
नेपाली युवा विद्यार्थी सरोज कामती बेलायतको युनिभर्सिटी कलेज बर्मिङ्घमको (University College Birmingham) विद्यार्थी युनियनको निर्वाचनमा विजयी भएका छन् ।
कामतीले ‘सोसाइटिज् एन्ड एक्टिभिटिज अफिसर’ पदमा लोकप्रिय मतका साथ जित हासिल गरेका हुन् । उक्त विश्वविद्यालयमा नेपाली र भारतीयमात्र नभई बेलायत र युरोपका पनि विद्यार्थी पढ्दै आएका छन् ।
सिराहा मिर्चैया नगरपालिका १२ का सरोज कामती अहिले ‘जनप्रगतिशील मोर्चा, युके’का महासचिवसमेत रहेका छन् । नेपालमा अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य भइसकेका उनी राजनीति तथा सामाजिक कार्यमा स्कुल पढ्दादेखि नै सक्रिय युवा हुन् ।
‘यो जित मेरो व्यक्तिगतमात्र नभई विदेशमा संघर्ष गरिरहेका सबै विद्यार्थीको लागि हौसलाको विषय हो । मेरो गाउँ र देशको लागि पनि ठूलो कुरा हो’, जितपछि उनले नेपालीन्युज युकेसँग भने ।



