
आज म असाध्यै तीतो कुरा उठाउँदैछु । सुरुमै यसो भन्दा पक्कै नकारात्मक भाव आउन पनि सक्छ । तर मेरो भावना र उद्देश्य त्यस्त होइन ।
भनिन्छ, सत्य तीतो हुन्छ । मीठो कुराले एकैछिन आनन्द दिए पनि त्यसले हाम्रो जीवनमा हित गर्दैन । जतिसुकै मन नपर्ने भएपनि जब हामी सत्य कुरा स्वीकार्छौं तबमात्र अगाडि बढ्न सक्छौं ।
हिजो नेपालको सुन्दर हिमालका काखमा, पहाडमा अनि नदीका तटमा जन्मे–हुर्केकाहरू कोही वेदव्यास बनेर वेद लेखे । कोही वाल्मिकी बनेर रामायण लेखे । राजकुमार सिध्दार्थ गौतम आफ्नै आत्माको शान्तिको खोजमा वैरागी बनेर भौँतारिए । जंगलमा पुगी ध्यान गरेर महामानव बुद्ध बने । कोहीले काठमाडौं, भक्तपुरजस्तो कलाले भरिएको समृद्ध राज्य बनाए ।
यी महामानव र महापुरुषहरू हिमालयको काखमा, पहाडमा जन्मे । जीवनको कुनै क्षणमा तिनीहरू पनि युवा थिए । सायद उनीहरू पनि जीवनमा हामीजस्तै दुःखी अनि भोका थिए । आहार र आश्रमको खोजीमा अनेक ठाउँ हुँदै जंगलमा पनि भौंतारिए होलान् । उनीहरूका निजी जीवनमा केकस्तो भयो त्यसको लेखाजोखाको महत्त्व भएको खासै बुझ्न पाइँदैन । जे होस्, अन्तमा उनीहरू परिश्रमी देखिए । उनीहरूले समाजलाई उज्यालो दिए । उनीहरूको कारण त्यो समाज वा देश माथि गयो ।
आज त्यही हिमालको फेदीमा, तराईको समथर मैदानमा जन्मे–हुर्केका युवाहरू कि त सिपाही बन्न, कि पढ्ने बहानामा नत्र भए रोजीरोटीको लागि विदेशिने गर्छन् । दुबई, दोहा, कतार, मलेसियाजस्ता मुलुक र हाल पश्चिमा देशमा अवसर खोज्दै भौँतारिन पुगेका दाजुभाइ, दिदीबहिनी लाखौं छन् । दुर्भाग्य भनौं, अधिकांशः दाजुभाइ, दिदीबहिनीले तल्लो तहका काममा आफूलाई संलग्न राखेको देखिन्छ । घर, अफिस, होटल–रेष्टुरेन्ट, सुपरमार्केट, एयरपोर्ट आदिमा चौकिदारी गर्ने, सरसफाइको काम गर्ने र फ्याक्ट्रीमा मजदुरीका काममा लाग्ने नै अधिकतम लागेको पाइन्छन् ।
हुन त जे गरे पनि काम नै गर्ने हो । जे गर्दा नि श्रम र मेहनत गरेर खान पाउनुमा मानव हुनुको अस्तित्व उजागर भएको हुन्छ । यो चित्त दुःखाउनु पर्ने खासै ठूलो कुरा होइन ।
तर ती देशहरूमा विश्वका अरू देशजस्तै थाइल्याण्ड, फिलिपिन्स, बङ्गलादेश, श्रीलङ्का र भारतमात्र नभई अफ्रिका, चाइना र ल्याटिन अमेरिका तथा अरू विकसित देशका नागरिक पनि काम गर्न, रोजगारी गर्न आउँछन् । तर विदेशमा रहँदा उनीहरू कस्तो स्थितिमा बाँचेका छन्, के गरेका छन्, के–कस्तो जीवनस्तर र रोजगारी आदिमा संलग्न रहने गरेका छन् भन्ने कुरा सारा देशवासीका लागि महत्वको विषय हुन आउँदछ । के उनीहरू नेपालीजस्तै गरी बाँचेका छन् ? विदेशमा उनीहरूलाई अरू अर्थात् स्थानीयवासीले कसरी व्यवहार गर्छन् ? उनीहरूमाथि कस्तो धारणा राखेका हुन्छन् ? त्यो अर्को महत्त्वपूर्ण कुरा हो ।
अधिकांश नेपाली ‘ब्लु कोलर जब’ (blue-collar job) मा नै सीमित हुनुपरेको स्थिति छ । यस्तो किन हुन्छ ? उत्तरहरू कठीन लागे पनि उत्तरको महसुस भने साधारण छन् । के हाम्रो भाषा, शिक्षा र संस्कारजन्य बानीव्यवहार नै नेपाली जातिको परदेशमा भोग्नुपर्ने बाध्यताका परिबन्दहरू हुन् ? उत्तर– हो पनि र होइन पनि ।
कतिपय स्थितिमा नेपालका चर्चित कलाकार, पत्रकार वा शिक्षक र खेलाडी पनि विदेशमा छन् । उनीहरूले पनि त्यस्तै भोगाइलाई चाही–नचाही आत्मसात गर्नुपरेको तथ्य आफैँमा एक तीतो सत्य हो । जोसुकै होउन्, जतिसुकै शिक्षित, क्षमतावान् अनि राम्रा र फूर्तिला भए पनि नेपालीले विदेशमा ब्लु–कोलर जबमा मात्रै जोतिनुपर्ने कारण के हो ?
खोजी गर्दा पाइएका धेरै कारणहरू मध्येको एक हो– नेपालीहरू आफूमा बाहिरबाट देखिनमा सरल र सहज देखिए पनि भित्र मन र दिलबाट भने अप्ठ्यारा, विक्रेतित र असमेल भएका पाइन्छन् ।
खासगरी खाडी मुलुकमा नेपालीहरूलाई त्यसरी तल्लो दर्जामै राखिनुमा प्रमुखतः नेपालीहरूले मान्ने ईश्वरका बहुआयामिक प्रकार, संस्कार र आपसमा गरिने विभेद हुन गएको पाइन्छ । यसको साथसाथ भारतीय वा भारतीय मूलका व्यवस्थापकहरूले नेपालीलाई हेर्ने आँखामा देखिने कसर पनि एक प्रमुख हो भन्नेमा धक मान्न पर्दैन । अधिकांश खाडी मुलुकमा व्यवस्थापकीय तहमा यत्रतत्र भारतीय नै हुने गरेका पाइन्छन् । अन्य मुलुककाले भन्दा भारतीय मुलकाले नेपालीहरूलाई हेयको दृटिकोणले हेर्ने प्रवृत्तिले गर्दा पनि खाडी मुलुकमा नेपालीहरूलाई असमानताको आँखामा हेर्ने गरिन्छन् । जब कि भारतीय मूलका व्यवस्थापक स्वयं पनि अन्य तेस्रो मुलुकका मानिसका आँखाबाट सभ्य र राम्रो देखिँदैनन् । अतः उनीहरू आफैं पनि कमजोर रहेका हुनाले अर्को कमजोर आफ्ना अगाडि पाउनासाथ बलिया भएको प्रतीतमा विभेद र कमजोरीका व्यवहार नै देखाइरहेका हुन्छन् ।

हुन त मानवलाई बाँच्नको लागि त्यत्ति धेरै चिजबिज त चाँहिदैन । यही आहुतिमा नेपाली दाजुभाइ खाडी मुलुकमा बाँच्ने गर्छन् । ऊ बाँचिसकेपछि उसले के कल्पना गर्न सक्छ या सक्दैन भन्ने अवस्था मुख्य हो । खाडी मुलुकमा वा युरोपमा श्रम गर्न बस्ने, अधिकांश नेपालीहरूको बाँच्ने पद्धति र लबज, इच्छा, आकांक्षा र सोचाइका शैली आदिलाई मनन गर्दा नेपालीले एक रित्तो विश्व नै पाए भने त्यसमाथि के गर्न सक्लान् भन्ने सोचाइ आउनु जायज हुन सक्छ । हुन त खाडी मुलुकमा नेपालीकै जस्तो काम गर्नेमा फिलिपिना, थाई, अफ्रिकन, भारती, बङगलादेशी, दक्षिण अमेरिकी देश र चाइना तथा भारतका पनि त्यत्तिकै हुने हुन्छन् । तर तुलना गर्दा ती विदेशीहरूमा उनीहरूका बाँच्ने शैली, सोच्ने शैली न्यूनस्तरबाट उच्चस्तरमा पुग्न पाउनको लागि आतुर रहेको महसुस हुन्छ ।
सुस्तै भए पनि उनीहरूमा एक नजानिँदो र उज्यालो चेतना, सोही अनुसारको व्यक्तित्व र वुद्धि विकास भएको भान हुन्छ । अनि सिर्जनात्मकता र सकारात्मक अस्तित्वका खातिर संवेदना भएको प्रतीत हुन्छ । सबैभन्दा विशेष उनीहरूमा सायद शिक्षा हुन्छ र सोही अनुसारको सचेत चाहना पनि । उनीहरूको देशीय एकता परिष्कृत र संस्कारगत हुन्छ । धेरैजसो उनीहरूमा ईश्वरप्रतिको भक्तित्व र दैनिक जीवनयापन प्रति आफैंमा एक नियम हुन्छ ।
सरसर्ति हेर्दाः
१. नेपाली युवाहरू सुत्ने र बस्ने कोठा, घर, खाट–खटिया त्यति राम्रा भन्दा पनि सफा हुँदैनन् ।
२. सँगै बसेका नेपालीहरू आ–आफैँमा नजानिँदो तरिकाले को नेवार, को क्षेत्री, को बाहुन, को मगर, को गुरूंङ, को दलित, को ठकुरी, को थारू, को मधेशी र को पहाडी आदिमा विभाजित भएर बाँचेका हुने गर्दा रहेछन् ।
३.सायद भावनामै त्यसरी विभाजितसमूहका हुनुपर्ने भएकाले होला, त्यसको प्रत्यक्ष र परोक्ष असर उनीहरूको बाँच्ने शैली र सामुहिक किचन तथा बाथरूमै देखिने गर्दो रहेछ । यसैले सामुहिक रूपका स्टाफ वासस्थानको फल्याट र कोठाहरूमा बसोवास गर्ने अधिकांश नेपालीहरूका ती सामुहिक ठाँउ स्वतःस्फुर्त रूपमा अस्तव्यस्त, फोहर अव्यवस्थित हुने गर्दा रहेछन् ।
४. हरेक दिनजसो जसोतसो खाना पकाइयो, खाइयो र सुतियो । भोलिको कामको लागि भनी आराम गरियो । फेसबुक आदिमा कमेण्ट गर्दागर्दै रात बित्यो । सुत्यो । भोलिपल्ट बिहानै उठेर काममा गयो ।
५. घर बाहिर गएपछि त कडा परिश्रम त सबैले गर्छन् नै । परिश्रमकै लागि मानिसहरू त्यहाँ जाने हुन् । नेपालीहरू पनि गर्छन् । तर मसिना कुरालाई केलाउँदै र मनन गर्दै गयो भने त्यहाँ देखिइन्छन्, नेपाली हुनुको वास्तविक रहस्य भने, एक फरक र नजानिँदो तरिकाले मन दुःखाउने खालको हुँदो रहेछ, कि जब छुट्टी र बिदाका दिन आउँछन् ।
मानिस सामाजिक प्राणी भएकाले पनि आराम गर्न त्यो जरूरी पनि हुन्छ । अतः स्थानीय तहमा नेपाली नेपाली आ–आफूमा भेटघाट पनि गर्छन् । त्यसका लागि नेपालीहरू कतै चौर, खुला ठाउँ, पार्क वा भवन रहितका ठाउँमा जम्मा हुने गर्दारहेछन् । त्यसमा त्यहाँ कतिले माया प्रेमका कुरा पनि गर्दा हुन् । कतिले स–साना व्यापार व्यसायका वातचित पनि । कतिले समाजसेवा वा राजनीति आदिका बारेमा । ती स्वाभविक हुन् । हुनुपर्छ ।
तर विदेशी भूमिमा सार्वजनिक रूपमा रक्सी जाँड आदि खान नपाइने ठाउँ उसै त, ती त्यस्ता स्थानहरूमा अवसर आएको अधिकतम् अवसरमा नेपाली युवायुवतीहरू जाँड रक्सीजस्ता मज्जामा पनि अधिक नै डुब्ने गर्दा रहेछन् । कहाँबाट आउँदा हुन् ती रक्सी र लागूपदार्थहरू वा तिनलाई खरीद गर्न सक्ने पैसा ?
जब नेपाली युवायुवतीमा रक्सीले स्थान पाँउछ, खुल्ला चौरकै स्थानमा पनि उनीहरू आपस–आपसमा नाचगान गर्छन् । यसैमा सकेसम्म सबैले स्वतन्त्र र सबल भएको अनुभव गर्छन्, प्रतीत गर्छन् । त्यत्तिकैमा उनीहरू बीच त्यहाँ त्यस्तो एक समूह नहोस्, जसले अरूमाथि रिस नसाँधिराखेको होस् । जम्मा भइएका ती स्थानहरू नै लफडा, विभेद र अनाचार अप्ठ्यारा तथा रिस साँध्ने उत्तम स्थान हुने गर्दोरहेछन् । र त्यहाँ नै उनीहरूको जमघट पनि बेसी नै हुने हुदोरहेछ ।
सामाजिक भेटघाट र जमघटको अवसरमा कुनै हल आदिमा कार्यक्रम गर्दाका बखत त्यहाँ गीत सङ्गीत बज्नु नै छ । समूह समूहमा स्वतन्त्र भएर, कहिलेकाँही विना योजना वा स्वीकृति विना नै उफ्रने, नाच्ने, गाउने अनि मज्जा गर्ने पनि सामान्य चर्या नै हुने गर्दा रहेछन् ।
यही भएर आयो २०८० को एनआरएनको मातृभुमिमा भएको जमघट र चुनावमा समेत । प्राकृतिक रूपले र विषयगत रूपले नै ती विचारका उर्जाहरू एकात्मकता, एकता तथा समग्र समुन्नतिमा मिल्ने विषय वस्तु नबने पछि त्यो जोसुकै जहाँसुकै किन नहोस्, के हुन्छ उनीहरूमा जो भएको नै छैन । त्यसैले नेपालीहरूको जमघटमा अब रडाको र हात हालाहालको स्थिति नभए के हुन्छ ? एकापसमा विचार नमिलेपछि, एकले अर्कालाई देखी नसहेपछि अरू पराइले गर्ने सामान्य व्यवहारको फेहरिस्त नै हुने कस्तो हो ? सबैले मनन गर्न अति जरूरी छ ।
विदेशमा बस्ने नेपालीमा निरन्तर रूपमा ठूलो स्केलमा नै ग्रुपिज्म, कुटामारी र झडपहरू पनि हुने हुँदारहेछन् । त्यसपछि यस्तैमा स्थानीय प्रहरीहरू आउने गर्दारहेछन् । कतिलाई प्रहरीले पक्डिन्छ । कतिलाई तारिखमा छाडिदिँदा रहेछन् । कतिलाई त देश निकालाजस्ता सजाय पनि गरिएका कैयन् त्यस्ता उदाहरणीय घटनाहरू घटिरहेका पाइएका छन् । खाडी मुलुकका कतिपय अधिकारीहरूले त नेपालीहरूको आपसमा रक्सी खाने, झै–झगडा गर्ने बानी बेहोरालाई कतिपय स्थितिमा सामान्य समस्या हो भनेर छुटमुलक आँखाले पनि हेर्ने गर्ने गर्दारहेछन् ।
किनकि त्यहाँको सरकार, व्यापार र अर्थतन्त्रलाई भोलि काम गर्ने कामदार त चाहिन्छ नै । उनीहरूले अघिल्लो साँझ झगडा र मारपिट गरेर भो के र, केही हदसम्मको लागि ? धेरैमध्ये एउटा अचम्मको घटना के भयो भनी, दुबई शहरको दिइएरास्थित त्यहाँका राजा शेख मोहम्मद जन्मेको र भवन स्थानको बाहिर खुला ठाउँमा सन् २०१६ सम्म सानो हरियो चौर थियो । स–साना भूँइ फूलका बगैँचाले बनेको त्यो एक रमणीय र खुला ठाउँ थियो । त्यहीँ हरेक शुक्रबार दुबई र वरपर बस्ने नेपालीहरूको भीड नै लाग्दथ्यो । दुबईमा हरेक हप्ता नेपालीहरू जमघट गर्ने प्रमुख ठाउँ त्यही बनिसकेको थियो । दुई वर्षभित्र सन् २०१८ मा यो पंक्तिकार त्यहाँ पुग्दा त्यो स्थानलाई सरकारले तारबार मात्र नगरी त्यस परपर त पर्खाल नै लगाइएछ ।
यो त एउटा उदाहरणमात्र हो । समूह बनाउने राजनीति गर्ने एकले अर्काको कुरा काटेर सबै समय बिताउने एकले अर्कोलाई देखावटी सहयोग गर्ने बानीले अधिकांश नेपाली ग्रस्त छन् । त्यसो हुँदा विश्वको जुनसुकै भूमिमा बसे पनि जतपसुकै उच्च दिखएको समाजमा बसेपनि नेपाली समुदायको सम्सया जहाँको त्यहीँ छ । नेपाली जहाँको त्यहीँ छन् । एकाध कोही माथि पुग्नु वा अर्बपति हुनुले समग्र नेपाली समाजको प्रतिनिधित्व गर्दैन ।
यी यस्ता दुःखद् नियतिबाट मुक्ति पाउन वर्ष २०२४ लाई एक सुरुवातको रूपले सबैले लिने प्रण के हामी सबै मिलेर गर्न सक्छौं ?
०००
लेखक होम परिवाग बेलायत बस्छन् । नेपाली र अंग्रेजीमा प्रकाशोन्मुख परिवागको पुस्तक ‘नेपालमा के के ठीक छैनन्’ को एक अंश हो ।



