समाचार

बेलायतका नेपाली विद्यार्थीमाथि आर्थिक–मानसिक दबाब

128views

लण्डन: बेलायत अध्ययन गन्तव्यका रूपमा आकर्षक देखिए पनि त्यहाँ पुगेपछि नेपाली विद्यार्थीहरूले आर्थिक, शैक्षिक र मानसिक दबाब तीव्र रूपमा महसुस गरिरहेको तथ्य एक वेबिनारमार्फत सार्वजनिक गरिएको छ। विज्ञहरूले यथार्थ अवस्था नबुझी विशेषगरी स्नातक तहमा अध्ययन गर्न जानेहरूका लागि जोखिम बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

बेलायतस्थित संस्था ब्रिज नेपालले २१ फेब्रुअरी शनिबार आयोजना गरेको अनलाइन छलफलमा सहभागी वक्ताहरूले वर्तमान आर्थिक मन्दीका कारण रोजगारी अवसर संकुचित भएको र पार्टटाइम कामबाट विश्वविद्यालयको उच्च शुल्क धान्न कठिन भएको उल्लेख गरे। समयमा शुल्क तिर्न नसके वा शैक्षिक मापदण्ड पूरा नगरे विद्यार्थीको भिसा नै रद्द हुन सक्ने जोखिमबारे पनि चर्चा भयो।

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले अध्ययनका लागि आएका विद्यार्थीले पढाइलाई प्राथमिकतामा नराख्दा थप जटिलता उत्पन्न हुने बताए। उनले कतिपय शिक्षण संस्थाबाट अनावश्यक दबाब सिर्जना भएको गुनासो आएपछि नेपाल सरकारले सम्बन्धित विश्वविद्यालयका हकमा ‘एनओसी’ स्थगनसम्मको कदम चालेको जानकारी दिए। शैक्षिक परामर्शदाताहरूलाई वास्तविक अवस्था स्पष्ट रूपमा जानकारी गराउन उनले आग्रह गरे।

दूतावासले विद्यार्थी समस्या सम्बोधनका लागि निरन्तर पहल गरिरहेको जनाउँदै दुवाडीले आवश्यक परे सिधै सम्पर्क गर्न आह्वान पनि गरे। यसअघि सरोकारवालासँग छलफल गरेर समस्याको पहिचान र समाधानका उपाय खोजिएको प्रसंग उनले स्मरण गरे।

बेलायतस्थित नेपाली विद्यार्थी संगठनहरूको छाता सञ्जाल मर्जिङ नेपसोक्सका अध्यक्ष पवन कंडेलले पछिल्लो समय नेपाली विद्यार्थी संख्या उल्लेख्य रूपमा बढेको तर त्यसअनुसार सहजीकरण नहुँदा समस्या चुलिएको बताए। घरभाडा व्यवस्थापन, कामको अस्थिरता र विश्वविद्यालयको कडाइका कारण धेरै विद्यार्थी तनावमा रहेको उनले जनाए। कतिपय विद्यार्थीले समयमै शुल्क तिर्न नसक्ने, अरूबाट असाइनमेन्ट लेखाउने वा नक्कल गर्ने जस्ता कारणले निष्कासन झेलिरहेको तथ्य पनि उनले प्रस्तुत गरे।

शैक्षिक परामर्श कम्पनी बिज एजुकेसन युकेका निर्देशक हरि कार्कीले ऋण लिएर छोराछोरीलाई स्नातक तह पढ्न पठाउने निर्णय पुनर्विचार गर्न सुझाए। आर्थिक दबाब र मानसिक तनावका कारण गम्भीर परिणाम निम्तिन सक्ने भन्दै उनले परिवारसमेत प्रभावित हुने अवस्था आउने चेतावनी दिए।

कानुनी पक्षबारे जानकारी दिँदै एभरेष्ट ल सोलिसिटरका प्रिन्सिपल सोलिसिटर राजु थापाले पछिल्ला अध्यागमन नियमले अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कडाइ बढाएको बताए। अध्ययन अधुरो छाडेर ‘असाइलम’ दाबी गर्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै उनले त्यो बाटो फलदायी नहुने स्पष्ट पारे। नियम उल्लंघन वा ओभरस्टे गरेमा दशकभर पुनः प्रवेश निषेध हुन सक्ने जोखिमबारे पनि उनले सचेत गराए।

समुदायको भूमिकामाथि जोड दिँदै एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले बेलायत पुगेका विद्यार्थीलाई मार्गदर्शन र साथ आवश्यक रहेको बताए। कार्यक्रममा वरिष्ठ पत्रकार भगीरथ योगीले सहजीकरण गरेका थिए भने आयोजक संस्थाका निर्देशक डा. जगन कार्कीले कार्यक्रमको उद्देश्य स्पष्ट पारे।

उनका अनुसार पर्याप्त पूर्वतयारीबिना विश्वविद्यालय भर्ना हुने, ट्युशन शुल्क तथा बसोबास खर्चको जोहो गर्न नसक्ने, काम र आवास समस्या तथा अध्यागमन नियमबारे जानकारीको अभावजस्ता विषयमा खुला बहस आवश्यक देखिएकाले कार्यक्रम आयोजना गरिएको हो।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.