । अर्पणाको यौन जीवन पनि फ्रायडले भने जस्तै परिपक्व र स्वस्थ्यकर देखिन्छ ।

बाहेकमा `विकल्प´ शब्द बारम्बार दोहोरिएका छन् – निकै ठाउँमा; पात्रहरूसङ्ग त्यो बाहेक अन्य कुनै विकल्प नरहेका अवस्थाहरू थुप्रै देखिन्छन् वास्तविक जीवनमा जस्तै ।

समयको बहाव सङ्गै शरीरसेवा प्रदायक दर्पणसँग ग्राहकको प्रेम पलाउन सुरु गर्दछ र अन्ततः कुन्तर मनको कुनामा प्रेमफूल सम्म फुल्न थाल्छ । दर्पणसङ्गको कामसम्बन्ध, साथ र सेवाभावले ग्राहक अर्पणा; दर्पणसङ्ग पारिलो प्रेममा पर्छिन् । अर्पणाको प्रेम भाव निस्वार्थ र समर्पित भइरहँदा दर्पणको मनोविज्ञान भने प्रेम हो कि होइन जस्तो, अनिश्चितता, आवश्यकतामा फस्टाएको माया र विकल्पमा मात्र सिमित छ जस्तो पनि देखिन्छ । माया यस कारण कि; मायामा शंका, दोधार, अपेक्षा र विकल्प हुन सक्छन्; प्रेममा त केवल प्रेम मात्रै हुन्छ । यदि प्रेममा अपेक्षा, शंका, भरोसाको मन्द विष घोलियो भने त्यसलाई प्रेम भन्न सकिन्न । अर्पणाको प्रेम त्यस्तो थिएन; अर्पणाले त दर्पणको विचारको सम्मान गरेकि छिन् त्यसैले उनको प्रेम निस्वार्थ थियो ।

शरीरसङ्ग शरीर जोडिएपछि जोडिएका सम्बन्धहरू प्रायः दिर्घकालिन नभएर केवल तर्कको दायरामा सिमित रहन्छन् । शरीर- शरीर बिचमा संभोग हुँदा मात्र `काम´ भएको हुन्छ । दर्पणको चरित्र कताकता कामात्मक प्रेम जस्तो जस्तो पनि देखिन्छ ।

अर्पणाको शरीरले मात्रै होइन, हृदयले पनि हृदयसङ्ग संभोग गरेको थियो त्यसैले त्यहाँ पारिलो प्रेम पलायो । सुरुवाती चरणमा शरीरिक आवश्यकता भएपनी विवाहको सुनौलो पिंजडामा फेरि नफस्ने सोच बनाएकी मनमौजी अर्पणा दर्पणको प्रेममा परेर पुन: विवाहको सोच बनाउछिन् । अर्पणाले भने साच्चिकै दर्पणको प्रेममा आफैंलाई अर्पण गरेकी थिईन। इन्द्रियहरूको वेगले प्रेममा पसेपछी व्यक्तिगत मान्यता, स्वतन्त्रता, संकल्प र विचारलाई सहजै बगाइदिन सक्छ भन्ने यथार्थ पनि झल्किन्छ अर्पणाको प्रेमसम्बन्धमा ।

दर्पणले आफूलाई सेवाप्रदायकको भुमिकामा मात्र राख्छु भन्ने दोर्घकालिन सोच बनाएको हुन्छ तर ऊ अर्पणाको निस्वार्थ प्रेम र आफ्नो बदलिएको सुखी जीवन दैनिकीबाट अनायसै प्रेममा परेको हो कि जस्तो लाग्न सक्छ तर अर्पणासङ्गको सम्बन्धलाई लिएर उसको चरित्र कताकता `रिलक्टेन्ट´ जस्तो पनि देखिन्छ । डिभोर्सी आमासङ्गको सम्बन्धले ( निम्त्याउन सक्ने मानसिक प्रताडना जो समाजले प्रोग्रामिङ गरेका कारण उसको पुरुष हृदयमा पनि बसेको छ ) कताकता उसको पुरुष अहम् मा ठेस लाग्न पुगेको पनि आभास गर्न सकिन्छ ।

किनारामा छालको स्पर्श कुरिरहेकी अर्पणालाई बेलाबेला दर्पण नामक छालले स्पर्श गर्न खोजे पनि अन्ततः दर्पण नम्रताका साथमा विवाह मार्गको सहयात्री बन्न पुग्दछ । विवाहपश्चात् कथाले अर्कै मोड लिन्छ जुन मोड पाठकले नसोचेको हुन पुग्दछ । गर्भवती नम्रताको रगत परिक्षणमा एचआइभी देखिएपछी नम्रता र दर्पणको जिन्दगीको गाडी घ्यारघ्यार गर्न थाल्दछ । जिन्दगी अप्रत्याशित घटना र रहस्यका अनेकौं गाठाँ पारिएको पोको हो; जो बिस्तारै खोलिदै जान्छ भन्ने बाहेक पढ्दै जाँदा थाहा हुन्छ।

लेखक धर्म सापकोटा राजु र उनको उपन्यास बाहेक ।

यहाँसम्म आइपुग्दा पाठकलाई दिक्क मानेर ह्या…. भन्नू पर्ने अवस्था नआउन सक्छ । सोझी जस्ती देखिने नम्रताको रगतमा एचआइभी कसरी देखियो त ? `रेटोरिकल´ प्रश्न जन्मिन सक्छ पाठकको मनतलमा ।
तत्पस्चात, अप्रत्याशित उनिहरूको सम्बन्धले अर्कै मोड लिन्छ । दर्पणबाट सरेको हुन सक्ने अनुमान सहजै लगाउन सक्छ पाठकले, तर यहाँ पनि लेखकको चलाखीपन देखिन्छ ।

बाहेकमा `विकल्प´ शब्द बारम्बार दोहोरिएका छन् – निकै ठाउँमा; पात्रहरूसङ्ग त्यो बाहेक अन्य कुनै विकल्प नरहेका अवस्थाहरू थुप्रै देखिन्छन् वास्तविक जीवनमा जस्तै । जसरी विकल्प र बाहेकको एक अर्कामा नङमासुको जस्तै सम्बन्ध रहेको हुन्छ उसैगरी उपन्यासको नाम पनि कथा र उपकथासङ्ग मेल खान्छ ।

मानिसको जीवनमा सोचे भन्दा बाहेकका थुप्रै कार्मिक विकल्पहरू आउन सक्छन् र ती विकल्प मध्येमा यो बाहेक अर्को विकल्प थिएन भन्ने अवस्था मानिसको जीवनमा धेरै पटक आउँछ ।

सुरुवाती चरणमा कथाले पुरुष बेष्याको संकेत गरेपनी दर्पण र अर्पणाको सम्बन्ध प्रेमीप्रेमिका बिचको शारिरिक र हृदयगत सम्बन्ध भन्दा फरक नपर्ला भलै दर्पण अर्पणा प्रति प्रेम, सोच र व्यबहारमा दोधारे देखिएको छ । पुरुष वेष्याबारे कथा नलेखिएका त होइनन् तर अर्पणा सङ्गको दर्पणको मनोविज्ञानले कथामा नविनता पस्केको भान हुन्छ ।

बाहेकको कभर डिजाइनमा औंशीको कालो मसि घोप्टिएको छ भने बिचमा पूर्णचन्द्र मुस्कुराएको छ । छेऊमा उभिएको नाङ्गो रुख र रुखबाट उड्दै गरेका दुई पंक्षीले सम्पुर्ण कथाको प्रतिनिधित्व गरेका छन् । प्रमुख पात्र दर्पण, अर्पणा र नम्रतालाई बोकेर दौडिएको मालबाहक बाहेकले सफलता पुर्वक पाठकलाई स्पर्श गर्ने क्षमता राख्दछ । दर्पण र अर्पणाको सम्बन्धले पाठकका मनमा अनेकौं कौतुहलता जन्माउँन सक्छ । गातामा यौन शब्दको प्रयोग, केटिले त गर्छन् यस्तो काम ……. भएर डराउने ? भन्ने `रेटोरिकल´ प्रश्नले कतै यौनधारमा बगेको छ कि कथा भन्ने अनुमान पाठकले सहजै गर्न सक्छ तर ! यहाँ पनि लेखकको परिपक्वता झल्किन्छ ।

अतृप्ती, नजाँनिदो अहंकार, भरोसा, संवेदनशिलता, सहयोग, अपेक्षा, त्रास, प्रेम, धोका, दोधार, अस्वस्थ्य सम्बन्ध, कहिँकतै हाँसो, रोमान्स, अतृप्त प्रेम, यौन, स्वतन्त्रता, विकल्प र बाहेक आदि समेटिएर तयार पारिएको बाहेक पठनिय लाग्छ । सुरुदेखी अन्त्य सम्म पढ्न रुचि नहुने मानिसलाई समेत बाधेर राख्न सफल छन् बाहेकका कथा, उपकथाहरू ।
उपन्यास, केवल मनोरञ्जनका लागि मात्रै लेखिन्न; कथा र प्रसङ्ग मार्फत ज्ञान पनि बाड्न सकिन्छ भन्ने चेत लेखकको रहेको देखिन्छ साथै ठाउँ – ठाउँमा ओशोको प्रसङ्ग निकाल्दै पुस्तक पढ्न समेत प्रेरित गरेको देखिन्छ ।

मानिसमा खोट लगाउने बानी जन्मजातै हुन्छ या त अपेक्षाले सिर्जना गर्दछ; यसै भन्न सकिन तर ! नम्रताको डायरी पढ्दै गर्दा पुस्तक सकिन्जेल सम्म पनि कतै न कतै त मनमा उठिरहेको जिज्ञासा् (यौनबारे नम्रताको फरक बुझाइ र दृष्टिकोण) सम्बोधन होला भन्ने अपेक्षा थियो त्यो पूरा हुन सकेन । उनको यौन सम्बन्धी बुझाइ र दृष्टिकोणबारे केही प्रकाश पारेको भए हुने भन्ने लागि रहयो पठन अवधीभरी । लेखकले भने जस्तै कतिपय कथाहरू अधुरा नै सुन्दर बनिदिन्छन् सायद !
समग्रमा, बाहेक एउटा अब्ब्ल व्यक्तिपरक र सामाजिक मनोविज्ञानमा आधारित उपन्यास हो । शिर्षक छनोट, सरल भाषा, पात्रलाई आवश्यकतानुसार जन्माउन सक्ने खुबी र हरेक पात्रको मनोविज्ञानलाई आन्तरिक तहबाट महसुस गर्न सक्नु लेखकको कौशल हो ।

प्रमुख पात्र दर्पण, अर्पणा र नम्रतालाई व्यक्तित्व सुहाउँदो नाम दिइएको छ । र अन्तत: पुस्तकको नाउँलाई सम्बोधन गर्दै कथाले बिट मार्दछ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.