युके विशेष

मुकुल दाहालका ३ कविता

919views

१. छुट्टिनु—भेटिनु

आमाको गर्भबाट छुटेको दिन म जन्मेको हुँ
र मैले ब्रम्हाण्ड भेटेको हुँ
जसरी रूखको सानो हाँगोमा बसेको चरा
त्यो छोडेर उडेपछि आकाश भेट्छ

कहिले थोरै छुटेर धेरै भेटिन्छ
कहिले सानो केही भेटेँ भनेर दङ्ग पर्दा संसार छुटिजान्छ

आँशुको थोपा आँखाको सानो
तलाउ छोडेर खसेपछि धर्तीको फराक छाती भेट्छ

सिसाको झ्यालमा टाँसिएको धुलो
कसैले टक्टक्याएर झारेपछि धर्ती बन्छ

गलाबाट छुटेको गायकको सुरले
हजार मानिसको मन भेट्छ

भेटिनु सुख हो तर सुख मात्र पनि हैन
छुटिनु दुःख हो तर दुखै मात्र पनि हैन

नभेटाऊँ भन्दाभन्दै कति कुराहरू भेटिइ जान्छन्
नछुटाऊँ भन्दाभन्दै कति कुराहरू छुटी जान्छन्

औँसीको रातको अँध्यारोमा
ताराहरूबीच चमचम चम्किरहने जून छुटिजान्छ

विरहको बेला
ओठको निधारले लगाउने मुस्कानको टीका छुटिजान्छ
जब सन्तानहरू जीवनको उडान भर्छन्
बाबु-आमाको अङ्गालो छुटिजान्छ

हिमालको काखबाट निस्केको खोला जब तराइ ओर्लन्छ
पहाडको छाती छुटिजान्छ

सानो थोपामै अल्झिरहे
सारा समुद्र छुटिजान्छ

सानो भुगोलमै लडिरह्यौँ भने
सारा ब्रम्हाण्ड छुटिजान्छ

आफ्नै खुट्टाका नङहरूमा पालिस दलिबस्ता
उता आकाशले इन्द्रेनीको जुँगा लगाइसकेको हुन्छ
त्यसको जादु छुटिजान्छ

ऐना हेरी-हेरी अनुहारमा क्रिम दली बस्यौँ भने
संसारका खरबौँ अनुहारका रङहरू छुटिजान्छन्

हामी सबै यो धर्तीबाटै
एकदिन छुटिजानु त छँदै छ
तरैपनि नछुटाऊँ है साथी हो—
हाँसोको फोहोरा

यसरी हाँसौँ कि
छुट्ने छुटाउने विधानको रचनाकर्ता
दुःख बिरह र विशादको सृस्टिकर्ता
यो उत्पात खुसीको रंग देखेर
आफैँ झसङ्ग बनोस्
आफैँसँग तर्सियोस् ।

२. सरमको सौन्दर्य

मानिसमा
सरमको सौन्दर्य कुँदेको बेला
सायद सृष्टिकर्ता आफैं
लाजले रातो भएका थिए

धर्तीमा सरमका चिन्हहरू अंकित गर्दा
शायद रचनाकर्ताको
गालामा लाली चढेको थियो

म यो सोचेरै सर्माउँछु
जसरी तिमी पारदर्शी
कपडा देखेर सर्माउछौ

धर्ती, आकाश, जून
र ताराहरूसँग कुनै न कुनै
सरमका चिन्हहरू छन्

जब भोरको जामा
बिहानको किरणले उचालिदिन्छ
क्षितिज सरमले रक्तिम हुन्छ

साँझको सूर्य रातको अङ्गालोमा पस्नुअघि
प्रत्येक दिन सर्माएर रातो न रातो हुन्छ

धुवाँको कछाड फुस्केपछि
भुङ्ग्रो सरमले रातो हुन्छ

सायद लाज लाग्ने भएरै हो
धर्तीमा कपास फलेको
लाज लाग्ने भएरै हो
रेसमी धागो बनेको

मेरो शरीरमा कति होलान
सरमका ठेगानाहरू ?
तिम्रो शरीरमा कति होलान
सरमका ठेगानाहरू ?
यो धर्तिमा कति होलान
धर्ती आफैँले
नदेखाइ राखेका ठेगानाहरू

जस्तो कि सबैलाई चिनिसकेर पनि
चिन्नलाई बाँकि रहन्छ कोही
जस्तो कि सबैकुरा जानिसकेपछि पनि
बाँकी रहन्छ जान्ने कुरा
जस्तो कि सबैकुरा देखिसकेपछि पनि
बाँकी रहन्छ देख्ने कुरा

सरम त्यही बाँकी रहेको
अंशको निथार हो क्यार

जसरी मानिसको आस्था
जोगाइराख्न होला भक्तिको धरोहर बनेको
त्यसै गरी धर्तीमा सुन्दरताको अंश
बचाइराख्न होला– सरम बनेको ।
०००

३. त्यो सुरराज भक्तराज थियो

उसो त समयले सबै आवाजलाई सुन्छ
सहस्र आवाजहरूलाई भुलिदिन्छ
तर केही आवाजलाई लामो समयसम्म
सम्झनामा राखिरहन्छ

तर कोही खास यस्तो होस्–
जसको गलालाई बेहद पर्खियोस् र सुनोस्
जसको गलाको सुन्दरतादेखि अचम्मित होओस्

कोही खास यस्तो होस्
जसले गलामै धुप सल्काओस्
गलामै मगमगाओस्
र त्यो मगमगले करोडौंलाई छोइरहोस्
भक्तराज त्यही गलाको नाम हो

तर यस्तो नहोस्
कि जुन समयले पर्खियो र सुन्यो
त्यही समयले उसको
धुन पस्किने जिब्रै थुतेर लगोस्

तर नहोस् भनेका
अनेक बिपद भइरहने यो संसारमा
नहोस् भनेकै भइदियो
र एक साँझ कुनै दुर्जनको अखडामा
भक्तराजको गलामा रात रोपियो

पहाडको टुप्पोबाट लड्दै-लड्दै
झरेको घाइते बाछोजस्तो
भक्तराज सुरहीनताको फेदिमा खस्यो
र उसको देवता उसकै काखमा मुर्छा पर्यो

सुरको आसनबाट
राग पस्कने जिब्रै गुमाएपछि तिसौँ बर्ष
कसरी बाँच्यो ऊ शुन्यतामा ?
अमृत फुट्ने गलाको जरूवा
सुकेर चिरिएको महसुस गर्दै
कसरी गुजार्यो पलहरू ?
आफ्नै सुरका सुकेका ओठ छाम्दै
के गरी काट्यो दिनहरू ?

त्यो बेहद सुखा खण्डहर बनेको जीवनमा
जसले बचायो उसलाई
त्यो प्रेम थियो, त्यो ईश्वर थियो
जसको गलाबाट सङ्गीतकी देवीले गाइन्
जसको स्वरमा ईश्वरले बास मागेर बस्यो

त्यो सुरराज भक्तराज थियो ।

(गायक भक्तराज आचार्यप्रति श्रद्धा-सुमन)
—*—

कवि परिचय : झापाका मुकुल दाहाल अहिले स्कटल्याण्डको एडिनबरा बस्छन् । अङ्ग्रेजी साहित्यको विद्यार्थी एवं शिक्षकको परिचय बनाएका दाहाल तीन दशकदेखि दुबै भाषामा सृजनारत छन् । उनको ‘सीमातीत सीमान्त’ कवितासंग्रह २०६१ मा वाणी प्रकाशन विराटनगरबाट प्रकाशित भएको थियो । यसबाहेक दाहालले अनुवाद गरेका आधा दर्जन पुस्तकसमेत प्रकाशित छन् । उनको ‘घामतिर उडिरहेका चराहरू’ नामक कविताकृति प्रकाशोन्मुख छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.