नेपाल विशेषसमाचार

जिम्मेवारी र परिस्थितिले मान्छेलाई उर्जा दिने रहेछ

670views

एकचोटी मैले गीतकार यादव खरेलसँग सोधेँ— तपाईं गीत लेख्नुहुन्छ, सिनेमा बनाउनुहुन्छ । क्याम्पस पढाउनुभयो, रेडियोमा काम गर्नुभयो, प्रशासन हेर्नुभयो । यो सबै कसरी गर्नुभयो ? जवाफमा यादव खरेल मुस्कुराउँदै भन्नुभयो– उर्जा । अझ सृजनशील उर्जाले गर्दा यो सबै काम गर्न सकेँ र अधिकांशमा एक तहको सफल भएँ ।

यद्यपि अहिले म ऋषिराम अधिकारीसँग कुराकानी गर्दैछु । यादव खरेलको माथिको प्रसङ्ग ऋषिरामको जीवनसँग दुरुस्तै मेल खान्छ । तीस वर्षको युवावयमा नै ऋषिले बहुविधामा काम गरिसकेका छन् । मुख्यतः नेपालमा अनलाइनबाट किताब बेच्ने ‘किताब यात्रा’लाई स्थापित गरेका छन् । किताब यात्रासँगै किताब–जात्रा महोत्सव गरेका छन् । क्याम्पस खोलेका छन् । अहिले डिजिटल वालेट मोरुको निर्देशक नियुक्त भएका छन् । कविता, कथा, लेख पनि लेखिरहेकै छन् ।

सर्लाही लालबन्दीका ऋषिरामसँग यी सबै काम गर्ने उर्जा र प्रेरणा अनि काम गर्दा आउने अप्ठेराबारे बेलायतमा भेट हुँदा क्याजुअल– कुराकानी गरेको थिएँ । त्यही कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

कामकै क्षेत्रबाट कुरा सुरु गरौँ । तपाईंलाई किताबको संसारले कहिलेबाट मन तान्यो ?

स्कुल जीवनमा परीक्षामा धेरै अंक ल्याउनुपर्ने भएकाले त्यसमै फोकस हुन्थ्यौँ । अहिलेजस्तो बालबालिकालाई उमेरअनुसारको किताब पढाउने चलन थिएन त्यतिबेला । विद्यालयमा पढ्नमा अब्बल नै थिएँ म । बाहिरका किताब पढ्न रुची त थियो तर पाइएको थिएन । महेन्द्र राजमार्गछेउ भए पनि लालबन्दीमा त्यस्तो किताब पसल थिएन । तर पत्रिका, रेडियोबाट सुनेर यो किताबचाहिँ पढ्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । तर कहाँ पाइन्छ, कति पर्छ थाहा थिएन ।

लालबन्दी छाडेर काठमाडौं गएपछि दङ्ग परियो । पुतलिसडक, बागबजारमा जता हेर्यो त्यतै किताब देख्दा अचम्मै लाग्यो । सन् २०१० मा सिए पढ्नका लागि दिल्ली गएँ । त्यहाँ गएपछि त किताबको महासागर नै भेटेजस्तो भयो । संसारका हरेक विषयको, हरेक किताब पाइने । व्यापार उस्तै, छापाखाना उस्तै, वितरक उस्तै । सडकदेखि सपिङ–सेन्टरसम्म किताब पाइने । यसरी किताबसँगको मेरो यात्रा सुरु भएको हो ।

तपाईंको पहिलो व्यापार वा व्यापारिक सुरुवात के थियो ?

खासमा दिल्ली पढ्न गएको । तर मलाई अर्थोक केही न केही पनि गरिरहनुपर्ने । बिहान पढ्न जान्थेँ भने दिउँसो इन्टरसिप गर्न जान्थेँ । तर केही न केही आफ्नो पनि काम गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । यसैले दिल्लीमा साथिहरूसँग मिलेर ट्राभल एजेन्सी चलायौँ । त्यसैलाई पहिलो मान्नुपर्ला । भलै मैले केही समयमा नै त्यो काम छाडेँ । तर पहिलो उद्यम त्यही मान्न सकिन्छ ।

किताब यात्राको सोच खाना पकाउँदै गर्दा आएको भन्नुभएको थियो नि ?

दिल्लीमा राति बादल बस्नेत भन्ने साथि खाना बनाउँदै हुनुहुन्थ्यो । यता खानाको सिठ्ठी बज्दै थियो । मेरो दिमागमा स्वास्ट केही उपाय आएजस्तो भयो । बाथरुममा गएर सोच्दै थिएँ, अचानक अनलाइनबाट किताबको बिजनेस गर्ने उपाय आयो ।

त्यतिबेला नेपालमा अनलाइन प्लेटफर्म भर्खरभर्खरै उदाउँदै थियो । अनलाइनबाट सामान घरघर पुर्याइँदै थियो । अब के बेच्न सकिन्छ त भन्दा, अनलाइनबाट किताब बेच्न सकिन्छ भन्ने सोच आयो । यो सन् २०१६ को कुरा हो । साथिहरूलाई ल अब के गर्नुपर्छ भन्दा, सुरुमा डोमेन किन्नुपर्छ भन्ने सुझाव आयो । यसपछि चार बोरा किताब दरियागन्जबाट किनेर रेलमा हालेर काठमाडौँ ल्याएँ । वेभसाइट बनेको थिएन यसैले फेसबुकमा नै ‘ल हामी दिल्लीबाट किताब ल्याउँदैछौँ । कुनै किताब चाहिएको छ भने घरमै पुर्याउँछौँ’ भनेर स्टाटस राख्यौँ । करिब २८ हजारको किताब किनेँ । पछि नेपालमा ४५ हजार जति पैसा उठ्दा निकै खुसी लागेको थियो ।

सिए पढ्नुभयो । व्यापार थाल्नुभयो । अहिले किताब–यात्रादेखि जात्रासम्म व्यस्त हुनुहुन्छ । अन्य उद्यम पनि सुरु गर्दै हुनुहुन्छ । यो बृहत् उर्जा कहाँबाट आउँछ ?

जिम्मेवारीले पनि उर्जा आउँछ । अर्कोचाहिँ परिस्थितिले पनि । चौध वर्षको उमेरमा बुबा बित्नुभयो । त्यतिबेलासम्म मेरो काम पढ्ने र खेल्ने मात्र थियो । बुबा बितेपछि बिस्तारै लाग्न थाल्यो कि जीवन यति सरल तरिकाले चल्दैन । यसपछिचाहिँ मलाई जिम्मेवारीबोध भएको हो । साथै मलाई एउटैमात्र काम गरिरहन मन लाग्दैन । केही नयाँ र फरक गर्ने हुटहुटीले पनि यहाँसम्म पुर्याएको हो ।

मैले कुनै किताब लेख्नुपर्ने कारण के ? कसले पढ्ने, किन पढ्ने ? त्यसको भित्री कुरा अध्ययन नगरी लेख्दिनँ । पहिला अरुको घर बनाऊँ अनिमात्र आफ्नो घर बनाउने हो ।

कम उमेरमै नेपाली समाजमा स्थापित व्यक्तिहरू तथा संस्थासँग तपाईंको चिनजान भयो, कारोबार भयो । त्यसरी हेर्दा नेपाल कस्तो देखिँदोरहेछ ? हिजोको एक्लो ऋषिराम र आज कुनै संस्था वा ब्रान्डको ऋषिराम हुँदा कस्तो हुनेरहेछ ?

सुरुमा विश्वासको वातावरण बनाउन गाह्रो भयो । तर केही लेखक र प्रकाशकले सुरुदेखि साथ दिए । सुरुमा हामी तीनजना थियौँ । बिस्तारै टिम बन्दै गयो । उमेरमा पनि परिपक्व थिएनौँ तर निकै जोश थियो । सहजतासँगै चुनौति पनि आउने रहेछ । सम्बन्धलाई मिलाएर राख्नुपर्ने । सुरुमा जसलाई भेट्न रहर राख्थेँ पछि त्यही मान्छेसँग मिलेर काम गर्नुपर्ने भयो । पहिला पाँचजना चिन्थेँ, अहिले पचासजना चिन्छु भने पचास जनालाई नै समय छुट्याउनु पर्ने भयो ।

पिपल म्यानेजमेन्टको सिद्धान्तअनुसार हामी एउटा मान्छेलाई भेट्न मरिहत्ते गर्छौँ । नभेटेसम्म त्यो मान्छेलाई भेट्न आतुर हुन्छौँ । तर भेटेपछि तिनै मान्छेमा रुची कम हुने वा हाम्रो दृष्टीकोण बदलिने रहेछ । यसैले तृष्णा हुँदाहुँदै सम्बन्धमा दुरी कम गर्यो त्यो सम्बन्ध दिगो हुन्छ कि । सायद प्रेममा पनि त्यही हो कि ! आजै सबैकुरा बुझ्यो भने भोलिदेखि काम गर्न मन नलाग्न लाग्छ । रहस्य बाँकी रहनुपर्छ ।

व्यापारबाहेक पठन संस्कृतिको दृष्टीले किताब जात्रा सुरु हुनुपछाडिको कारण के हो ?

किताब लेख्ने, छाप्ने र पढ्नेमात्र कुराले अब पुग्दैन । व्यापारीले व्यापारबारे, खेलाडीले स्वास्थ्य, मानसिक स्वास्थ्यबारे पढ्नुपर्यो । कलाकारले पढ्नुपर्यो, प्रहरीले गर्नुपर्यो । पढेरमात्र भएन– छलफल गर्नुपर्यो, बहस गर्नुपर्यो । पढ्ने तरिका किताब, डिजिटल किताब, अडियो बुक, भिडियो बुक वा जे पनि हुन सक्ला तर पढेर सिक्नुपर्यो । त्यही कुरा सोचेर पहिलोपटक र्याडिसन होटलमा प्यानल डिस्कसन गर्‍यौँ । यसपछि किताब जात्रा फेस्टिभल पनि सुरु भयो ।

काठमाडौंमा यसरी जमेर काम गर्दा राजनीतिक वा व्यापारिक दबाब कस्तो हुनेरहेछ ?

खासमा यही गर्नुपर्छ भनेर त कसैले भन्दैन । तर यसो गर्दा के होला भनेर कुरा आउँछ । मिलाएर गरौँ भन्ने प्रस्ताव आउँछ । तर हामी कुनै मुद्दामा बहस गर्न आर्थिक कारोबार कहिल्यै गर्दैनौँ । कसैले एक करोड दिन्छौँ, बिस्कुट खानु राम्रो हो भन्ने खालको बहस गर्दैनौँ । बरु विज्ञापन राख्छौँ । कुनै कुराको राम्रो र नराम्रो दुवै पक्षबारे बहस चलाउँछौ । सबै पक्षलाई मिलाएर लैजानु पनि एक कला हो ।

गर्न मन लागेको अन्य कुरा या काम के छ ?

त्यो त काम गर्दै जाने क्रममा निर्धारण होला । अब यही क्षेत्रमा गर्ने हो । पब्लिकेसन हाउस सुरु गरेका छौँ । लेखन, अनुवादको कुरा आउँछ । दिल्लीमा तीनवटा किताब जात्रा गर्यौं। अमेरिका र बेलायतमा गर्यौं । पढ्ने, लेख्ने, सिक्ने क्षेत्रमा नै काम गर्ने हो । डिजिटल मार्केटिङदेखि इ-लर्निङ प्लेटफर्ममा काम गर्नुपर्ने छ ।

तपाईं आफैंले किताब लेख्ने वा कुनै सृजनात्मक लेखन गर्ने सोच छ ?

हाहा… योचाहिँ कस्तो–कस्तो लाज लाग्ने कुराजस्तै भयो । उमेरमा सबैजना कवि भनेजस्तो म पनि कविता लेख्छु । भारतमा बस्दा व्यक्तिचित्रदेखि समाचार पनि लेखेँ । फेरि, मैले कुनै किताब लेख्नुपर्ने कारण के ? कसले पढ्ने, किन पढ्ने ? त्यसको भित्री कुरा अध्ययन नगरी लेख्दिनँ । पहिला अरुको घर बनाऊँ अनिमात्र आफ्नो घर बनाउने हो ।

अरु रुचीका कुरा ? (उदाहरणका लागि, गफ चुट्ने नै पनि हुन सक्छ !)

मुख्यतः यात्रा मन पर्छ । कामको सिलसिलामा नै धेरै ठाउँ घुम्न पाएको छु । अझै धेरै ठाउँ जाने धोको बाँकी छ । अर्कोतिर गीत गाउन मनपर्छ । बाल्कोनी सिंगर हुँ । लाउड स्पिकरमा ट्रय्याक बजाएर कस्त गीत गाउन मन पर्छ । खेलकुदमा क्रिकेट । त्यसपछि फुटबल मन पर्छ ।

(सबै तस्बिर : ऋषिराम अधिकारीबाट। ग्राफिक्स : ग्राफिक्स हब, बागबजार)

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response