युके विशेषसमाचार

विवेकले धोका खायो

गोविन्द बेल्वासे

709views

माधवको मोबाइलमा घन्टी बज्यो । पहिलो घण्टीमै हरियो रङको बटन थिचेर फोन कानतिर उचाल्दै ‘हे…लो’  भने । मानौं कि उनी फोन आउँछ भन्नेमा पूर्ण विश्वस्त थिए । फोन छोरा विवेकको थियो ।

साढे दुईघण्टा जतिको त्यो पर्खाइ दुई जुनी ब्यतित गरेभन्दा पनि लामो मान्दै थिए उनी । पर्खाइको समय कस्को पो छिटो कट्छ र ! छट्पटि र आतुरीमै माधवले फोनमा कुरा गरिसके ।

हुन पनि उनले धेरै जुनीदेखि यो खुसी बटुल्ने रहर पालेर बसेका थिए । जुन खुसीको खबर सुन्न त्यो फोनको घण्टी पर्खिरहेका थिए ।

छोरो विवेक तीन वर्षको भएको बेला सरस्वती-पूजाको दिन थियो । सरस्वती माताको फोटोअगाडि दियो बाले । त्यसैअगाडि छोरालाई राखेर उनले कलम, कापी, पेन्सिल हातमा थमाइदिए । सिलपाटी र खरी काखमा राखिदिए । त्यसै दिनको साँझदेखि माधवले हरेक बिहान क, ख, ग पढाउन थालेका थिए । भोलिपल्ट बिहान उनले च, छ, ज सिकाए । क्रमशः हरेक बिहान र साँझ उनले ट, ठ, ड  गर्दै थप्दै गए । सिकाउँदै गए । छोरो काबिल बनाउन उनी तल्लीन भए ।

छोरोलाई सुत्दा पनि सँगै सुताउँथे । एवंरीतले सुत्ने समयमा र बिहान जागेपछि विस्तरा छाड्नुअघि कखहरा घोकाए । त्यसपछिका साँझ र बिहानमा उनले एक,  दुई,  तीन गर्दै नम्बर घोकाउन थाले । अलिअलि संख्या थप्दै एकसय सम्मका सबै नम्बर सिकाए । त्यसपछि एकाइ दुहाइ पनि घोकाए । तीक्ष्ण बुद्धि भएकोले विवेकले पनि सरासर सिक्दै गयो ।

माधवको जीवनको मुख्य लक्ष्य भनेकै छोरो सक्षम बनाउनु थियो । विवेक सक्षम भएर लायक बन्नु नै मोक्ष्य प्राप्ति हुनु हो भन्ने मानसिकता थियो उनको । धेरै सन्तान जन्मिए भने सबै सन्तानलाई सक्षम बनउने स्रोत जुट्दैन भन्ने चिन्ता थियो उनलाई । त्यसैले एउटा सन्तान मात्र बनाए ।

पहिलो सन्तान छोरो नभैदिएको भए ?

अर्थात् पहिलो सन्तान छोरी जन्मिएकी भए उनले श्रीमतीको मन बुझाउन सक्ने सम्भावना थिएन । किनकी कल्पनाले माधवको मात्र कुरा सुनेर जिन्दगी चल्दैन । समाज, आफन्त, छिमेकी, इष्टमित्र सबैतिरको अनेक कुराको दवाव लोग्नेलाई भन्दा नारीलाई बढि बेहोर्न पर्छ । सबैभन्दा बढि त सासुको नाति खेलाउने रहरले नै उनलाई थिचेको हुन्थ्यो ।

धन्न पहिला सन्तान नै छोरो जन्मियो । न्वारनको नाम विवेक जुर्यो । श्रीमती कल्पनालाई घर, माइत, इष्टमित्रको दोस्रो सन्तान चाहियो भन्ने ठूलो दवाव झेल्न परेन । एक सन्तानको मात्र भर परेर हुँदैन भन्ने नमागेका सल्लाह पनि कति पाए–पाए माधव र कल्पनाले । अघिल्लो पुस्तासम्म बाल मृत्युदर अती धेरै रहेको चलन धान्न चाहनेहरूको कमी छैन हाम्रो समाजमा । त्यसैले उनीहरू एक सन्तानको भर हुँदैन भन्ने कथनलाई निरन्तर दोहोर्याइरहन्छन् ।

०००

फोनमा छोराले खुसीको समाचार सुनायो । नतिजा प्रकाशित भएको र दोस्रो नम्बरमा विवेकको नाम लेखिएको खबर उसले एकैसासमा भन्यो ।

उनले जीवनको सबैभन्दा ठूलो खुसी बाँड्ने तथा साट्ने साथी आफ्नै श्रीमतीलाई बनाउने निधो गरे । हत्तपत्त भान्सातिर गए । भान्साको ढोका खोलेर भित्र पसे । भान्साको गन्धले घर भरिन्छ; घर दुर्घन्धित हुन्छ भनेर भान्साको ढोका लगाएर झ्याल खोलेर खाना पकाउने कल्पनाको बानी छ ।

ढोका खोल्नासाथ कुकरको सिटीले हल्ला गरेकाले आफ्नो बोली श्रीमतीले सुन्दिनन् भनेर एकछिन चुप बसे । कुकुरमा अटेसमटेस भएर भित्र अटाउन नसकेर टोपी उचालेर निस्किएको बाफले सिटीको आवाज निकालेको थियो । ढोका खोल्नु र सिटी बज्नु एकै पटक भयो ।

भित्र अटाउन नसकेको बाफ जति निस्किएर उचालिएको अवस्थाबाट कुकरको टोपी थ्याच्च बस्ना साथ हल्ला पनि बन्द भयो । त्यसपछि बल्ल भुटिँदै गरेको तरकारीको चर्चराहट सुनियो । कुकरको करकस आवाज पछिको चर्चराहट माधवलाई मीठो धुन जस्तो लाग्यो । मनको खुसियाली श्रीमतीलाई सुनाउँदा मीठो तरङ्गको मिठास धुनले साथ दिन्छ जस्तो ठाने ।

त्यही मौका मिलाएर बुढाले श्रीमतीलाई खुसीको खबर सुनाए-

‘ल अब तिम्रा ऐस आराम गर्ने खुसीका दिन सुरु भए । छोरो इन्सपेक्टर भयो ।’

कल्पना बिचरी श्रीमानको खुसीको खबरमा सरिक हुन चाहन्थिन । अर्कोतिर एउटा पीरले उनलाई चस्स घोच्यो । इन्सपेक्टरको तालिम साह्रै मुस्किल हुन्छ भनेर धेरैले सुनाएका थिए । आफ्नै मामाको छोरो तालिम पुरा गर्न नसकेर भागेको पीडाले कल्पनाको मुटुमा च्वास्स घोच्यो । छोरोले अब तालिम अवधिमा भोग्ने पीडाको दुख्ख उनले मनभित्रै लुकाइन । अनुहारसम्म पुगेर देखिन उनले दिइनन् । अनुहारमा त्यो दुख्ख देखिएको भए माधवको खुसी घट्ने थियो । कल्पनाले त्यो खुसी घट्दै नघटोस् भन्ने चाहिन । खुसीमा कुनै कमी आउन नदिने गरी छोरो घर आइपुग्दासम्ममा खाना तयार गर्ने सोचिन । चाँडै गएर खसीको मासु किनेर ल्याउन माधवलाई भनिन ।

खाना पनि तयार भइसकेको थियो । एकैछिनमा गेटभित्र छिरेको मोटरसाइकलको स्टार्ट बन्द भएको आवाजले विवेक पनि घरमा पुगेको जानकारी दियो । माधव मख्ख थिए । सरिफ, होनहार, आज्ञाकारी, छोरो आएर सोफामा बस्यो ।

माधवले खुसियालीले अनियन्त्रित हुन खोजेको स्वरलाई सीमाभित्रै राख्नै प्रयास गर्दै भनेः ‘अब तालिम सकिएर आउनासाथ राम्रो मालदार ठाउँमा पोष्टिङ गराउने तरिका मलाई थाहा छ । हेर, यो देशमा इमान्दार कर्मठ कर्मचारी बनेर मात्र केही हुनेवाला छैन । मालदार ठाउँमा पुगेर उपरि माल बटुल्न पर्छ । इज्जत पावर सवै पाइन्छ ।’

माधव आज अर्कै मुडमा थिए । बोलिरहे । हजारौं वर्षदेखि मानौं केही कुरा भनिएको छैन । उनी बोलिरहे-

घर धितो राखेर लिएको ऋृण तिर्न छ । यो गल्लीभरिका सबै छिमेकीले तीन तल्लाभन्दा अग्ला घर बनाएका छन् । हाम्रो पनि टोलको सबैभन्दा अग्लो र राम्रो घर बनाएर देखाइदिने हो । तेरो मोटरसाइकलको किस्ता तिर्न नपुगेर जेठानसित मागेर तिरेको छु । अबबाट त्यस्ता किस्तासिस्ताको चिन्ता पनि हरायो । मालदार ठाउँमा पोष्टिङ गराएँ भने मेरो काम सकिन्छ । ऋृण तिर्ने, तला थप्ने र धुमधामले तेरो विवाह गर्ने पैसा तैंले कमाउने हो । यहाँ सोझो बन्यो भने दुख्ख पाइन्छ । बाठो बन्न पर्छ बाबै ।

यता विवेक भने हातको मोबाइल हेरेर र त्यसैमा औला चलाएर बसेको थियो । केही बोलेन ।

दिन बिते। महिना बिते । विवेकको तालिम पनि पुरा भयो । माधवले ससुरा बुवालाई भन्न लगाएर जुराएको सोर्सले पनि काम गर्यो । विवेकको पोष्टिङ काठमाण्डौ एयरपोर्टमा भयो । माधवका ससुराले स्कूलमा पढाएको विध्यार्थी गृहमन्त्री बनेको फाइदा विवेकको भागमा पर्यो । स्कूलमा मात्र हैन, घरमै पुगेर टिउसन पनि पढाउने गर्थे अहिलेका गृहमन्त्रीलाई उनले ।

मन्त्रीले नि गुरूदक्षिणा तिरेको ठानेर विवेकलाई एयरपोर्टमा पोष्टिङ गराइदिए ।

०००

तर यता बाउले गरेको आशाभन्दा उल्टो विवेकमा इमान्दारिताको नसा चढेको थियो । देश र जनताको नाममा राष्ट्रसेवकका रूपमा खाएका सपथको भूत सवार थियो उसको दिमागमा । फूर्तिलो शरीर, गठीलो ज्यान, चौडा छातीको लर्के प्रहरी अफिसर । उसका तेजिला आँखाले जतापनि हेर्न र चियाउन भ्याउँथ्यो । कतातिरबाट आएर कता जाँदै गरेका टेक्सीमा कस्ता प्यासेन्जर छन् भन्नेसम्म पनि हेक्का राख्थ्यो । भरखर तालिमबाट खारिएको तातो रगतमा जनसेवाको ज्वारभाटासँगै राजनैतिक फोहोर विरूद्धको विष मिसिएको कक्टेलले उसलाई पोलिरहेको थियो ।

माघ महिनाको अपह्रान्न थियो । बादलले ढाक्दा घाम नअस्ताउँदै पनि साँझ परेझै थियो मौसम । विवेक आफैले चलाइराखेको प्रहरी जीप गौसाला हुँदै जाँदा अन्तर्राष्ट्रिय बिमानस्थलको गेट पुग्ने समय हुँदैथियो । बिमानस्थल तिरबाट विदेशबाट आएका यात्रुका सामान र प्यासेन्जरले उटुसमुटुस गर्दै भरिएका ट्याक्सी उसले सधैं देख्थ्यो । कोही सिनामंगलतिर लाग्थे । कोही उत्तरतिर हानिन्थे । उसले गर्ने दैनिक ड्यूटीमा त्यो दृष्य सामान्यजस्तै भएको थियो । त्यो देख्ने बानी नै बसेको थियो । तर, आज भने एक फरक दृष्य देखियो ।

आज भने एयरपोर्टबाट निस्कँदै गरेको टेक्सीमा चालकमात्र छ । विवेकले पहिलोपटक यस्तो देख्यो । प्यासेन्जर कोही नबोकी निस्कँदै गरेको चालकको अनुहारमा उदासिनता पनि छैन । ग्राहक नपाएकोमा मलिन पनि छैन । बरू मख्ख देखिन्छ । विवेकलाई त्यो दृष्य ठूलो आश्चर्य लाग्यो । उसको मनमा संशय उब्जियो । ऊ जाँदै थियो एयरपोर्ट छिर्न । मोडिनु पर्ने थियो बाँया । तर, उसले मन बदल्यो । त्यो टेक्सीको पिछा गर्ने मनसाय बनायो । उसले जीपको स्टेरिङ दाया मोडेर फनक्क जताबाट आएको थियो त्यसै दिशा तिर गुडाउन थाल्यो । गौशाला जाने बाटो तिर बढ्दै गयो ।

विवेकले पिछा गर्न चाहेको टेक्सी तीनवटा गाडीभन्दा अगाडि गैसकेको थियो । बीचमा दुर्इ मोटरसाइकल पनि छिरेका थिए । उसको जीप मोडिएको मात्र थियो एयरपोर्टबाट निस्कँदै गरेको अर्को टेक्सीमा पनि चालक मात्र देखियो । त्यो टेक्सी पनि विवेकको जिपको पछिपछि गुड्न थाल्यो । विवेकले अगाडिको ट्याक्सीलाई पनि ख्याल गर्दै ऐनामा पछिपछि आउँदै गरेको चालकमात्र बसेको टेक्सीको पनि ख्याल गर्दै अगाडि बढ्दै गयो ।

कथाकार तथा लेखक गोविन्द बेल्वासे ।

एकछिन पछि विवेकले जीपको बाँया साइड लाइट झिपीझिपी पार्दै गति घटायो । त्यहि मौकामा पछाडिको ट्याक्सी पनि उसको अघिअघि गुड्न थाल्यो । अलि परसम्म नै पच्छाउँदा पनि दुबै ट्याक्सी अरू कुनै बाटो नमोडिएर धुम्बाराइ तिर गैरहे । एक छिन पछि उसले महशुस गर्योः उसले सवैभन्दा पहिला ख्याल गरेको टेक्सीभन्दा अझै अगाडि पनि उस्तै गरी अर्को टेक्सी पनि जाँदै रहेछ । अब भने उसको संशय सङ्कामा बदलियो । विवेकको कुममा झुण्डिएको रेडियोको बटन थिचेर धुम्बाराही बीटको प्रहरी कोड जोडेर आफ्नो आदेशमा ध्यान दिन भन्यो । अर्को तर्फबाट रोजर भन्ने सुनेपछि ती तीनवटा टेक्सीको विवरण सुनायो । साथै ती ट्याक्सीलाई गोपीकृष्ण हल पछिको उकालोनिर रोकेर तलासी लिन भन्यो ।

आदेश पालन गर्ने टोलीले टेक्सीका तीनैजना ड्राइभरलाई रोकेर छेउमा उभाए। विवेक जीपबाट झरेर ती ड्राइभरनिर पुगेर सोधे, ‘एयरपोर्टबाट प्यासेन्जर नलिइ कुनै पनि ट्याक्सी खाली आउन पर्दैन । चौबीसै घण्टा प्यासेन्जरको अभाव नै हुँदैन । तर, तपाईंहरू किन खाली आएको प्यासेञ्जर पाइएन ?’

 तीन चालकमध्ये दुर्इवटा अलि किशोर उमेरका चञ्चले स्वभावका देखिन्थे । एउटाचाहिं चालिस वर्ष जतिको चालक रहेछन् । उनको पहिरन पनि अलि चिटिक्कको रहेछ । अल्लारे त पटक्कै नदेखिने । हातमा पनि महँगो खालको घडी बानेका रहेछन् । चस्मा पनि महँगो लगाएको देखेर विवेकको ध्यान उनैतिर बढी तानियो । विवेकको प्रश्नमा उसैले जवाफ दिन थाल्यो, ‘हैन सर, एकजनाले फोन गरेर एयरपोर्टबाट सामान लिएर बाँसघारी पुर्याइदिन भने । त्यही सामान टेक्सीको डिक्कीमा हालेर ल्याएको छ । प्यासेन्जर त कोही छैन तर भाडा पुरै दिन्छु भनेको छ ।’

विवेकले अर्का दुर्इ चालकतिर हेर्यो । उनीरूले पनि त्यही कुराको पुष्टि गरे। आफ्नो टेक्सीको डिक्कीमा मात्र नअटाउने भएपछि ती दुर्इ टेक्सीलाई पनि पहिलो चालकले सामान बोकाएको पुष्टि भयो । दुई किशोर चालकसँग त जसको सामान हो त्यो ब्यक्तिको फोन नम्बरसम्म पनि रहेनछ ।

विवेकले पहिलो चालकलाई सामान मालिकको फोनमा डायल गरेर त्यहीँ बोलाउन पठायो । एकैछिनमा नयाँ चम्चमाउँदो ल्याण्डरोभर जीप आएर विवेकले रोकेको प्रहरी जीपको पछाडि रोकियो । त्यो गाडीबाट एउटा गठिलो ज्यान भएको युवा विवेक उभिएको ठाउँसम्म आयो । विवेकसंग अनुरोध भावमा भन्यो, ‘हजुर,  सर त्यो गाडीमा हुनुहुन्छ, त्यहीँ गाडीमा हिड्नुस रे, त्यही गाडीभित्र बसेर कुरा गर्ने भनेर बोलाउन पठाउनुभएको छ ।’

त्यो सुनेपछि विवेकलाई विषय अहिलेसम्म बुझेको र शङ्का गरेको भन्दा गम्भीर छ भन्ने भान भयो ।

त्यसरी उल्टै गाडीमा बोलाउन पठाएको विषय विवेकलाई पटक्कै चित्त बुझेन । उसको त्यो ताल देखेर विवेकको कर्तब्यपरायण प्रहरीज्वरो एक डिग्री थपियो । उसको प्रहरी ड्यूटी अझै कडकदार बन्यो । तालिममा सिकाइएका कुराहरू याद आउन थाल्यो । संगठीत अपराधीहरूको सञ्जालले अनुसन्धान पहलमा दवाव दिने तिगडमको चर्चालाई मनन गर्यो । अलि रवाफिलो शैलीमा ‘मर्यादा थाहा नभएजस्तो छ, मालिकलाई यहाँ बोलाएर ल्याउ ।’

विवेकको इसारा बुझेर मातहत प्रहरी टिमले त्यो मालिक चढेको भनिएको गाडीलाई एक किसिमले घेरा हाले । संबन्धित ब्यक्तिले बुझ्ने तर अरू यात्रुले खासै चाल नपाउने प्रहरी चलाखी तरिका अपनाइरहेका थिए ।

सामानको मालिक भन्ने ब्यक्ति गाडीबाट झरेर आएर विवेकलाई नमस्कार गर्दै भन्योः ‘सरको यता हालै पोष्टिङ भएजस्तो छ । मैले त हजुरको सेवा गरिहाल्थें नि ! मलाई अझै हजुरको पोष्टिङबारे जानकारी नभएर मात्र हो नि सर ।’

त्यो साहुको चापलुसी मिजासलाई पहिचान गरेकै हुनाले दर्बिलो आवाजमा सोध्योः ‘ट्याक्सीमा के सामान बोकाउनु भएको छ ?’

‘हजुर इम्पोर्ट गरेको सामान हो, भन्सार छुटाएर मगाएको हो । सरको सेवा त भैहाल्छ नि ! सरले यसमा टेन्सन नलिनुस न ।’ रबिन्द्रले विनित मुद्रामा निवेदन गरे ।

रबिन्द्र परे शहरमा कहलिएका ठ्ला ब्यापारी । सबै पार्टीका ठ्ला नेताका साथमा टीभीका स्क्रिनमा झुल्किरहन्छन् । समाजसेवीको ठूला सम्मानले मिडियामा प्रचारित गरिने ब्यक्तित्वका धनी ।

प्रहरीका उच्चपदस्थ हाकिमहरूको संगत गरेर विभागै आफ्नो हितमा चलाउन सक्ने ब्यापारी खुसामदी भाव देखाउन पनि राम्रोसंग जान्दथे । बडो नरम र झुकेको भान दर्शाउँदा पनि विवेकको शङ्का कम भएन । केरकार पछि हङकङ रूटबाट जुत्ताका तलवा इम्पोर्ट गरेको विवरण सुनाएर कर्मचारीलाई भन्सारको कागज त्यहीँ ल्याउन लगाए । तर, विवेक टसको मस भएको हैन । कानून फाँटका ‘सइ’लाई त्यहीँ बोलायो । मुचुल्का लेख्न पठाएर नमुना चेक गर्नको लागि एउटा कार्टुन खोलेर चेक गर्ने आदेश दियो । गाडी, सामान, चालकहरू र मालिक हुँ भनेर त्यहाँ पुगेका रबिन्द्रको पनि फोटो खिच्न पठाए । कार्टुन अस्वभाविक वजनदार रहेछन् । विवरण लेख्दै कार्टुन खोल्दै गए ।

रबिन्द्रले अटैचीबाट नोटको पोको झिकेर चालीस लाख छ हजुर अरू सवै स्टाफलाई छुट्टै भाग पुर्याउँछु मेरो इज्जत जोगाइदिनुस भनेर मलिन बने ।

‘तपाइको भन्सार छुटाएको इम्पोर्टेड माल भए किन इज्जत जाने ? जाने कुरै हुँदैन त । किन पैसा बाँड्न पर्यो ? भन्दै ब्यङ्गात्मक वाणीको तीर विवेकले प्रहार गरे ।

रबिन्द्रको इसारामा उनका कर्मचारीले अर्को अटैची रबिन्द्रलाई दिए। त्यो अटैची विवेकतिर बढाउँदै ‘दुई करोड छ हजुर, मेरो लाज बचादिनुस । नत्र त म बरबाद हुन्छु ।’ भने ।

विवेकमा लोभ झल्कँदै झल्किएन । उनी कर्तब्यपरायण कर्मठ इमान्दार प्रहरी इन्सपेक्टर ठहरिए । मातहत पुलिसलाई मिडियालाई खबर गर्न भने । संगठित अपराधको सञ्जाल जनतालाई थाहा भयो भने उसको मेहनत खेर जाने छैन र अपराधीहरूले सजाय पाउने छन् भन्ने उसलाइ विश्वास थियो ।

खोल्दै गएका प्याक भित्रको डिब्बामा पहेँला रङ्का ईंटा आकारका धातु देख्दा सबैका मुखबाट ‘सुन’ भन्ने शब्द एक पटक निस्कियो । एकपछि एक प्याक खोल्दै मुचुल्का तयार गर्दै गर्दा मिडिया क्यामराको फ्ल्यास झल्किन थाले । टीभी स्कीनहरूमा लाइभ दृष्यमा रबिन्द्रलाई विभिन्न कथा बुन्दै देखाउन थाले ।

यता रबिन्द्र पक्राउ परे । उता शहरका नामुद वकिलहरूको मिटिङ बस्यो । निवेदन यतार भयो र भोलिपल्ट विहानै मुद्दा दर्ता भयो । सर्बोच्च अदालतले प्रहरी र गृहमन्त्रालयलाई रबिन्द्रका नाममा बन्दीप्रत्यक्षीकरण रीट किन जारी हुन नपर्ने हो भन्ने कारण खुलाउन आदेश दियो ।

अदालतको आदेश अनुसार प्रहरीले इजलासमा रबिन्द्रलाई उपस्थित गरायो । रबिन्द्रकै अगाडि बहस पैरवी चल्यो । बरामद मुचुल्काको विवरण सरकारी वकिलले पेस गरे ।

रबिन्द्रको सम्बन्ध बरामद मुचुल्का लगायत कतैबाट अभियोजन पक्षले पुर्याउन नसकेको जिकीर रबिन्द्रका वकिलहरूले गरे ।

अदालतले हतार हतार गरेर आदेश सुनाउन थालेको कानेखुसी चल्न थाल्यो । अदालतको आदेश भन्दै इजलासका दुईमध्ये एक न्यायाधीशले सुनाउँदै गएः ‘राज्यले अनुसन्धान गरेपछि प्रमाणका आधारमा अभियूक्तलाई पक्राउ गर्ने अधिकार संविधानले दिएको छ । ब्यक्तिगत हक हनन हुने गरेर पक्राउ गरेपछि कसैलाई अनुसन्धान गर्ने कानूनको मनसाय होइन । भाग्न सक्ने र प्रमाण नस्ट गर्न सक्ने अभियूक्तका हकमा अपवाद ब्यवस्था गरिएको छ ।

तर, रबिन्द्र जस्ता प्रतिष्ठित ब्यक्ति भाग्ने अवस्था देखिंदैन । बरामद सामान रबिन्द्रको हो भन्ने पुष्टि हुने प्रमाण बिना नै प्रतिष्ठित ब्यक्तिको मानमर्दन गर्न राज्य संयन्त्र दुरूपयोग भएको देखिँदा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।

स्वच्छ अनुसन्धानको भावना र आधार देखिएन । प्रतिष्ठित ब्यापारीलाई पक्राउ गर्ने कारण प्रष्ट हुने प्रमाण संकलन नगरी रबिन्द्रलाई पक्राउ गरेको पाइयो । प्रतिष्ठित समाजसेवी ब्यापारीको इज्ज्तमाथि दख्खल दिने जिम्मेवार प्रहरी अधिकृतलाई विभागीय कारवाहीका लागि लेखी पठाउनु ।’

अदालतको आदेश जारी हुनु अघिसम्मको मिडियाको भाषा बदलियो । इन्सपेक्टरले गल्ती गरेको भन्दै अदालतको आदेश बढाइचढाइ मिडियामा ब्याख्या हुन थाल्यो । कतिपय विश्लेषकले रबिन्द्र अब राजनीतिमा उत्रनको लागि प्रहरीद्वारा आफैले पक्राउ गरेर आफ्नो मिडिया प्रचारबाजी गरेको तर्क अघिसारे । रबिन्द्रलाई अबिर माला लगाएर भब्यसाथ अदालतबाट लाँदै गरेका दृष्य टिभी र यूट्यूब च्यानलका लागि महत्वपूर्ण मसला बने ।

०००

माधवले जब मिडियाबाट अदालतले विवेकलाई गलत ठहर्याएको थाहा पाए तब उनलाई जमिन भासिंदै गएझैं लाग्न थाल्यो । उनले छोरो काबिल भएको, ऋृण मुक्त भएको, छिमेकीको भन्दा अग्लो र झल्झलाकार आफ्नो घर बनेको देखिने सपनाबाट झस्केर जागेझैं भए । ती सबै उनको कल्पना अब पुरा हुँदैनन् भन्ने भान भयो ।

मनिल अनुहार बनाएर बसेको छोरालाई आफ्नो सबै दुख्खः खेर फाल्दिएको भनेर  शब्दबाणले हान्दै गए । वास्तविक अपराधी रबिन्द्रको वाहवाही भइरहेको र आफ्नो इमान्दारिता बदनाम बनेकोमा उसले विश्वास गर्नै सकेन । तर, त्यो यथार्थ कबुल गर्नु उसको बाध्यता थियो । आमाले भान्सामा खाना खान बोलाउँदा बाबुका शब्दबाणबाट उम्कने उपायजस्तो लाग्यो । विवेकलाई खाना रूचिरहेको थिएन । चिन्ताले सताउँदा भोक किन भाग्दोरहेछ भन्ने प्रश्न मनमा उब्जियो । तर, चिन्ताले भोक भगाएको जीवनको पहिलो अनुभव गर्यो ।

एक हप्ता पनि बितेको थिएन । उसलाई कर्तब्यपालनमा विचलन आएको भन्दै कारवाही स्वरूप जागिरबाट निलम्बन गरेको पत्र प्रहरी प्रधान कार्यालयले बुझायो । एक महिना बित्यो, विवेक उदास थियो । दोस्रो महिना हतास भयो । तेस्रो महिना निरास भएर मात्र त हुँदैन भन्ने सोच्न थाल्यो । चौथो महिना समाज खराब भयो भनेर चुप बस्न हुन्न भन्ने ठान्यो ।

पाँचौ महिना बित्नै लागेको थियो । ठ्याक्कै एयरपोर्टकै घटनाकै ट्याक्सी र ल्याण्डरोभर गाडी घरअगाडि रोकियो । त्यो गाडीलाई मिडियाले प्रचारबाजीका साथ रबिन्द्रको भनेर चिनाएका थए । त्यो गाडी माधवले चिनिहाले । छतमा झोक्राएर बसेका माधव झरेर तल पुग्न नपाउँदै रबिन्द्र गटेभित्र छिरे । माधवले रबिन्द्रलाई नमस्कार गर्दै आफ्नो छोरो विवेक वेवकुफ भएको, बुद्धि नभएको र केटोमाथि दया गरिदिनुस् भन्न थाले ।

रबिन्द्रले ‘तपाईं विवेकको बुवा हो ?’ भनेर सोधे ।

-‘हो, म नै यस्तो अभागी बेवकुफ जन्माउने बाउँ हुँ । जे सजाय चित्तमा आउँछ मलाई दिनुभए हुन्छ । अबुझ केटो विवेकलाई एक पटकलाई माफ गरिदिनुस् ।’

‘ल भित्र हिँड्नुस चिया खाँदै कुरा गरौँला भन्दा बल्ल माधवले आफ्नो चेत हराएर भित्र बोलाउन नै विर्सेको गल्तीबाट ग्लानि महसुस गरे । हत्तपत्त भित्र बैठक कोठामा रबिन्द्रलाई बसालेर विवेकलाई बोलाए ।

माधवले विवेकलाई रबिन्द्रसँग माफ माग्न भने । हजुर जस्ता उपकारी मान्यजनलाई यसले मान गर्न जानेन । रबिन्द्रका अगाडि विवेकलाई तुच्छ देखाउने प्रयास गरे ।

तर पासा  ३६० डिग्री घुम्यो ।

किन माफि चाहियो र यो सामान्य कुरामा भन्दै रबिन्द्रले विवेकतिर हेरेर तपाईसँग एउटा अनुरोध लिएर आएको छु । त्यत्ति भन्दै कागज विवेकलाई दिए ।

विवेकले कागज पढ्दै गए । कागजमा रबिन्द्रले आफ्नो सम्पुर्ण कारोबार र सम्पत्तीको निजी म्यानेजरको नियुक्तिपत्र र करारपत्र लेखेर ल्याएका रहेछन् । महिनाको तीन लाख तलब र साथमा आवास, गाडी सुविधा र सम्पूर्ण परिवारको स्वास्थ्य बिमा विवेकले पाउने अफर रहेछ ।

अफर ड्राफ्ट पढेर विवेक अल्मलमा पर्दै थियो ।

यता रबिन्द्रले भन्न थाले, ‘मेरो यत्रो कारोबारका दौरान थुप्रै नेता, प्रहरी हाकिम, सचिवहरूसँग काम निकालेँ । तर तपाईं जत्तिको इमान्दार ब्यक्ति कहिल्यै भेटिनँ । यत्तिको इमान्दार ब्यक्तिको मलाई खाँचो छ । त्यसैले मेरो प्रस्ताव स्वीकार गरिदिनुस् ।’

माधव ट्वाल्ल परेर छोरातिर हेरिरहे । छोराले बेइमानी गरेर सुख जुटाइदेओस् भन्ने सोचेकोमा कर्तव्य पुरा गरेर बेइमानहरूले समेत शीर झुकाएको कुरामा पछुतो-भावले उनको आँखा रसाए ।

(बेल्वासेको ‘रातो पासपोर्ट’ कथासंग्रह प्रकाशित छ । उनी विगत चार दशकदेखि लेखन तथा पत्रकारितामा सक्रिय छन्)

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.