
वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत भ्रमणका क्रममा बेलायती सांसद जेरेमी कोर्बिनसँग बेलायतको संसद भवनमा भेटवार्ता गरेका छन् ।
साक्षात्कार छलफल टोलीमा बामपन्थी नेता प्रकाश शर्मा ज्ञवाली, गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समितिका केन्द्रीय सदस्य एवम् पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेशका सहसंयोजक रण खाति क्षेत्री, प्रवासी एकता मञ्च युकेकी संयोजक बिमला लिम्बु, वामपन्थी नेता तोयनाथ रिजाल तथा एनआरएनए इङ्ग्ल्याण्ड राज्य परिषद्का निवर्तमान अध्यक्ष शम्भु प्रसाद अर्याल सहभागी थिए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीको पहलमा आयोजित उक्त भेटमा नेपाल र बेलायतमा रहेका नेपाली समुदाय तथा वाम आन्दोलनसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो। भेटका क्रममा सांसद जेरेमी कोर्बिनले बेलायतमा बसोबास गर्ने नेपाली समुदाय, विशेषगरी ब्रिगेड अफ गोर्खासँग सम्बन्धित नेपालीहरू, श्रमिक वर्ग तथा निम्न आय भएका समुदायले भोगिरहेका समस्याबारे चासो व्यक्त गरे ।

संसद भवनको भेटपछि मोहन विक्रम सिंहसहितको टोलीले लन्डनस्थित नेपाली दूतावासको भ्रमण गरेको थियो। त्यसपछि गोल्डेन सिप रेस्टुरेन्टमा आयोजित ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा सहभागीहरूबीच नेपालको वाम आन्दोलन, राजनीतिक भविष्य तथा राष्ट्रिय चुनौतीबारे खुला छलफल भएको थियो।
छलफलमा बोल्दै नेकपा युरोपका नेता रण खाति क्षेत्रीले विगतका जनआन्दोलन, जनयुद्ध र विभिन्न राजनीतिक आन्दोलनहरूले व्यवस्था परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याए पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको टिप्पणी गरे । उनले बाम आन्दोलनलाई पुनः सशक्त बनाउन विभाजित शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताए । प्रवासी मञ्च यूकेका अध्यक्ष पशुपति पोखरेलले नेपालमा वामपन्थी दलहरूको पछिल्लो चुनावी पराजयको कारण नेतृत्व हस्तान्तरणको अभाव, गुटबन्दी, पार्टी रूपान्तरणमा कमजोरी तथा भ्रष्टाचारप्रति जनताको बढ्दो असन्तुष्टि रहेको औल्याए ।
कार्यक्रममा उपस्थित सहभागीहरूले मोहन विक्रम सिंहसँग प्रत्यक्ष संवाद गर्दै नेपालको राजनीतिक अवस्था, वाम आन्दोलनको दिशा तथा राष्ट्रिय मुद्दाहरूमा आफ्ना धारणा र जिज्ञासा राखेका थिए ।



