युके विशेषसाहित्य

महिलाको मानसिक पीडा उजागर गर्ने उपन्यास : आधि

निर्मला प्रसाईं सापकोटा

955views

भनिन्छ,  ‘नारी सृष्टीदाता हो अनि पुरुष रक्षक हो’। तर रक्षक भनिएका नै भक्षक भइदिँदा सृष्टीमाथि ज्वारभाटा उत्पन्न हुन्छ। लाभाहरू टाढा टाढासम्म पुग्छन्। त्यसको असर एउटी नारीलाई मात्र नभएर उसका सन्तान, परिवार, आफन्त र उसलाई माया गर्ने प्रियजनहरूलाई पनि पर्दछ। त्यो नारी शारीरिक रूपले मात्र नभएर मानसिक रूपले पनि घाइते हुन्छे।

तर त्यति हुँदाहुँदै पनि साहस बटुलेर आशाका त्यान्द्रालाई शक्तिमा परिणत गर्छे। अरूमा आश्रित लहरा बनेर होइन चट्टानको पहाड बनेर ठडिन्छे। उसमा त्यो क्षमता उसको शैक्षिक ज्ञानबाट प्राप्त हुन्छ। मुक्तककार, कवि, कथाकार, गीतकार तथा उपन्यासकार उषा शेरचनको उपन्यास ‘आधि’ यिनै विषयमा आधारित सामाजिक उपन्यास हो। आधि उपन्यासको प्रकाशन २०७६ सालमा भएको थियो।

उपन्यासको शिर्षक ‘आधि’ को अर्थ मानसिक पीडा हो।

कुनै पनि कृति पढ्दा कुनै न कुनै रूपले पाठकलाई असर त गर्छ नै तर यो उपन्यास पढिसकेपछिको असर भने अलि छुट्टै किसिमको लाग्यो मलाई। यो उपन्यास पढ्दा सामान्य जस्तो लाग्छ भने पढिसकेपछि यसले हरेक नारी तथा पुरूषलाई एकपटक सोच्न बाध्य गराउँछ। उपन्यासमा थरीथरीका नारी र पुरूषका कुचरित्रहरूलाई उदाङ्ग पारिदिएकी छन् उपन्यासकार शेरचनले।

यसका मुख्य पात्रहरू चाँदनी र सार्थक हुन् । चाँदनीको काका र सार्थकको हाकिम माया भिलेन हुन्। काठमाडौँमा सार्थकको घरमा भाडा मोल्न आउने कान्छी अर्को महत्वपूर्ण पात्र हो।

सार्थक चाँदनीको साथीको दाइ हो, उ धनी परिवारको एक्लो छोरो हो। सानैदेखि काठमाडौँ बसेर पढेर बैंकमा राम्रो तहमा जागिर खाँदाखांदै चाँदनीसँग प्रेम विवाह गर्छ I केही समयपछि पद र पैसाको प्रलोभनमा परेर चाँदनीलाई धोका दिन्छ ।

चाँदनी पढाइ र अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै तेज भएकी केटी हो। चाँदनीको उसकै काकाद्वारा सात वर्षको उमेरमा बलात्कार भएपछि र यदि कसैलाई सुनाइस् भने मारी दिन्छु भन्ने धम्की पाएकी चाँदनीको बाल्यकाल डर र त्रासमा बित्छ। उसको बानी र व्यहारमा ठुलो परिवर्तन आउँछ। चन्चल र फुर्तिली चाँदनी घर बाहिर निस्कन छोड्द्छे। ऊ कुनै पुरूषलाई मात्र नभएर आफ्नै बाबुलाई देख्दा पनि डराउने हुन्छे। उसमा एकाएक आएको परिवर्तन देखेर उसका बाबु-आमा छक्क पर्छन। उसमा मनसिक असर परेको कारणले गर्दा ऊ कोठामा पढेर बस्दै त्यो पीडा भुल्न खोज्छे। तर त्यो पीडा गहिरो मानसिक तनाबमा परिवर्तन हुन्छ।

कान्छी एक अविवाहित र आफ्नै खुट्टामा उभिएकी एक इमानी पात्र हो। ऊ कुनै महिलाको जीवनमा बाधक बन्नुभन्दा भाडा मोलेर खानमा गर्व गर्छे। उ र सार्थकको बिचमा दाई बैनीको जस्तो पवित्र नाता छ। चाँदनीको सार्थकसँग विवाह हुनुभन्दा अगाडीदेखि ऊ सार्थककोमा काम गर्ने गर्थी। ऊ अन्य धेरै मान्छेकोमा काम गर्दै हिंड्ने भएकोले उसलाई धेरै मान्छेको बारेमा थाहा छ र यस उपन्यासका हरेक घटनाहरूको साक्षी पनि हो कान्छी ।

उपन्यासको कथा वस्तु एकदमै गहन छ। नारी सृस्‍टि कर्ता मात्रा नभएर उनीहरू सृस्‍टिका सबैभन्दा कोमल पत्र पनि हुन। सानो तिनो कुराले पनि उनीहरूको कोमलता नष्ट गरिदिन सक्छ भने उपन्यासमा त जीवन नै नष्ट गरिदिएका घटनाहरू छन्। एउटा घटनाले दिएको लामो समयको मानसिक तनाबबाट गुज्रिरहेकी चाँदनी पूर्णरूपमा सन्च हुन नपाउँदै अर्को घटनाले पछारेर थिलथिलो पारिदिन्छ उसको जीवन। ती दुबै पीडक उसको सबैभन्दा नजिकका नातेदार उसको काका र उसलाई अति नै मन पराएर प्रेम विवाह गर्ने उसको श्रीमान सार्थक हुन्। जसको पीडाले विछिप्त भएकी चाँदनी आफ्नी दुधे बालक छोरी अतुल्यालाई समेत छोडेर पासो लाग्छे तर पासो नै चुँडिएर मर्न असफल हुन्छे।

आधि ‘ उपन्यास लोकार्पण गर्दै समीक्षक कुमारी लामा, चेतन कार्की, पद्मावति सिंह तथा उपन्यासकार उषा शेरचन (दाया)। चेतन कार्कीको निधन भइसकेको छ

त्यो घटनापछि एकाएक चाँदनीमा शक्ति आउछ। उसको त्यो अवस्थालाई शक्तिमा परिणत गर्न कान्छीको ठुलो भूमिका छ। चाँदनीमा किताबी ज्ञान धेरै छ भने कान्छीसँग व्यावहारिक अनुभव धेरै छ। कान्छीले सबै काम छोडेर चाँदनीलाई साथ दिन्छे।

अर्कोतिर पढे लेखेकी र कार्यालयको उच्च पदभार बहन गर्ने माया भने सार्थकको भर्खरै विवाह भएको थाहा पाउँदा-पाउँदै पनि सार्थकलाई पदोन्नति गरिदिएर प्रेमको जालमा फसाउँछे भने पदको लागि प्रेम र प्रेमिका नै भुलिदिएर चाँदनीको सच्चा प्रेम र प्रेमप्रतिको त्यागको खिल्ली उडाइदिएको छ सार्थकले ।

यसले के देखाएको छ भने महिला एक उपभोग्य साधन हो र पुरुष छानीछानी उपभोग गर्न स्वतन्त्र छ। अर्कोतिर एक अशिक्षित महिलाभन्दा शिक्षित महिला नै महिलाको दुश्मन भएको देखिएको छ। जसले गर्दा चाँदनीजस्ता सोझा र इमान्दार महिलाहरूले मानसिक तनाबबाट मुक्ति पाउन आत्महत्याको बाटो रोज्छन्।

उपन्यासको अन्तमा चाँदनी ऊभित्र जरा गड्दै गरेको मानसिक रोगको उपचार गरेर आफ्नो योग्यताको पूर्ण उपयोग गर्दै ऊ जस्तै निमुखा महिलाहरूलाई सहयोग गर्न परोपकारी संस्था खोलेर आफ्नो जीवन उनीहरूकै सेवामा अर्पण गर्छे। समाजले उसको कार्यको सहि मुल्याङ्कन गर्छ। उसले धेरै तर्फबाट सहयोग प्राप्त गर्दछे भने धोकेबाज सार्थकलाई मायाले धोका दिएर यता न उता बनाइ दिन्छे। त्यो अवस्थामा सार्थक चाँदनीतिर आउन खोज्छ तर उसले बेवास्ता गरिदिन्छे।

यसरी यस उपन्यासका पात्रहरूलाई पूर्ण रूपले न्याय गरेकी छन् आख्यानकार शेरचनले। शिक्षा नारीको व्यक्तित्व विकास मात्र नभएर आत्मनिर्भर भएर जीवन चल्नको लागि अति आवश्क छ । यदि उनीहरूमा शैक्षिक हतियार छ भने उनीहरूले जीवनमा आइपरेका जस्तो सुकै आँधि हुरी पनि सामना गर्न सक्छन् भन्ने कुराको उदाहरण पनि हो यो उपन्यास ।

धेरै अध्ययन अनुसन्धान गरेर लेखिएको यस उपन्यासभित्र कान्छी जस्तो पात्रको निर्माण गरेर केही यस्ता घटनाहरूको खुलासा गरिएको छ कि जून सामान्य महिला वा पुरूषले कल्पना पनि गर्न सक्दैन। धेरै अध्ययन अनुसन्धान गरेर लेखिएको हुनाले यस उपन्यासका घटनाहरूमा सत्यता छ भन्ने लाग्छ।

उपन्यासमा धेरै जसो घटनाहरू पुरूषद्वारा तीन वर्षको उमेरदेखि नाति नातिनाकी हजुरआमा सम्मका महिलाको बलात्कार, शारीरिक शोषण र मानसिक यातनामा आधारित भएको कारणले गर्दा यस्तो लाग्छ कि, कुनै पनि उमेरका महिला एक्लो अवस्थामा सुरक्षित छैनन, जुन हामीले सुनिरहेका घटनाहरू पनि हुन्।

पात्रहरू काल्पनिक भए पनि घटनाहरू यथार्थ मुलक छन्।उपन्यासकार शेरचनले उपन्यासमार्फत् सन्देश दिँदा पूर्ण रूपले सचेत भएर लेखेकी छन्। उनी लेख्छिन् – उनको यो सन्देश ती पुरूषहरूका लागि मात्र हो जसले समाजमा त्यसता प्रकारका घटनाहरू घटाएका छन् अनि त्यस्ता नारीहरू जसले नारीकै जीवन वर्बाद गराइ दिएका छन्।

अन्तमा; यस्तो अनुसन्धान मुलक र समाजोपयोगी उपन्यास लिएर आउनु भएकोमा उपन्यासकार उषा शेरचनलाई धेरैधेरै बधाई दिन चाहन्छु।

लेखक : उषा शेरचन

विधा : उपन्यास

प्रकाशक : बुकहिल पब्लिकेसन ,काठमाडौं

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.