साहित्य

आशिष खनियाँका ३ कविता

447views

१. म साहित्यकार सम्मान खोइ त यार !

मेरी श्रीमती अलिक कराउँछिन्
दिनहुँ सयचोटी उठबस गराउँछिन्
म कवि जो परेँ
बुढीले उठ् भने पनि कविता
बुढीले बस भने पनि कविता

औला भाँचेर गन्दै जाँदा
बुढीले दश भने पनि कविता
म कविकार
सम्मान खोई त यार !

बुढी आफ्नै हो कान समायो
रिसालु अनुहार देखेर जिउ कमायो
म कवि जो परेँ
झ्याँस्स चुरोट सल्काए पनि कविता
भुलुक्क गुन्द्रुक भल्काए पनि कविता
भान्सा सकी जुठो सोरेर
अल्ट्राले भाँडा टल्काए पनि कविता
म कविकार
सम्मान खोइ त यार !

कामबाट साँझ थाकेर आयो
दुई गिलास सुरूप्प चाखेर आयो
म कवि जो परेँ
बुढीले कुचोले ठटाए पनि कविता
छिडीमा सुत्न पठाए पनि कविता
कुकुरको झोलले अघायौ भन्दै
पस्केको भात घटाए पनि कविता
म कविकार
सम्मान खोइ त यार !

बुढिसँग जिस्कियो खायो पियो
यसरी नै चल्दैछ जीवनको मियो
गर्नुपर्ने त जीवनमा केके थियो
आधा जिन्दगी त सोचेरै सकियो
म कवि जो परेँ
दुखै दुखमा परे पनि कविता
सुखै सुखमा बाँचे पनि कविता
म कवि कविता त जन्मनु नै थियो
रोए पनि कविता—हाँसे पनि कविता
म कविकार सम्मान खोइ त यार !

२. मेरो भाइ

बाबु
तसँग बोल्न नपाएको दिन
म मनैमन खुब बोल्छु, खुब सोच्छु
मेरो भाइ के गर्दैछ होला, के खाँदैछ होला
म सम्झिरहन्छु, म सोचिरहन्छु

तैंले सम्झिन्छ्स ?
हामीले बिताएका बाल्यकालका दिनहरू ?
सानो–सानो कुरामै
त कति दङ्ग पर्थिस्, कति रमाउँथिस्
तँलाई याद छ ?

एकफेर बाटो बिराएर आएको सुगाले
झ्यालको सिसा ठुँगिरहँदा
तँ ताली बजाउँदै कति जोडले उफ्रिएको थिइस्
कति जोडले कराएको थिइस्
तँलाई सम्झना छ ?
तँ यसरी रमाएको थिइस्

मानौं स्वर्गबाट ओर्लिएर आमा
तेरो अगाडि उभिरहनुभएको थियो
सुगाले पनि त नियालिरहेको थियो
तेरो शिल्पिकार हातको
नचाइहरू, घुमाइहरू, आरोहहरू
साँच्ची,
तँ ताली बजाएर रमाउँदा
सुगाले के अनुभूति गर्यो होला है !

सुगाले त भित्र
आफ्नो चुच्चो खोज्यो होला कि खोजेन होला ?
आफ्नो पखेटा खोज्यो होला कि खोजेन होला ?
आफ्नो सन्तान खोज्यो होला कि खोजेन होला ?
सुङ्गाले केके खोज्यो होला केके खोजेन होला?
सुगाले केके खोज्यो होला केके भेट्टायो होला ?
बाबु, मलाई त्यो सुगाको याद आइरहन्थ्यो

हिजोको साँझ
निथ्रुक्क रूझेको एउटा सुगा
झ्यालमा आएर बसेको थियो
ठ्याक्कै उही उस्तै-उस्तै देखिने
सानो चुच्चो भएको
सानो पखेटा भएको
उस्तै आखा, उस्तै हेराइ
उस्तै अनुहार, उस्तै भाव

मैले सुगाभित्र हाम्रो बालापन देखेँ
तँलाई देखेँ, तँभित्र मलाई देखेँ
तँसँगै मलाई देखेँ, मभित्र तँलाई देखेँ

बाबु
जब–जब म तँसँग बोल्न पाउँदिनँ
म तँलाई सम्झन्छु
सुगा सम्झन्छु
बालापन सम्झिन्छु, सम्झिरहन्छु

बाबु, नढाँटी भन त
मसँग नबोलेको दिन
तँ के-के सम्झिएर सुत्ने गर्छस् ?

३. विदेश

अरूजस्तो त्यतै हराउने हैन कान्छा
आ ! म त फर्किन्छु मेरो आफ्नो देश
पहिरिन्छु आफ्नै भेष
चढ्छु आफ्नै भूगोलको उकाली ओराली
घुम्छु आफ्नै वन–पाखा–देउराली
भोज–भतेर नाचगान
बुद्द सगरमाथा कत्रो शान
म त अरूजस्तो बिदेशमै पलायन हुन्न
जहाँ आफू हुनुको नै पहिचान हुन्न
ग्यारेन्टी फर्किएर आउने हो कान्छा
देशको माटो छोएर बोलेको थिए
आफु विदेशिनुअगाडि

समयसँगै क्रमश: बुझ्दै गएँ
विदेश भनेको एउटा रोग रहेछ
सहजता, सम्पन्नता केवल भोक रहेछ
जसले मानिसको सिंगो योवन खान्छ
बिकाउँछ सोख र अभिलाषा क्रेडिटमा
मानिस चुपचाप भरपाई गरिरहन्छ आवश्यकताहरू

धेरै वर्ष पो भएछ म बिदेशिएको
धन्नै धन्नै सबैथोक पो बिर्सिसकेछु
अकस्मात सम्झनामा आयो जीर्ण अवशेष
सम्झिन पुगेछु छोडिआएको त्यो परदेश
गाउमा फुलिरहेका होलान
लाहुरेफुल, सयपत्री, सुनगाभा
बनमा पाक्दै होलान तिदु काफल
बसाईरहेको छ होला सिंगो बन
कोईली हाँगाको काँपमा बसेर
भन्दै छे होली को हो को हो
म यहाँ बिदेशमा बसेर
भनिरहेछु म हो म हो
यहाँको माटोले मलाई चिन्दिनँ भन्छ
तेरो सपना म सित्तैमा किन्दिनँ भन्छ
हेर न कान्छा,
भविष्य बनाउने पिरमा
आफ्नो देश फर्किन अलिक बेर हुने भो

बुढेसकालमा भएपनि
लुखुर-लुखुर फर्केर आउनेछु
मेरो प्यारो देश नेपाल
चढ्न नसकौँला भिर पाखा
तर्न नसकौँला भदौरे खोला
पुग्न नसकौँला अन्नपूर्ण क्याम्प
नहोला शरीरमा गरिखाने बल
तर आफ्नो देशमा पुगे मात्र पनि
मरिजाने बल त आफैँ आउँछ हो कान्छा
फर्किन अलिक बेर हुने भो
सकिनै मान्दैनन आवश्यकताहरू
आज आएर बन्दैछन
आवश्यकता नै बाध्यता
फर्किन अलिक बेर हुन्छ होला कान्छा
सम्झिएको छु भन्दिनु मेरो देशलाई
सम्झिरहन्छ रे भन्दिनु मेरो नेपाललाई ।
०००
(लमजुङका आशिष खनियाँ पछिल्लो समय युके बस्दै आएका छन्)

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.