नेपाल विशेषसाहित्य

कथा : सन्जुमाया

1.1kviews

निलो भ्यान साइरन बजाउँदै आयो। ठमेल चोकमा युवतीहरूसँग बार्गेनिङ गरेर बसेका ग्राहकहरू कुनातिर पसे। पेटीमा चिया र चुरोट बेचिरहेका महिलाहरू टोकरी उठाउँदै साँघुरो गल्लीतिर दगुरे।

छातिमै टाँसिन आइपुगेका ठिटाहरू होस फालेर दगुरेको देख्दा युवतीहरू मुर्छा परेर हाँसे।

‘किन याँ, बाटो लाग्?’ भ्यानबाट टाउको निकाल्दै एकजना असई गर्जियो‌। युवती असईलाई छातीको अग्रभागतिर संकेत गर्दै इतरिई। असई जंगियो, ‘तेरीमा र…! सरम लाग्दैन।’

‘तँलाईं चाहिँदा लागेको छ? …’, असईलाई जवाफी गाली दिँदै युवती पनि गल्लीतिर भागी। उसको पछिपछि दुईटी युवती दौडिए।

असईले टाउको गाडीभित्र लग्यो। निलो भ्यान अघिल्तिर लाग्यो।
०००

गल्लीबाट उनीहरू अर्को चोकनिर निस्किए। ‘चिया खाऊँ आइज,’ असईलाई गाली दिनेले दुईटी युवतीलाई इसारा गरी। अनि पेटीमा थर्मस र टोकरी राखेर बसिरहेकी आइमाईसँग फिस्स हाँस्दै भनी, ‘दिदी, धुवाँ फालौँ।’

आइमाईले मुसुक्क हाँस्दै हातमा एक खिल्ली चुरोट थमाइदिई। अनि लाइटर कोर्दै भन्न थाली, ‘म सल्काइदिन्छु।’ युवतीले निहुरिँदै चुरोटलाई आगोमा झोसी। त्यसपछि दुईटीतर्फ हेर्दै बुङबुङ धुवाँ फाल्न थाली।

‘आज त अचम्मै भयो नि!’ उसले दायाँबायाँ आँखा डुलाइरहेका दुईटीको ध्यानाकर्षण गरी।

‘के भयो?’ अचानक उनीहरूको ध्यान धुँवा फालिरहेकी युवतीतिर अडियो। धुँवा फालिरहेकी युवती सोचमग्न भई। केहीबेर पर्खँदा पनि जवाफ नआइसकेपछि दुईटी उसका नजिक पुगे। र घच्घच्याउन थाले, ‘सकसक भइसक्यो। भन्न भन् के भो?’

‘जे भयो सोच्दै नसोचेको भयो,’ युवती अघिको घटना विस्तारमा सम्झन थाली–

‘अघि एघार बजे, एकजना लोग्नेमान्छे आयो। मास्क लगाएको थियो। मलाई केहीबेर एकोहोरो हेर्यो। मैले चाल पाइहालेँ। त्यसपछि उसको नजिक गएँ। ऊ केही भन्न खोज्दै थियो। मैले सोधिहालेँ, ‘ जाने हो?’

उसले मुन्टो हल्लायो। यताउति हेर्यो। अनि सानो स्वरमा भन्यो, ‘कति?

झट्ट हेर्दा जाने छाँटकाँट थियो। मैले २५ सय भनेँ। ऊ एकछिन बोलेन। फेरि साउती स्वरमा भन्यो, ‘म दुई मात्र दिन सक्छु।’

त्यसपछि ऊ हाम्रो नियमित रेटमा आएर अडियो। दुवैको सहमति भएपछि म अघिअघि हिँडेँ। ऊ मलाई पछ्याउदै पछिपछि आयो। हामी गेष्टहाउसभित्र छिर्यौं। मैले ढोकाको चुकुल लगाउँदै उसलाई भनेँ, ‘जाऊ, बेडमा गएर कपडा फुकाल। म बत्ती निभाउँछु।’

उसले एकछिन त मलाई एकनाशले आँखामै मात्र हेर्यो। कस्तो अचम्म, हरेक लोग्नेमान्छेको आँखा कि छातीमा अल्झिन्थ्यो, कि नितम्बमा। ऊ मलाई आँखाभन्दा तल हेरिरहेकै छैन। ‘तिमीले बत्ती निभाउन पर्दैन। म कपडा पनि खोल्दिनँ,’ उसले मधुर स्वरमा भन्यो।

फेरि लाग्यो, ‘यो कस्तो लोग्नेमान्छे हो?’

यतिबेला बन्द कोठामा मेरा‌ लागि लोग्नेमान्छे, लोग्ने मान्छे हुन्थेनन्। मासुको चोक्टा लुछिरहेका गिद्धजस्ता हुन्थे। सुरु सुरुमा मलाई याद छ, म प्रतिकार गर्न सक्दिनँ थिएँ। मलाई पैसा चाहिएको थियो। पैसाकै लागि म यो सब त गर्थें। तर हरेक रात, हरेक लोग्नेमान्छेसँग हरेक पटक लुटिएको भान हुन्थ्यो। उनीहरू बलजफ्ती मेरा यी अंगहरूसँग खेल्थे। भोको बाघलेझैं झम्टन्थे। म शिथिल हुन्थेँ। गेस्टहाउसबाट निस्किएपछि म कुनातिर पुगेर रुन्थेँ।

विस्तारै सोचेँ, मैले यही कर्म गर्नुछ भने‌ रोएर हैन, कमजोर बनेर हैन। कठोर बन्नुपर्छ। त्यसपछि मसँग सुत्न आउने हरेक लोग्नेमान्छेलाई उनीहरूको अनुसार हैन, मेरो अनुसार सुताउन थालेँ। मेरो ओँठ उनीहरूलाई कहिल्यै जुठो बनाउन दिइनँ। जोजो आउँथे, उनीहरूलाई अश्लील गाली दिँदै गिद्धको झम्टाइबाट म आफूलाई जोगाउँथेँ।

पाँच वर्षमा पहिलोपटक यस्तो ग्राहक भेटेँ, जो मसँग बन्द कोठामा पनि उत्तेजित छैन। उसले भन्यो, ‘तिमीलाई बहिनी भनौँ?’

म च्याँठिएरै बोलेँ, ‘बहिनी बनाउन याँ ल्याको? केके गर्ने हो, गरेर गैहाल्ने। मसँग समय छैन।’

ऊ एकछिन अकमकियो। अनि उस्तै मधुर स्वरमा भन्न थाल्यो, ‘ठिक छ। तर नामले बोलाउन तिम्रो नाम पनि थाहा छैन।’

‘सन्जुमाया‌, तर नामसँग के सवाल। खुरुक्कै काम गर। अनि जाऊ,’ मैले बत्तीको स्वीच निभाउँदै भनेँ।

‘व्यर्थै निभायौ। म तिमीलाई केही गर्ने होइन थिएँ। म त यसै कुरा गर्न आएको’, अँध्यारोमा उसको भद्र आवाज सु़निएको थियो।

अभद्रहरू मात्र भेट हुने यो ओछ्यानमा एउटा भद्र अनुहार टुसुक्क बसेको छ। भद्रलाई भद्र व्यवहार कसरी गर्ने? मलाई थाहा छैन।

‘म तिम्रो पैसा सित्तैमा लिन्न। प्लिज, छिटो काम सक।’

‘तिम्रो समय किनेको छु मैले। सित्तै होइन।’

‘ल मैले के गर्नुपर्यो?

‘केही गर्नुपरेन। तिमी कसरी यो काममा आयौ, यति भन?’

उसका कुराले भाउन्न छुटेर आयो। कताकता लाग्यो, जासुसी हो कि? कि पत्रकार! या अरू केही पो हो! म कहाँबाट आएँ, किन आएँ, उसलाई के चासो।

मैले बत्ती अन गर्दै भनेँ, ‘हस् महासय। म लागेँ। मलाई मेरो काम गर्न दिनू। काममाथि चासो नराख्नू।’

त्यसपछि ढोकाको चुकुल खोलेँ। बाहिर निस्कनुअघि उसले अन्तिम वाक्य बोल्यो, ‘म तिमीसँग फेरि भेट्नेछु।’
०००

‘लौ, कसो दाइ नबनाएकी त त्यो मोरालाई,’ उसको कुरा सुनिरहेकी अर्की युवती जिस्क्याउँदै हाँसी। अर्कीले भनी, ‘अचम्मै भयो।’

एउटीले नाडीमा बाँधिरहेको घडी हेरी। बिहानको दुई बजेको थियो। चिसो सिरेटो वरिपरी फैलिरहेको थियो। अर्कीले नांगा पाखुरा छाम्दै भनी, ‘ओइ जाडो लाग्यो। अबचाहि च्या खाऊँ।’

‘ज्यान तताउने चियाले होइन ओछ्यानले हो,’ पेटीमा अर्धबेहोसी भएर बसिरहेको एउटा ठिटोले भन्यो। उसको हातमा एउटा क्यान बियर थियो। बन्द सटरनिर जिउ र टाउको अडाएर ऊ आँखा चिम्लिरहेको थियो।

‘ओछ्यानसम्म लैजाने आँट छ भाइ,’ युवतीले झोँक मान्दै भनी। तर ठिटो बोलेन। ऊ झुम्म परेर बसिरह्यो।

आइमाईले थर्मसबाट खन्याएर तीन कप चिया हालिदिई‌। उनीहरू चिया पिउन थाले। एकैछिनमा पेटीमा लमतन्न परेको ठिटोलाई झकाउँदै उसका साथीहरूले लिएर गए।

‘दुई चार लात हानेर भागाउँथें। होसमा थिएन र पो,’ चियाको सर्को तानिरहेकी युवती ठिटालाई लैजाँदै गरेको बाटोतिर हेरेर भन्न थाली।

सडकबाट एक हुल मान्छेहरू हिँडे। हुलमा ठिटाहरू पनि थिए, युवती पनि। कोही ठिटाहरू युवतीसँग बाटोमै जोल्ठिएर हिँडेका थिए। कोही मुखमा बियरका बोत्तल घुड्क्याउँदै हिँडिरहेका थिए‌। केहीबेरमा तीन युवतीको सामुन्ने एउटा ट्याक्सी आएर रोकियो‌। ट्याक्सीको झ्यालबाट टाउको निकाल्दै अधबैंले पुरुषले उनीहरूतिर इसारा गर्यो। अघि ठिटोलाई गाली दिनेवाला युवती केटानजिक गई।

‘जाने हो?’

‘जाने, तर तीनजना चाहिएको छ।’

युवतीले आफ्ना साथीतिर इसारा गर्दै भनी, ‘दुई जना त्यहाँ छन्।’

‘एकजनाको कति?’ केटाले सोध्यो।

युवतीले दाहिने हातका पाँच औँला फिँजारी।

‘पाँच सयमा?’ केटा ङिच्च हाँस्यो।

युवतीलाई झोँक चल्यो‌। उसले दाहिने हातको माझी औँला उठाउँदै भनी, ‘त्यति मा त यी…।’

‘लु कतिमा भन न त।’

‘होल नाइट कि एकछिन?’

‘होल नाइट हैन। बिहान हुन थालिसक्यो।’

‘उसोभए तीन देऊ।’

‘तीन हैन, दुई दिन्छु।’

‘म सोधेर आउँछु।’

युवती आफ्नो साथी भएतिर लागी। तीनजनाबीच खासखुस चल्यो। त्यसपछि आइमाईलाई चिया र चुरोटको पैसा तिर्दै उनीहरू ट्याक्सी चढे।

‘काँ जाने हो,’ अघि बार्गेनिङ गरिरहेकी युवतीले सोधी।

‘सोह्रखुट्टे,’ केटाले भन्यो।

‘दुईजना कहाँ छन् अरु?’ अर्की युवतीले सोधी।

‘त्यहीँनिर छन्,’ केटाले भन्यो।

ट्याक्सी ठमेलको सडकबाट सोह्रखुट्टेतिर अगाडि बढ्यो। केहीबेरमा केटाले सोध्यो, ‘नाम के के हो तिमीहरूको?’

युवतीहरूले एकै स्वरमा भने, ‘किन चाहियो?’

केटा हाँसेजस्तो गर्यो। ‘हैन, नाम भन्दैमा के जान्छ त मैयाँ?’

‘मैयाँ हैनौँ हामी,’ युवतीहरूले झोक्किँदै भने।

‘अनि के भनौँ त?

मंगोलियन अनुहार भएकी युवतले भनी, ‘सन्जुमाया घर, नुवाकोट।’

आर्यन अनुसार भएका दुईटी युवतीले पालैपालो भने, ‘ सन्जुकुमारी, घर दोलखा।’
‘सन्जु शर्मा, घर धादिङ।’

नाम सुनेर केटा जिल्ल पर्यो। अनि ठट्यौली पारामा भन्यो, ‘नामचाहिँ यौटै परेछ नि, हगि!’

‘हामीसँग हुने थपिने साथीहरू सबैको नाम सन्जु हो‌,’ सन्जुमायाले जवाफ दिई।

त्यसपछि केटा चुप लाग्यो।

उनीहरू सोह्रखुटृटेको एउटा गेस्टहाउसनिर ओर्लिए। दुईजना केटा गेस्टहाउस अघिल्तिर उभिरहेका थिए। त्यसपछि-
एउटाले सन्जुमाया छान्यो।
अर्कोले सन्जुकुमारी ।

सन्जु शर्मा ट्याक्सीमा आउने केटाको भागमा परी। उनीहरू गेस्टहाउका अलग-अलग कोठातिर पसे।
०००

सात बजेपछि सन्जुहरू ठमेलका चोकमा पालैपालो देखा पर्छन्। अस्वभाविक मेकअपले भरिएको उनीहरूको अनुहार असामान्य टल्किन्छ। मेकअप भएन भने उनीहरूलाई लाग्छ- ग्राहक भड्कन्छन्।

उनीहरू आफूलाई आफूले चाहेको जस्तो बनाउन्नन्। जे सोच्छन्, ग्राहकको आँखाबाट सोच्छन्। अनि ग्राहकका लागि बिक्ने सामग्री बनिदिन्छन्।

‘क्या गतिलो माल,’ सन्जुमायाले कतिपक केटाहरूले आफ्नो बारेमा साउती मारेको सुनेकी छे।

सन्जुमायालाई सुरुका दिनमा उसकी साथीले भनेकी थिई, ‘हेर केटी। कुर्ता सुरुवाल लगाएर त गाउँ जाने हो। कपडा बदल्।’

नितम्ब र छातीमा लोग्नेमान्छेका किला जस्ता आँखा कसरी गाडिन्छन्, साथीले सुनाएकी थिई।

पहिलो दिन नाम र दोस्रो दिन अनुहार फेरेकी सन्जुमायाले तेस्रो दिनबाट त कपडै बदलेकी थिई।

अहिले ऊ नर्सिङ चोकनिर एक्लै उभिएकी छे। आठ बजे उसका दुई साथीहरूले ग्राहक भेट्टाएर हिँडे। नौ बज्नै लाग्यो, उनीहरू फर्किएका छैनन्। ऊ ग्राहक र साथी दुवैको पर्खाइमा छे।

ऊ यताउती डुल्छे। बाइक हुँइक्याएर हिँड्ने ठिटाहरू उसलाई जिस्क्याउँदै गुड्छन्। ऊ आमागाली दिँदै अघि अघि लाग्छे। सन्जुमाया अरुलाई आमागाली हैन, आफ्नै आमालाई पनि बेला-बेला गाली दिइरहन्छे। आमालाई सम्झियो कि ऊ क्रुद्ध भइहाल्छे।अनि आफैँले सुन्ने गरी भन्छे, ‘रन्डी…!’

हिँडिरहेकी सन्जुमायालाई कसैले पछाडिबाट पिछा गरेजस्तो लाग्यो। ऊ पछाडि फर्किई। एक हप्ताअघि भेटिएको भद्र ग्राहक टक्क उभिएको छ। उसले चिनिहाली।

‘ओ महासय। किन पिछा गरेको?’

‘पिछा गरेको हैन, पछि लागेको।’

‘तिमी जासुस हौ।’

‘हैन।’

‘को हौ त?’

‘तिम्रो ग्राहक।’

‘मेरा ग्राहकले त मबाट फाइदा लुट्छन्। भोक मेटाउँछन्।’

‘मैले पनि त मेटाएको छु।’

‘कस्तो भोक?’

‘जाऔँ। कोठामै गएर भन्छु।’

‘किन जाने?’

‘म तिमीलाई पैसा तिर्छु। तिम्रो समय किन्छु।’

‘अरुलाई मेरो शरीर चाहियो। तिम्लाई समय। कस्तो लोग्नेमान्छे? महासय, म अरुको पैसा सित्तै खादिनँ।’

‘थाहा छ।तिमीलाई सित्तैमा पैसा पनि त दिँदिनँ।’

‘ह्या, छिटो भन, तिमी के चाहन्छौ?’

‘तिम्रो समय?’

‘तिमीलाई मेरो बारेमा के चासो। पछि नलाग, म हिँडें।’

सन्जुमाया अघिअघि लागी। केटा पछिपछि। सोची, ‘पिछा नछाड्ने नै भयो।’

सन्जुमायालाई थाहा छ, यो युवकले उसलाई आफ्नो बारेमा सोध्नेछ। ऊ कि जासुस हो, कि पत्रकार। तर्केर हिँड्नुभन्दा झुटा कथा सुनाइदिऊँ ठानी। उसो त बितेका पाँच वर्षमा उसले कहिल्यै नबोलेका झुट बोलेकी छे। ठानी, ‘यसलाई झुट बोल्न के आइतबार।’

ऊ फेरि पछाडि फर्किएर केटालाई इसारा गरी, ‘जाने हो?’

‘अस्तिकै रेट?

‘उम्,’ उसले टाउको हल्लाइ।

त्यसपछि उनीहरू गेस्टहाउसको बाटोतर्फ लागे।
०००

सन्जुमायाले चुकुल लगाई। तर बत्ती निभाइन। ऊ बेडमा आएर थुचुक्क बसी। युवक पनि उसको नजिक आएर बस्यो। अनि केहीबेर आँखामा एकनाशले हेर्यो।

‘महासय, कपडा खोलूँ,’ सन्जुमायाले आफ्नो कर्तब्य बोली।

‘भैगो नखोल,’ युवकले शान्त आवाजमा भन्यो।

बन्द कोठामा लोग्ने मान्छेहरू नाँगिन कति हतार गर्छन्, उसले हरेक दिन देखेकी छे। उनीहरूको शरीरका सबै इन्द्रीय नियन्त्रणबाहिर हुन्छन्। उनीहरूको पाशविक स्वभावसँग सन्जुमाया कतिपटक जुध्नुपरेको छ। त्यतिबेला उसलाई लाग्छ, ‘ यी मान्छे र पशुमा के फरक?’

तर पहिलो पटक सन्जुमायाले बन्द कोठामा मान्छे देखेकी छे। ऊ युवकको नजिक गई। अनि कपाल सुम्सुम्याउँदै सोध्न थाली, ‘नढाँटी भन त, तिमीले नगरबधुसँग आजसम्म सम्भोग गरेको छैनौ?’

‘सम्भोग छैन। तर भोग गरेको छु। पैसा तिरेर गरिने पनि सम्भोग हुन्छ र!’

युवकप्रति जागेको माया एकाएक लुप्त भयो। उसले हठात् कपाल सुम्सुम्याउँदै गरेको हात हटाई। त्यसपछि झोंकिदै भनी, ‘अनि मलाई पनि भोग न त। के आदर्शवान बनेजस्तो गर्छौ?’

‘तिमीले यो काम थाल्दा मैले त्यो काम छाडिसकेको थिएँ।’

‘मैले यो काम कहिलेबाट थालेँ, तिमीलाई थाहा छ?’

‘त्यही त सोध्न खोज्दैछु। कहिलेबाट थाल्यौ?’

‘भयो नि। दश वर्ष।’

‘दश वर्षअगाडि त तिमी बाह्र वर्षकी थियौ।’

सन्जुमाया झस्किई। यो काममा लागेदेखि आजसम्म उसले सबैलाई उमेर ढाँटेकी छे। यो को मान्छे, जसले उसको साँचो उमेर बताइदियो।

‘तिमीले कसरी मेरो उमेर जान्यौ?’ सन्जुमायाले त्रसित आँखाले ऊतर्फ हेर्दै सोधी।

‘तिमीले भनेर,’ युवकले जवाफ दियो।

‘मैले कैले भनेँ?’

‘जतिबेला तिमी १७ वर्षकी थियौ।’

सन्जुमाया सालिकजस्तो भई। फटाफट बोलिरहेकी उसँग थप प्रश्न थिएन। अब युवकको बोल्ने पालो। ऊ बताउन चाहन्थ्यो केही कुरा। सन्जुको मौनतामा उसले कथाको घान हाल्यो।
०००

साँझमा मलाई ठमेल घुम्न मनपर्थ्यो। सुरुसुरुमा साथीहरूले लहैलहैमा ल्याए। नगरबधुसँग भेटाए। डर र कौतुहलता मनमा बरोबर थियो‌। एक दुई पल्ट यस्तै गेस्ट हाउसमा नगरबधुसँग एकाध पल्ट आएँ। त्यसपछि मन मर्यो। त्यो रहर कहिल्यै पलाएन। तर रातमा जागिरहने ठमेलसँग छुट्टै आकर्षण थियो।

मेरो लामा कपाल काँधसम्म झरेका थिए। गालामा झपक्क दाह्री पालेको थिएँ। त्यतिबेला चिन्ने मान्छेहरू अहिले मेरो यो हुलिया चिन्दैनन्।

त्यतिबेला यहाँ भेटिने पात्रहरू रमाइला लाग्थे। एकदिन रातको ११ बजेको थियो। म र साथी नर्सिङ चोकनिर चिया पिउन अडियौं। मन्दिरको छेउनिर एउटी किशोरी चिया बेचिरहेकी देख्यौँ। त्यहीबेला निलो भ्यान साइरन बजाउँदै आयो। हातमा थर्मस र टोकरी बोकेर अरू आइमाईहरू भागे, ऊ राम्रोसँग भाग्न पनि जानेकी थिइनँ। झन्डैले समातिएकी थिई।

भ्यान गएपछि अरु आइमाईहरू आए। तर ऊ निकैबेर आइन। एउटी बुढी मान्छे साँघुरो गल्ली भित्र गई। सानी केटीलाई अघि लगाउँदै भनी, ‘यसरी डराएर हुन्न बाबै। पुलिससँग लुकामारी गरिरहनुपर्छ। यसलाई त खेल सम्झिनुपर्छ।’

त्यो किशोरीको अनुहारबाट त्रास हटेको थिएन। उसको अनुहार मैले यसरी गहिरिएर हेरेँ, जुन कहिल्यै बिर्सन सकेको छैन। ऊ पूर्ववत् ठाउँमा आएर बसी।

त्यसपछि हामी गएर भन्यौं, ‘बहिनी चिया खाऊँ।’

उसले डर भरिएको लवजमा भनी,’कालो कि सेतो दाइ?’

हामीले सेतो चिया मगायौँ।त्यसपछि चिया पिउँदै मैले सोधेँ- तिम्रो घर कहाँ?

‘सिन्धुपाल्चोक, हेलम्बु।’

मेरो घर पनि सिन्धुपाल्चोक। कता कता माया भरिएर आयो। फेरि सोधेँ, ‘कति पढेको छौ?

‘आठसम्म पढेको छु,’ उसले निर्दोष भएर जवाफ दिएकी थिई।

‘कति वर्षकी भयौ?’ मैले सोधेको थिएँ।

‘१७,’ उसले एकै शब्दमा इमान्दार जवाफ दिएकी थिई।

हामी सामुन्नेको छिँडीनिर बसेर चिया पिउन थाल्यौँ। चिया पिएपछि उसलाई चियाको पैसा दिएर अघिल्तिर हिँड्यौँ। झण्डै आधा घण्टापछि मैले पाइन्टको दाहिने खल्ती छाम्न पुगेँ। खल्ती रित्तो छ।

‘मोबाइल खै?’म तर्सिएँ।

केहीदिन अघिमात्र किनेको नयाँ मोबाइल गायब थियो। कहाँ छाडेँ भनेर निकैबेर सम्झिन खोजेँ। तर सम्झनै सकिनँ। मन गह्रुंगो भयो। त्यसपछि साथी र म जुन जुन बाटो हिँड्यौँ। तिनै बाटोमा भुइँतिर आँखा झार्दै फर्कियौँ। ‘अब हराएको मोबाइल भेटिएला र?’ साथी रोशनले आशा मार्दै भन्यो। तैपनि झिनो आशा ममा बाँकी नै थियो।

खोज्दै जाँदा हामी अघि चिया बेचिरहेकी किशोरीको सामुन्ने पुग्यौँ। म निकै तनाबिलो देखिएको थिएँ। रोशन र म भुइँतिर केही खोजिरहेको उसले चाल पाइछ क्यारे।

‘दाइहरूले के खोज्नुभएको?’ किशोरीले सोधी।

‘मोबाइल हरायो। बाटोमा खस्यो कि भनेर खोज्दै हिँडेको,’ रोशनले जवाफ दियो।

‘ए। नयाँ हो? कालो कालो कभर छ दाइ?’

अचानक मेरो अनुहार किशोरीतिर मोडियो। उसले आफ्नो पुन्टे ब्यागबाट मोबाइल निकाली। कालो कभरको नयाँ मोबाइल मेरै थियो। मनमा शितल हावा बहेजस्तो थियो। मैले हलुका श्वास फेर्दै भनेँ, ‘हो बहिनी। त्यो मेरै मोबाइल हो।’
उसले मोबाइल मेरो हातमा थमाइदिँदै भनी, ‘तपाईंहरू गएपछि छिँडीनिर म गिलास टिप्न उठेँ। भुइँमा मोबाइल पो भेटियो। तपाईंहरूले नै खसालेको हुनुपर्छ भन्ने लाग्यो।’

करिब करिब आशा मारेको सामान थियो। मैले उसलाई खुसीसाथ एक हजारको नोट दिँदै भने, ‘धन्यवाद बहिनी। यो तिम्रो लागि।’

किशोरीले ठाडै मेरो ‘बक्सिस’ अस्वीकार गरी। अनि थोरै मुस्कुराउँदै भनी, ‘पर्दैन दाइ। म कसैको पैसा सित्तैमा लिन्न।’ युवतीको जवाफले म केही लज्जित भएँ। अनि उसको इमान्दारिताले मलाई कायल पारेको थियो।

त्यसपछि किशोरीकहाँ ३ कपसम्म चिया थप्यौँ हामीले। त्यतिन्जेल उसँग निकै कुरा भए। उसको बारेमा मैले सोधिरहेँ। उसले आफ्ना संघर्षबारे हामीलाई धक नमानी सुनाइरही।
०००

उसका बा काठमाडौं बस्थे‌। वर्षमा एकपल्ट मात्र घर जाने। आमा सधैं बालाई सम्झिएर रुन्थिन्, सराप्थिन्। एकाएक उसकी आमाले बालाई सम्झन छाडिन्। सराप्न पनि छाडिन्। एकदिन बिहान ब्युँझदा आमाको ओछ्यानमा आमा थिइनन्। आठ वर्षको भाइमात्र थियो। ऊ पन्ध्र वर्षकी थिई‌। ती दुईले आमालाई कहाँ कहाँ खोजेनन्। गाउँको मान्छेले भनिदिए, ‘तिमीहरूकी आमा पोइल गई।’

आमाले डामै बस्नेगरी कुट्दा पनि कहिल्यै रिसाएकी थिइन ऊ। उसलाई पहिलो पटक आमासँग नराम्रोसँग रिस उठ्यो। गाउँमा भाइ र उसले नपाउनु दु:ख पाए। आमा हराएको थाहा पाएपछि उसको बाउ गाउँ पुग्यो। बालाई छोरीले भक्कानिदै भनी, ‘कि घरमै बस्नु। कि हामीलाई लिएर जानू। एक्लै बस्न सक्दैनौं।’

त्यसपछि बाउले छोराछोरीलाई काठमाडौं लिएर आयो‌। सोह्रखुट्टेनिर एउटा पुरानो घरको अँध्यारो कोठामा लग्यो। ‘तँलाई पढाउन त सक्दिनँ। भाइलाई चाहिँ स्कुल हालौँला,’ बाउले भन्यो।

गाउँमा ८ कक्षासम्म पढेकी केटीले भाइको पढाइमै मन बुझाउने भई। भोलिपल्ट भाइलाई सरकारी स्कुलमा बाउले लिएर गयो।

बाउ घरहरूको ठेक्कापट्टा गर्थ्यो। केही दिन त नियमित डेरा आयो। त्यसपछि दिन बिराएर आउन थाल्यो। आउँदा खुट्टा टेकी नसक्नु हुन्थ्यो। असाध्यै रक्सी पिएर आउँथ्यो। विस्तारै ऊ हप्ता दिनसम्म पनि आउन छाड्यो। दिदी भाइ भोकभोकै पर्न थाले। भाइको पढाइ पनि रोकियो। त्यही घरको माथिल्लो तलामा बस्ने बुढी आमाले उनीहरूको नाजुक अवस्था सहन सकिन। केही दिन आफैँले खाना पनि खुवाई। एक साँझ केटीलाई ठमेल लिएर गई। रातभरि आफूले बेचिरहेको चिया र चुरोटको अवलोकन गर्न लगाइ।

‘आजबाट ऊ त्यहाँ बसेर तिमी यो काम गर्ने,’ आफूले जम्मा गरेका पैसाबाट सामान किनिदिएर बुढी आमाले केटीलाई नयाँ काममा लगाई।

त्यसपछि उसले फेरि भाइ पढाउन थाली। बचत गरेर जम्मा गरेको पैसाले बुढी आमाको ऋण पनि तिरी। उसले मलाई आफ्ना जीवन सारांशमा भनेकी थिई।

मैले उसलाई दुई तीन पटक त्यही चोकमा भेटेँ। त्यसपछि निकै महिना म ठमेल गइनँ। एकदिन गएँ,चोकमा मलाई कहानी सुनाउने केटीलाई देखिनँ। अर्को दिन गएँ, त्यो दिन पनि देखिनँ। त्यो चोकमा चिया बेचिरहेकी केटी अचानक हराएको पाएँ।

म जागिरको सिलसिलामा ५ वर्ष सहरबाहिर थिएँ। केही महिना भयो, काठमाडौं फर्किएको। एकदिन यसैगरी ठमेल घुमिरहेको थिएँ। पाँच वर्षअघि चोकबाट हराएकी चिया बेच्ने केटीको निर्दोष अनुहार तिमीसँग दुरुस्तै मिल्यो।
तिमीलाई थाहा छ, म तिम्रो पिछा गरिरहेको हुँदै हैन। त्यही हराएकी केटीलाई खोज्दै हिँडेको हुँ। भन त्, त्यो केटीलाई तिमीले कहाँ छाडेर हिँड्यौ?
०००

सन्जुमाया मूर्तिवत अडिरही। वर्षौंपछि उसका आँखा एकाएक भिज्न थाले। उसले उज्यालो

कोठालाई धमिलिँदै गरेको देख्न थाली। सन्जुमायाको अगाडि विगत काँचका पर्दाझैं तेर्सिरहेको छ। पर्दामा दुखान्त चलचित्रको दृश्य चलिरहेको छ। दृश्यमा एकाएक साइरन बजाउँदै गरेको निलो भ्यान आइपुग्छ। बर्दीधारी प्रहरी ओर्लन्छन्। चिया बेचिरहेकी किशोरीको थर्मस र टोकरी थुतिन्छन्, भागाभाग हुन्छ। ऊ याचना गर्दै प्रहरी सामु रुन्छे।

दोस्रो दृश्यमा उसको भाइ बिरामी छ। कोठामा बाउ आउन छाडेको महिनौँ भयो। भाइलाई सिटामोल किन्नेधरी पैसा छैन। ऊ साँझको ७ बजे मुर्छित भएर बाहिर निस्कन्छे। वरिपरी केही युवतीहरू बार्गेनिङ गरिरहेको देख्छे। ‘चिया बेचेर हुन्न, जवानी बेच्नुपर्छ,’ महिनौँदेखि चोकमा साथी बनेका यौनकर्मी साथीहरूले जिस्कँदै भनेका वचन सम्झिन्छे। उनीहरूले सुनाएका बाध्यताका कथा सम्झिन्छे।

सम्झँदै ऊ सरासर आफूले चिया बेचिरहेको चोकनिर पुग्छे।

वरिपरि हेर्छे। केही असहज मान्छे। उसका धड्कन जोडले चलिरहेका छन्। एकाएक शरीरमा गर्मी बढिरहेको छ। ऊ हातले निधारको पसिना पुच्छे। आँखा चिम्म गर्छे। त्यहाँबस्दा युवतीहरूले साउतीमा गरेका बार्गेनिङ सम्झिन्छे। आँखा खोल्छे। उसलाई घुरेर एकजना लोग्नेमान्छे हेरिरहेको छ। उसले पहिलोपटक कसैलाई इसारा दिन्छे। त्यो लोग्नेमान्छे उसको नजिक आइपुग्छ। केटीको मुटु डरले काँप्न थालेको‌ छ। तर भाइको आगोको भुंग्रोझैं तातिरहेको निधार सम्झिन्छे।

अनि भएभरको आंट जुटाएर लोग्नेमान्छेलाई भन्छे, ‘जाने हो?’

‘कतिमा?’

‘१५ सय,’ उसले पहिलोपटक आफ्नो शरीरको मूल्य तोक्छे।

त्यसपछि ऊ लोग्नेमान्छेको पछि लागेर गेस्ट हाउसभित्र पस्छे।

पहिलो रात गेस्टहाउबाट निस्कँदा सन्जुमायाका गोडा रगतले भिजेका थिए भने अनुहार आँसुले। आज गेस्ट हाउसबाट निस्कँदै गर्दा सन्जुमाया त्यो रात सम्झिरहेकी छ।

आज उसको आँखा भिजेको छ। पीडाले हैन, कि ग्लानिले?

उसलाई बाहिर निस्कँदै गर्दा युवकले भनेको थियो, ‘तिमीले ग्लानि हुने काम आजसम्म गरेकी छैनौ। तिमीसँग सबैभन्दा इमान्दारिता छ। जुन हिजोको चिया बेचिरहेकी केटीमा थियो।’

सन्जुमाया वरिपरी कतै हेर्दिन।

पाँच वर्षपछि पहिलो पटक मध्यरातमा उसको हिँडाइको चाल फेरिएको छ। ऊ फटाफट कतै हिँडिरहेकी छ। उसलाई चोकमा सन्जुहरूले देखे। बोलाए। तर ऊ बोलिनँ। पछाडि पनि फर्किनँ। ऊ ठमेलको सडकबाट कतै अलप भई।

त्यसपछि आजसम्म कसैले सन्जुमायालाई ठमेलमा भेटेको छैन। सन्जुहरू चोकनिर बसेर बेला-बेला उसको वास्तविक नाम लिँदै सम्झिरहने गर्छन्, ‘अब गंगा कहिल्यै फर्कन्न जस्तो छ।’

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

1 Comment

  1. वाह! अति सुन्दर दाजु… पढि रहदाँ गह भिजेको पत्तै भएन ….

Leave a Response