
सेन्टर फर नेपाल स्टडिज युकेले (CNS, UK) प्रत्येक महिनाको पहिलो शनिबार ‘नेपाल संवाद शृंखला’ आयोजना गर्दै आएको छ। जुन महिनाको संवादमा नेपाली मूलका व्यवसायीहरूले युकेमा व्यवसाय गर्दाका सम्भावना र चुनौतीबारे आफ्ना धारणा राखे ।
नीति नियमको पूर्ण पालना, उच्च गुणस्तर र उत्कृष्ट सेवा प्रवाहलाई प्राथमिकता दिँदा बेलायतमा व्यवसाय गर्न सकिने संवादको निष्कर्ष रहेको थियो ।
ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका (BNCC) अध्यक्ष बिराज भट्टले बेलायतमा नेपाली व्यवसायको स्वरूप विगतको तुलनामा निकै विविध बनेको बताए।
नीम ट्री फार्मेसीकी सीईओ (Neem Tree Pharmacy) एवं संस्थापक शोभा शर्मा कँडेलले स्वतन्त्र फार्मेसी व्यवसाय चेन तथा अनलाइन फार्मेसीहरूसँगको तीव्र प्रतिस्पर्धामा रहेको बताइन्। फार्मेसी क्षेत्र अत्यन्तै नियमनयुक्त व्यवसाय भएकाले नियमहरूको कडाइका साथ पालना गर्नुपर्ने उनको भनाइ थियो।
इरो सुशी (IRO SUSHI) कम्पनीका निर्देशक तथा युवा उद्यमी छोङ शेर्पाले नेपालको दुर्गम क्षेत्रबाट अध्ययनका लागि बेलायत आएपछि सुरु गरेको आफ्नो यात्रा सुनाउँदै सुसी रेष्टुरेन्ट व्यवसायलाई विस्तार गर्दै हाल ३४ वटा फ्रेन्चाइज सञ्चालनमा रहेको जानकारी दिए।
नेप्लिज क्याटरर्स एसोसिएसन (Nepalese Caterers Association) यूकेका अध्यक्ष विजय थापाले प्रारम्भिक चरणमा नेपाली रेष्टुरेन्टलाई चिनाउन कठिन भएकाले व्यवसायको नाममा ‘तन्दूरी’ शब्द जोड्ने प्रचलन रहेको स्मरण गरे। अहिले नेपाली रेष्टुरेन्टले आफ्नै पहिचान बनाइसकेको बताउँदै उनले दक्ष कामदारको अभाव र व्यवसाय युवापुस्तामा हस्तान्तरण गर्न कठिन भइरहेको बताए।
वरिष्ठ पत्रकार भगीरथ योगीले सञ्चालन गरेको संवाद कार्यक्रममा युकेमा रहेका अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी तथा व्यवसायीहरू ‘जुम’मार्फत जोडिएका थिए ।



